समाजको सिर्जना हेर्दा पहिला आदिम साम्यवाद थियो जहाँ वर्ग थिएन, त्यहाँ सम्पत्तिको स्वामित्व र शोषण गर्ने राज्य थिएन। आदिम साम्यवाद (समाज) को विघटन भयो जसले व्यक्तिगत स्वामित्व, वर्गहरू दास र मालिकहरू उत्पन्न भए। समाजमा उत्पन्न सत्ता, सम्पत्ति र वर्ग स्वार्थको रक्षा गर्न राज्यको उत्पत्ति भयो। राज्यको विकास र शासक वर्गको रक्षाका लागि राज्यको उत्पत्ति भएकोले राज्य आफनो वर्ग स्वार्थ हितका लागि आपसमा भीषण लडाइँ लडिरहन्छ, जबसम्म वर्गहरू अस्तित्वमा रहन्छन्। राज्यको वर्ग चरित्र एउटा वर्गमाथि अर्को वर्गले शोषण गर्ने र शासन चलाउने यन्त्रका रूपमा विकास भयो।
वर्गहरूको अस्तित्व समाजमा रहँदासम्म राज्यले वर्गीय अन्तरविरोध समाधान गर्न सक्दैन। त्यसकारण वर्गीय उत्पीडन अन्त्यका लागि वर्गयुक्त राज्य व्यवस्था सकिनुपर्छ। वर्ग शोषणको चरित्रबाट गुज्रेको राज्यको सबै स्वरूप विलोपीकरण हुनुपर्छ। राज्य त एक वर्गद्वारा अर्को वर्गमाथि शोषण गर्ने यन्त्र हो। राज्यले वर्गीय अन्तरविरोधको समस्या समाधान गर्न वर्ग समन्वयकारी काम गर्र्नै सक्दैन। किनकि वर्गयुक्त समाजमा वर्ग संघर्ष र वर्ग अन्तरविरोध एउटा विकासको गतिका रूपमा चलिरहन्छ जबसम्म समाजमा वर्ग रहन्छ। त्यसकारण वर्ग संघर्षद्वारा पुरानोको अन्त्य र नयाँ सत्ताको अभ्यूदय गर्न गतिवान भूमिका खेलिरहेको हुन्छ।
वर्गीय सत्तामा राज्यको उपरी संरचनामा शासक वर्गको वर्चश्व रहेको हुन्छ। सोहीअनुरूप शासक वर्गले आफ्नो वर्गहितमा राज्य व्यवस्था टिकाइराखेको हुन्छ। तर क्रान्तिकारी वर्गले आफूले चालेको महान् क्रान्तिको बलद्वारा त्यस्तोे निरंकुश राज्यसत्ता बदल्छ, ध्वस्त गर्छ। पुरानो प्रतिक्रियावादी सत्ता क्रान्तिको ताकतले बदलिएपछि स्थिर राज्यको उपरी संरचनामा क्रान्तिधर्मी वर्गलाई स्थान दिनुपर्छ। नेपाली क्रान्तिका अपराजित शक्ति गरिब, सर्वहारा, सीमान्तकृत तथा दलित, उत्पीडित वर्गलाई राज्यको नयाँ संरचनामा उच्च स्थान दिनु अनिवार्य हुन्छ। जसले क्रान्तिका अवसरवादी तथा विसर्जनवादी तŒवलाई परास्त गर्न ढाल बनेर काम गर्छ। निरंकुशतालाई बदलेर महान् परिवर्तन ल्याउन त्याग बलिदानको कीर्तिमान कायम गर्ने समाजको जुझारू वर्गलाई सत्ताको उपरी संरचनामा स्थान दिनुपर्छ।
तर क्रान्तिले राज्यको पुरानो संरचनामा परिवर्तन ल्याएन भने त्यो क्रान्तिको लक्ष्य बोकेको नयाँ राज्यसत्ता लामो समयसम्म टिकिरहन सक्दैन। त्यसलाई पुरानो सत्ताको उपरी संरचनाको बलले प्रतिरोध गर्छ र नयाँ सत्ता भत्काउँछ। जो नेपाली नयाँ सत्ताका शासकहरू प्रतिक्रान्तिको स्वरूपबाट आफूलाई स्खलित गर्दै गएको देखेका छौँ।अहिले महान् त्याग बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ राज्य सत्ता टिकाइरहन कठिन भएको देखिन्छ। हामी देखिरहेका छौँ, हिजो वर्ग संघर्षको भीषण प्रक्रियाबाट पराजित पुरानो प्रतिक्रियावादी सामन्ती शासक वर्ग फेरि गुमेको आफ्नो राज्य सत्ता प्राप्त गर्न सकिन्छ कि भनेर माओवादी तथा अग्रगामी क्रान्तिकारी वर्गलाई अवरोध खडा गरिरहेको छ। तर यसले पुनः नयाँ स्वरूपमा समाजवादी क्रान्तिका आधारहरूको वैचारिक तथा वस्तुगत अवस्था सिर्जना गर्दै गएको छ। यसले फरक धारका वामपन्थी विचारहरूबीच समाजवादी मोर्चा निर्माण गरेको छ।
वर्गहरूको अस्तित्व समाजमा रहँदासम्म राज्यले वर्गीय अन्तरविरोध समाधान गर्न सक्दैन। त्यसकारण वर्गीय उत्पीडन अन्त्यका लागि वर्गयुक्त राज्य व्यवस्था सकिनुपर्छ।
समाजवादी मोर्चाका नाममा रूपन्तरणका नयाँ गति र विकास हुदै जानेछन् तर यसमा दलित मुक्तिका क्रान्तिकारी रुझान बोकेको अवस्था हुनै छैन। किनकि दलित हामीले भोग्यौ, दश वर्षको माओवादी जनयुद्ध र १९ दिने जनविद्रोहमा देशको मुक्तिका लागि १७०३ दलितले सहादत प्राप्त गरे तर राज्यको पुनर्संरचना गर्दा दलितलाई सत्ता, शक्ति, स्रोतसाधनको पहुँचबाट टाढा राखेर राज्यको हक उपभोग गर्न नदिइ वञ्चितीकरणमा पारियो। यसको अर्थ नयाँ शासक जाति र शासक वर्गले दलित उत्पीडित क्रान्तिधर्मी सर्वहारा वर्गलाई राज्यको उपरी संरचनामा स्थापित गर्न पहल नै गरेन। संविधानवाट प्राप्त दलित मौलिक हक अधिकार विशेष कानुन बनाएर लागु गर्नै चाहेन। बरु सत्ताले दलित मौलिक हकलाई निस्तेज पारेको कुरा यथार्थ हो। देशका लागि सत्ताको निरंकुशताविरुद्ध बलिदानको कीर्तिमान कायम गर्ने दलित सर्वहारा वर्गलाई यो नयाँ सत्ताले पनि प्रयोग गर्ने र फ्याँक्ने (युज एन्ड थ्रो) प्रतिक्रियावादी चरित्र देखाएकै हो।
सत्ताले दलितलाई सत्ताको पहुँचबाट बहिष्करण तथा निषेध गरेको हो। तर क्रान्ति विरोधी, अवसरवादी, विसर्जनवादी र आत्मसमर्पणवादी तप्काले नयाँ राज्यसत्तामा आफनो वर्चश्व कायम गरेर हालिमुहाली ग¥यो। दलितलाई सत्ता शक्तिबाट किनार लगाएर उल्टो राजनीतिकरूपमा सत्ताबाट युद्धमा पराजित भएको, हारेको पुरानो पश्चगामी शक्तिलाई यही नयाँ सत्ताले आफैँ राजनीतिक पार्टीको दलीय गठबन्धन गरेर सहजरूपमा सत्तामा चुनावबाट पुनस्र्थापित हुने वातावरण नयाँ राज्यसत्ताले बनायो। अहिले संघको प्रदेश, स्थानीय तहमा दलितको प्रत्यक्ष र समानुपातिक सिटमा न्यून अवस्था छ। सत्ता दलितलाई राज्यसत्तामा स्थान दिनै चाहँदैन। दलित शासनसत्ता चलाउने होइन, ऊ शासक जातिको सेवक हो भन्ने मनोविज्ञानबाट सत्ताले दलितप्रति शोषण गर्दै आएको छ। शासक जाति शासक वर्गले उसले आफ्नो वर्गसापेक्ष सत्तामा एकाधिकार प्रभुत्व जमाएर शासनसत्ता चलाइरहेको छ।
जुनसुकै सत्ता बदलिए पनि जुनसुकै सरकार फेरिए पनि जातपात छुवाछूत फेरिएन। जातीय छुवाछूत अन्त्य भएन किनकि दलितलाई शासन सत्ताको उपरी संरचनामा अर्थात नीति निर्माण गर्ने तहमा सत्ताले दलितलाई प्रतिनिधित्व गराएन। क्रान्तिपछि देखिने सत्ताको खाली ठाउँ (पावर भ्याकुम) मा उही शासक जाति र शासक वर्गको मात्र प्रतिनिधित्व सत्ताले गरिरहेको अवस्था छ। हाल नेपालमा संघमा प्रत्यक्षमा एकजना दलित र प्रदेशमा ३ जनाले चुनाव जितेर आएको अवस्था छ। समानुपातिक सिटमा न्यून प्रतिनिधित्व दलितको रहेको छ। प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीमा धेरै स्थानमा शासक जाति र शासक वर्गले आफूमात्र जित हासिल गरेर आउने र शासक ठालुहरूले आफनो वर्चश्व स्थापित गर्ने राज्यको संरचना बनाएका छन्। राज्यको सत्ता शक्ति स्रोतमा शताब्दिऔँदेखि शासक जाति र शासक वर्गको पहुँच रहँदै आएको छ। यही कारण शासन सत्ताको घेरा भन्दा बाहिर अहिलेसम्म दलित, उत्पीडित वर्ग परिरहेको छ। शासक जातिले आफैँ र आफ्नालाई सत्तामा राखेर आफनो जाति र आफनो वर्गको राज्य सत्ता सुरक्षित हुने काम गरेको छ। अहिलेसम्म स्थिर हिन्दु वर्णको उच्च जातीय अहंकारवादको शोषणयुक्त संरचनालाई बदल्न वर्गीय मुक्ति र जातीय मुक्तिको दुई प्रवर्गसँग उचित संयोजन गर्दै वर्ग संघर्षको प्रक्रियाबाट अघि बढ्नु अनिवार्य छ।
हामीले ग्रामीण वर्ग संघर्षलाई उच्च प्राथमिकता दिँदै दलित आन्दोलनलाई सहरिया विद्रोहमा विकास गर्दै सत्ताले छुवाछूत अन्त्य गर्ने वा सत्ताबाट बाहिरिने विचार बोकेर हस्तक्षेपकारी संघर्ष गर्नु अनिवार्य छ। दलित मुक्तिका लागि सत्ता प्रधान हो, सत्ता भन्दा अरू कुरा भ्रम हो, गौण हो। त्यसकारण युगौँदेखि छुवाछूतको युगिन दासत्व र अन्यायको घुट पिएर बाँचेका दलितले जातीय उत्पीडन अन्त्यका लागि महान् सांस्कृतिक क्रान्तिको सुरुवात थालिहाल्नुपर्छ। यसका लागि पुरानो संस्कार, पुराना व्यवहार, पुरानो परम्परा अन्यायपूर्ण आदतका सत्ता तथा पुरानो पछौटे विचारविरुद्ध लड्ने कार्यदिशा बनाएर जानुपर्छ। अहिले पनि नेपाली समाजमा उच्च जातीय अहंकारवादको निम्छरो चेतना बोकेर सत्ता शक्तिको मालिक बनेर बसेको शासक जाति, शासक वर्गसँग क्रान्तिकारी संघर्षको आँधिमय दिनहरूको संरचना बोकेर संघर्ष गर्नु अनिवार्य छ। सत्ता शक्तिबाट बहिष्करणमा परेका दलित उत्पीडित सीमान्तकृतलाई सत्तामा स्थापित गर्ने होे। त्यसका लागि नेपालका सामन्त शासक ठालुहरूलाई झुकाउन विस्थापित गर्ने हो। त्यसका लागि चालु असमान, अन्यायपूर्ण राजनीतिक सत्ताको प्रवृतिका विरोधमा महान् राजनीतिक सामाजिक आन्दोलन घनिभूतका साथ उठाउनै पर्छ।
शासक जाति र शासक वर्गले सेवामूलक, अपमानपूर्ण कठिन काम गर्ने शुद्र, दलित पाएको छ,। यसबाट आफ्नो वर्गको हित हुने भएकाले छुवाछूत अन्त्य गर्न चाहँदैन, बरु वर्ण र वर्ग उत्पीडनले थिच्दै लगेको छ। शासक वर्गले छुवाछूतको शोषणले एउटा ठूलो श्रमशक्तिलाई आफ्नो वर्गको हितमा प्रयोग गरिरहेको छ। शासकहरू आफ्नो विनास नहँुदासम्म जनताको आवश्यकता र पहलकदमीविरुद्ध खडा भइरहन्छन्। त्यसकारण यो शासक वर्ग र शासक जाति छुवाछूतको युगिन दासत्व मेट्न चाहँदैन। हामी आफैँ उत्पीडित, दलित आफूले भोगेको जातीय छुवाछूतको अन्यायविरुद्ध आफैँ बलिदानी संघर्षमा लाग्न साहस गर्नु अनिवार्य हुन्छ।
यो साँचो हो, शासक वर्ग र शासक जातिले दलितलाई शासन सत्तामा स्थान दिनै चाहँदैन बरु उसले दलितलाई अछूत, अक्षम भन्दै सामाजिक जीवनमा दमनको व्यवहार गरिरहेको छ। यी उत्पीडनका छाल अन्त्य गर्न दलित सत्तामा पुग्नुपर्छ। दलित उत्पीडित सर्वहारा सत्ता भन्दा बाहिर रहेर आफूले भोगेको उत्पीडनको दासत्व फाल्नै सक्दैन। हाल अहिले दलित राज्यसत्तामा पुग्ने कार्यनीति भनेको संविधानको धारा २४ तथा धारा ४० को १ देखि ६ सम्म कानुन बनाएर लागु गर्ने क्रान्तिकारी वैचारिक तथा वस्तुगत पहल हो। ठोसरूपमा भन्दा राज्यसत्ता पुग्ने हक दलितलाई संवैधानिक अधिकारले दिएको छ। हामीले बुझ्न जरुरी छ, सत्ताबाहेक अरू कुरा केबल दलित उत्पीडनका लागि विकास गरिएका संरचना हुन। किनकि सबै कुराको फैसला शक्तिले गर्छ, शक्ति भनेको सत्ता हो। त्यसकारण छुवाछूतको दासत्व अन्त्य गर्न दलित शासनसत्तामा पुग्नुपर्छ।
सत्तामा आफ्नो वर्चश्व कायम राख्न सफल शासक वर्ग शासक जातिले देशको सत्ता, शक्ति र स्रोतमा कब्जा जमाएर बसेको छ। सहज र स्वाभाविकरूपमा शासक वर्ग र शासक जातिले सत्ता शक्ति, स्रोत÷साधन दलित गरिब वर्गलाई दिनै चाहँदैन। त्यसका लागि दलित उत्पीडितहरूले भीषण संघर्ष गर्नु अनिवार्य हुन्छ। समाज रूपान्तरणका लागि दलितहरू अग्रगाामी क्रान्तिकारी वर्ग बनिरहनुपर्छ। क्रान्ति र क्रान्तिकारी कसैको दलाल बन्नु पर्दैन, क्रान्ति आफैँमा सम्पूर्ण प्रतिक्रियावादी विचार र प्रवृत्तिविरुद्धको उच्च वैचारिक धार हो। यही विचारबाट लैस भएर छुवाछूत अन्त्य गर्न दलित योद्धाहरू निरन्तर संघर्षमा जुझारु मनोभावका साथ लागिरहनुपर्छ।
नेपाली दलित मुक्तिको मुख्य दुश्मन साम्राज्यवाद, विदेशी प्रतिक्रियावादी वर्ग जो घरेलु देशीय सामन्त वर्गसँग अन्तरघुलित भएर आउँछ, जोसँग मुख्य अन्तरविरोध छ। पुरानो प्रतिक्रियावादी वर्ग कहिले पनि स्वेच्छाले आफ्नो आधिपत्यबाट वञ्चित हुन चाहँदैन। त्यसकारण दुई वर्गबीच भीषण संघर्ष चलिरहन्छ। क्रान्तिकारी वर्गले पुरानो प्रतिक्रियावादी सामाजिक राजनीतिक सत्ताको अन्त्य र त्यसको ठाउँमा अग्रगामी क्रान्तिकारी प्रगतिशील सत्ताको जन्म दिन्छ। यो साँचो हो, पुरानो प्रतिक्रियावादी सत्ता कसैले नढाल्दासम्म स्वतः आफैँ कहिल्यै पनि ढल्दैन। त्यसकारण क्रान्तिकारी वर्गको असिम धक्काको बलले जातीय छुवाछूतलाई टिकाइराख्ने प्रतिक्रियावादी सत्तालाई परास्त गर्नुपर्ने हुन्छ।
प्रकाशित: १९ असार २०८० ०१:०७ मंगलबार