२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

पत्रकारिताको अर्को आयाम

फाइल तस्बिर

बुहारी पत्रकारिता तालिम लिएर स्वयंसेवीरूपमा रेडियोमा प्रवेश गर्नुभएकी लहानकी सञ्जु कुमारीको पत्रकारिता यात्रा रेडियो समग्र लहानको कार्यक्रम व्यवस्थापकसम्म पुग्छ भन्ने उहाँलाई लागेको थिएन। गृहिणी जीवन बिताइरहनुभएकी उहाँलाई स्वयंसेवी पत्रकारिता अभियानले रेडियोमा जोड्यो। रेडियो त्रिशूलीकी समाचार संयोजक प्रितिका थापालाई स्वयंसेवी पत्रकारिता तालिम लिन आउँदा रेडियोमा बोल्न पाए त गाउँमा ठूलो इज्जत हुन्थ्यो भन्ने लाग्थ्यो, त्यतिबेला मैले पनि रेडियोमा अवसर पाउछु होला र ? भन्ने लाग्थ्यो तर अवसर पाएर बिस्तारै बिस्तारै रेडियोको समाचार संयोजकको रूपमा काम गर्ने भए उहाँ खुसी हुँदै बताउनुहुन्छ। सिन्धुपाल्चोकको मालती श्रेष्ठले पनि स्वयंसेवी पत्रकारिता तालिम लिएपछि सिन्धुपाल्चोकको स्थानीय रेडियोमा स्वयंसेवीरूपमा काम गर्न थाल्नुभयो, अहिले जिम्मेवार पदमा काम गरिरहनुभएको छ। २०७२ सालको भूकम्पपछि गाउँ गाउँको ताजा जानकारी लिनका लागि गाउँ गाउँ, टोल टोलसम्म स्वयंसेवी पत्रकार हुनुपर्छ भनेर सामुदायिक सूचना नेटवर्क सिआइएनले स्वयंसेवी पत्रकारलाई आधारभूत तालिम दिएर समुदायका व्यक्तिलाई सञ्चार माध्यममा आबद्ध गराउने काम गर्दै आएको छ। व्यावसायिक पत्रकार सदरमुकाम केन्द्रित हुने भएकाले गाउँ गाउँ टोल टोलबाट स्वयंसेवी पत्रकार सिर्जना गर्न यो अवधारणा ल्याइएको हो।  

२०७५ सालमा स्वयंसेवी पत्रकारिता तालिम लिनुभएकी बाजुराकी बुहारी पत्रकार कालिका उपाध्याय स्थानीय बूढीनन्दा रेडियो स्टेसन प्रमुख जिम्मेवारीमा मात्रै पुग्नुभएन, जिल्लामै उत्कृष्ट काम गर्ने महिलाका रूपमा परिचित हुनुभयो। कालिका बुहारीकै रूपमा गृहिणी बनेर जीवन सकिने भयो भन्ने सोच्नुहुन्थ्यो तर स्वयंसेवी पत्रकार भएसँगै जीवनमा नयाँ आशा पलाएको र समाजमा प्रतिष्ठा र शक्ति बढेको अनुभव गर्नुभयो। त्यतिबेला ६ महिनाको बच्चा लिएर बुहारी पत्रकारिता तालिम लिन काठमाडौँ आउनुभएकी बाजुराका बुहारी पत्रकार कालिकालाई थोरै दुःख थिएन। बच्चासहित तालिममा सहभागी हुन त्यति सजिलो थिएन तर पत्रकार बन्ने अवसर छाड्न पनि उहाँले सक्नु भएन। त्यसैले बच्चा हेर्नलाई श्रीमान् ससन्तराज रेग्मीसहित तालिममा सहभागी हुनुभयो।  

त्यस्तै तालिममा सहभागी धनुषाकी बुहारी पत्रकार निक्की झाको बच्चाको हेरचाह गरिदिन सासू श्यामा झा आउनुभएको थियो। सामुदायिक रेडियो प्रसारक संघले हरेक वर्ष समय समयमा गरेका तालिममा यस्ता धेरै घरायसी समस्यालाई पन्छाएर महिला तथा बालबालिका सहभागी हुँदै आए र आज धेरै स्वयंसेवी पत्रकार बनेका छन् भने कतिपयले सिकेको सिपबाट राम्रो करियरकै सुरुवात गरेका छन्। सामाजिक रूपान्तरण र समृद्धिका लागि बुहारीलाई सञ्चार दूतका रूपमा गाउँ गाउँ टोल टोलबाट परिचालन गर्ने यो पवित्र उद्देश्य र अभियानलाई सबैले बुझ्नु आवश्यक छ र यसलाई निरन्तरता दिनुपर्छ।  

स्वयंसेवी पत्रकारिता तालिम लिनेको संख्या तीन सय नाघिसकेको छ। चुलोचौको र मेलापातोमा सीमित गृहिणी बुहारीलाई पत्रकारिताको सिप प्रदान गरी उनीहरूलाई सशक्त बनाउने कार्यको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाटै प्रशंसा भएको छ। आफ्नो घरधन्दा सकेर बचेको समयमा समुदायमा पुगेर सवालहरू संकलन गर्ने, रेडियोमा पुराउने, रेडियोबाट वाचन गर्ने, फोनमार्फत समाचार तथा रिपोर्ट दिने काम जति पनि भएको छ त्यसको प्रशंसा गर्नुपर्छ र अरूलाई पनि उत्साहित गर्नका लागि यो अभियान अघि बढाउनु आवश्यक छ। पछिल्लो समय आर्थिक मन्दीका कारण यस्तो राम्रो अभियानलाई अगाडि बढाउन मुस्किल परिरहेको छ। घरधन्दा, मेलापातो सकेर, घाँस दाउराको भारी बिसाएर रेडियोमा खबर र सवाल दिने स्वयंसेवी पत्रकारिता विश्व सञ्चार जगत्कै लागि फरक अभ्यास हो। स्कुलको किताबको झोला बिसाएर बेलुकाको समयमा रेडियोमा स्वयंसेवी कार्यक्रम सञ्चालन विद्यार्थीको पनि कमी छैन। त्यसैले सबै वर्गमा स्वयंसेवी पत्रकारितालाई पुराउने काम देशैभरि छरिएका ३ सय ६५ भन्दा बढी सामुदायिक रेडियोले गर्न सक्छन्। अहिले पनि यी रेडियोमा १७५ भन्दा बढी स्वयंसेवी पत्रकारिताबाट आएका व्यक्ति आबद्ध छन् भने १५ जना भन्दा बढी त रेडियो सञ्चालनको निर्णायक तहमै काम गरिरहेका छन्। मधेसी, जनजाति, दलित, सीमान्तकृत समुदाय, लैंगिक अल्पसंख्यक समुदायका लागि काम गर्ने संस्थाले स्थानीय रेडियोसँगको समन्वयमा सम्बन्धित समुदायका व्यक्तिलाई प्रशिक्षण दिएर स्वयंसेवी पत्रकारितामा आबद्ध गराउन सकिन्छ।  

सञ्चार माध्यममा महिला तथा पछाडि पारिएको वर्गलाई प्रतिनिधित्व गर्ने पत्रकारको अभाव भैरहेको बेलामा यो अभियानले सम्बन्धित समुदायका पत्रकारको संख्या बढाउने काम गर्न सक्छ। महिलाले भोग्नुपरेको हिंसा र पीडालाई बाहिर ल्याउने र त्यसको समाधान गर्ने पुलका रूपमा स्वयंसेवी बुहारी पत्रकारहरूले काम गरेको अभ्यास हेर्दा के भन्न सकिन्छ भने व्यावसायिक पत्रकार समुदायमा पुगेर वास्तविकता ल्याउन गाह्रो हुन्छ, त्यसैले समुदायमा रहेका व्यक्तिहरूलाई पत्रकारिताको आधारभूत सिप सिकाएर उनीहरूमार्फत त्यस्ता सवाल सजिलै उठाउन सकिन्छ। अहिले हात हातमा भएको मोबाइल, इन्टरनेट र प्रविधिको विकासले सूचना तथा जानकारी संकलन गरेर सञ्चार माध्यमसम्म पुराउनका लागि निकै सहज बनाएको छ। स्वयंसेवी पत्रकारले पनि मोबाइल, इन्टरनेट र नयाँ विकसित प्रविधिको प्रयोग गरेर सजिलै सूचना तथा जानकारी संकलन गरेर सञ्चार माध्यमलाई दिन सक्छन्। अहिले यो अभ्यास सिआइएनमा भैरहेको पनि छ।  

सिआइएन र सामुदायिक रेडियोमार्फत स्वयंसेवी पत्रकारका रेडियो रिपोर्ट र समाचार उनीहरूकै आवाजमा प्रसारण हुँदा गाउँ टोलमा आफ्नो प्रतिष्ठा बढेको उनीहरू बताउँछन्। रेडियोको रेकर्डर र माइक्रोफोनले आफ्नो शक्ति बढाएको र गृहिणी मात्रै नभई आफू सञ्चारको सम्बाहक भएको अहिले पनि धेरै बुहारी पत्रकारले बताइरहनुभएको छ।

साँच्चै परम्परागत हानिकारक अभ्यास, पितृसत्तात्मक सोच हटाउनका लागि तल्लो तहमा रहेका स्वयंसेवी पत्रकारले भूमिका खेल्न सक्छन्। समाजमा रहेको वाल विवाह, दाइजो, बोक्सी, छाउपडी, जातीय छुवाछूत जस्ता कुप्रथा र परम्परागत अभ्यास अन्त्य गर्ने कामका लागि यी पत्रकारले ठूलो भूमिका खेल्दै आएका छन् र आगामी दिनमा यो अभियानलाई ठूलो रूपमा सञ्चालन गर्ने हो भने झन सशक्त सवालहरू उठाउन सक्नेछन्। सम्बन्धित समुदायका लागि स्थानीय तह र राज्यका संयन्त्रहरूले दिने गरेका सेवासुविधा कार्यान्वयनको अवस्था अनुगमन गर्न, गलत भएको ठाउँमा खबरदारी गर्न अनि थप प्रचार प्रसार गर्न समुदायमा रहेका स्वयंसेवी पत्रकारले निकै प्रभावकारी काम गर्न सक्छन्। स्थानीय सरकारले पनि समुदायका सवाल बुझ्नका लागि र सरकारले गरेका काम आमसमुदायसम्म फैलाउनका लागि स्वयंसेवी पत्रकार र सामुदायिक रेडियोसँग सहकार्य गर्न सक्छन्। सामाजिक रूपान्तरण र समृद्धिका लागि सञ्चार दूतका रूपमा गाउँ गाउँ टोल टोलबाट भूमिका खेलिरहेका उनीहरूलाई हेरेर पत्रकारिता भनेको स्वयंसेवी र परोपकारी पेसा हो भनेर सबैले बुझ्नुपर्छ र सहयोग गर्नुपर्छ।  

पत्रकारितालाई धेरै पैसा कमाउने पेसाका रूपमा प्रायः देशमा लिइँदैन। सामाजिक उत्तरदायित्वका साथ काम गर्ने पत्रकारितामा स्वयंसेवी भावना बढी हुनुपर्ने भएकाले यस्तो भएको हुन सक्छ। स्वयंसेवी पत्रकारिता नागरिक पत्रकारिता वा सामुदायिक पत्रकारिता जस्तै हो। सामुदायिक पत्रकारितालाई व्यावसायिक पत्रकारिता भन्दा केही फरक तर त्यसको जराको रूपमा बुझिन्छ, किनकि यसैले व्यावसायिक पत्रकारलाई समाचारको स्रोत दिने गर्छ। समुदायको व्यक्ति वा समूहले तल्लो तहमा देखेका सवाललाई प्रत्यक्षरूपमा मिडियाका लागि उठाइदिने पत्रकारिता सामुदायिक पत्रकारिता हो। यो नागरिक पत्रकारिता नजिक भए पनि त्यो भन्दा पनि फरक छ। बालबालिका, महिला, आमा समूह, किसान समूहका सदस्य पनि यसका पत्रकार हुन सक्छन्। अमेरिकन दार्शनिक जोन डिवेले सामुदायिक पत्रकारिताको सुरुवात गरेकाले उनलाई नै सामुदायिक पत्रकारिताको पिता भन्ने गरिन्छ।  

सञ्चार माध्यममा पत्रकारको अभाव भैरहेका बेला स्वयंसेवी पत्रकारहरू पत्रकारको संख्या बढाउने माध्यम पनि बनेका छन्। रेडियोको रेकर्डर र माइक्रोफोनले आफ्नो शक्ति बढाएको र गृहिणी मात्रै नभई सञ्चारको सम्बाहक भएकामा आफूलाई खुसी लागेको बाँकेका स्वयंसेवी पत्रकार रक्षा न्यौपाने बताउनुहुन्छ।  

स्वयंसेवी पत्रकारका रूपमा समुदायका व्यक्तिहरूलाई पत्रकार बन्ने अवसर दिइरहेका सामुदायिक रेडियोहरू अहिले आर्थिक संकटमा परेकाले उनीहरूलाई सहयोग गरी स्वयंसेवी पत्रकारिताको प्रवर्धन गर्नका लागि स्थानीय सरकार र संघ÷संस्थाहरूले सहयोग गर्नुपर्दछ। समुदायको आवाज उठाउनका लागि र स्थानीय सञ्चार माध्यमलाई बलियो बनाउन, पत्रकारिता क्षेत्रमा देखिएको वितृष्णालाई हटाउन र सत्यतथ्य जानकारीका लागि यस्ता अभ्यासबारे बहस गर्नु आवश्यक छ।  

(प्रबन्धक– सामुदायिक सूचना नेटवर्क, सिआइएन)

प्रकाशित: ११ श्रावण २०८० ००:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App