८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

सबै युग कविः सिद्धिचरण श्रेष्ठ

विराट काव्य प्रतिभाका धनी नेपाली साहित्यका युग कवि सिद्धिचरण श्रेष्ठको कवितामा मूलरूपमा देश प्रेम, सामाजिक विसङ्गतिप्रति व्यङ्ग्य एवम् विद्रोहको क्रान्ति चेतना र युगबोधको प्रबल भावना व्याप्त भएको पाइन्छ। युग कवि श्रेष्ठका अनुसार “उज्यालो घामको निम्ति जिउँदो अन्धकारसित लडन्त–भिडन्त गरिरहनु नै मानव जीवन हो। यो लछारपछारमा आफूलाई अघि बढाउने बल साहित्यले दिइरहेको हुन्छ। भइरहेको सामाजिक विकृति र विसङ्गतिलाई पनि कलापूर्ण ढङ्गले अभिव्यक्त गरेमा त्यो शाश्वत साहित्य हुन सक्छ।

कवि सिद्धिचरणबारे विद्वान् साहित्यकार गाविन्द भट्टले सही मूल्याङ्कन गरेका छन्– सिद्धिचरणले राष्ट्र भाषामा रचना गर्दै र नेपालभित्रका सम्पूर्ण जाति वा समुदायबाट बनेको नेपाली जनताको सर्वाङ्गीण हित कल्याणका लागि चिन्तनशील रहँदै व्यापक राष्ट्रिय व्यक्तित्व प्राप्त गर्नुभयो र उहाँ मुलुकभित्र र बाहिरका सम्पूर्ण नेपालीका सम्माननीय एवम् प्रिय युग कवि हुन पुग्नुभयो।

नेपाली साहित्यका यशस्वी प्रतिभा कवि सिद्धिचरण श्रेष्ठले स्वच्छन्दतावादी भावनाबाट नै आफ्नो काव्य यात्रा प्रारम्भ गर्नुभयो तर पछि नेपालीका पीडा व्यथाले उहाँलाई युग–बोध गराएर कविलाई सामाजिक, राजनीतिक चेतनातर्फ उन्मुख गरायो, शनैः शनैः संचेतता र प्रबद्धता प्रदान गर्दै गयो र उहाँमा क्रान्तिकारी र विद्रोही भावना पनि उफ्रन थाल्यो र उहाँ ओजस्वी कविता लेख्न थाल्नुभयो र यत्रतत्र ज्वालामुखी भएर फुट्न थाल्नुभयो। १९६६ इ.मा पेइचिङमा आयोजित अफ्रो–एशियाली लेखन सम्मेलनमा उहाँले जुन उल्लेखनीय मन्तव्य दिनुभएको थियो त्यो ऐतिहासिक बनेको छ– साहित्यकारहरूले आफ्नो समाज र राष्ट्रका जनताको न्यायपूर्ण सङ्घर्षलाई आड, समर्थन दिनुपर्दछ, ठूला शक्तिशाली मुलुक तथा साम्राज्यवादी उपनिवेशवादीहरूबाट हुने अतिक्रमण तथा हस्तक्षेपको विरोधमा उभिनु र कराउनुपर्छ। आफ्ना सुन्दर रचनाहरूबाट जनमानसलाई जागृत तुल्याउनुपर्छ। यो नै उनीहरूको सामाजिक उत्तरदायित्व पनि हो।

वास्तवमा आजको वर्तमान सन्दर्भमा पनि युग कवि श्रेष्ठले आफ्ना कविता र मन्तव्यहरूबाट प्रदान गरेका सन्देशहरू अत्यन्त महत्वपूर्ण, सटिक, प्रेरणादायी र दिशानिर्देशकका रूपमा रहेका छन्। वास्तवमा मानवीय हितको संरक्षण र मानवीयताको कल्याणमा सहयोग गर्ने दायित्व साहित्यको हो। साहित्य सिर्जनामा सामाजिक दायित्वको पक्ष प्रबल हुने गर्छ। यसमा विश्व बन्धुत्वको भावना मुखरित हुने गर्छ र विश्व बन्धुत्वको भावनालाई बलियो बनाउनका पराधीनता, निरङ्कुशता, शोषण र अत्याचारविरुद्ध स्वतन्त्रता, समानता र प्रजातान्त्रिक भावनालाई सुदृढ गर्ने दायित्वपूर्ण कार्य साहित्यले गर्दै आएको छ। विश्वका महानतम् साहित्यिक रचनाहरूमा हामी यस प्रवृत्तिलाई देख्न सक्छौँ। अन्याय, असमानता र पराधीनताका विरुद्ध सम्पूर्ण, जनतालाई सचेतता प्रदान गर्ने काम सचेत, जिम्मेवार साहित्यकार वर्गको हो। नेपालको १०४ वर्ष लामो राणा शासनको क्रूर पन्जाबाट नेपालीलाई मुक्त गर्ने कार्यमा साहित्यकारको ठूलो भूमिका अविष्मरणीय रहेको छ। २००७ सालको पूर्वसन्ध्यामा कवि सिद्धिचरण श्रेष्ठले ओजस्वी शङ्खनाद गर्दै भन्नुभएको थियो–

“मानिस तैले उड्नै पर्छ

दुःख र सङ्कट भोग्नै पर्छ

युगको उर्दी माने पो ता

मानिस यो मानिस बन्छ।”

नेपालमा प्रजातन्त्र ल्याउनका निमित्त खट्दा सर्वस्वहरण भएको र ६ वर्ष जेलमा बसेको चेतनशील अग्रणी कवि सिद्धिचरणले “नेपाली हूँ कठिन गिरिमा चढ्नलाई सिपालु” भनेर सम्पूर्ण नेपालीमा जनजागरणका लहर व्याप्त गर्नुभयो र देशका भावी कर्णधार युवाशक्तिलाई उद्बोधित गर्दै यसरी प्रोत्साहित गर्नुभयो–

“अघि सर, अघि सर, साहस जोड  

कातरपन ली प्राण न छोड

पाइन बलको अब देखाऊ

वैरीलाई मार भगाउ

चम्क युवक। अब चम्क न चम्क!”

सङ्कट मानिसमाथि नै आउँछ। त्यस सङ्कटबाट भाग्ने होइन बरु सङ्घर्षका निम्ति तयार रहनुपर्छ भन्ने अत्यन्त जोशिलो भावनालाई प्रवोधित गर्दै कवि भन्नुहुन्छ–  

“सङ्कट पर्दछ मानिसलाई  

ढुङ्गालाई के पर्छ”

“रोइ रोई बाँच्न पुग्यो अब हाँसी–हाँसी मर्न सिकूँ

रुखमा झुन्डिनुलाई डोरी गरम ओठले चुम्न सकूँ।”

देशलाई मार्गदर्शन दिने क्रममा र राणाकालीन अत्याचार लाई समाप्त गर्ने दिशामा लेखनाथ पौड्यालको “पिँजडाको सुगा” मा जुन जागरण सन्देश छ, देवकोटाको ‘पहाडी पुकार’, ‘झन्झा वर्णन’ जस्ता रचनाहरूमा नेपाली जनमानसमा प्रजातन्त्रको निम्ति सङ्घर्षका तीव्र शङ्खनाद कवि सिद्धिचरणका कविताहरूमा गुञ्जायमान भएर सम्पूर्ण नेपालीलाई उत्प्रेरित गरेको छु।

“तातो तातो रगत रिपुको प्युन हर्दम तयार  

मेरो प्रिय खुकुरी यो हेर भै होशियार।”

स्मरणीय छ कि कवि सिद्धिचरणका काव्यात्मक अभिव्यक्ति सामाजिक राजनीतिक सन्दर्भबाट नै जन्मिएको छ। देशमा व्याप्त तत्कालीन राजनीतिक गतिविधिले उहाँको कवि व्यक्तित्वलाई झक्झक्याएको र उहाँ राजनीतिक योद्धाको रूपमा पनि रहेको यो पंक्तिले देखाउँछ ः

“बाटो मेरो छेकिरहेको अजंगको साँढेलाई  

लौरो लिइकन दूर लघारे मैले कविता लेखेँ।”

आफ्नो अनेकानेक कृतिका माध्यमबाट कविले सामाजिक समस्याहरू, देशीय समस्याहरू, युगीन भावनाहरूलाई अभिव्यक्त गरेर समाजमा सजगता र चेतना व्याप्त गर्नुभयो र समस्या समाधानका दिशामा पथ–प्रदर्शन गर्नुभयो। लोकपथगामी कवि श्रेष्ठले वि.सं. १९६६ मा नै आफ्नो जीवनको उद्देश्य सार्वजनिक गर्दै आफ्नो मनका भावनालाई यसरी व्यक्त गर्नुभएको छ ः

“सुखसागरमा लय भई आखिर

गर्ने जीवन सुन्दर सुन्दर

छ यही मेरो मनको इच्छा

भित्र बनूँ कवि बहिर योद्धा।”

देशका तत्कालीन अन्योलको बेलामा जनतालाई जागरण सन्देश दिँदै र अलमल्ल बन्न पुगेका शारदाकालीन साहित्यकारहरूलाई हौसला प्रदान गर्दै कवि सिद्धिचरण श्रेष्ठले भन्नुभएको थियो– खोजेको प्रजातन्त्र हामीले पाइसकेका छौँ। अब कुनै पनि साहित्यकारलाई कल्पना एवं सपनाको लोकमा पूर्ववत् गुडुल्किएर बस्न र पुरानै राग अलाप्न सुहाउँदैन। यथार्थको धरातललाई छेक्न आउनु र आर्थिक, सामाजिक एवम् सांस्कृतिक क्षेत्रमा नयाँ आस्थाअनुरूप सांस्कृतिक परिवर्तन ल्याउन सक्ने साहित्य लेख्नु हामी सबैको साझा कर्तव्य हो।

सन्दर्भ २००७ सालको क्रान्तिको होस् अथवा त्यसपछिका सामाजिक, सांस्कृतिक, राजनीतिक, क्रान्तिका लागि उहाँका विद्रोही भावना, त्यत्तिकै समर्थवान्, ओजस्वी र प्रेरणादायी रहेका छन्। सामाजिक विसङ्गतिप्रति सचेत उहाँका क्रान्तिकारी भावना आज पनि हाम्रो रगत तातो गर्नका लागि त्यत्तिकै प्रेरणादायी र प्रभावशाली छन्। र, हाम्रो हृदयलाई झङ्कृत गर्नमा समर्थ छन्।

“हिमालको माथि चढी विगुल म फुक्छु  

अन्याय यो सधैँ सधैँ हुन्न म यो भन्छु।”

कविका अनुसार वर्ण, जाति, धर्म आदिका नाममा भेदभाव गर्नु हाम्रो हृदयको सङ्कीर्णता हो। समानताको भावनालाई समाजमा व्याप्त गर्दै कविले प्रखर स्वरमा भन्नुभएको छ ः

“एकै पृथ्वीका सन्तान

हामीमा केही भेद छैन  

तिमी मेरो, म तिम्रो।”

यसरी देशमा एकता र समानता ल्याउने प्रयास र देश निर्माण र देशमा शान्ति सुरक्षाका लागि आह्वान कविका रचनाहरूमा प्रचुर मात्रामा व्याप्त छन्। देशभक्तिले ओतप्रोत कविका यी शब्दहरू सम्पूर्ण देशवासीका लागि प्रेरणाका अजस्त्र स्रोत बन्न पुगेको छ।

क्यारुँ म क्यारुँ यो देशको निम्ति क्यारुँ

नाचूँ कि गाऊँ कि गला मिलाउँ

सहर्ष काटी शिर नै चढाउँ

या श्वास जम्मै यसमै मिसाऊ”

सङ्क्षेपमा युगकवि सिद्धिचरण श्रेष्ठ (वि.सं. १९६९–२०४९) का कविताले सबल राष्ट्रियताको शङ्खनाद गरेको छ। अन्याय, शोषण र अत्याचारविरुद्ध सङघर्षका लागि आह्वान गरेको छ। मानिसलाई कर्म गर्ने प्रेरणा दिएको छ। मानवता विरोधी तत्वहरूलाई समाप्त गरेर विश्वमा शान्ति फिँजाउने सन्देश दिएको छ। साथै विश्व–वन्धुत्व र मानवतावादका चर्काे स्वरले विगुल फुकेको छ। नेपाली वाङ्मय क्षितिजका ज्योतिस्तम्भ, शान्तिका पुजारी, प्रजातन्त्र, समानता, स्वतन्त्रता र मानवताका उद्घोषक कविवर सिद्धिचरण श्रेष्ठज्यूमा हार्दिक श्रद्धाञ्जलि।

प्रकाशित: ९ जेष्ठ २०८० ००:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App