coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

कम्युनिस्ट थिए बिपी

नेपाली काङ्ग्रेसका सबै तहका कार्यकर्ता तथा नेताले नेपाली काङ्ग्रेसका महामानव भनेर चिनिने विश्वेश्वरप्रसाद कोइरालाको प्रजातन्त्र, समाजवाद, राष्ट्रियता र मेलमिलापका नीतिलाई आफ्नो पनि मूलमन्त्र भएको बताउँदै आएका छन्। त्यसैले बिपी जयन्ती, बिपी स्मृति दिवस, बिपी कोइरालाकै मेलमिलाप दिवस तथा चुनावको मुखमा गाउँगाउँ घुम्न थालेका देखिन्छन्। राणा शासन अन्त्य गरी प्रजातन्त्र ल्याउनुपर्छ भनेर बिपीकै पहलकदमीमा २००३ कात्तिक १५ गते राणाको पक्राउबाट जोगिन भारत पसेका नेपाली र वनारसमा विद्या आर्जन गर्न गएका युवकसमेत जम्मा गरी उनले वनारसमा नेपाली काङ्ग्रेस पार्टी गरेका थिए। त्यसैले उनलाई काङ्ग्रेसका संस्थापक, समाजवादी नेता तथा महामानवका रूपमा पुकारिँदै आइएको छ।

नेपाली काङ्ग्रेसका संस्थापक पुरुषका रूपमा मानिँदै आएका बिपी पहिला कम्युनिस्ट पार्टीका सशक्त कार्यकर्ता थिए भन्नेचाहिँ धेरैलाई थाहा नहुन सक्छ। चुनावको मुखमा सबै नेता तथा कार्यकर्ताले जनतालाई आफ्नै प्रभावमा पार्न बिपी जन्मसिद्ध नेपाली काङ्ग्रेस थिए र उनले नेपालमा नेपाली काङ्ग्रेसको बीजारोपण गरेका हुन् भन्ने गरेका छन्। वास्तवमा उनी जन्मसिद्ध नेपाली काङ्ग्रेस थिए भन्नुमा नियमापत्ति देखिन्छ। किनभने विद्यार्थी जीवनबाटै बिपी कम्युनिस्ट दर्शनबाट प्रभावित भई सक्रिय कम्युनिस्ट कार्यकर्ता भएका थिए। पछि तिनै कम्युनिस्ट पार्टीका नेताहरूको अति क्रान्तिकारी कार्यबाट मोहभङ्ग हुन गई प्रजातान्त्रिक समाजवादमा आबद्ध भएर नेपाली काङ्ग्रेस स्थापना गरेका हुन्। विश्वका सबै नाम चलेका नेताको राजनीतिक जीवन विद्यार्थीकालबाटै सुरु भएजस्तै बिपी पनि अपवाद थिएनन्।

वनारसमा रहँदा अभिभावकहरूबाट सधैँ सामन्ती राणाहरूको सामन्तवादको कुरा सुनेर क्रान्तिकारी विचार लिएका र वनारसकै स्कुल तथा कलेजमा पढ्दा पनि कम्युनिस्ट विचारधाराअन्तर्गतको मार्क्सवादी विचारधाराबाट प्रभावित भई बिपी मार्क्सवादी कम्युनिस्ट भएका थिए। मार्क्सवादी दर्शन अध्ययनका क्रममा उनले भारतका तत्कालीन मार्क्सवादी नेता देवकान्त बरुवा, देशमुख, राजेश्वर राव आदिसँग गहिरो मित्रता बनाएका थिए। बुखारिन, लेनिन, ट्राटस्की, स्टालिन, कार्ल मार्क्स जस्ता कम्युनिस्ट सिद्धान्तका प्रकाण्ड विद्वान्का किताव उनका स्रोतग्रन्थ थिए।

त्यस समय भारतमा मेरठ षडयन्त्रको मुद्दा सबभन्दा बढी चर्चाको विषय थियो। बिपीसमेतका कम्युनिस्ट विद्यार्थीले स्कुल कलेजका विद्यार्थीबाट पनि चन्दा उठाएर त्यो मुद्दामा सहयोग गरेका थिए। बिपीले भारतको वनारसबाटै 'दि सोसलिस्ट' नामक कम्युनिस्ट पत्रिकाको सम्पादनसमेत गरेका थिए। पिताजीसमेत सिंगो परिवार नेपालमा पनि प्रजातन्त्र ल्याउनुपर्छ भनेर खुलेर लागिरहेका बेला बिपी भने क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट दर्शनबाट प्रभावित भई सक्रिय कम्युनिस्ट भएका थिए। एक नेपाली युवक विद्यार्थी काशी हिन्दु विश्वविद्यालयमा अध्ययन गर्दाको समयमा कम्युनिस्ट सङ्गठनको व्यापक प्रचारप्रसार गरेकाले वनारसको कम्युनिस्ट पार्टीले उनलाई त्यहाँको कम्युनिस्ट पार्टीको सचिवसमेत बनाएको थियो। यही क्रममा कम्युनिस्ट सिद्धान्त विस्तार गर्न उनी भारतका विभिन्न जिल्लासमेत पुगेका थिए।

तत्कालीन सोभियत रुसका राष्ट्रिय स्तरका कम्युनिस्ट नेता स्टालिन र लियन ट्राटस्कीबीच मनमुटाव, झगडा र काटाकाट भएपछि बिपीमा केही नैराश्यता छायो। जुन नेताहरूको दर्शनबाट प्रभावित भएर कम्युनिस्ट दर्शनमा लागेका थिए, तिनैबीच कटाक्ष हुन थालेपछि बिपीको हृदयमा धक्का लाग्नु स्वाभाविक थियो। यही कारण उनको कम्युनिस्ट सिद्धान्तप्रति नै मोहभङ्ग भयो र सधैँका लागि कम्युनिस्ट विचारधारा त्यागिदिए।

बिपी गतिशील स्वभावका थिए। नेपालमा जहानिया राणाशासन र भारतमा विस्तारवादी अङ्ग्रेज शासन देखेर उनले क्रान्तिकारी कम्युनिस्ट दर्शन रोजेका थिए। तर कम्युनिस्ट दर्शनका उच्चस्तरका नेताहरूबाटै खोजी खोजी मान्छे मार्ने काम गरेको देखी कम्युनिस्ट नीति गलत रहेछ, आफ्नै मित्रलाई त शत्रुलाई जस्तै निगरानी राख्दै खोजीखोजी मारिँदो रहेछ भने शत्रुलाई झन् कस्तो व्यवहार गरिएला भन्ने सोच उनमा आयो। उनले कम्युनिस्ट विचारबाट विमुख भई प्रजातान्त्रिक समाजवादमा आबद्ध भई मरणोपरान्त प्रजातान्त्रिक समाजवादमा लाग्ने अठोट गर्नुको मुख्य कारण यही सोच थियो। विद्यार्थीकालमा कम्युनिस्ट पार्टीका सक्रिय कार्यकर्ता भएका बिपी पछि गएर अहिलेको नेपाली काङ्ग्रेसका संस्थापक नेता भई सधैँ अमर बनेका छन्। उनका अनुयायीहरूले गाउँगाउँ गएर उनकै प्रजातान्त्रिक आदर्शको बखान गरेको सुन्दा उनको विद्यार्थीकालको कम्युनिस्ट नीतिप्रतिको मोह र मोहभङ्गको सम्झना आज पनि आइरहन्छ।

प्रकाशित: ६ श्रावण २०७४ ०३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App