१९०७ सालमा श्री ३ जंगबहादुर राणा बेलायतबाट फर्केपछि प्रायश्चित गर्न बनारस पुगेका थिए। त्यहाँ उनले स्वामी अभयानन्दका रूपमा बनारसमा जीवन बिताइरहेका रणवीरसिंह थापासँग भेट गरे। जंगले रणवीरसिंहलाई नेपाल फर्कन जिद्दी गरे तर उनले मानेनन्। रणवीरसिंहले नकारे पनि व्यवसाय गरी जीवन निर्वाह गरेर बसेका रणवीरसिंहका छोरा, बख्तावरसिंह थापाका छोरा र माथवरसिंह थापाका छोरा भने नेपाल फर्के। तिनीहरूले नेपाल जाने आज्ञा माग्दा स्वामी अभयानन्दले 'सक्छौ जागिर नखाऊ, सक्दैैनौ जागिर खाऊ तर झन्डामुनि बस, दरबार नपस' भन्ने अर्ती दिए। तत्कालीन नेपालको राजनीतिक परिदृश्य, भीमसेन थापाको पतन र थापाहरूले व्यहोर्नुपरेको समस्या औंल्याउँदै स्वामीले दरबारदेखि सतर्क हुनुपर्ने कुरा संकेत गरेका थिए। नेपाल फर्केपछि रणवीरसिंहका छोराहरूले कपडा र जुत्ताको व्यापार गरे पनि सफल हुन सकेनन्। उनीहरूलाई नोकरी गर्न कर लाग्यो।
यिनै स्वामी अभयानन्दले सुझाएका थिए– सक्छौ जागिर नखाऊ, सक्दैैनौ जागिर खाऊ तर झन्डामुनि बस, दरबार नपस।
स्वामी बनेका रणवीरसिंह साना काजी अमरसिंह थापा र सत्यरूपाका कान्छा छोरा थिए। उनी मुख्तियार भीमसेन थापाका सहोदर कान्छा भाइ थिए। कम्पनी सरकार र नेपालबीचको युद्धका बेला उनको भूमिका उल्लेखनीय थियो।
नेपालको राजदरबारमा प्राचीन कालदेखि नै सिद्धहरूमा श्रद्धा र आदर हुने गर्थ्यो। गुल्मी रेसुंगाका सन्त शशिधरबाट अध्यात्म विद्यामा दीक्षित भएकाले रणवीरसिंहको पनि दरबारमा प्रतिष्ठा थियो। रणवीरसिंहले अध्यात्म विद्या बाह्र वर्षसम्म अध्ययन गरेका थिए।
पाल्पा राज्यलाई नेपाल अधिराज्यमा विलय गराएपछि सत्ताको बागडोर सम्हालेका भीमसेन थापाले साना काजी अमरसिंह थापालाई पाल्पाको शासक बनाएर पठाए। बाबुसँगै छोरा रणवीरसिंह पनि योगभ्रष्टका रूपमा पाल्पा गए। त्यसै वर्ष उनको नैनकुमारीसँग विवाह भयो। १८७१ सालदेखि सैनिक सेवामा प्रवेश गरेका रणवीरसिंहमा अन्तर्निहित कुशाग्र बुद्धि, पराक्रम र कूटनीतिक ज्ञान भएकाले उनी फुल जर्नेलसम्म पदोन्नति भए। रणवीरसिंहलाई 'फुल जर्नेल' र 'छोटा जर्नेल' पनि भन्ने गरिन्थ्यो।
रणवीरसिंह पाल्लामा रहेका बेला नेपाललाई कर तिर्दै आएको सिक्किम विद्रोही बनेको थियो। बेतियाका राजा हरसिंहदेवले त्यताको भूभाग टुक्र्याउन खोज्दैे थिए। बाराका किसन तेली र पाल्पाका पृथ्वीपाल सेनका कान्छी महारानी, छोरा रत्नसेन र गुरु एवम् सल्लाहकार कनकनिधि तिवारीलगायत विद्रोहीसँग मिलेका थिए। यस्तो परिस्थितिमा कम्पनी सरकारले पूर्वका एक सय बाइस गाउँ तथा बुटवल र स्युराजको खिचलो निकाली २५ दिनभित्र नेपालले ती भूभाग नछोडे आफूले अधिकार गर्ने भन्दै १८७० फागुनमा नेपाललाई पत्र पठायो। नेपालले जबाफ पठाउन तरखर गर्दागर्दै १८७१ वैशाख १० मा कम्पनी फौजले बुटवल कब्जा गर्यो। पाल्पाका सानाकाजी थापाले जेठमा हमला गरी बुटवल फिर्ता लिए। युद्धको ज्वाला झनै दन्कियो। त्यसैबेला असोजमा सानाकाजी अमरसिंह परलोक भए। यसपछि कर्नेल उजिरसिंह थापा पाल्पाका हाकिम बनाइए भने रणवीरसिंह पर्सा समनपुरतर्फ खटिए। नेपाल र कम्पनीबीचको युद्धमा कम्पनीलाई परास्त गर्नमा रणवीरसिंहको महŒवपूर्ण योगदान छ। रणवीरसिंहलगायत प्राण शाह, बख्तावरसिंह थापाले हेटांैडा बिछ्याखोरीमा अंग्रेजसँग भएको युद्धको विवरण मकवानपुर गढीबाट श्री ५ लाई लेखेको अर्जीपत्रको बोलले रणवीरसिंह युद्धभूमिमा कति लगनशील थिए भन्ने पुष्टि हुन्छ। युद्धपछि पनि सामरिक बन्दोबस्तमा उनको लगन धेरै थियो भन्ने कुरा मकवानपुरमा किल्ला बनाउन युद्धविद्, राजजोतिषी भागिरथ जैसीलाई लेखेको पत्रले पुष्टि हुन्छ।
१८७७ सालको आखिरतिर चीनसँग नेपालको मैत्री सम्बन्ध बलियो पार्न उनी राजदूत भएर ल्हासा खटिएका थिए। राजा र मन्त्रीको आज्ञापालन गर्दै उनले चीनका बादशाहलाई विश्वासमा लिएका थिए। यही कारण चीनका बादशाहबाट ३६ हजार नेपाली रुपैयाँ र अमूल्य ज्वाराहतले जडित मयूरको कल्की लागेको रातो गजुरे चिनियाँ टोपी एवम् रत्न जडित क्वाच भीमसेन थापालाई उपहार पठाएका थिए। यिनी ल्हासामा राजदूतका रूपमा पाँच वर्षजति बसेका थिए। ल्हासा बस्दा उनमा बौद्ध धर्मको प्रभाव परेको देखिन्छ। यसै कारण लगनको आफ्नो घरमा उनले चैत्य निर्माण गरेका थिए।
नेपाल दरबारमा थापामाथि षड्यन्त्र हुन थालेको छनक पाएर उनी सतर्क हुन थालेका थिए। राष्ट्रिय स्वार्थभन्दा माथि घरेलु स्वार्थलाई स्थान दिनु हुँदैन भन्ने उनको मान्यता थियो। गृहकलह बढ्न थालेपछि दाजु भीमसेन थापालाई राज्यको सम्पूर्ण कार्यभार राजाकै हातमा दिनुपर्छ भन्ने सल्लाह दिएका थिए। तर यी कुरालाई भीमसेन थापाले गम्भीर रूपमा लिएनन्। सानै उमेरदेखि सन्त शशिधरको प्रभावमा परेका रणवीरसिंह गृहकलह बढ्दै गएपछि वैराग्यतिर ढल्कन थालेको देखिन्छ। उनी क्रमशः सांसारिक व्यवहारदेखि टाढा हुँदै परमार्थतिर उन्मुख हुन थाले। यो काम सबै सन्त शशिधरको हो भनी शशिधरलाई चार भन्ज्याङभित्र आउन नपाउने गरी पूर्वतिर निकाला गरियो। आफ्ना गुरुलाई निकाला गरिदिएपछि उनको मनमा ठूलो चोट पर्यो र गुरुको खोजी गर्न हिँडे।
यही बेला भीमसेन थापाले उनलाई पाल्पाको हाकिम बनाएर पठाए। उनलाई पाल्पालगायत सम्पूर्ण पश्चिम नेपालको जंगी तथा निजामतीको अधिकार दिइएको थियो। न्यायिक अधिकार भने केन्द्रमा साध्नुपर्ने व्यवस्था गरिएको थियो। पाल्पाको प्रशासनको काम उनीसँग गएका जेठा छोरा शेरविक्रम थापाले गर्थे। उनी योगाभ्यास र धार्मिक कार्यमा समय बिताउँथे।
बडामहारानी त्रिपुरासुन्दरीको मृत्युपछि चार वर्षसम्म थापाहरूमाथि कुनै व्यवधान आएन। १८९४ जेठमा रणवीरसिंहलाई काठमाडौं आउनु भन्ने आदेश गरिएपछि कार्यभार छोरा शेरविक्रम थापालाइ बुझाएर काठमाडौं आए। यही बेला शिशु देवेन्द्रविक्रम शाहको भातखुवाइ भएको दुई चार दिनदेखि बिरामी परेर मृत्यु हुन गयो। विष खुवाएर मृत्यु भएको भन्ने आरोप भीमसेन थापा र रणवीरसिंहतिर सोझियो। विष खुवाएको वात लागी दुवैलाई हतकडी ठोकियो। अधिकार सबै खोसिएर प्राइमिनिस्टरी पद रणजंग पाण्डेको पोल्टोमा पुग्यो।
विष मुद्दा मत्थर भई कात्तिक अन्ततिर दुवैजना जेलबाट छुटे। रणवीरसिंह जेलबाट छुटेको चारै दिनमा शशिधर उनलाई भेट्न आइपुगे। भोलिपल्टदेखि नै रणवीरसिंह जोगी बन्ने तरखरमा लागे। उनको शिखासूत्रको विजय होम भयो। अनि स्वामी अभयानन्द भन्ने छोटो नाम एवम् श्रीमत्परहंसपरीव्राजकाचार्य स्वामी अभयानन्द गिरी भन्ने पद ग्रहण गरेर संन्यासपदमा गुरुमुखी भए।
रणवीरसिंह स्वामी अभयानन्दका रूपमा हरिहरपुरदेखि त्रिवेणीसम्मका चुरे पहाड र तराईको भावर क्षेत्रमा बसे। पछि उनी बनारस दुर्गाकुण्डमा बसे।
रणवीरसिंहको मृत्यु ७२ वर्ष पाँच महिनाको हुँदा १९१९ मंसिरमा भएको थियो। उनले ध्यानयोग, मन्त्रयोग, लक्ष्ययोग र वासनायोग नामक चार पुस्तक लेखेका थिए। उनका ज्ञानमार्ग र भक्तिमार्गलाई सँगसँगै लिएर जीवन र जगत्को गहन विश्लेषण गरी रचना गरिएकोे ६१ वटा नेपाली र सधुक्कडी हिन्दी भाषा मिश्रित भजन रहेका छन्। स्वामी अभयानन्द प्रथमलाई टाढा राख्न नसकिने अर्को एउटा पक्ष हो नेपाल भाषाको वाङ्मयमा उनको योगदान। स्वामी अभयानन्दले नेपालभाषामा धेरै भजन रचना गरेका छन्। त्यसमध्ये प्रकाशमा आएका तीनवटा भजन हृदयस्पर्शी छन्।
प्रकाशित: १२ असार २०७४ ०३:५५ सोमबार