२८ माघ २०८२ बुधबार
image/svg+xml
विचार

सिन्धुपाल्चोक विपद्का शोक

सिन्धुपाल्चोक भूकम्प, बाढी पहिरो, आगलागी, हावाहुरी, चट्याङ, खडेरी जस्ता प्रकोपबाट अति प्रभावित जिल्ला हो। बितेका एक दशकमा मात्र ४ हजार जिल्लाबासीले ज्यान गुमाए।

 सयौँ घाइते र बिस्थापित भए। जुरे पहिरो, भूकम्प, लिदी पहिरो, मेलम्ची बाढी जस्ता विपद्ले जिल्ला पुरै थलिएको छ। भूकम्पले भत्केको घरमा भरखर सरेका सयौँ परिवार फेरि पहिरो र बाढीको मारमा परेका छन्। घर बनाउन गर्नुपर्ने मेहनत र सोका लागि बहन गर्नुपर्ने आर्थिक दायित्व अनि घरबारबिहीन हुनुपरेको अवस्थाले सिन्धुबासीको खुसी पुरै खोसिएको छ।

जुरे पहिरो

२०७१ साउन १७ गते खेतीपातीको मुख्य मौसम भएकाले दिनभरको कामले थकित भइ मस्त निद्रामा परेका स्थानीयका लागि त्यो कालो रात बन्यो। राम्चेमाथिको गाउँको एक सिंगो डाँडो चिरिएर खस्यो र तल जुरेको बजार क्षेत्रमा आइ बजारियो। भोटेकोसी नदी १२ घण्टा थुन्यो। १५३ घर पुरियो। १४५ जनाले ज्यान गुमाए। अन्य सयौँ घाइते भए। ठूलो संख्यामा पशु चौपायको क्षति भयो। खेतीयोग्य जमिन बगरमा परिणत भयो तटीय क्षेत्र खाडीचौर, दोलालघाटदेखि सप्तकोसी ब्यारेजको सबै (५६ वटा) गेट खोलियो। भारतको बिहारसम्मका मानिस त्रसित भए।

भोटेकोसी बाढी पहिरो

२०७३ असार ३१ मा भोटेकोसी खोलाले वितन्डा मच्चायो। भूकम्पले चिराचिरा परेको जमिन सबै खोलाले तान्यो। तातोपानीसम्म जाने सडक क्षतविक्षत बन्यो। लिपिङ र लार्चा नदी असपासका ६० घर खोलाले बगायो। धेरै मानिस विस्थापित भए। पर्यटकीय तातोपानी क्षेत्रमा पूर्ण रूपमा क्षति पुग्यो। व्यापार गरी गुजारा चलाइरहेका मानिस विस्थापित भइ बेरोजगार बने।

लिदी पहिरो

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. २ मा छ लिदी गाउँ। त्यहाँ एकै ठाउँमा २१५ परिवार बसोबास गर्दै आइरहेका थिए। २०७७ साउन ३० गते बिहान ५ बजे माथिबाट पहिरो खस्दा ३७ घर पुरिएर ३९ जनाको मृत्यु भयो। सय भन्दा धेरै मानिस घाइते भए। खेतीयोग्य जमिन पुरियो। गाउँ पूर्णरूपमा बिस्थापित हुने अवस्था आयो। उनीहरू जुगल गाउँपालिका वडा नं. १ सेलाङ, वडा नं. ५ चनौटेलगायत क्षेत्रमा बसोबास गर्न थालेका छन्।

मेलम्ची वितण्डा

सिन्धुपाल्चोकको शान्त खोलाका रूपमा चिनिने मेलम्ची र इन्द्रावती आसपास धेरै मानिसको बसोबास थियो। निकै राम्रो खेतीयोग्य जमिन भएको यस क्षेत्रमा मानिसको मुख्य आयआर्जनको माध्यम कृषि थियो। २०७८ असार १ गते मेलम्ची खोलामा अचम्मको बाढी आयो। लेदोसहितको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रको जनजीवन तहसनहस बनाइदियो। ३०८ घर बगायो। नदी तटीय क्षेत्रको कैयन् जमिन बगरमा परिणत भयो। करिब ७ हजार रोपनी जमिन मासियो। मेलम्ची खानेपानी आयोजनामा क्षति पुग्यो। १८ जनाको मृत्यु भयो। ६ सय परिवार बिस्थापित भए। १३ वटा पुल बाढीले बगायो।

विगतका घटनाबाट पाठ सिक्दै समुदाय र स्थानीय तह सक्रिय भएर लाग्ने हो भने जोखिम धेरै घटाउन सकिन्छ।

सोही समयमा पाचँपोखरी थाङ्पाल भएर बग्ने इन्द्रावती नदीमा आएको बाढीले नदी आसपासका बस्ती तथा आवासमा क्षति पु¥यायो। नदी आसपासका ३८५ परिवार बिस्थापित भए। बाढीले २ जनाको ज्यान लियो। यस क्षेत्रका ६८५ परिवारलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लाभग्राही कायम गरी पुननिर्माण र पुनस्र्थापना कार्य अगाडि बढाइरहेको छ।

यसरी २०७० देखि २०८० सालसम्म आइपुग्दा जिल्लामा मनसुनजन्य विपद्को प्रभाव धेरै परेको छ। मनसुनजन्य विपद्बाहेकका आगलागी, चट्याङ जस्ता विपद् छिटपुट भएका छन्। धेरै प्रभाव पार्ने मनसुनजन्य विपद्मा बाढी र पहिरो रहेको छ। यी प्रकोपका कारण अनेकन होलान्। जथाभावी निर्माण संरचनाले पनि समस्या बढाइरहेको छ। विपद्बाट प्रभावितलाई व्यवस्थापन गर्ने कार्य पनि भइरहेको छ।

जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पबाहेक बाढी र पहिरोबाट प्रभावित १६०४ लाभग्राही परिवार कायम गरिसकेको छ। लाभग्राहीमध्ये ८१५ जनाले पहिलो किस्ता, ९८ जनाले दोस्रो किस्ता र १६ जनाले तेस्रो किस्ता प्राप्त गरी सुरक्षित स्थानमा घर बनाइरहेका छन्।

सिन्धुपाल्चोकमा विगतमा भएका ठूला विपद्का घटनाबाट पाठ सिक्दै त्यसबाट हुने जोखिम न्यूनीकरण गर्न स्थानीय सरकार लगायत सरोकारवाला निकाय लागिपरेका छन्। सबै स्थानिय तहमा विपद् सम्पर्क व्यक्ति तोकिएका छन्। स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना हुन थालेका छन्। आपतकालीन आश्रय स्थल निर्माण भएका छन्। जोखिम क्षेत्र र सुरक्षित स्थान पहिचानका लागि भूजोखिम अध्ययनको काम सुरु भएको छ। हाल जिल्लाका २११ स्थानको भूजोखिम अध्ययन भएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पबाहेक बाढी र पहिरोबाट प्रभावित १६०४ लाभग्राही परिवार कायम गरिसकेको छ।

विगतका घटनाबाट पाठ सिक्दै समुदाय र स्थानीय तह सक्रिय भएर लाग्ने हो भने जोखिम धेरै घटाउन सकिन्छ। स्थानीयमा विपदबारे सचेतता बढाउने र तयारीको पक्षमा जोड दिन जरुरी छ। साथै समुदायको परम्परागत असल ज्ञान (जस्तो–पोखरी निर्माण, हरेक गाउँटोलमा भल एवं निकासको व्यवस्था आदि विषय) मा पनि सबैको ध्यान जान आवश्यक छ। 

प्रकाशित: २२ श्रावण २०८० ००:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %