हाम्रा मौलिक पहिचानमध्ये ज्यौतिषीय गणना पद्धति एक हो। खगोलीय अध्ययनमा नासालगायत संस्थाहरूले खोज अन्वेषण गरिरहेका सन्दर्भमा समेत धुलौटोमा गणना गरेका सूत्र र सिद्धान्तहरू प्रामाणिक हुँदै जानु पौरस्त्य सभ्यताकै लागि गौरवको कुरा हो। ज्यौतिषका मूल मान्यता र सिद्धान्तहरूको आविर्भाव यही हिमवत् खण्डमा भएको भए पनि राजनीतिक विभाजनका कारण भारतले धेरैजसो सैद्धान्तिक सम्पदामा स्वामित्व दाबी गर्दै आएको देखिन्छ।
केही विद्वान्ले यी क्षेत्रमा पुर्याएको योगदान भने निकै उच्च ठहरिँदै आएको छ। यद्यपि प्रचारप्रसारको अभावका कारण यस्ता प्रतिभाका योगदान ओझेलमा भने पर्ने गरेका छन्।साउन २६ गते गणित एवम् ज्यौतिषशास्त्रका क्षेत्रमा महत्वपूर्ण कार्य गर्ने विद्वान् नयराज पन्तको जन्म दिन हो। आजकै दिनमा वि.सं. १९७० मा काठमाडौँको महाबौद्धमा पन्तको जन्म भएको थियो। उनका पिता कृष्णदत्त पन्त रानीपोखरी पाठशालामा व्याकरणका अध्यापक थिए भने आमा यज्ञप्रिया गृहिणी। डेढ वर्षको हुँदा पिताको देहावसान भएकाले मावली हजुरबुबा पं. भुवननाथ पाँडेको छत्रछायामा मामाघरमै पन्तको बाल्यकाल बित्यो।
रानीपोखरी पाठशालाका ज्यौतिष विषयका अध्यापक विद्वान् हजुरबुबासँगको उठबसले नयराज पन्तमा सानै उमेरदेखि नै विद्यासम्बन्धी भोक पैदा हुन पुग्यो। यही भोकले कालान्तरमा उहाँलाई संस्कृत क्षेत्रको एक उदाहरणीय र गण्यमान्य विद्वान्का रूपमा स्थापित गरायो। नयराज पन्तले नेपालको इतिहास, संस्कृत भाषा, व्याकरण, साहित्य र ज्यौतिषको क्षेत्रमा गरेको योगदान अविस्मरणीय छ।
पन्तका अनुसन्धानात्मक कृतिहरूको प्रामाणिकता र गरिमाबारे कमै मात्र खोज अनुसन्धान भएका सन्दर्भमा उनका गणित ज्यौतिषसम्बन्धी केही महत्वपूर्ण फुटकर रचनाहरूलाई हालै नेपाल प्रज्ञा–प्रतिष्ठानले नयराज पन्तका ज्यौतिषीय चिन्तन प्रकाशित गरेको छ। पुस्तकमा रहेका फुटकर रचनाहरूको सङ्कलन र सम्पादनसँगै पन्तद्वारा संस्कृतमा लेखिएका केही सिर्जनाहरूको अनुवादसमेत गरी उपप्राध्यापक श्याम खनालले तयार पार्नु भएको हो।
संस्कृत शिक्षा भनेको मात्र कर्मकाण्ड र ज्यौतिष भनेको चिना टिपन, रत्नधारण र फलादेशसम्बन्धी काम गर्ने विधा मात्र हो भन्ने कुराले जनमानसमा गहिरो प्रभाव पारेको छ। संस्कृत र ज्योतिषको खास महत्व बुझाउन पन्तका लेख रचनाहरूको अध्ययन गर्नुपर्ने धारणा सम्पादक खनालले राखेका छन्। पन्तका लेख–रचनाको अध्ययनबाट संस्कृत एवम् ज्यौतिषको वास्तविक अर्थ खुल्न जाने हुनाले नै प्रज्ञा प्रतिष्ठानले यस ग्रन्थको सम्पादन गराएको बेहोरा प्रष्ट हुन्छ।
नयराज पन्त जीवित रहँदासम्म कसैको आँट नभए पनि उहाँ स्वर्गीय भइसकेपछि सिद्धान्त ज्यौतिष हिन्दुहरूको सिद्धान्त होइन, हाम्रो त वेदाङ्ग ज्यौतिष हो भनेर प्रचार–प्रसार गर्ने विद्वान्हरूको समूह नै देखा परेको दाबी सम्पादकको छ।
ज्योतिषीहरूका बीचमा पनि धारणागत वैविध्य र भ्रमपूर्ण चिन्तन व्याप्त भएको समयमा पन्तले शास्त्रानुकूल प्रामाणिक तथ्य प्रस्तुत गरेका थिए। वास्तवमा भारतमा लामो समयदेखि चलिरहेको सायनवादीको भ्रमपूर्ण चिन्तनको प्रभाव तत्कालीन नेपाली ज्योतिषीहरूमा पनि परेको थियो। कागले कान लग्यो भनेर कान नछामी कागकै पछि धाउने प्रवृत्ति अन्त्य गर्न पन्तले ‘सायनको विरोधी निरयण नभएको र सायन र निरयण दुवै पद्धति हामीले अँगालेको’ तथ्य सप्रमाण विभिन्न पत्रपत्रिकामा छपाएका थिए। यसले गर्दा विषयवस्तु नै नबुझी सायन सायन भन्ने कथित विद्वान्हरू त्यस समयमा नतमस्तक भएका थिए।
सम्पादक खनाल त्यस किसिमको अवस्था अहिले पनि विद्यमान ठान्छन्। आफ्ना प्रामाणिक पञ्चाङ्ग छाप्न नसक्ने, शास्त्रीय गहनता बुझ्न नसकी अलमलिएका व्यक्तिहरूका लागि यो पुस्तक असल मार्गनिर्देशक बन्न सक्ने देखिन्छ। गणिताध्याय, गोलाध्यायको कुरा क्लिष्ट भए पनि समान्य मानिने लीलावतीको पनि राम्रोसँग अर्थ गर्न नसक्नेले चलाएको पञ्चाङ्गको कोलाहलको उत्तर नयराज पन्तका लेख रचनाहरूले दिने हुँदा ती लेख–रचनाहरूको संग्रहग्रन्थ बनाउनुपरेको तर्क सम्पादक खनालको देखिन्छ।
भारतमा सुधाकर जस्ता विद्वान् पनि थिबोको पछि लागेर थिबोले भन्ने गरेका ‘सिद्धान्त ज्यौतिष त हिन्दुहरूले ग्रिकबाट सुटुक्क सारेर ल्याएका हुन्, जसलाई उनीहरूले ईश्वरको कृपाका रूपमा व्याख्या गर्दछन्। यो सिद्धान्त उनीहरूको मौलिक सिद्धान्त होइन’ भन्ने कुरामा हँमा हँ मिलाउँदै हिँड्ने गरेका थिए। त्यस कुराको पन्तले सप्रमाण खण्डन गरी ज्यौतिषशास्त्रलाई बचाएका थिए। पुस्तकमा यी सम्पूर्ण कुरा समेटिएका छन्।
नयराज पन्त जीवित रहँदासम्म कसैको आँट नभए पनि उहाँ स्वर्गीय भइसकेपछि सिद्धान्त ज्यौतिष हिन्दुहरूको सिद्धान्त होइन, हाम्रो त वेदाङ्ग ज्यौतिष हो भनेर प्रचार–प्रसार गर्ने विद्वान्हरूको एउटा समूह नै देखा परेको दाबी सम्पादकको छ। सिद्धान्त ज्यौतिषसम्बन्धी उक्त धारणा गलत भएको निष्कर्ष पन्तको रहेकाले ज्योतिषको गुह्य तत्व नबुझेका र नबुझीकनै होहल्लामा लाग्नेहरूले एकपटक उनका लेख–रचनाहरू अध्ययन गरी शङ्कारहित हुनुपर्ने धारणा सम्पादकको छ।
प्रकाशित: २६ श्रावण २०८० ००:३३ शुक्रबार