coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

सम्भव छ शुद्धिकरण ?

बाइरोडको बाटोमा

हालै एकजना विशिष्ठ व्यक्तिलाई भेटेर निस्किएपछि ढोकामा उभिएका सुरक्षाकर्मीसँग एकैछिन छोटो कुराकानी भयो। ‘यो देश बन्दैन,’ उनले दिक्दार हुँदै भने, ‘नयाँ मान्छे नआई केही हुन्छ जस्तो लाग्दैन।’

वैशाख १० गते उपनिर्वाचन हुनुभन्दा केही दिनअघिको कुरा हो यो। ती सुरक्षाकर्मी जस्तै धेरैका प्रतिक्रियाबाट प्रष्ट भइसकेको थियो– यो मुलुकको मनस्थिति कस्तो बन्दैछ। नभन्दै निर्वाचन परिणामले त्यो देखाइसकेको छ। चितवन र तनहुँमा अहिले मुख्य भनिएका दलहरूको अवस्था निकै कमजोर देखिएको छ जहाँबाट क्रमशः रवि लामिछाने र स्वर्णिम वाग्ले निर्वाचित भइसकेका छन्।  

‘मैले मुलुकका तीन भन्दा बढी प्रधानमन्त्रीका निम्ति काम गरिरहेको छु,’ती सुरक्षाकर्मीले भने, ‘यो देश कहिल्यै सुध्रिँदैन।’

विशिष्ठ व्यक्तिका निवासदेखि कार्यालयसम्म पुग्दा यस्ता अनेकन प्रतिक्रियासँग जम्काभेट हुन्छ। ती सुरक्षाकर्मीले व्यक्त गरेको छोटो प्रतिक्रियाले लामो समयदेखि मभित्रै अनेकन प्रतिक्रिया उत्पन्न गराएका छन्। प्रत्येक विशिष्ठ व्यक्तिका ढोकामा उभिएका सुरक्षाकर्मीलाई पनि थाहा हुन्छ देशमा के भइरहेको छ।  

प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, पार्टी प्रमुखदेखि कार्यकर्तासम्म सबै व्यस्त छन्। तिनको व्यस्तता मुलुकको काममा कम र विभिन्न सेटिङमा बढ्ता हुन्छ। सिंहदरबारदेखि निवाससम्म, पार्टी कार्यालयदेखि विभिन्न कार्यक्रमस्थलसम्म मानिस लामबद्ध छन्। सबैलाई आफ्ना मनचिन्ते योजना र आयोजना कसरी कार्यान्वयन गर्ने भन्ने ध्याउन्न छ। कुनै काम गर्न-गराउन सकियो भने रातारात लक्ष्मी प्राप्ति हुन्छ। त्यसैले मेहनत कम यस्ता उपक्रम बढ्ता हुन्छन्।

नेताहरूलाई प्रयोग गरेर केसम्म गर्न-गराउन सकिन्छ भन्ने एउटा परिणाम आइसकेको छ। भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहको नाइकेमा अहिले राजनीतिक संलग्नता देखिएको छ। एकपछि अर्को राजनीतिक व्यक्ति यसमा तानिन थालेपछि यसको गहिराइ थाहा हुँदैछ। यो अवस्था देशका अनेकन काण्डसँग छ।  

राजनीतिक संलग्नताबेगर कुनै पनि काम गर्न सम्भव छैन। देशमा कसैले कुनै असल कामको थालनी गर्न खोज्दा जतासुकैबाट अवरोध मात्र आउँछ। राजनीतिक व्यक्तिलाई प्रयोग गर्ने हो भने जस्तोसुकै काम फत्ते हुन्छ।  

सरकारी कार्यालयमा सहजै काम निकै कम ठाउँमा मात्र हुन्छ। जनसम्पर्कका कार्यालयमा सार्वजनिक दबाब पर्ने भएर मात्र केही हदसम्म काम हुन्छ। अन्यथा, काम सपन्न गर्न महाभारत हुन्छ। देशको आवश्यकता बुझेर काम गर्ने र गराउने वातावरण छैन।  

त्यही भएर पनि राजनीतिक जोडकोण मिलाएर मात्रै हुने-नहुने सबै किसिमका काम गराइन्छ। त्यही भएर केही वर्षयता ठूला अनियमिततामा दलका मानिस जोडिएका छन्। वास्तवमा २०४६ सालको जनआन्दोलनपछि दलहरूको सक्रियता छ। तर त्यसयताका जति पनि अनियमितताका काण्ड सार्वजनिक भएका छन्, त्यसमा कुनै न कुनैरूपमा राजनीतिक संलग्नता छ।  

संसदको बजेट अधिवेशन आइतबारबाट सुरु भएको छ। बैठकको सुरुआतमै सांसदले अर्को दलका नेतामाथि भ्रष्टाचार बढाएको आरोप लगाउँदै वक्तव्य दिएका छन्। भ्रष्टाचारीलाई जोगाएको आरोप एकअर्कामाथि लगाएको पनि देखिएको छ। निर्मम भएर व्यवस्था शुद्धिकरणमा लाग्ने बेला भइसकेको यसले देखाउँछ।  

वास्तवमा २०४६ सालको जनआन्दोलनपछि दलहरूको सक्रियता छ। तर त्यसयताका जति पनि अनियमितताका काण्ड सार्वजनिक भएका छन्, त्यसमा कुनै न कुनैरूपमा राजनीतिक संलग्नता छ।  

यसैले अहिले आमनागरिक निराश देखिएका हुन्। गत मंसिर ४ को निर्वाचन र २०८० वैशाख १० को उपनिर्वाचन परिणाम विगत भन्दा भिन्न भएर आउनुपछाडिको कारण यही हो। आमनागरिकमा अब यो मुलुक सकारात्मक ढंगले अगाडि बढ्छ भन्ने विश्वास छैन। त्यही भएर केही तिलस्मी कुरा गर्ने दल र नेताहरूप्रतिको आकर्षण बढेको छ। जनतालाई तिनीबाट पनि काम हुन्छ भन्ने विश्वास भएन भने फेरि पनि अरू विकल्प खोज्नुको विकल्प छैन।

पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला वातावरण आफ्नो पक्षमा आउला कि भन्ने प्रयासमा छन्। त्यही भएर उनी देशका विभिन्न भागको दौडाहामा छन्। उनको यो अवस्था देखेपछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राजाको समर्थन गर्नेहरूका विरुद्धमा टिप्पणी गरेका छन्। पूर्वराजालाई गाली गर्नुको कुनै अर्थवोध भएको छैन। जनआन्दोलन २०६२-०६३ का बेला सक्रिय नागरिक आन्दोलनका एक नेता कृष्ण पहाडीले समेत अहिलेको समस्या पूर्वराजा भन्दा पनि प्रमुख नेताकै कारण सिर्जित भएको टिप्पणी गर्न थालेका छन्।  

डेढ दशकमा मुलुकको आमअभिमत परिवर्तन भएको छ। अहिलेको राजनीतिक नेतृत्वबाट समस्या समाधान हुँदैन भन्ने पर्नु आफैँमा ठूलो अविश्वास हो। त्यसकारण पनि सुधारको थालनी प्रमुख राजनीतिक नेतृत्वबाट हुनुपर्छ। सुध्रिनुपर्ने अहिलेको राजनीतिक नेतृत्व भए पनि संकेत त्यस्तो देखिँदैन। भुटानी शरणार्थी काण्ड जस्तै अन्यमा पनि सक्रियता देखाए मात्र सुधार सम्भव छ।  

राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएको तनहुँ क्षेत्र नं. १ बाट स्वर्णिम वाग्ले निर्वाचित भएपछि सत्तारुढ नेपाली कांग्रेसको बैठक बसेको थियो। बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचनमा पराजित हुनुमा दलको भन्दा सामाजिक सञ्जाल र विदेशमा बस्ने नेपालीको भूमिका रहेको टिप्पणी गरे। यो पनि एउटा कारण हो। तर अहिलेसम्म कांग्रेस, एमाले र अन्य दललाई दिँदै आएको मत किन परिवर्तन भइरहेको छ भन्ने बुझ्नु आवश्यक भइसकेको छ। चितवनमा रवि लामिछानेको मत फेरि पाँच हजार भन्दा बढी हुनुको कारण के हो ? आमजनमतमा आइरहेको यो परिवर्तनले दिइरहेको संकेत बुझिएन भने त्यही समस्याको कारण बन्न सक्छ।

वास्तवमा लोकतान्त्रिक गणतन्त्रमाथि कतैबाट खतरा छ भने त्यो मुलुकका प्रमुख गणतान्त्रिक नेताहरूबाटै हो। यो स्थिति ल्याउनुमा न पूर्वराजाको भूमिका छ न त अन्य क्षेत्रको नै। प्रमुख नेताहरूले आफूलाई आफू कुन ठाउँमा आइपुगिएको छ भन्ने आत्मसमीक्षा गर्ने बेला भएको छ। समयको संकेत नबुझ्ने हो भने आगामी २०८४ सालको निर्वाचनमा अकल्पनीय परिणाम आउने अवस्था छ।  

हाम्रो मुलुकको लोकतान्त्रिक अभ्यास असफल हुने खतरा बढ्दो छ। त्यसमा पनि सूचना प्रविधिको अहिलेको उत्कर्षले प्रियतावादलाई प्रवद्र्धन गरिरहेको छ। भाषण गर्न सिपालु एउटा तप्कालाई यतिबेला आममान्छेले आफ्नो तारणहारका रूपमा ग्रहण गर्न थालेका छन्। यो अवस्था संसारभरिका मुलुकमा देखिँदैछ। त्यसैको असर नेपालमा पनि पर्ने निश्चित छ। प्रियतावादलाई मद्दत गर्ने कारण भने हाम्रो जस्तो मुलुकमा आमनागरिकले अपेक्षा गरेअनुसार आर्थिक उन्नति गर्न नसक्नु नै हो। आर्थिक उन्नति गर्न नसक्ने लोकतन्त्र लामो समय जान सक्दैन।  

धनी र गरिबबीचको खाडल झन् फराकिलो भइरहेको छ। धनी झन् धनी भइरहेका छन्। गरिब झन् गरिब छन्। विगतका निरन्तर आन्दोलन, भूकम्प, नाकाबन्दी, कोभिड–१९ जस्ता घटनाक्रमले व्यक्तिको जीवन कठिन भइरहेको छ। आफू यस्तो अवस्थामा पुग्नुको कारण कुशासन हो भन्ने आमबुझाइ छ। यथार्थ पनि त्यही हो। देशमा लोकतन्त्रपछि सुशासन स्थापना हुन सकेको भए अहिलेको अवस्था आउने थिएन।  

जनआन्दोलन २०६२-०६३ का बेला सक्रिय नागरिक आन्दोलनका एक नेता कृष्ण पहाडीले समेत अहिलेको समस्या पूर्वराजा भन्दा पनि प्रमुख नेताकै कारण सिर्जित भएको टिप्पणी गर्न थालेका छन्। 

पूर्वप्रधानमन्त्री र वरिष्ठ नेताको घरमा सुरक्षा दिइरहेका सुरक्षाकर्मीदेखि सर्वसाधारणसम्मलाई यो मुलुक बन्दैन भन्ने यतिबेला परिरहेको छ। यो भाष्य परिवर्तन गर्ने हो भने गर्नुपर्ने काम धेरै छ। अहिलेसम्म जसरी मुलुक अगाडि बढेको छ, त्यसरी मात्र अब परिवर्तन सम्भव छैन। अहिले जस्तो निराशाको वातावरण छ, त्यसमा सुधार आवश्यक भइसकेको छ।  

आफू सुध्रिन सकिँदैन भन्ने लाग्छ भने अब प्रत्येक ठूला दलले नेतृत्व युवा शक्तिलाई बुझाएर अवकाशमा जानु उचित हुन्छ। आफू डुब्ने र दल पनि सँगै डुबाउने बाटोमा परिवर्तन आवश्यक छ। कांग्रेसमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पुस्ता होस् वा एमालेमा योगेशकुमार भट्टराई तिनले अहिले पनि मौका पाएनन् भने पाँच वर्षमा के परिवर्तन होला र ? त्यतिञ्जेलमा यी पनि बूढा भइसक्छन्, पार्टी पनि सकिन्छ। अब देश बनाउन नयाँ नै चाहिन्छ भन्ने भाष्य निर्माणमा ठूला दलका ठूला नेताहरूकै हात ठूलो छ। आखिर लोकतन्त्रलाई बदनाम गर्न पनि तिनकै भूमिका धेरै छ।@gunaraj

प्रकाशित: २५ वैशाख २०८० ००:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App