१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

गणतन्त्र दिवसको मर्म

उत्तरतिर विशाल जनवादी गणतन्त्र चीन र दक्षिणतिर संघीय गणतन्त्र भारतका बीचमा अवस्थित भूपरिवेष्टित सानो मुलुक नेपालले यतिखेर गणतन्त्र दिवस मनाइरहेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको यो चरणमा आइपुग्दा देश विविध, राजनीतिक उतारचढावबीच रुमलिइरहेको छ। यी दुई शक्तिराष्ट्रबीच भौगोलिक रूपमा सानो मुलुक भए तापनि विश्वसामु नेपालको गरिमा सानो मानिँदैन। उत्तरतिर विशाल हिमाल छ। सर्वाेच्च शिखर सगरमाथाले विश्वका पर्यटकलाई नेपालप्रति आकर्षित गरिरहन्छ। तराईको भूमि कपिलवस्तुमा राजा शुद्धोधन र माता मायादेवीका गर्भबाट २५६८ वर्ष पहिले जन्मेका सिद्धार्थ गौतम बुद्धले विश्वका बुद्धमार्गीलाई शान्तिको बीज छरिरहेछन्। जापान, चीन, श्रीलंका, बर्मा, थाइल्यान्डजस्ता मुलुकमा बुद्ध धर्मको पालना गर्नेहरूको संख्या बढ्दो छ।  

ठुलो जनसंख्या र विशाल भौगोलिक भूधरातल भएका छिमेकी मित्रराष्ट्र भारत र चीनको सांस्कृतिक र सामाजिक सम्बन्धलाई युगौंसम्म कायम राख्न नेपाल सफल छ। अंशु बर्माले छोरी भृकुटीलाई चीनका राजा स्रङचङ गम्पोसँग बिहे गरिदिए। यो सांस्कृतिक र वैवाहिक सम्बन्धलाई वर्तमान युगमा दुई देशबीचको गणतान्त्रिक सम्बन्धसँग हार्दिकता बाँड्नु जरुरी देखिन्छ। यसैगरी जनक नन्दिनी सीतासँग अयोध्याका राजकुमार दशरथपुत्र श्रीरामको वैवाहिक सम्बन्ध जोडिएबाट नेपाल र भारतबीचको युगौंदेखिको सामाजिक सम्बन्धलाई नयाँ शैलीले हेर्नु जरुरी छ। खुला सिमाना भएका नेपाल र भारतका जनताको भलाइका लागि सामाजिक, आर्थिक र राजनीतिक रूपमा नयाँ शिराबाट विकास गर्नुपर्ने हुन्छ। केवल रामसीताको बिहेको सम्बन्धलाई सम्झेर विवाह पञ्चमीमा अयोध्याबाट डोला ल्याई जनकपुरमा छिमेकी जन्तीहरूको भव्य स्वागत गर्नु औपचारिकतामा मात्र सीमित हुन्छ। नेपाली जनतालाई भारतीय भूमिबाट दिइने हार्दिकता आजको आवश्यकता देखिएको छ। अंग्रेजविरुद्ध भारत छोडो आन्दोलनमा बिपी कोइरालाले पूर्ण रूपमा साथ दिएको राजनीतिक इतिहास वर्तमान युगसम्म आइपुग्दा भारत सरकारले सोच्नु जरुरी छ।  

व्यक्ति धनी बन्न, एक नागरिकले अर्काे नागरिकलाई विदेशमा बिक्री गर्न, समाजमा राजनीतिक भागबन्डा गर्नका लागि गणतन्त्रको स्थापना भएको होइन। विडम्बना ! वर्तमानमा यस्तै भइरहेछ।

देशको सीमा विवाद कतै देखिँदैन उत्तरको छिमेकीसँग। तर कालापानी, लिपुलेक, लिम्पियाधुरामा भारतीय पक्षले गरेको ज्यादती नेपाली जनताले कति सहने? अहम् प्रश्न छ। यसैगरी सुस्ता, गड्डा चौकी (कञ्चनपुर जिल्ला) मा जंगे पिलर सारेको, नेपाली भूमि मिचेको अवस्था नेपालीले टुलुटुलु कहिलेसम्म हेरिरहने? नाभी, कुती र गुंजीका बासिन्दा नेपाली मूलका हुन्। सीमाविद् बुद्धिनारायण श्रेष्ठ र रतन भण्डारीका अनुसार ती नागरिक नेपाली भूमिमा बसोबास गर्छन् तर स्वामित्व भारत सरकारको रहेको छ। यो कुरा कसरी स्वीकार्य हुन्छ? दुई दिनपछि भारत भ्रमणमा निस्कने वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग यसको वस्तुपरक कुरा गर्नु र निचोडमा पुग्नु जरुरी देखिन्छ। यसो गरे भारतका चन्द्रशेखरले नेपालको राजनीतिक परिवर्तनका लागि २०४५ साल माघमा चाक्सीबारी काठमाडौंमा बोलेका हितप्रद कुरा सान्दर्भिक हुन आउँछन्।  

यो गणतन्त्रको युग हो। २३९ वर्षसम्म राजसत्ता थियो। रामशाह, पृथ्वीनारायण शाहको पाला हुँदै राजसंस्थाले शासनसत्ता चलाएको लामो राजनीतिक इतिहास नेपालमा कायम छ। जनताले यसबारे राम्ररी अनुभव गरेका छन्। छिमेकी मुलुकहरूमा गणतन्त्र शासन शैलीको अनुभव केही वर्ष पुरानो छ। उनीहरू गणतन्त्रात्मक शासन शैलीमा अभ्यस्त छन्। नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रयोगमा छ। विविध भौगोलिक अवस्था रहेको हाम्रो देशको भूबनोट अरू मुलुकका भन्दा पृथक् भएकाले राजनीतिमा यसले पनि असर पारिरहेछ। अझ १२५ थरी जातजाति भएको हाम्रो मुलुकका बासिन्दाका चाहना २०६२-६३ को जनआन्दोलन सफल भएपछि छताछुल्ल भएर संसद्मा पोखिएका छन्, मुखरित भएका छन्। जुन स्वाभाविक मान्नुपर्छ। २३९ वर्षसम्म दबिएका ती स्वर सर्वाेच्च निकायमा घनिभूत हुनुलाई लोकतान्त्रिक समाजमा लोकतन्त्रका पक्षमा बोलिएका आवाज हुन् भन्ने सोच्नुपर्छ। लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका लागि वर्तमान कालखण्डमा आइपुग्दा समाजमा धेरै पटक क्रान्ति भए। हजारौं मानिस बेपत्ता भए। त्यतिकै संख्यामा सहिद भए, मारिए, कैयौं मानिस विस्थापित भए। यी र यस्तै घटनाका हामी साथी छौं, भोग्दै पनि आइरहेका छौं।  

ती नागरिक नेपाली भूमिमा बसोबास गर्छन् तर स्वामित्व भारत सरकारको रहेको छ। यो कुरा कसरी स्वीकार्य हुन्छ? दुई दिनपछि भारत भ्रमणमा निस्कने वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग यसको वस्तुपरक कुरा गर्नु र निचोडमा पुग्नु जरुरी देखिन्छ।

गणतन्त्र स्थापनापछिका केही राजनीतिक र सामाजिक चर्चा गर्नु पनि सान्दर्भिक हुनेछ। राष्ट्राध्यक्षका रूपमा डा. रामवरण यादवले प्रथम राष्ट्रपति बन्ने सौभाग्य पाए। दुई पटकको संविधान सभाको चुनाव सम्पन्नपछि २०७२ असोज ३ गते नेपाली जनताले लोकतान्त्रिक गणतन्त्रात्मक संविधान पाए। जुन हामी सबैका लागि खुसीको विषय हो। 

२०५४ सालदेखि सम्पन्न हुन नसकेको स्थानीय निकायको चुनाव सम्पन्न भयो। राष्ट्र नयाँ राजनीतिक पृष्ठभूमिमा देखापर्यो। ७ वटा प्रान्तमा स्थापित भयो मुलुक। जस्मा राष्ट्रिय र प्रान्तीय गरी २-२ पटक आमचुनाव सम्पन्न भए। देशका जल्दाबल्दा समस्या जनप्रतिनिधिहरूले संसद्मा मुखरित गरे। जुन सबैका लागि स्वागतयोग्य कुरा हो। महिलाले पनि नेतृत्व सम्हाल्न सक्छन् र? भन्ने नेपाली समाजको पुरानो मान्यतालाई चिर्दै प्रथम महिला राष्ट्रपति बन्ने सौभाग्य पाइन् विद्यादेवी भण्डारीले। जुन कुरा गणतन्त्रले सबैलाई समान हक अधिकार दिन्छ है भन्ने गतिलो दृष्टान्त पनि हो हाम्रो समाजका लागि। नारायणहिटीको राजकीय वंश परम्पराको शक्ति शीतल निवासमा सरेको मात्र नभएर लोकतन्त्रका लागि १२-१४ वर्षसम्म कारागार जीवन व्यतीत गरेको र जनताद्वारा चुनिएको पाको राजनेताको सुखद प्रवेश पनि भएको मान्न सकिन्छ शीतल निवासमा। समाजवादी चिन्तक रामचन्द्र पौडेलको राष्ट्रपतिका रूपमा शीतल निवास प्रवेश जसको पछिल्लो उदाहरण हो।  

गणतन्त्र साध्य होइन, साधन मात्र हो। नैतिकताको पाठशाला पनि हो गणतन्त्रात्मक शासनशैली। विश्वका धेरै मुलुकमा गणतन्त्रात्मक शासनशैली अपनाएकाले ती मुलुक शक्ति सम्पन्न छन्। नैतिक मूल्य र मान्यता अँगाल्दै राष्ट्रप्रति जनप्रतिनिधिले नैतिक जिम्मेवारी लिएको खण्डमा केही वर्षभित्र नै हाम्रो मुलुकमा यो शासनशैली फस्टाएको हामी देख्ने छौं। 

११३ जनाको उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरी भुटानी बनाई करोडौं रूपैयाँ ठगी गरेर अमेरिका पठाउने गिरोहलाई राज्यले कानुनी दायरामा ल्याउनुपर्छ। भविष्यमा कुनै पनि काममा अयोग्य ठहरिने गरी सामाजिक वहिष्कार गरिनुपर्छ र कानुनले तोकेबमोजिम कारागार चलान गर्नु जरुरी देखिन्छ। 

नेपालको भूबनोट यहाँको संस्कृति र परम्परा विश्वका अन्य मुलुकको भन्दा भिन्न छ। सबै जातजाति हार्दिकताका साथ मिलेर बसेका छन्। पूर्वको धाननाच संस्कृतिले पश्चिम र सुदूरपश्चिमको रोदी र देउडा संस्कृतिलाई माया गरेको देखिन्छ। हिमालमा बस्ने शेर्पाले मधेशमा बसोबास गर्ने चौधरी जातिको सम्मान गरेको देखिन्छ। सिपालु कालीगढले निर्माण गरेको जस्तै छ हाम्रो मुलुक। उत्तरतिरका सेता हिमशृंखलाले बीचका हरिया वनजङ्गल र लोभलाग्दो प्रकृतिलाई आफूसँगै मुस्कुराउन सिकाएको देखिन्छ। तराईका समथल भूमिलाई हिमाल र पहाडले मलजल दिएको छ। खाद्यान्नको भण्डार मानिएको तराई भूमिले हिमाल, पहाडलाई उभिन सक्ने आधार दिएको छ। २७ पटक सगरमाथा चढेर कीर्ति फैलाउने शेर्पा जाति, सन्दुक रुइतजस्ता अन्तर्राष्ट्रिय व्यक्तित्व र तराईको सीमा सुरक्षा गर्न धरतीपुत्र चौधरी, यादव ताजपुरिया, मुसहरलगायतका जातजातिको इमान्दारितालाई गणतन्त्रको यो बिहानीमा सलाम गर्नैपर्छ। नेपाल राष्ट्रको भविष्य लोभ लाग्दो छ। यहाँका मानिसमा सिप छ, कला छ, त्योभन्दा ठुलो मिलेर बस्न सक्ने खुबी छ, यसका लागि लोकतान्त्रिक गणतन्त्र शासनशैली बचाइराख्नु जरुरी छ।  

अब थोरै चर्चा भ्रष्टाचारको पनि गरौं। व्यक्ति धनी बन्नका लागि, एक नागरिकले अर्काे नागरिकलाई विदेशमा बिक्री गर्न लागि, समाजमा राजनीतिक भागबन्डा गर्न गणतन्त्रको स्थापना भएको होइन। विडम्बना ! वर्तमानमा यस्तै भइरहेछ। आफूसँगै सुतेको साथीले खुकुरीले अर्काे साथीको घाटी रेटेर हत्या गर्छ भन्ने कल्पना गर्न पनि सकिँदैन। मानवताको क्रूर व्यवहार अहिले राष्ट्रमा एकपछि अर्काे देखापरिरहेछन्। गणतन्त्रले यस्तो जघन्य अपराध सिकाउँदैन। परोपकार, दया, करुणा र देश विकासमा लाग्न सिकाउँछ गणतन्त्रात्मक शासनशैलीले।  

भ्रष्टाचारको पछिल्लो घटना हेर्ने हो भने घिन लाग्दो देखिन्छ। राज्य विरुद्धको अपराधमा संलग्न दोषीमाथि कडा कारबाही गरेको खण्डमा नेपाली जनताका लागि गणतन्त्र फलदायी हुनेछ। ११३ जनाको उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरी भुटानी बनाई करोडौं रूपैयाँ ठगी गरेर अमेरिका पठाउने गिरोहलाई राज्यले कानुनी दायरामा ल्याउनुपर्छ। भविष्यमा कुनै पनि काममा अयोग्य ठहरिने गरी सामाजिक वहिष्कार गरिनुपर्छ र कानुनले तोकेबमोजिम कारागार चलान गर्नु जरुरी देखिन्छ। अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको गुम्न लागेको इज्जत जोगाउनु नै गणतन्त्र दिवसको सार्थकता रहनेछ। यसैगरी छिमेकी मित्र राष्ट्रसँग विगतका सांस्कृतिक सम्बन्धलाई विस्तार गर्दै असल सम्बन्ध कायम राख्नु र कूटनीतिक माध्यमद्वारा नेपाल र भारत बीचको सीमा विवाद सुल्झाउनु पनि वर्तमान सरकारको जिम्मेवारी हुन आउँछ। गणतन्त्र दिवसको बिहानीमा अमर सहिदले हामी सबैलाई दिने आशीर्वाद यही हुनेछ ।  

प्रकाशित: १५ जेष्ठ २०८० ००:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App