७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

आज देशलाई सन्चो छैन

फाइल स्केच

मान्छेलाई बाँच्न कति धन आवश्यक छ? उत्तर पाउन सजिलो छैन किनभने धनमोह र तृष्णाको सीमा छैन। जति प्राप्त गर्यो उति बढ्दै जान्छ धनसम्पत्तिको मोह। अनि यही मोहले मान्छेलाई गलत मार्गमा प्रवेश गराउँछ र अपराध कर्ममा सामेल गराउँछ।

पछिल्लो उदाहरण हो नक्कली भुटानी शरणार्थी प्रकरण। यस प्रकरणमा पीडित र पीडक दुवै धनमोहले डोर्याइएर गलत मार्गमा प्रवेश गरेका र अपराध कर्ममा सामेल भएका अपराधी हुन्। पचासौं लाख बुझाएर नक्कली भुटानी शरणार्थी बनेर अमेरिका छिर्ने र त्यहाँ पुगेर करोडौं कमाउने सपना बोकेका मान्छे एकथरी द्रव्यपिशाच हुन् भने अमेरिका छिरेर सुखी बन्ने सपना देखेका तिनै द्रव्यपिशाचलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनमा पारेर करोडौं झ्वाम पार्न खोज्ने उच्च पदस्थहरू अर्काथरी द्रव्यपिशाच हुन्। यिनै द्रव्यपिशाचहरूबाट प्रताडित छन् सर्वसाधारण आम जनता।

कोही पैसाका लागि पैसाको बलमा अपराधकर्ममा लाग्ने र कोहीले चाहिँ पैसाकै लागि अपराधकर्मलाई सघाउने कारण समाजमा सामाजिक र आर्थिक बेथितिले प्रश्रय पाएको छ। सामाजिक अपराध बढेको छ। देशको ठुलो पदमा बसेका र देशमा शान्तिसुरक्षा र अमनचयन कायम राख्न प्रतिबद्ध हुनुपर्ने व्यक्तिहरू नै पैसाका लागि सामाजिक अपराध र अपराधीलाई प्रोत्साहन दिन उद्यत भएपछि अमराध कर्मले प्रश्रय पाइरहेको छ। देशका उच्चपदस्थहरू नै पैसाका लागि मान्छे नै बेच्न तयार हुने प्रवृत्तिले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठामा समेत क्षति पुर्याएको छ। राष्ट्रिय प्रतिष्ठामा पुगेको यस्तो क्षतिको भरताल हुन निकै समय लाग्नेछ।  

आखिर किन मानिस पैसाका पछाडि यसरी मरेर लागेका छन्? कति चाहिन्छ मानिसलाई पैसा वा धनसम्पत्ति? विश्वविख्यात लेखक लियो टोल्स्टोयले आफ्नो कथा ‘हाउ मच ल्यान्ड डज अ म्यान निड?’ मा मानिसले मरेपछि पाउने भनेको त्यही ६ फुट जमिन हो भन्दै धनसम्पत्तिको मोह बेकार हो भन्ने सत्यलाई प्रस्ट पारेका छन्।

जो नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिए, तिनलाई नपुग्दो के थियो? आखिर यो पैसाको मात र पैसाको प्यासले मानिसलाई कतिसम्म गिराउनसक्ने रहेछ भन्ने प्रमाण त्यही नक्कली भुटानी शरणार्थी प्रकरण बन्न पुगेको छ। भ्रष्टाचारका अरू धेरै यस्ता प्रकरणहरू छन्, जो पैसाको मात र पैसाकै प्यासले भएका हुन्। आखिर किन मानिसहरू पैसाका पछाडि यसरी मरेर लागेका छन्? कति चाहिन्छ मानिसलाई पैसा वा धनसम्पत्ति? विश्वविख्यात लेखक लियो टोल्स्टोयले आफ्नो कथा ‘हाउ मच ल्यान्ड डज अ म्यान निड?’ मा मानिसले मरेपछि पाउने भनेको त्यही ६ फुट जमिन हो भन्दै धनसम्पत्तिको मोह बेकार हो भन्ने सत्यलाई प्रस्ट पारेका छन्।

बाँचुन्जेल खानलाउन पुगेरमात्रै पनि मानिस किन सन्तुष्ट हुन सक्दैनन्? के गर्नु धेरै सम्पत्तिले? पैसाको सान कति दिन टिक्छ? असल कर्मले प्राप्त हुने इज्जत पो ठुलो हुन्छ। बाँचुन्जेल इज्जतले बाँच्न पाए त्यही ठुलो हो। मरेपछि त्यही एक माना चामल र एक मोहोर दाम त हो हामीले छातीमा राखेर लाने। हामीले कमाउने भनेको मलामी हो, जो घाटसम्म साथ दिन्छन्। अपार धनसम्पत्ति थुपारेर र ठुल्ठुला महल बनाएर सुखसयलले बस्दैमा मनमा खुसी र चैन मिल्ने होइन। इज्जत मिल्ने पनि होइन। खुसीले होइन करबलले गर्ने इज्जत पनि के इज्जत? मनैदेखि गरेको इज्जत पो इज्जत। फोस्रो इज्जतका लागि कमाएको धनसम्पत्तिले हिरासत र जेलसम्म पुर्याएपछि कहाँ बाँकी रह्यो त इज्जत?

मुलुकका हरेक आर्थिक तथा सामाजिक क्षेत्रमा द्रव्यपिशाचहरूका कारण आर्थिक बेथिति बढेको छ। सरकारी ओहोदामा एउटै व्यक्तिले अर्बौंको भ्रष्टाचार गर्नु र त्यस्ता भ्रष्टाचारीबाट अदालतले दर्शौं अर्ब बराबरको बिगो र जरिवाना असुल गर्नुपर्ने फैसला गरेको नजिरले यो देशमा द्रव्यपिशाचहरूको मनोबल निकै बलियो रहेको देखिन्छ। जनताको बलिदानी र लामो संघर्षपछि आएको लोकतन्त्रलाई लुटतन्त्रका रूपमा उपयोग गर्न पल्केका द्रव्यपिशाचहरूका कारण देशमा भ्रष्टाचार, दण्डहीनता र विधिविहीनता बढ्दै गएको छ। अनि यही दण्डहीनता र विधिविहीनताको फलस्वरूप देशमा द्रव्यपिशाचहरूको मनोबल बढेको छ र जनतामाथिको खुलेआम शोषण थप बढेको छ। नेता र कर्मचारीको साँठगाँठले देशमा लोकतन्त्रलाई गिज्याउँदै लुटतन्त्रको वातावरण बनेको छ। यही लुटतन्त्रको वातावरणमा देशका नेता, कर्मचारी र व्यापारीले जनतालाई खुलेआम लुटिरहेका छन्। जनताले ठगिनु नपर्ने र लुटिनु नपर्ने कुनै ठाउँ छैन। अनि तिनै लुटेराका सामु जनता निरीह भएर बाँच्नुपर्ने अवस्था छ। अनि जनताले कसरी बुझ्ने यो देशमा लोकतन्त्र छ कि लुटतन्त्र?

बाँचुन्जेल इज्जतले बाँच्न पाए त्यही ठुलो हो। मरेपछि त्यही एक माना चामल र एक मोहोर दाम त हो हामीले छातीमा राखेर लाने। हामीले कमाउने भनेको मलामी हो, जो घाटसम्म साथ दिन्छन्। 

जीवनमा पैसा धेरैथोक हो तर सबथोक भने होइन। तैपनि मानिसहरू पैसाकै लागि मरिमरि बाँच्न खोज्छन्। पैसाकै लागि सबथोक गर्न खोज्छन्। हुनेनहुने, पापधर्म, इज्जतबेइज्जत, असलखराब सबथोक बिर्सेर पैसाका पछि लाग्छन् मानिस। घुस, कमिसन र भ्रष्टाचारको खेल सेवाप्रदायक कार्यालय, योजना र परियोजनामा मात्रै सीमित छैनन्, अस्पताल र मन्दिरसम्मै फैलिइसकेको छ यस्तो घुस, कमिसन र भ्रष्टाचार गर्नेहरूको सञ्जाल। हुँदाहुँदा अब त मानिसले आफ्नो जिन्दगी बिसाउने आर्यघाटमा समेत कमिसनको खेलले छोडेको छैन। जीवनको अन्तिम क्षणमा गरिने दाहसंस्कारमा समेत कमिसन खाने द्रव्यपिशाचहरूले गर्दा मानिसको जीवन नै कष्टपूर्ण बन्न पुगेको छ।

यस्तै द्रव्यपिशाचहरूका कारण बढ्दो छ सामाजिक अपराध, असुरक्षा र अशान्ति। यही सामाजिक अपराधले समाज आक्रान्त छ। तर अपराधीहरूलाई आराम छ। अपराधीहरूलाई बचाउन अर्को अपराध गर्ने महाअपराधीहरूका कारण समाज थप आक्रान्त छ, हायलकायल छ। त्यसरी आक्रान्त र हायलकायल हुनुको परिणति हो भावनात्मकरूपमा बढ्दै गएको लोकतन्त्रप्रतिको जनआक्रोश। यस्तो आक्रोशको अभिव्यक्ति विरोधको रूपमा आउन थालेका छन् सडक र सामाजिक सञ्जालहरूमा।  

विगतमा हाम्रै देशको अवस्थाबाट गुज्रिएका अन्य देशहरूले आर्थिक तथा सामाजिक विकासमा ठुलो छलाङ मारेर विकसित देशको पंक्तिमा उभिइसक्दा पनि हाम्रो देश भने अझै विकासशीलको सपनामा अल्झिरहेको छ। यी सबैको एउटै कारण हो देशका द्रव्यपिशाचहरू। देशको अर्थतन्त्र जर्जर बनाउने र देशलाई आर्थिकरूपमा तन्नम बनाउने यिनैले गर्दा देश निरन्तर आर्थिकरूपमा परनिर्भर बन्दै गएको छ। यस्तो परनिर्भरता दिन प्रतिदिन बढिरहेको छ। यही परनिर्भरताले गर्दा हाम्रो स्वाभिमान सधैं कमजोर बनिरहेको छ। अनि हामीलाई वैदेशिक सहायता दिने निहुँमा दाताहरूले हाम्रो राष्ट्रियता र राष्ट्रिय स्वाभिमानमाथि निरन्तर हस्तक्षेप गर्ने र हाम्रो स्वाभिमानमाथि प्रहार गर्ने दुस्साहस गर्दै आएका छन्। द्रव्यपिशाचहरूका कारण देशलाई बिसन्चो छ। द्रव्यपिशाचहरूको अन्त्य नभई देशलाई सन्चो हुने छैन। 

प्रकाशित: २५ जेष्ठ २०८० ००:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App