१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
विचार

के राजतन्त्र पुनर्स्थापना सम्भव छ?

केही महिनायता पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता निकै बढेको छ। नागरिक अभिनन्दनका नाउँमा नेपालका विभिन्न ठाउँहरूमा पुगेर उनले फेरि नेपालको गौरव फर्काउन उठौं भन्दै छन्। हालै उनी भारत भ्रमणमा गएर उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीलगायतका नेतालाई भेटे। गणतन्त्र स्थापनापछि ज्ञानेन्द्र शाहले धेरै पटक योगीलाई भेटिसकेका छन्। उनलाई योगीमाथि निकै आशा र भरोसा छ। उनले योगीमार्फत भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको कृपा खोजिरहेका छन्। त्यसो त भारतमा योगीलाई नरेन्द्र मोदीपछिका भावी प्रधानमन्त्रीका रूपमा पनि हेर्ने गरिएको छ।  

पूर्वराजा ज्ञानेन्द्र शाह मात्र होइन, राजावादी पार्टीका नामले चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङ्देन नेतृत्वमा आएपछि राजतन्त्रको पक्षमा बढी सक्रिय भएको छ। राप्रपाका सांसदहरूले प्रतिनिधि सभामा नै राजतन्त्र फर्काउने गर्जन गर्दै छन्। यस मामिलामा राजेन्द्र लिङ्देन तथा ज्ञानबहादुर शाही निकै सक्रिय छन्।  

अर्कोतिर कतिपय वरिष्ठ पत्रकार, वकिल, न्यायाधीश, पूर्व सैनिक, साधुसन्त, ज्योतिष, तान्त्रिक तथा माताहरूले पनि चर्को स्वरमा मिडिया र सामाजिक सञ्जालमा प्रत्यक्ष–परोक्ष रूपमा राजतन्त्रको वकालत गर्दै आएका छन्। यसरी राजतन्त्रको वकालत गर्नेहरूको आरोप छ, लोकतन्त्र- गणतन्त्रका नाममा नेताहरूले लुट्नसम्म देश लुटे, राजाले खोलेका उद्योगहरू बेचे, नदीनाला बेचे, धर्म बेचे, देश बेचे। राजालाई जस्तो देशको माया अरू कसैलाई हुँदैन। राजा आऊ, देश बचाऊ।  

राष्ट्रिय प्रजातन्त्र पार्टी र राजेन्द्र लिङ्देन तथा ज्ञानबहादुर शाही मात्र होइन, राजतन्त्र फर्काउने अभियानमा गणतन्त्रको सत्ता सुख लिने कतिपय व्यक्तिहरू पनि प्रत्यक्ष–परोक्ष रूपमा लागेका छन्।

उनीहरूको कुरा सुन्दा लाग्छ, हिजो नेपालमा राजतन्त्र हुँदा रामराज्य थियो, राजतन्त्र पुनस्र्थापना भयो भने फेरि नेपालमा रामराज्य फर्किन्छ। राजाको निरकुंश पञ्चायती शासन कस्तो थियो? राजा ज्ञानेन्द्र शाहको सक्रिय शासन कस्तो थियो? गणतन्त्र आएपछि जन्मेका नेपालीहरूलाई प्रत्यक्ष अनुभव नभए तापनि पञ्चायती शासन र ज्ञानेन्द्रको कु देखेभोगेका नेपालीहरूलाई राम्रोसँग थाहा छ। तर, दरबारका आडमा देश लुट्नेहरूका लागि त रामराज्य नै थियो।  

दरबारका आडमा देश लुट्नेहरू र राजतन्त्र पुनस्र्थापना भयो भने फेरि देश लुट्ने सपना देखेकाहरू भष्ट्राचार विरोधको नाममा, सामाजिक अभियन्ताका नाममा मात्र होइन ज्योतिषका नाममा समेत अहिले सक्रिय छन्। सामाजिक सञ्जालमा छाइरहेका छन्। कतिपय यस्ता तथाकथित ज्योतिष तथा माताहरूले त बेलाबेलामा राजतन्त्र फर्किने भविष्यवाणी गर्दै हिँडेका छन्। २०७९ सालमा राजतन्त्र फर्किन्छ भन्नेहरूले ८१ सालमा फर्किन्छ भन्ने ठोकुवा गर्न थालेका छन्। अर्कातर्फ देशमा व्याप्त भष्ट्राचार र कुशासनले थिचिएका कतिपय आम नागरिकले पनि बरु राजा आए ठिक हुने थियो भन्न थालेका छन्।  

टिकटकमा रमाइरहेका नेपालीहरू अब राजतन्त्रको जेलमा बस्नेवाला छैनन्, त्यो जेल सुनको नै किन नहोस्। जेल भनेको आखिर जेल नै हो। कथङ्कदाचित् यस्तो स्थिति आयो भने देश फेरि बन्द, हडताल, आन्दोलन र द्वन्द्वको दलदलमा नराम्रोसँग जाकिने छ।

केही समय यता नेपाली कांगे्रस तथा एमालेलगायतका पार्टीका कतिपय नेता तथा कार्यकर्ताले पनि हिन्दुराज्य र संवैधानिक राजतन्त्रको पक्षमा प्रत्यक्षपरोक्ष रूपमा वकालत गरेको देखिन्छ। पार्टीको मूलधारबाट किनारा लाग्न पुगेका कतिपय नेताहरू मात्र होइन कि महामन्त्री भइसकेका कांगे्रस नेता शशांक कोइरालासमेत हिन्दुराज्य र संवैधानिक राजतन्त्रको पक्षमा रहेको अनुमान लगाउन सकिन्छ।

एकाएक राष्ट्रिय राजनीतिमा उदाएको रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी पनि राजतन्त्रवादी पार्टी हो भन्नेहरू पनि छन्। त्यसो त उक्त पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रकै कारण आफ्नो पार्टी यसरी राष्ट्रिय राजनीतिमा उदाउन सफल भएको हो र निरकुंश शासन भएको भए यस्तो अवसर प्राप्त हुने थिएन भन्ने धारणा राख्ने गरेका छन्।  

राष्ट्रिय प्रजातन्त्र पार्टी र राजेन्द्र लिङ्देन तथा ज्ञानबहादुर शाही मात्र होइन, राजतन्त्र फर्काउने अभियानमा गणतन्त्रको सत्ता सुख लिने कतिपय व्यक्तिहरू पनि प्रत्यक्ष–परोक्ष रूपमा लागेका छन्। अहिले को को छद्मभेषीहरू राजतन्त्र फर्काउन लागेका छन् भन्ने कुरा अनुमान लगाउन सके पनि त्यो त राजतन्त्र फर्किएपछि बल्ल थाहा हुने कुरा हो किनभने कथङ्कदाचित् राजतन्त्र फर्किएपछि ठुल्ठुलो पदमा पुग्ने उनीहरू नै हुन्।  

सामन्त, नोकरशाही, निरंकुश चरित्रका व्यक्ति तथा राजतन्त्रवादीहरूले लोकतान्त्रिक गणतन्त्रको जतिसुकै चर्को विरोध र आलोचना गरे पनि लोकतन्त्रको एउटा सुन्दर पक्ष भनेको नै संसद्मा कतिपय सांसदहरूले राजतन्त्रको पक्षमा वकालत गर्न पाएका छन्। खुलेआम राजतन्त्र पुनस्र्थापना गर्छौं भन्न पाएका छन्। नेपालमा राजतन्त्र वा कुनै तानाशाही शासन हुन्थ्यो भने लोकतन्त्रको पक्षमा यसरी वकालत गर्न पाइँदैन्थ्यो, गरे सिधै जेल हालिन्थ्यो वा गोली ठोकिन्थ्यो। यो कुरा आम नेपाली जनताले बुझ्न जरुरी छ।  

अहिले देशमा व्यप्त भष्ट्राचार, अनियमिता तथा कुशासनका कारण जनतामा आक्रोश छ। जनताको त्यो आक्रोशलाई राप्रपालगायतका राजतन्त्रवादीहरूले उपयोग गरेर जनतालाई भ्रमित बनाउन खोजिरहेका छन्। अक्षम नेतृत्वबाट चिढिएका कतिपय जनता भ्रमित भएर उनीहरूका पछाडि लागेका पनि छन्। के यस्तै हो भने नेपालमा राजतन्त्र पुनस्र्थापना सम्भव छ त? प्रश्न उठ्न सक्छ।

अहिले को को छद्मभेषीहरू राजतन्त्र फर्काउन लागेका छन् भन्ने कुरा अनुमान लगाउन सके पनि त्यो त राजतन्त्र फर्किएपछि बल्ल थाहा हुने कुरा हो किनभने कथङ्कदाचित् राजतन्त्र फर्किएपछि ठुल्ठुलो पदमा पुग्ने उनीहरू नै हुन्।  

वास्तविकता भने त्यस्तो छैन। राजतन्त्रका पक्षमा ज्ञानबहादुर शाहीहरूले जति टाउको ठोके पनि अहिलेको अवस्थामा नेपालमा राजतन्त्र दुई अवस्थामा मात्र पुनः फर्किन सक्छ। पहिलो नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रजस्ता प्रमुख दलहरूले अब गणतन्त्र थेग्न नसक्ने निष्कर्ष निकालेर संवैधानिक राजतन्त्र पुनस्र्थापना गर्न राजी भएमा, दोस्रो राजतन्त्रको पक्षमा २०६२-६३ सालको जस्तै जनआन्दोलन भएको खण्डमा। तर यी दुवै विकल्प तत्काल सम्भव देखिँदैनन्।  

देश आर्थिक संकटमा फसेर श्रीलंकाको स्थितिमा पुग्यो र जनताले नेताहरूलाई घर घरबाट थुतेर खेद्न थाले भने संकटलाई उपयोग गरेर राजतन्त्र पुनस्र्थापना हुन सक्छ। तर कथाङ्कदाचित् यसरी राजतन्त्र पुनस्र्थापना भयो भने देश गृहयुद्धमा जाने पक्का छ। त्यसो त ठुला पार्टीहरूले संवैधानिक राजतन्त्र स्विकारेर वा आन्दोलनबाट नै राजतन्त्र पुनस्र्थापना भयो भने पनि पूर्वराजा ज्ञानेन्द्र शाह वा उनका छोरा वा नाति कसैलाई पनि शासन गर्न सजिलो हुने छैन।  

टिकटकमा रमाइरहेका नेपालीहरू अब राजतन्त्रको जेलमा बस्नेवाला छैनन्, त्यो जेल सुनको नै किन नहोस्। जेल भनेको आखिर जेल नै हो। कथङ्कदाचित् यस्तो स्थिति आयो भने देश फेरि बन्द, हडताल, आन्दोलन र द्वन्द्वको दलदलमा नराम्रोसँग जाकिने छ। त्यसैले यी लुुटेरा नेताभन्दा बरु राजा नै ठिक भन्ने जनताले मनन गर्नु पर्ने कुरा के भने कतिपय बेइमान भ्रष्ट नेताका रिसले देशलाई फेरि द्वन्द्वको आगो झोस्नु कदापि ठिक होइन। त्यसैले देश र जनताको माया छ भने कसैले पनि अब लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्नु हुँदैन।  

लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो। हो, संसदीय व्यवस्थाका बारेमा पुनर्विचार गर्न सकिन्छ, प्रतिनिधि सभाको संख्या तथा प्रदेशको संख्या घटाउन सकिन्छ, संघीयताका बारेमा पुनर्विचार गर्न सकिन्छ। तर लोकतान्त्रिक गणतन्त्रका बारेमा पुनर्विचार गर्ने कल्पना पनि गर्नुहुँदैन किनभने लोकतान्त्रिक गणतन्त्रमा नै जनता पूर्ण रूपमा सार्वभौमसत्ता सम्पन्न हुन्छन्। सार्वभौमसत्ता सम्पन्न जनता इमान्दार र सक्षम नेतृत्व चुन्न स्वतन्त्र हुन्छन्। हामी नेपाली जनताले पनि आफ्नो अधिकारको सही सदुपयोग गर्नुपर्यो नि?

प्रकाशित: १५ जेष्ठ २०८० ००:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %