१६ चैत्र २०८० शुक्रबार
विचार

भातृ संगठन विघटनको समय

सन् १९४७ मा स्वतन्त्रतासँगै भारतीय कांग्रेस विघटन गर्ने प्रस्ताव महात्मा गान्धीले राखे । सुभाषचन्द्र बोसको आजाद हिन्द सेना र भगत सिह, चन्द्रशेखर आजादको समाजवादी संगठनको विशेष भूमिका रहे पनि राष्ट्रिय मुक्ति आन्दोलनको प्रमुख अगुवा कांग्रेस नै थियो । कम्युनिस्ट भने स्वतन्त्र भूमिकामा नरहँदा विवादित बने । नयाँ भारतमा नयाँ समस्या थपिएका थिए । उपनिवेशवादविरुद्ध संघर्ष गर्न बनेको पार्टीले नयाँ चुनौती सामना गर्न सक्दैन भन्ने गान्धीलाई लागेर नै कांग्रेस विघटन गर्नुपर्छ भनेका हुन । 

कुनै पनि संगठनको जन्म, विषय वा वस्तुको आविष्कार ऐतिहासिक आवश्यकताले तय गर्छ ।  औचित्य कायम गरिराख्न वा निरन्तरता दिन या त त्यसलाई समयानुकूल परिस्कृत र परिमार्जन गर्दै लानुपर्छ नत्र त्यसलाई विघटन  गर्नुपर्छ । ऐतिहासिक आवश्यकताले जन्माएका संगठनको औचित्य सकिनेबित्तिकै त्यसको कुनै अर्थ र महत्व रहँदैन । निरन्तरता दिइयो भने पनि नामका त संगठन रहन सक्छन् कामको भने रहँदैनन् ।

       जहिले पनि सामाजिक अन्तरविरोध हल गर्न राजनीतिक पार्टीहरूले पनि आप्mनो संगठन सिद्धान्तमा विकास गरिरहनुपर्छ । समयानुकूल बनाउने चुनौती हुन्छन् । टे«डमार्कका रूपमा हैन, आफ्नो पार्टीको दर्शन, विचारका आधारमा सामाजिकीकरण गर्नसक्ने संगठनको चरित्र किटान गर्न सकेन भने प्रजातान्त्रिक आन्दोलन सुरु गर्ने प्रजा परिषद्को अवस्था भोग्नुपर्ने हुन्छ । इतिहासबाट वर्तमानका समस्या हल गर्ने शिक्षा लिन सकेमात्र इतिहासवोध मानिन्छ । त्यसैले सामाजिक आन्दोलनको धारिलो हतियार बन्न नसकेर सन्दर्भहीन बन्दै गएका राजनीतिक पार्टीका भातृ संगठन सन्दर्भहीन भएकाले अब विघटन गरिदए हुन्छ ।

भातृ संगठन बनाउने कारण

सिद्धान्तको राजनीति हावी हुँदा पार्टी सदस्यता कडाइ, कठोर अनुशासन पालना गर्नुपर्ने अर्कातर्फ विभिन्न पेशा वा समूहमा राजनीतिक हस्तक्षेप पनि गर्नुपर्ने हुँदा राजनीतिक पार्टीले भातृ संगठन वा जनवर्गीय संगठन (जवस) बनाउने गर्थे । विश्व कम्युनिस्ट आन्दोलनको अभ्यास र अनुभव प्रयोग गर्दै नेपालमा पनि कम्युनिस्ट पार्टीले जवसको गठन गर्न पुगे । डा.केआइ सिंहको सिंहदरवार विद्रोहपछि पार्टीमाथि प्रतिबन्ध लागेपछि कम्युनिस्टहरू विद्यार्थी फेडरेसन, न्यून वैेतनिक कर्मचारी, किसान संगठन जवसमार्फत नै राजनीतिमा सक्रिय भए । २०१७ सालपहिला नेपाली कांग्रेसका भातृ संगठनमा महिला संघ, तरुण दल, मजदूर संगठनमात्र थिए । पार्टीे प्रतिबन्धकालमा भातृ संगठन नै राजनीतिका बाहक बन्थे । २०३६ सालको विद्यार्थी आन्दोलन त्यसको उत्कर्ष थियो ।

माओवादीले जनयुद्धकालमा जातीय र क्षेत्रीय संगठनमार्फत ह्वात्त राजनीति विस्तार पनि ग¥यो । जहिले पनि प्रतिबन्ध, दमन र संघर्षकाल भनेको सिद्धान्तको राजनीतिको महापरीक्षा हुने गर्छ । पेशागत आवरणमा आन्दोलन पनि पेशागत हितका साथै राजनीतिका पनि प्रतिनिधि बन्थे । पार्टी प्रवेश खुकुलो मात्रै नभएर चारै ढोका खुलेपछि अब परीक्षणकाल वा जवसमा बस्नु आवश्यक रहेन । जवस र पार्टीका कार्यक्रममा कुनै भिन्नता नभएपछि बीचको धर्को तानिराख्नु आवश्यकता रहेन । भातृ संगठन कार्यकर्ता र नेता जन्माउने कारखाना हुन्थे अब भने लाउके, गुटियार र एनजियोकर्मी जन्माउने थलो बन्दै गयो । जवसबाट पार्टीमा पठाउनेभन्दा पार्टीबाट जवसमा नियुक्त हुने भयो ।

गहना कि बोझ ? 

सम्पन्न चुनावमा कुनै भातृ संगठन मूल भूमिकामा देखिएनन् । सांस्कृतिक संघ नाचगान गरेर भिड जुटाउने र युवाहरू पाखुरेमा फेरिएर लड्भिड गर्नेबाहेक । राज्यसत्ताको रूप र चरित्र फेरिँदा पनि पार्टीमा भने राजनीतिक संस्कृति र सांगठनिक चरित्र पुरानै ढर्राकै छन् । जवसका कुरा गर्दा माउपार्टी नै सिद्धान्तहीनताको चरम भएका बेला ‘आफना बाउको त त्यो गति, कान्छा बाउको झन् भांग्रा धोती’ बन्दै गएका छन्।

  आन्दोलन नै नरहेपछि जवस मौलिक चरित्रमा टिक्न नसक्नु स्वाभाविक हो । त्यसैले पार्टीलाई गहना नभई बोझ बनेका हुन् । जवस रहे पनि कार्यकर्ता मूल विषयबाट ध्यान अन्यन्त्र मोड्ने माध्यममात्र बनेको छ । समस्या नयाँ आएका छन् तर संगठनका चाल, चलन र चरित्र भने न पुरानैमा  छ, न नयाँ बन्नै सकेका छन् । समस्या हल गर्न या त गुटको सहारा लिइन्छ या एउटा समस्या हल गर्न अर्को ठूलो समस्या थपिदिइन्छ । तान्ने, धान्ने, लतार्नेभन्दा कुनै जवस आन्दोलनका औजार बन्नैपरेको  छैन । । अभियान, वर्ग वा समुदायका कुनै सशक्त स्वर राजनीतिमा नदेखिनु भनेको भातृ संगठनको औचित्य सकिएको स्वीकार हो । असन्तोष छ तर आन्दोलन छैन् ।

आशा, अपेक्षा र आदेशले समाजका गति नियन्त्रण हुँदैनन् । उदाहरणकै लागि माओवादीले जातीय र क्षेत्रीय संगठन त बनायो नयाँ आवेग पनि भ¥यो तत् समुदायमा चेतना, स्वत्ववोध र जागरण पनि ल्यायो तर त्यसलाई विचारले नेतृत्व गर्न नसक्दा आवेगी भिडमा फेरिएर स्वयं उसैलाई घाँडो र प्रतिकूलता पनि बन्यो ।

जब संर्घषका औजार बन्न सक्दैनन्

पेशा र भूमिकाले समाजसँग प्रत्यक्ष जोडिने हुँदा जवस आन्दोलनका औजार र जनसमुदायका प्रवक्ता हुन्थे। सामान्यजन र राजनीति पार्टीबीच पुल बन्ने गर्थे । तर जब पार्टी सदस्यता सहज हुन्छ, अनुशासनका घेरा खुकुला हुन्छन् तब जवसभन्दा सिधै पार्टी प्रवेश गर्न सकिन्छ भने कोही पनि भातृ संगठनलाई प्राथमिकता दिँदैनन् । जब संघर्षका रूप फेरिन्छन् तब त्यसका हतियार र अगुवाका रूप र चरित्र पनि फेरिन आवश्यक हुन्छ ।  मूल संगठन नै राजनीतिक संघर्ष सकिएर आर्थिक संघर्ष मात्रै रहेको निक्र्योलमा पुग्छन् भने संघर्षका औजार जवसको आवश्यकता सकिन्छ । जवसभन्दा त्यो क्षेत्रमा पार्टी विस्तार गर्न विभाग वा फ्रयाक्सन नै पर्याप्त हुन्छ ।

अहिले जवसका कुनै फरक सक्रियता नहुनुका कारण सामाजिक अन्तरविरोधलाई अन्यन्त्र मोड्ने खेल एनजियोवाद  बनेको छ । जवसका काम नै माउपार्टीले गर्ने र मौलिक भूमिका आन्दोलन र अभियानमा नरहेपछि भातृ संगठनलाई निरन्तरता दिनु आवश्यक हुन्न ।

 एनजियो र जवसमा अन्तर

 आज विद्यार्थी, मजदुर, दलित, महिला, किसान, युवा, जनजाति, मधेस र थारू आन्दोलनभित्र अनेकौं समस्या छन् तर ती समस्या आन्दोलन बन्न नसकेर एनजियो÷आइएनजियोका विकासे नारामा गोष्ठीकेन्द्रित बने । एक्टिभिस्ट र एनजियोकर्मी छुट्याउनै मुस्किल प¥यो । अझ बुद्धिजीवी, दलित, जनजाति र मधेस आन्दोलनमा घुसेको आइएनजियो एउटा खतरनाक रूप धारण गर्दैछ । बोल्ने तर परिवर्तनको आन्दोलन बन्न नसक्ने छूतको रोग लागेको छ । मिडिया माइन्ड मेनेजरदेखि बहस थालनी गर्ने बौद्धिक तप्कासँग सहकार्य गरेर आन्दोलन बनाउने जवसहरू नै चास्नीमा फसेपछि यो घालमेल भएको हो ।

कुनै पनि जवस मिटिङमा आफ्नो पेशा, वर्ग वा समुदायका समस्या र निकास उपायबारे गम्भीर बहस नै हुँदैन् । विद्यार्थी संगठनका बहस, आन्दोलन र अभियानमा शिक्षा नीति, शैक्षिक आन्दोलन, विश्वविद्यालयको स्तर, बर्सेनि लाखौँ विद्यार्थी विदेशिनु, प्राप्त शिक्षाले योग्य र दक्ष जनशक्तिमा किन विकास हुन सकेन ? शिक्षित रुढिवादी पुस्ताको विकास हुनु ज्ञान, विद्या र शिक्षा जस्ता विषय बहस र आन्दोलनका अजेन्डा बन्दैनन् । क्याम्पस र विश्वविद्यालयको स्तर उन्नति, शिक्षा, शिक्षास्तर र  सामाजिक सरोकार महत्वहीन विषय छन् । वैश्विक विद्यार्थी आन्दोलनमा नेपाली विद्यार्थी कहाँ छन् भन्ने पनि बहस छँदै छैन् । बरु जुन तरिकाले विद्यार्थी संगठनका क्रियाकलाप बढेका छन् त्यसका नकार पाटो निजी शैक्षिक संस्थान पोषिँदै गए भने विद्यार्थी विदेशिने प्रवृत्ति झन् बढ्दै गयो ।

अहिले मजदूर संगठन ट्रेड युनियनभन्दा एनजियोकरण र उनकै अजेन्डा लागु गर्ने संस्थामा फेरिँदै छन्। शिक्षक र कर्मचारी संगठनहरू राष्ट्रिय दायित्वभन्दा मूल पार्टीको फेरो समाएर छुट र संरक्षण माग्छ । जसरी अहिले आइएनजियोले विशेषज्ञका नाममा मन्त्रालय भागबन्डा गरेर नीति निर्माण तहमै नियन्त्रण गरेजस्तै भातृ संगठनहरूमा पनि पैठ जमाएर पेशागत वा समूहगत आन्दोलनका दाँत उखेलिदिएका छन् । सांसद ककस, युवा संजाल, किसान संजाल, पत्रकार महासंघ, ट्रेड युनियन संजाल, मानव अधिकारकर्मी र नागरिक समाज  एनजियोमा फेरिँदैछन् ।

अन्त्यमा

सबै प्रमुख राजनीतक पार्टीका आआफ्नै भातृ संगठन छन् तर आफ्नो समुदाय, वर्ग र पेशाका अभिभावक बन्न र आन्दोलनमा फेरिन भने सकेका छैनन् । अजेन्डामा आफनो वर्ग, पेशा, समुदायकेन्द्रित कार्यक्रम, अभियान वा संघर्षका योजना पनि छैनन् । जुन मान्यतामा जवसको सुरुवात भयो त्यसै मूल मर्म पक्रिने वा समयानुकूल परिमार्जन गरेका छैनन् । भातृ संगठनलाई सत्ताका वैशाखी मात्र बनाएर पार्टीहरूले सुविधाको भ¥याङ मात्र बनाएका छन् । 

जब पार्टीलाई कुनै आन्दोलन र अभियान आवश्यक रहँदैन् तब सिधै जनसम्पर्क पनि गर्न सक्छ तब जवसहरू या त नामकाजीमा फेरिन्छन् या गुट वा गिरोह–राजनीतिका वफादारिताका ‘लठैतमा’ । भातृ संगठनहरू पेशागत, समूहगत आन्दोलन वा अभिभावक नबनेपछि अर्को एनजियो बन्न विवश हुन्छन् । राजनीतिक आवरणमा एनजियोकरण भएका भातृ संगठनलाई नयाँ रूप र शैलीअनुसार राजनीतिक विकास नगर्ने हो भने विघटन गरे हुन्छ । या प्रजा परिषद् बन्ने नियत भोग्नुपर्छ या त शुद्धतावादी रामनामी ओड्नुपर्छ अथवा ‘पुर्पुरोमा एनजियोवादी’ बन्ने लेखिएको हुन्छ ।

 

प्रकाशित: २० असार २०७४ ०९:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App