५ वैशाख २०८१ बुधबार
विचार

चार शताब्दीअघिको थिति

सन्दर्भ मुस्ताङकै मुखुम जोङ्रमुवाकोट (मुक्तिक्षेत्र) जार र जोङ्तिरको झन्डै चार शताब्दीअधिको वेमछ्यग् नामको पूर्ण आधिकारिक रूपमा जुम्ली राजा वीरभ› शाहले बाँधिदिएको राजकीय थिति बन्दोबस्तको। यो थिति बन्दोबस्त भोट पात्रोको पानी–चरा वर्ष अर्थात् बि. सं. १७२८ को छु–तो अर्थात् पूर्वाषाढ महिनाको १५ तिथिको कर्मग्याल भन्ने शुभ दिनमा जारी भएको हो भन्ने कुरा किताव आकारमा यो पुरानु, स्थानीय वोलीमा वोएश्योग् भन्ने पहाडे वा हिमाली कागजमा तिब्बती भाषामा लेखिएको उक्त सामग्रीबाटै स्पष्ट भएको छ। यो वेमछ्याग् अर्थात् बन्दोबस्तको विवरणिका जुम्ली राजा वीरभ› शाह पूर्वतर्फको राजकीय भ्रमणमा आएको समयमा काग दरबारमा बसेर जारजोङ्का स्थानीय शासक (पोनढुङ्) ठिथोगपा ठोवोक्यावपाका नाममा जारी भएको हो। यस वेमछ्याग्मा राजाको हुकुमको छाप वा मोहर लगाइएको हो भन्ने बेहोरा पछि अन्त्यमा राजाको औपचारिक श्याहा मोहोर (कालो छाप) लागेको छ। 

तिब्बतीको छुङ्–ख्युग लिपि र लोक्ये भाषिकामा लेखिएको वेम्छ्यग् धेरै महत्वपूर्ण पुरानो राजकीय बन्दोबस्तको एउटा उल्लेखनीय नमुना हो।

यसको तिथिमिति तिब्बती पात्रोअनुरूप गणना गर्दाखेरी वि.सं. १७२८ ठहरेको हो। वेम्छ्यागको सुरुमा मंगलाचरण वा स्वस्ति वाचनका हरफ छन्। त्यसपछि ५ हरफमा लेखिएको लो (मुस्ताङ्) राज्यका तेस्रा राजा टशीगोनपाल साङ्पोका भाइ चाराङ् गोम्पाका श्याब ढुंङ्, लो देशका महापण्डित ङयाम्मे सोनाम ल्हुंडुव् (विक्रमको १५११–१५८९, सन् १४५६–१५३२) ले रचना गरेको प्रार्थना (मोन्लम) युक्त १ पत्र छ जसको अन्त्यमा सबैतिर शुख शान्ति कायम होस् र त्यसै हेतु असल जातको फूल अलिकति माथि उपरवाला भगवानलाई अर्पण गरियो भन्ने बेहोरासमेत उल्लेख गरेपछि मात्र यो राजाको हुकुमयुक्त वेम्छ्यागको विषयवस्तुको विवरण सुरु गरिएको छ। तिब्बतीको छुङ्–ख्युग लिपि र लोक्ये भाषिकामा लेखिएको वेम्छ्याग धेरै महत्वपूर्ण पुरानो राजकीय बन्दोबस्तको एउटा उल्लेखनीय नमुना हो। यस लेखका अन्वेषकले २०३९ सालमै स्थलगत भ्रमणका क्रममा जारकोट गाउँको पुराना कागजपत्रको कन्तुरमा सुरक्षित रहेको स्थितिमा पाएर उतार गर्ने र इतिहासको प्रतिवेदनका निम्ति उपयोग गर्ने काम भएको हो। पछि २०५९ सालमा स्थानीय साँध, सिमाना र लेनदेनको पुरानु मुद्दाको सन्दर्भमा अदालतको न्यायिक छानबिनको प्रयोजनका निम्ति स्थानीय सरोकारवाला र अदालतको समेत अनुरोधमा पूरै सामग्रीको पूर्ण अनुवाद गरेर प्रमाणितसमेत यसै पङि्तकारले गरेको हो।    

यस सामग्रीका आधारमा नेपालको हिमाली भेगको एकीकरण भन्दा पनि अघिदेखिको शासन व्यवस्थाका विषयमा र हिमाली क्षेत्रका विभिन्न मानव समुदायको अभिलेख संरक्षणको चासो र व्यवस्था कस्तो थियो भन्नेबारेमा समेत केही जानकारी हुन्छ। यस ऐतिहासिक पत्रमा उल्लिखित विवरणले जुम्ला राज्यको पूर्वतर्फको पहुँच र थितिबारे पनि राम्रै उजागर गरेको छ।  जसअनुसार सोह्रौं/सत्रौ शताब्दीमा तल्लो मुस्ताङ भेग, खासगरी समर भन्ने गाउँभन्दा दक्षिणको काग–बाह्रगाउँ इलाका पुरै जुम्ला राज्यले अधीनस्त गरेको थियो। त्यहाँ ठोवोक्यवछेन् भनिने वंशका ठिथोग्पा (गद्धिधारी) परिवारका स्थानीय शासकले जुम्ली राजाअन्तर्गत रहेर राज्य गर्थे। उनीहरूको निवास वा मुख्य केन्› अहिलेको झारकोट अर्थात् ताकालिक स्थानीय बोलीमा जार–जोङ् थियो जुन त्यसभन्दा पश्चिमतर्फको जोङ भन्ने ठाउँबाट सारिएको थियो।  कागवेनीमा यिनका दाजुभाइ खलकको दरवार थियो। त्यसैलाई जुम्ली राजाहरूको पूर्वतर्फको मुकामका रूपमा मानिन्थ्यो।

यी काग–बाह्रगाउँका स्थानीय शासक परिवारका मानिसलाई तिब्बती बोलीमा वा स्थानीय लोक्ये बोलीमा कुढागपा भनिन्थ्यो।  पछि जुम्लीका मन्त्री वा कारवारी भित्रिया अधिकारी जस्तो वंशगत मान्यता दिने क्रममा यिनलाई काग बाह्रगाउँ वा जार–जोङ्तर्फका विष्टान भण्डारी भनेर जुम्ली राजाहरूले नै सम्बोधन गर्ने पनि गर्थे। त्यसैले यिनीहरूले पनि नामको पछाडि थरका रूपमा बिष्ट भनेर चिनाउने पनि चलन चलेको थियो। पछिल्लाकालमा भने उनीहरूले नाम भोटमूलकै राखे पनि थरचाहिँ लोपा बोलीको कु–ढाग्पाको अनुवाद गरी ठकुरी भनेर प्रयोग गर्न थालेको देखिन्छ। उदाहरणतः वेल्वो बिष्ट, छेरिंङ नम्ग्यल बिष्ट, गुङ्गयालजंङ् बिष्ट, पाल्गोन ठकुरी, पेमा आङ्ग्याल ठकुरी, छिमीदोर्जे ठकुरी आदि। यिनीहरूका पूर्वज मुस्ताङको लोमन्थाङ नजिकैको क्यक्यगाङ् भन्ने ठाउँमा निवास भएका लोराज्यका भरादार लोनपो (मन्त्री) खलकका थिए र जुम्लीको षड्यन्त्र र भड्कावमा परी मुस्ताङी दरवारसँग नमिलेर बसाईं सरी तल्लो लो अर्थात् काग–बाह्रगाउँमा गई जुम्ली अन्तर्गत भई बसेका थिए। मुस्ताङ दरवारले त्यसैकारण यिनलाई त्यसबेला ठही न्हेचङ् अर्थात् शत्रुका इष्ट भनेर हेय र शंकाको दृष्टिले हेर्ने गर्थे। सांस्कृतिक समुदायगत व्युत्पत्ति र भाषाका हिसावले भने यिनीहरू माथिल्लो मुस्ताङी जस्तै लोपा नै थिए। 

आजको अध्ययनको ऐतिहासिक पत्रमा यिनै काग–बाह्र गाउँका स्थानीय शासकले गरेका सुधार र धर्मकर्मका कामको र थिति बन्दोबस्तको जुम्ली राजाबाट परमादेश जस्तो गरी सदर गरेको एउटा प्रमाण हो। यसमा किल्ला बनाएको,जारजोङको नयाँ दर्बार बनाएको, बौद्ध छोर्तेन बनाएको, पोखरी, रूख बिरुवा लगाएको, जनतालाई भलो हुने नीति नियम बनाइ लागु गरेको जस्ता अनगिन्ती जनकल्याण र धर्मका काम तथा सामाजिक व्यवस्था र राज्य व्यवस्था दह्रो गर्ने र यशकीर्ति राख्ने यी स्थानीय अधिकारीका कामको राजाबाट ठूलो कदर भएको बेहोरा लेखिएको छ।  त्यसैगरी झार, पुराङ् र खिन्गा खिङ्गा गाउँका वनबुट्यान, जमिन, पहाड–पर्वत, चौर, खोल्सा/खोल्सी, धूपी रोप्ने राजभूमि आदिको दह्रो बन्दोबस्तको बेहोरा यस वेम्छ्याङ  नामको पत्रमा परेको छ। 

यसरी हिजोआज बिनागहन र वास्तविक अध्ययन अघिअघिका शासक र सरकारका काम सबैजसो गलत थिए वा कुनै काम नै भएको थिएन अनि त्यस्तो थितिको अन्त्य नै हुनुपर्छ भन्ने जुन दृष्टिकोण एकोहोरो अगाडि ल्याइँंदैछ, त्यसमा हामीले अध्ययनशील र गम्भीर भएर पुनः विचार गर्नुपर्ने अवस्था आएको छ भन्ने मार्ग निर्देशन पनि यस पत्रले हामीलाई गरिराखेको छ।

वेम्छ्यागको अनुवाद मूल तिब्बतीबाट  

यो झार राजधानी (लाई) ऐना जस्तो सफा र सुन्दर पारेर लेखेको  विवरण हो।  पोनढुङ (बाह्र गाउँका स्थानीय क्षत्रपालको वंश) ठोवो क्याव्छेनको परिवारले श्वेत पताका चारै दिशामा फैलिएजस्तै सबैतिर कीर्ति फैलाएको र फेरि नयाँ रबग्याल किल्ला बनाई बसेका हुन्। जुम्ली राजाबाट यसको ठूलो कदर भयो। यस परिवारले राजा र जनता सबैलाई सुखको सूर्यकिरण फैलाउनमा नायक जस्तै भएर काम गरेको हो। लोकको नियम चलन पहिले जस्तो थियो, त्यस्तै राख्नुपर्छ भनेर राजाले अमृत वचन दिएको हुनाले जार गाउँको पूर्वतर्फ लामापोखरीमा पानी जमाएर उत्तर र पूर्वको बीचमा जीवनवृक्षका बोट (भोटे पीपल) रोपेको हो। दक्षिणतर्फ नामग्याल छोर्तेन बनाएको हो। त्यस्तैगरी मनमा उब्जिएका कार्य चिताएजस्तै गरी सिद्धि भएर शुभकार्य मिलाई लेखाजोखा नै गर्न नसकिने अद्भूतरूपमा काम गरेको हुनाले यस ठाउँमा दरबार गरेर बसेको (मुकाम गरेको) समयमा जनताका पुराना रीतिथितिहरू बिथोलिएको हुनाले पुनः पहिलेकै जस्तोगरी नयाँ कायम गरी लामा तथा सर्वसाधारण, माथिल्लो तथा तल्लो वर्गका सबैको धर्मको नियम (लामा र गुरुको) र राज नियम (कानुनहरू राजा र जनता दुवैबीच छ्लफल गरेर बनाएको हो। खासगरी जुम्ली राजा काग दरबारमा मुकाम गरेको हुनाले ठिथोग् पा (काग–बाह्र गाउँका स्थानीय शासक वा क्षेत्रपाल) को वंशको गाउँको जिम्मेवारी नियम/कानुन चलाउने थितिमा नून, उवा, गहुँ, जौ आदि अन्नको व्यापारको बाटोको दस्तुरका विषयमा भए जति सबै कागकै वेम्छ्याग (विवरण) मा स्पष्टरूपमा दिएको छ।

यहाँ आफूलाई आवश्यक परेको हुनाले जार, पुराङ्, खिङ्गा ३ गाउँको पहाड र जग्गाजमिन तीनै गाउँको साझा हो। यसमा पहाडको फेदी र खेतको सिमाना वा छेउ भन्ने जस्ता कुरा गर्न पाईंदैन।  पश्चिममा तर्मुको फाँट, तिमाभन्दा माथि गुन्पही छ्युग्पो (गोम्पाको खोला) भन्दा माथि मानिसका पाइला र घोडाको खुरको पाइला भएका (हुने) थोवो सुम्चेगभन्दा माथि, राजाको धूपी रोप्ने जग्गाभन्दा माथि, सार्थाङ् फाँटको मध्यभागभन्दा माथि कुश्ये नामा भन्ने चौरभन्दा माथिको यो पहाड इलाका जार, पुराङ् र खिङ्गा ३ गाउँको साझा हो।  पूर्वतर्फ फेर्वाको सिमानामा श्युतिदेखि वर (पनि) ३ गाउँको पहाड र चौर जमिन हो भनेर यो प्रमाणित पत्र लेखेर दिएको हो। भविष्यका सम्पूर्ण मानव जातिबाट एक/अर्कोबीच झगडा नगरीकन आआफ्ना इलाकामा गलत बाटोमा नलागीकन आफ्नो रक्षा गर्न कहिले मान्ने, कहिले नमान्ने  र थिति नियम अस्वीकार गर्ने नगर्नू  र (यसमा माथि) भनेजस्तै गर्नू अनि (यो कुरा) मनमा राख्ने गर्नू भनेर पानी–चरा वर्ष (वि.सं. १७२८) को छु–तोए अर्थात् पूर्वाषाढ महिनाको १५ तिथिको कर्मग्यालको शुभदिनमा दिएको हो।

प्रकाशित: २९ चैत्र २०७३ ०३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App