६ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

आफैँ बढाउँदै त छैनौँ वायुमा प्रदूषण?

विगत चार महिनामा काठमाडौंको वायु एकदमै प्रदूषित थियो । दृष्टि काठमाडौँ (वायु प्रदूषणबारे जनचेतना अभिवृद्धि गर्ने कार्यतर्फ केन्दि्रत एक नागरिक समूह) ले असारदेखि उपत्यकाको विभिन्न स्थानमा १४ वटा सेन्सर राखी वायु प्रदूषणसँग सम्बन्धित तथ्यांक रेकर्ड गर्दै आएको छ। यसको तथ्यांकले जनाएअनुसार मंसिर, पुस, माघ र फागुन महिनामा पिम २.५ माइक्रोन्सभन्दा कम पार्टिक्युलेट पदार्थको औसत दैनिक मात्रा ७१ माइक्रोग्राम प्रतिघनमिटर देखिएको छ । नेपालको परिप्रेक्ष्यमा राष्ट्रिय परिवेशी वायु गुणस्तरको स्तर ४० माइक्रोग्राम प्रतिघनमिटरभन्दा बढी हुन नहुने तोकिएको छ अर्थात कुनै दिनमा ४० माइक्रोग्राम प्रतिघनमिटरभन्दा बढी मात्रा श्वास/प्रश्वासका लागि हानिकारक हुन्छ। वास्तवमा, विश्व स्वास्थ्य संगठनले सिफारिस गरेअनुसार पिम २.५ को मात्रा दैनिकरूपमा २५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा बढी हुनुहुँदैन।

तपाईंले वायु कति खराब छ भन्ने सोच्नुभयो भने (जुन हरेक दिन सोच्नुपर्छ) आफूले आफैँलाई यो प्रश्न सोध्नुहोस्– मैले अन्तिम पटक कहिले आफ्नो सवारी साधन सर्भिसिङ गरेँ हँ?

विश्व स्वास्थ्य संगठनको निर्देशिका मान्ने हो भने काठमाडौंको गत चार महिनाको औसत ७१ माइक्रोनग्राम प्रतिघनमिटर भयाबह छ र यसले हाम्रो समाजमा फोक्सो र मुटु रोगको महाभूकम्प ल्याउने निश्चित छ। लामो समयसम्म खतरायुक्त वायुमा श्वास/प्रश्वास गर्नाले जीवनको गुणस्तर मात्र नभई आयुमा समेत नकारात्मक प्रभाव पार्छ। यसको खराब पक्ष त के छ भने काठमाडौंमा ठूलो विपत् आउँदैछ र त्यो महाभूकम्पलाई हामीले अर्को ८० वर्ष पर्खनुपर्दैन।

प्रत्येेक पटक पेट्रोलियम पदार्थ, कोइला, काठ तथा फोहोरमैला बाल्दा वायुमा हानिकारक प्रदूषक पदार्थ मिसिन जान्छ। सवारी साधनको धुवाँ, इँटाभट्टीबाट निस्कने धुवाँसमेतबाट वायुमा प्रदूषक पदार्थ मिसिन्छ। वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयले एक दशकअगाडि गरेको अध्ययनअनुसार उपत्यकाको कुल वायु प्रदूषणको ३८ प्रतिशत सवारी साधनका कारण हुने गर्थ्याे। सोही प्रकारको अध्ययन अहिले नगरिए तापनि गएको एक दशकमा उपत्यकामा गुड्ने सवारी साधनको अंकमा वृद्धि भएबाट अहिले सवारी साधनबाट निस्कने धुवाँले वायु प्रदूषणको झन् बढी भाग ओगट्ने आकलन गर्न सकिन्छ।

काठमाडौंको वायु प्रदूषण संकटलाई प्रकाशमा ल्याउन सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेलेका छन्। …डस्टमान्डु' तथा …मास्कमान्डु' जस्ता शब्द नागरिकसँग प्रतिध्वनित हुन्छन् भने यी शब्द उत्पत्तिबारे कुनै स्पष्टीकरण आवश्यक पर्दैन। राजधानीको दूरावस्थामा रहेको वायुको गुणस्तरका कारण सरकारले आलोचनासमेत बेहोर्नुपरेको छ जुन सान्दर्भिक नै छ। नागरिकको स्वच्छ हावामा श्वास फेर्ने अधिकार राज्यले सुनिश्चित गर्नुपर्ने भए तापनि यसो गर्नबाट राज्य चुकेको छ। तथापि हामीले श्वास फेर्ने वायुको गुणस्तर सुधार गर्न नागरिकले धेरैतवरले मद्दत गर्न सक्छन्।

वाग्मती अञ्चलमा मात्रै मोटामोटी १० लाख सवारी साधन छन्। यी सबै सवारी साधन सरकारको स्वामित्वमा छैनन्। हाम्रो स्वामित्वमा पनि छन्। हामीले श्वास फेर्ने वायु सरकारले प्रदूषित गरेको छैन। हामीले प्रदूषित गरेका छौँ। सरकारको हरियो स्टिकर कार्यक्रमको प्रभावकारी कार्यान्वयनले अवश्य नै सहयोग गर्छ तर उत्सर्जन परीक्षण कार्यक्रम पूर्णरूपमा विफल भएको तथ्य सर्वव्यापी छ। विश्व बैँक, इन्जिनियरिङ संस्था तथा काठमाडौँ इन्जिनियरिङ कलेजले सम्पन्न गरेको अध्ययनले …काठमाडौं उपत्यका निरीक्षण तथा सुधार कार्यक्रमले वाचाअनुरूप काम गर्न नसकेको र काठमाडौं उपत्यकाको वायुको गुणस्तर सुधार गर्ने उद्देश्य प्राप्त गर्न नसकेको' निष्कर्ष निकालेको छ। यहाँ यो पनि उल्लेख गरिनु आवश्यक हुन्छ कि सरकारको हरियो स्टिकर कार्यक्रम चार पांग्रे सवारी साधनमा मात्र लागु हुन्छ, काठमाडौंको सडकमा गुड्ने अन्दाजी ७ लाख मोटरसाइकलको हकमा भने लागु हुँदैन।

सरकारको हरियो स्टिकर कार्यक्रम नेपालमा व्याप्त भ्रष्टाचार तथा अप्रभावकारिताको ज्वलन्त उदाहरण हो भन्ने मानिलिए तापनि के हाम्रो सवारी साधनको तेल पाइपबाट निस्कने हानिकारक प्रदूषक पदार्थको उत्सर्जन घटाउनका निमित्त सवारी साधनको नियमितरूपमा सर्भिसिरू गराउनु हाम्रो नागरिक दायित्व होइन? अहिलेको वैज्ञानिक प्रमाणमुताविक मोटरसाइकल तथा स्कुटर नियमितरूपमा सर्भिसिङ गराउनालेे हानिकारक उत्सर्जनमा धेरै  मात्राले कमी आउँछ। तथा हामीले सास फेर्ने वायुमा सुधार हुन्छ। गत वर्षको एक अध्ययनअनुसार मोटरसाइकलको सामान्य सर्भिसिङ गर्नाले त्यस्ता मोटरसाइकलबाट निस्कने पिम २.५ को व्यापकरूपमा कमी आएको पाइयो। सामान्य सर्भिसिङको १००० रुपियाँ पर्छ भने यसमा तेल परिर्वतन, एयर फिल्टर सफाइ, स्पार्क प्लग सफाइ तथा कार्बुरेटर मिलाउने सुविधा संलग्न हुन्छन्। ५६ वटा मोटरसाइकलको सर्भिसिङअगाडि र पछाडिको उत्सर्जन जाँचिएको थियो।

उक्त अनुसन्धानले देखाएअनुसार उपत्यकाको सबै मोटरसाइकलबाट हुने कुल पिम २.५ उत्सर्जनको कारक भने दुई प्रतिशतभन्दा कम मोटरसाइकल हुन्। सोच्नुहोस्– दुई प्रतिशतभन्दा कम मोटरसाइकलको सर्भिसिङ गर्नाले पनि सबै मोटरसाइकलले गर्ने कुल प्रदूषणमा आधाको दरले कमी ल्याउन सकिन्छ । सामान्य सर्भिसिङ गर्नाले पनि उच्च उत्सर्जन गर्ने मोटरसाइकलबाट हुने पिम २.५ उत्सर्जनमा ९८ प्रतिशतले कमी हुन सक्छ। त्यसैले यदि तपाईँंले सेतो धुवाँ निकालिरहेको मोटरसाइकल देख्नुभयो भनेे आफ्नो दायित्व पूरा गर्नूस्– चालकलाई मोटरसाइकल सर्भिसिङ गर्नका लागि अनुरोध गर्नुहोस्। वास्तवमा सबै मोटरसाइकल धनीले नियमितरूपमा सर्भिसिङ गराउने हो भने वायु प्रदूषण उल्लेख्यरूपमा घट्छ।

उक्त अनुसन्धानको निष्कर्षले सोही कुरा चार पाङग्रे सवारी साधनको हकमा पनि सत्य हुने संकेत दिएको छ। यदि हामी सबैले नागरिक दायित्व सम्झी नियमितरूपमा आफ्नो सवारी साधन सर्भिसिङ गराउने हो भने काठमाडौं फेरि पनि स्वच्छ, श्वास फेर्न र बस्न योग्य सहर हुन सक्छ। बाटोको खराब स्थिति र मिसावटयुक्त इन्धनका कारण सवारी प्रदूषण भयो भन्ने अलापविलापका माझ उक्त अनुसन्धानले दर्साएबमोजिम नियमित सर्भिसिङबाट पनि उत्सर्जनमा उल्लेख्यरूपमा कटौती गर्न सम्भव देखिन्छ। मतलब खराब बाटो र मिसावटयुक्त इन्धन समस्याको कारक तत्व होइनन् भन्नेचाहिँ हैन। तिनीहरू पनि कारक तत्व हुन्। खराब बाटो सुधार गर्ने र मिसावट नभएको इन्धन सवारी साधनको ट्यांकीमा भर्ने कार्य गर्नु तपाईंका लागि गाह्रो हुन सक्छ तर नियमितरूपमा आफ्नो सवारी साधन सर्भिसिङ गराउनु प्रत्येक सवारी धनीले गर्न सक्ने र गर्नुपर्ने कार्य हो।

सरकारले चार पाङ्ग्रे सवारी साधनलाई मात्र नभई हामीले श्वास फेर्ने वायु प्रदूषण गर्ने सबै सवारी साधनको हकमा हरियो स्टिकर कार्यक्रम प्रभावकारीरूपमा लागु गर्नुपर्छ। ५०० रुपियाँको हरियो स्टिकर बजारको अस्तित्वले हाम्रो राज्य संयन्त्र कति भ्रष्ट र अक्षम भन्ने प्रष्ट पार्छ। तर हामी सरकारलाई मात्र दोष नदिऔँ। आफू पनि जिम्मेवार नागरिक बनौँ। काठमाडौंको वायु प्रदूषण गर्ने हजारौँ सवारी साधन हामी नागरिकको स्वामित्वमा छ। हामीसँग यसलाई नियन्त्रण गर्ने शक्ति पनि छ। त्यसैले, अब तपाईंले वायु कति खराब छ भन्ने सोच्नुभयो भने (जुन हरेक दिन सोच्नुपर्छ) आफूले आफैँलाई यो प्रश्न सोध्नुहोस्– मैले अन्तिम पटक कहिले आफ्नो सवारी साधन सर्भिसिङ गरेँ हँ?

प्रकाशित: १९ वैशाख २०७४ ०५:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App