४ पुस २०८१ बिहीबार
image/svg+xml
विचार

युवा आकांक्षाको ऐनामा मेरो देश

युवाहरू उत्तम विचारका सर्वोत्तम मानिस हुन्। युवाहरू सामाजिक न्यायका न्यायाधीश हुन् र लोकतन्त्रका रक्षक।

विद्वान् युवा मित्रहरू! प्रतिज्ञा तब सुरु हुन्छ जब आशाहरू मरिसकेका हुन्छन्। युवा भनेको देशको पिरामिड हो र समाजको मेरुदण्ड। वर्तमानको भुइँचालो र भविष्यको हकदार। युवाहरू देशका समस्या होइनन्। समाधान हुन्। युवा समस्यासँग डराउँदैनन्। बरू समस्या युवासँग डराउँछन्। युवावस्था सधैँ आवेशमय हुन्छ। युवाहरू क्रोधबाट आगो–आगो र करुणाबाट पानी–पानी हुन्छन्। युवाहरूले आजको यो जर्जर युगलाई स्वर्णकालमा बदलिदिन्छन्। युवाहरू उत्तम विचारका सर्वोत्तम मानिस हुन्। युवा सामाजिक न्यायका न्यायाधीश हुन् र लोकतन्त्रका रक्षक। त्यसैले त युवा देशभक्तहरूका पनि देशभक्त हुन्।  

निशा देसारको गीत जस्तै– भन्न त भन्दछन् सब् जमाना खराब छ। बाहिर हेर्दा एउटा, भित्र छ अर्कै रूप। बुझ्नै छ गाह्रो गाह्रो, बहाना खराब छ। मान्छेहरूको आफ्नै चाहना खराब छ। हो, आजको जवाना यस्तै छ तर यसलाई सुन्दर समाज बनाउने काम पनि त आजका युवाहरूको क्षेत्राधिकारभित्र पर्छ। जर्मनीका कार्ल माक्र्सबाट भारतका राहुल संस्कृत्यानन् अति नै प्रभावित थिए। कतिपय नेपाली राजनीतिज्ञ भने भारतीय समाजवादी दार्शनिक राहुल सांकृत्यायनको विचारबाट प्रभावित छन्। सांकृत्यायनको एउटा भनाइ छ– समाज से भागो नही, फिर कर सारा दुनियाँ बदलो (समाजबाट भागेर नजाऊ, फर्केर आऊ र सारा समाज तिम्रो अनुकूल बदल)।  

राहुल सांकृत्यायनले ‘गंगा से भोल्गातक’ पुस्तक लेखेका छन्। उनले भारतबाट पैदलै हिँडेर भोल्गा नदीसम्म पर्ने भूभागका समाजको सूक्ष्म अध्ययन गरेका थिए। ६४० माइल लामो संसारको सबै भन्दा अचम्मको भोल्गा नदी जो तातो मौसममा उत्तरी धुव्रतिर बग्छ भने चिसो मौसममा क्यास्पियन सागर वा दक्षिणतर्फ बग्छ। कसरी रुसमा अक्टोबर क्रान्ति वा सन् १९१७ मा साम्यवाद स्थापना भयो भन्ने विषयमा राहुल सांकृत्यायनको अध्ययन केन्द्रित थियो। उनको अध्ययन निष्कर्षमा युवाहरूलाई भनेका छन्– तिमी समाज परिवर्तन गर्न चाहन्छौ भने गफ गर्न छाड। एउटा कपी र लेख्ने कलम समातेर गाउँ डुल्न जाउ। गाउँमा गएर तिमीले तिम्रो गाउँको सूक्ष्म अध्ययन गर। कति कति कुन कुन र के के कारणले तिम्रो गाउँ गरिब भएको रहेछ। तिम्रो गाउँ के नपुगेर गरिब बनेको रहेछ। तिम्रो गाउँको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक, सांस्कृतिक, कृषि, व्यापार, उद्योग, रोजगार, न्याय अन्याय आदि सबै क्षेत्रको अध्ययन गर। तिमीहरू १० जना मिलेर यसरी आफ्नो समाजको अध्ययन गर्न थाल्यौ भने समाधानका सबै बाटा तिम्रो अगाडि आफैँ आउने छन्। आजको तिम्रो समाज कस्तो छ र तिमी यसलाई कस्तो बनाउन चाहन्छौ, यी कुरा प्रष्ट नभएसम्म तिमीले समाज परिवर्तन गर्न सक्दैनौ, बरू समाजले तिमीलाई परिवर्तन गरिदिन्छ। समाज सधैँ लोहोरो जस्तै स्वभावको हुन्छ अथवा जता मसला देख्छ उतै जान्छ। अथवा समाजलाई जसले भोजभतेर खुवाउँछ समाजले उसकै वकालत गर्छ। समाजले कहिल्यै गरिबलाई न्याय दिँदैन।  

रुसी भाषामा एउटा उखान छ– जब धन बोल्छ तब सत्य चूप लाग्छ। तिमी एउटा उन्नतिशील गतिशील परिवर्तनशील खुला उदार लोकतान्त्रिक समाज निर्माणको परिकल्पना गर्न चाहन्छौ भने सबै भन्दा पहिले तिम्रो धर्म र कर्म भनेकै तिम्रै समाजको सघन अध्ययन गर। तिमी आफ्नै घर समाजको गहन अध्ययन र अनुसन्धान गर्नबाट टाढा टाढा भाग्छौ भने तिमी समाजबाट भागेको मानिन्छ। मैले मात्र गरेर के हुन्छ र भन्यौ भने पनि समाजबाट भागेकै मानिन्छ। तिम्रो समाज खराब छ भन्ने लाग्छ र म परिवर्तन गर्न सक्छु भन्ने लाग्छ भने तिमी यस अन्धकारविरुद्ध बत्ती बनेर जल्न सक्नुपर्छ। यो सामाजिक अन्धकारविरुद्ध बत्ती र ज्योति बनेर तिमी जल्दैनौ भने म जल्दिन भने र हामी जल्दैनौँ भने तब कसले आएर हटाउला त यो सामाजिक अन्धकार ? तिमीले र मैले सामाजिक कुरीतिहरूविरुद्ध बोलेर मात्र रूपान्तरण हुने भए त आज हाम्रो यो पृथ्वीमा घर घडेरी किन्न स्वर्गबाट आएका देवता पनि मालपोत कार्यालयमा भेटिन्थे होला।

फ्रान्सेली राज्य क्रान्तिका प्रवद्र्धक भोल्तेयरले युवालाई भनेका थिए– तिमीले आत्महत्या गर्ने योजना बनाएका छैनौ भने समाज परिवर्तन गर्ने कामको योजना बनाउनतर्फ लाग। तिमी त्यस्तो समाज बनाउ जहाँ समानता, स्वतन्त्रता र भाइचारा भावनाको बाढी नै आओस्। द्वितीय विश्वयुद्धका नायक बेलायती प्रधानमन्त्री सर विस्टन चर्चिल भन्थे– जब तिमी आफ्नो देशभित्र हुन्छौ तब सबै कुराको चौतर्फी आलोचना गर, आलोचना गर र आलोचना गर। तर तिमी जब आफ्नो देशको सीमा नाघेर बाहिर जान्छौ तब आफ्नो देशको चौतर्फी प्रशंसा गर, प्रशंसा गर र प्रशंसा गर। यसो ग¥यौ भने देशका शासकहरूले तिम्रो देशलाई सम्पन्न नबनाइ धरै पाउँदैनन्। बाहिरबाट आएका मान्छेले हाम्रो सम्पन्न देश देखेपछि अरू मानिसलाई पनि बेलायत भ्रमण गर्न आफैँ सल्लाह दिनेछन्। हो, नेपालमा पनि आन्तरिक आलोचनाको अभाव छ। हामी नेता देख्नासाथ कुनै कामैविना पनि धनुष्टंकार पारामा साष्टाङ्ग दण्डवत गरिहाल्छौँ। कुनै कामै नगरी कार्यकर्ताबाट साष्टाङ्ग दण्डवत् पाएपछि नेताले देशको हितमा केचाहिँ लछारपाटो लाउलान् र ? हामी नेपाली युवाले पनि आफ्नो सुन्दर भविष्यको सुरक्षा गार्ड आफँै बस्नुपर्छ। महात्मा गान्धीले भनेजस्तै– तिमी तिम्रो जिन्दगी त्यस्तो बनाउ कि तिम्रो जिन्दगी अरूका लागि कहिल्यै पनि भार र हेलाको विषय नबनोस्। महान नाटककार विलियम सेक्सपियरले भनेका थिए– मान्छे आफ्नो भाग्यविधाता स्वयं आफैँ हो र अरू कसैले पनि उसको भाग्य निर्माण गरिदिन सक्दैन।

हामीले प्रकृतिलाई पनि धन्यवाद दिनैपर्छ किनकि उसले मानव जीवनमा बालकबाट सिधै वृद्ध नबनाएर बीचमा युवा हुनुपर्ने नियम पनि बनाइदियो। यसै नियमलाई शिरोधार्य गर्दै हामी अहिले युवा भन्ने जीवन यात्रामा हिँडिरहेका छौँ। युवा भएर बाँच। यसको अर्थ स्वतन्त्र भएर बाँच भन्ने हुन जान्छ। विश्वमा जति पनि चामत्कारिक, अलाक्षणिक, असान्दर्भिक अद्वितीय अतुलनीय अनुपम काम भएका छन्, ती सबै युवावस्थामा गरिएका काम हुन्।

हिन्दु धर्मशास्त्रमा मानवलाई जीवन जिउन कुन अवस्थामा के गर्नुपर्छ भनेर स्पष्ट पदमार्ग कोरिएको छ। जसअनुसार जीवनमा ४ चक्र पूरा गर्नुपर्ने हुन्छ। ती हुन् धर्म, कर्म, अर्थ र मोक्ष अथवा जीवनमा २५ देखि ७५ वर्षको उमेरलाई कर्म र अर्थका रूपमा लिइएको छ। २५ देखि ५० वर्षसम्म काम वा कर्म गर र ५१ देखि ७५ वर्षसम्म अर्थको तिमीलाई कहिल्यै दुःख हुँदैन। ७६ देखि माथि तिमी आफैँ बाँच्न सक्छौ, कसैको भर पर्नुपर्दैन। मोक्ष भनेकै परम नैसर्गिक स्वतन्त्रता हो। १ वर्षदेखि २५ वर्षसम्म धर्म सिक वा जीवनमा चाहिने कुराहरूको धारण बनाऊ भनेको हो।  

दक्षिण कोरियाका विकासका पिता मानिने पार्क चु हिले भनेका थिए– युवाहरू तिमीहरूले जीवनमा पाएको सास्तीसँगै संघर्ष र सफलता पनि सँगसँगै आएको छ। उनको यस भनाइले गर्दा दक्षिण कोरियाका युवाले उनीहरूकै पालामा नराम्रो सास्ती पनि भोगे, कठोर संघर्ष पनि गरे र अन्त्यमा अपार सफलता पनि पाए। यी ३ चरण एउटै युवा पुस्तामाथि केन्द्रित थियो। आज आएर दक्षिण कोरियाका युवाका जीवनमा सास्ती र संघर्ष भन्ने कुरा इतिहासमा बास बस्यो। सन् १९६० ताका दक्षिण कोरियाली युवा पनि अहिलेको हाम्रो नेपालको जस्तै पत्नीको च्यातिएको साडी फेर्न नसकेर र एक छाक जाउलीको भात र आलुको तरकारी खान नपाएर युरोपका देशमा शरीरिक श्रम बेच्न वा अहिलेका हाम्रो देशका युवाहरू जस्तै डि थ्रि वा फोहोर, खतरा र अप्ठेरो काम गर्न युरोप जान्थे। उताबाट आएको रेमिटेन्स सुरुमा त नेपालमा जस्तै घरमा बस्ने परिवारको भोगविलासको खर्चमा सकिन्थ्यो।  

कोरियाबाट वैदेशिक रोजगारी जाँदा स्थानीय एजेन्ट र मेनपावरको कठोर आर्थिक शोषणमा युवा पर्दैनथे। उनीहरू फ्रि भिसा, फ्रि टिकटमा युरोप जान्थे। विदेश जान्छु उडेर आकाशमा, लास बनेर फर्कन्छु बाकसमा भन्ने गीत उनीहरूले गाउनु त के सुन्नु पनि परेन। पार्क चु हीले विदेशबाट आएको सबैको रेमिटेन्सको ७० प्रतिशत रकम सरकारी उद्योगधन्दामा अनिवार्य लगानी गर्नुपर्ने बाध्यकारी नियम बनाए। यसले गर्दा सबै वैदेशिक रोजगारहरूको पुँजी निर्माण सञ्चालन वा परिचालन र खुद मुनाफामा क्रमशः वृद्धि र विकास हुँदै गयो। जसको फलस्वरूप दक्षिण कोरिया पनि जापान जस्तै औद्योगिक राष्ट्रका रूपमा विकास हुँदै गयो। यसरी १९६० मा सास्तीमा बाँचेका युवाहरू आज दक्षिण कोरियाली उद्योगका साहू बनेका छन्। कठै, आज हाम्रा नेपाली दाजुभाइ र दिदीबहिनी भने अझै पनि शारीरिक श्रम बेचिरहेका छन्।

उठ चेली कम्मरै कसेर, पाइँदैन हक चूप लागी बसेर भनेजस्तै हामी नेपालका युवा पनि वर्तमानको सास्तीबाट मुक्त हुन कठोर संघर्ष गर्नुपर्ने हुन्छ। मानसिक वा शारीरिक कठोर संघर्ष नगरेसम्म हाम्रो आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक आदि क्षेत्रमा खुला र सकारात्मक परिवर्तन ल्याउन सकिँदैन। आजको हाम्रो पुस्ताले एक अथक परिवर्तनका लागि संघर्ष गरेन भने हामीले भोलिका हाम्रा सन्तति वा लालाबालाका लागि सुन्दर समाज र सुरक्षित भविष्य हस्तान्तरण गर्न सक्दैनौँ। हामीले चिच्याएर र होहल्ला गरेका भरमा कसैले हामीलाई विकास र समृद्धि दिनेवाला पनि छैन। त्यसैले विकसित नेपाल बनाउन हामी आफँै अगाडि बढ्नुपर्छ। पाउलो फेरेले भनेका थिए– हक र अधिकार भन्ने कुरा मागेर पाइँदैन, खोसेर नै लिनुपर्छ युवाहरू हो। अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले भनेका थिए– हामी युवा नवयुवाहरूका लागि आशा र सपनाका प्रतीक बनौँ।  

(त्रिवि, कीर्तिपुरमा राजनीतिशास्त्रमा स्नातकोत्तर तहमा अध्ययनरत)  

प्रकाशित: ११ श्रावण २०८० ००:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App