coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

उग्नु र नवीन आविष्कार

थोमस एडिसन संसारकै अग्र आविष्कार मानिन्छन्। सन् १९३१ मा निधन भएका एडिसनले अमेरिकामा मात्रै आफ्नो नाममा १ हजार भन्दा बढी ‘प्याटेन्ट’ दर्ता गराए। कलेजको मुख नदेखेका थोमसले ध्वनि रेकर्डिङ, मोसन पिक्चर, इलेक्ट्रिकल पावर जेनेरेटरदेखि इलेक्ट्रिक लाइट बल्ब (बिजुलीको चिम) आविष्कार गरे भन्दा पत्याउन कठिन हुन्छ। अनि अन्वेषणलाई केबल आविष्कारका रूपमा मात्र कुज्याएर राखेनन् बरु आफ्ना नवीन उपलब्धिलाई व्यापारिक प्रयोजनकालागि पेटेन्ट पनि गरे उनले। 

आफ्नो आविष्कारको स्वाद सबैले पाउन् भन्ने सोचकासाथ उनले स्वयम्को अग्रतामा आफ्नो सफलतालाई व्यावसायीकरण गरे। स्वयम्कै अग्रसरतामा एडिसनले अनुसन्धानात्मक सुविधासहितको १४ कम्पनी स्थापना गरे। धेरै धन पनि कमाए। माइनिङ इन्डस्ट्रिजदेखि जेनरल इलेक्ट्रिक (जि इ) कम्पनीसम्मका जन्मदाता एडिसनको दिउँसो कामको समयमा उग्ने (न्याप) अचम्मको बानी थियो।  

एकैछिन झप्कदा दिमागले नयाँ ढंगले काम गर्छ भन्ने विश्वास राख्थे उनी। केही सेकेन्डको निन्द्रा मात्र पनि नवीनता (इनोभेसन)का लागि लाभप्रद् हुन्छ भन्ने सोच थियो थोमसको। काममा रहँदा एकदमै छोटो झप्की मात्र लाभप्रद् हुन्छ, लामो समय सुत्दा दिमागको उत्पादकत्व हुन्न भन्ने उनको विश्वास थियो। त्यसैले उनी कुर्सीमा न्याप लिँदा हातमा फलामका बल लिन्थे। झप्की लिँदा हातबाट फलामका डल्ला भुइँमा खस्थ्यो अनि उनको तन्द्रा भाग्थ्यो। क्षणिक विश्रामपछि नवीन ऊर्जासहित थोमस एडिसन काममा फर्कन्थे। एडिसन जस्तै प्रतिभाका धनी साल्भाडोर डाली सफल काल्पनिक चित्रकार हुन। दिउसो झप्की लिने बानी थियो साल्भाडोरको पनि। एडिसनले झैँ केही सेकेन्ड उग्ने बानीलाई आर्टिस्ट डालीले आफ्नो कार्यतालिकामा राखेका थिए। बिउँझनु र सुत्नुबीचको अनौठो क्षणमा उठेर काममा लाग्दा लाभप्रद् हुने मान्थे उनी। उक्त पलमा सरक्क उठेर धन्दामा फर्कन कठिन हुने तर उक्त अवस्थामा बलपूर्वक जागा हुँदा दिमागले नवीन प्रेरणाका साथ काम गर्छ भन्ने सोच थियो चित्रकारको पनि।

कलेजको मुख नदेखेका थोमसले ध्वनि रेकर्डिङ, मोसन पिक्चर, इलेक्ट्रिकल पावर जेनेरेटरदेखि इलेक्ट्रिक लाइट बल्ब (बिजुलीको चिम) आविष्कार गरे भन्दा पत्याउन कठिन हुन्छ। अनि अन्वेषणलाई केबल आविष्कारका रूपमा मात्र कुज्याएर राखेनन् बरु आफ्ना नवीन उपलब्धिलाई व्यापारिक प्रयोजनकालागि पेटेन्ट पनि गरे उनले। 

औपचारिक शिक्षाको मौका नपाएका अनि जिन्दगी चलाउन रेलका यात्रीलाई पत्रिका तथा खाना बेच्ने बालक कसरी एउटा सफल आविष्कारक र उद्योगपति थोमस एडिसन बन्यो भन्ने कुरालाई केवल भाग्यको खेल मान्ने जमातकालागि संयुक्त राज्य अमेरिकाका दुई विश्वविद्यालय हार्वार्ड र म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) का अन्वेषणकर्ताले सटिक जवाफ दिए। यसै महिना जर्नल ‘साइन्टिफिक रिपोर्टस्’ मा प्रकाशित उनीहरूको रिसर्चले केही क्षण कुर्सीमा सुत्ने थोमस एडिसन र साल्भाडोर डालीको बानीका कारण उनीहरूले नवीन सोच विकास अनि आफ्नो इनोभेसनलाई आविष्कारमा रूपान्तरण गर्न सके भन्ने देखायो। हार्वार्ड युनिभर्सिटीका स्लिप मेडिसिनका प्राध्यापक रोबर्ट स्टिकगोल्ड र एमआइटीमा मिडिया ल्याबकी प्राध्यापक प्याटी मेसको रिसर्च ग्रुपले संयुक्तरूपमा अन्वेषण गरी कसरी न्याप लिँदा मानिसमा रचनात्मक सोच अत्यधिक हासिल हुन्छ भन्ने प्रश्नको उत्तर दिए।  

स्टिकगोल्ड ल्याब र मेस ग्रुपका अन्वेषणकर्ताहरूले पातलो निन्द्रा भएका अनि कुनै पनि किसिमको रोग र दिमागी समस्या नभएका एकै उमेर समूहका विद्यार्थी समेटेर आफ्नो अन्वेषण प्रारम्भ गरे। सहभागीलाई दुई भागमा विभक्त गरी एक समूहले छोटो निद्राको अवसर पाउने अनि अर्को पक्ष जागा बस्नुपर्ने गरी प्रयोगात्मक खाका तयार भयो। उग्नुअघि र पछि व्यक्तिको कल्पनाले परिणामलाई परिवर्तन त गर्दैन भन्ने कुराको निक्र्याेल गर्न प्रयोगलाई थप नियन्त्रित बनाइयो। दुवै समूहलाई थप दुई भागमा विभक्त गरी उनीहरूलाई विश्रामका बखत के सोच्ने भन्नेसम्मको दायित्व सुम्पिइयो। त्यसका अतिरिक्त सहभागीहरूको निद्रा चक्र एकिन गर्न मेसिनले जाँच गर्ने चाँजो मिलाइयो। यसरी परीक्षणका सबै पाटा एकिन भएपछि न्याप लिने समूहका सहभागीलाई करिब एक पटकमा ५ मिनेटको हाराहारीमा सुत्ने गरी कुल ४५ मिनेट परीक्षणमा सहभागी गराइयो। अर्काे समूहले सुत्न पाएन। छोटो निन्द्रापछि व्यक्तिको इनोभेटिभ तरिकाले सोच्ने क्षमतामा के÷कस्तो परिवर्तन आयो भन्ने कुरा ठम्याउन परीक्षण सकिनेबित्तिकै सहभागीहरूलाई चरणबद्धरूपले रचनात्मक (क्रियटिभ टेस्ट) परीक्षणमा सामेल गराइयो।  

यसै महिना जर्नल ‘साइन्टिफिक रिपोर्टस्’ मा प्रकाशित उनीहरूको रिसर्चले केही क्षण कुर्सीमा सुत्ने थोमस एडिसन र साल्भाडोर डालीको बानीका कारण उनीहरूले नवीन सोच विकास अनि आफ्नो इनोभेसनलाई आविष्कारमा रूपान्तरण गर्न सके भन्ने देखायो। 

छोटो न्याप लिने समूहका सहभागीहरू जागा रहने पक्षको तुलनामा क्रियटिभिटी टेस्टमा ३ गुणा अबल देखिए। त्यसो त २ वर्षअघि त्यस्तै किसिमको अध्ययनमा पेरिस ब्रेन इन्स्टिच्युटका निद्रा विशेषज्ञ एवं ‘क्विक न्याप’ ले कसरी व्यक्तिको जटिल समस्या समाधानबाट उम्कने जुक्ति फुराउन मद्दत गर्छ भन्ने विषयमा अध्ययनरत डा. डेल्फिन औडिएटले नेतृत्व गरेको समूहले केबल १५ सेकेन्ड दिउँसो उग्दा व्यक्तिको ‘म्याथमेटिकल’ समस्या समाधानको शक्ति ३ गुणा वृद्धि भएको देखाएको थियो। क्षणिक झप्काइले कसरी गणितीय दक्षता खारियो भन्ने कुराले विगतमा चकित भएकालाई हालको नतिजाले थप विश्वस्त बनायो।  

कति अवधिसम्मको दिउँसोको सुताइले नवीन सोच विकास गर्न मद्दत गर्छ त भन्ने कुराको ठ्याक्कै जवाफ नभए पनि अमेरिकी र फ्रेन्च अनुसन्धानको संस्लेषणले १५ सेकेन्डदेखि ५ मिनेटसम्मको ‘न्याप’ भने लाभप्रद् हुने देखियो। उल्लिखित अन्वेषणमा सहभागी नभएका युनिभर्सिटी अफ् मन्ट्रियल क्यानाडाका निन्द्रा विशेषज्ञ डा. टोर नेल्सन आफू स्वयंले अफिसमा १५ सेकेन्ड रूल पालन गर्ने गरेको बताउँछन्। समस्या समाधानको जुक्ति नफुर्दा कुर्सीमा उग्दा टाउको लत्रिइ बिउझदा दिमागमा विकास भएको नवीन सोच प्रयोग गरी धेरै पटक जटिलता हल गरेको बताउँछन् वैज्ञानिक नेल्सन। वैज्ञानिक प्रस्ताव लेख्दा अल्प निन्दा लाभदायी हुने ठान्छन् प्राध्यापक नेल्सन। झप्कीले बिझाइ नगर्ने बरु लाभ नै दिने देखियो। छोटो न्यापले फाइदा गर्ने देखिए पनि कति लामो दिउँसोको सुताइले विश्लेषणात्मक तागतको बढोत्तरीमा खासै भूमिका खेल्दैन भन्ने वैज्ञानिक निचोड नभए पनि आधा घण्टा भन्दा लामो निन्द्राले मस्तिष्कको विश्लेषण क्षमतामा सुधार नआउने बरू प्रेरणात्मक शक्तिमा ह्रास आउने ठान्छन् ‘स्लिप’ विशेषज्ञहरू। तसर्थ, दिउँसोको सुताइ एडिसनले झैँ कुर्सीमा उग्नेमा सीमित गर्नुपर्ने देखियो।  

पढ्ने र अनुसन्धानमा संलग्न विद्यार्थीले कुर्सीमा उग्नु खराब बानी होइन बरु त्यसले उत्प्रेरकको भूमिका खेल्ने यथार्थ बिर्सनु हुँदैन।

व्यक्तिगत, पारिवारिक, सामाजिक अनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका चुनौती समाधान गर्न ‘इनोभेटिभ आइडिया’को दरोकार पर्छ। हप्तौँ घोत्लँदासमेत कुनै जुक्ति नफुरेको अवस्थामा कहिलेकाहीँ एक्कासि नयाँ सोच आउँछ। उक्त नवीन अवधारणा कसरी दिमागमा हठात पलायो भन्ने स्वयम्लाई जानकारी हँुदैन। आखिर किन मस्तिष्कमा कहिलेकाहीं प्रेरणादायी विचार आउँछ?

रचनात्मक सोच कसरी आउँछ भन्ने सम्बन्धमा अत्यधिक अध्ययन भएको सिद्धान्त ‘एसोसियटिभ थ्यौरी’हो। विभिन्न समयमा मस्तिष्कमा भण्डारण भएका मेमोरीहरूलाई संश्लेषण गरी निस्कने उत्कृष्ट सोच नै ‘क्रियटिभ आइडिया’ हो भन्छ यो थ्यौरीले। तर ब्रेनले किन सधँै क्रियटिभ आइडिया सिर्जना गर्दैन त भन्ने प्रश्न आउँछ नै। विभिन्न अवस्थामा मस्तिष्कमा निस्कने तरंगहरू फरक फरक हुन्छन्। मध्यम तप्काको ब्रेन तरंगलाई अल्फा भनिन्छ अनि तल्लो तहको तरंगलाई डेल्टा बेभ्स भनिन्छ। विभिन्न अवस्थामा मस्तिष्कमा पृथक चरित्रका तरंगहरू निस्कन्छन्। जागाबाट निन्द्रामा पुग्दाको क्षणमा मस्तिष्कमा निस्कने तरंगले दिमागमा ‘इनोभेटिभ आइडिया’ लाई निर्देशित गर्ने भएकाले तन्द्रापछि व्यक्तिमा नवीन विचार आउने ठान्छन् विज्ञहरू।  

चिकित्सकीय विधिले सधैँ उत्पादनशील विचार प्रवाह हुने किसिमको दिमागी तरंग पैदा गर्न सके कति असल हुन्थ्यो होला भन्ने सोच आउनु अन्यथा होइन। तर त्यस्तो ओखती परीक्षणमा नआएकाले अहिलेका लागि दबाइ सेवनले विद्वत् बन्ने अवस्था रहेन। तसर्थ उपलब्ध तथ्यांक प्रयोग गरी परिष्कृत सोच विकास गर्नुपर्ने भयो। उत्तम विकल्प भनेको दिउँसोको छोटो झप्की देखियो।  

इनोभेटिभ आइडियाहरू सकारात्मक र नकारात्मक दुवैतिर प्रयोग गर्न सकिने भएकाले उक्त परिस्थितिले संसारलाई गुणात्मक परिणाम नै दिन्छ भन्ने हँुदैन। देश दोहन गर्ने सोच भएका बालकृष्ण खाँण र टोपबहादुर रायमाझीको दिमागमा आउने ‘क्रियटिभ आइडिया’ को प्रयोग उज्ज्वल देशको कल्पनामा केन्द्रित हुने होइन, बरु उनीहरूले पाएको विलक्षण प्रतिभालाई आफू झ्यालखान नपर्ने गरी नेपालीलाई शरणार्थीको भेषमा अमेरिका पठाएर धेरै रकम कुम्ल्याउन सफल हुने मात्र हुन। दूषित सोच भएकाले कसरी चतुर तरिकाले खराबी गर्ने भन्ने सिकाउने अनि पवित्र आत्मा भएकाले असल कर्मका लागि के÷कस्तो रणनीति लिने भन्ने कुराको दिशा दिन सक्ने भएकाले यो विधिको उत्खननले समाजलाई सुसंस्कृत नै बनाउँछ भन्ने छैन। असल व्यक्तिमा आउने सकारात्मक सोच मात्र समाजोपयोगी हुनेहो।  

प्रकाशित अन्वेषण, थोमस एडिसन तथा साल्भाडोर डालीले हासिल गरेको सफलता र विभिन्न विशेषज्ञले सञ्चार गरेका व्यक्तिगत अनुभवलाई मध्यनजर राख्दा छोटो उगाइले व्यक्तिलाई ‘इनोभेटिभ आइडिया’बटुल्न मद्दत गर्ने भएकाले सबैले आफूलाई थप उचाइमा पुर्याउन जटिल समस्या समाधानका लागि लिन भएका बखत सूक्ष्म झप्की लिनु लाभप्रद् हुने देखियो। पढ्ने र अनुसन्धानमा संलग्न विद्यार्थीले कुर्सीमा उग्नु खराब बानी होइन बरु त्यसले उत्प्रेरकको भूमिका खेल्ने यथार्थ बिर्सनु हुँदैन। 

प्रकाशित: १६ जेष्ठ २०८० ००:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App