२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

राजा चार्ल्सको शुभराज्याभिषेक

‘राजतन्त्र भनेको कि फटाहाले मान्छ, स्वार्थी फटाहाले कि मुर्खले मान्छ, एकथरी अज्ञानी हुन्छन्। विचरा केही पनि बुझ्दैनन्।’-केपी ओली

नेपालका भूतपूर्व प्रधानमन्त्री केपी ओलीले माथिको अभिव्यक्ति दिइरहँदा बेलायतीहरूले राजा चार्ल्सको राज्याभिषेक अत्यन्त भव्यताका साथ मनाइरहेका छन्। हजारौँ वर्ष पुरानो राजतन्त्रको लामो र आकर्षक इतिहास छ। प्राचीन इजिप्टका फारोकदेखि रोमका सम्राटहरू, राजा र रानीहरूले आज हामी बाँचिरहेको संसारलाई आकार दिन महत्वपूर्ण भूमिका खेलेका छन्। आधुनिक समयमा, राजतन्त्रले जनताको चाहना र कल्पनालाई बुझ्ने र सम्मान गर्ने कार्य जारी राखेको छ।

यस्ता केही घटना राज्याभिषेक भन्दा बढी महत्वपूर्ण छन्। यस लेखमा राजा चाल्र्सको आगामी राज्याभिषेक, उनी कसरी राजा भए, पछिल्ला वर्षहरूमा राजतन्त्रले पिरोलेका पारिवारिक समस्याहरू, राजतन्त्रको भविष्यप्रति बेलायती जनताको दृष्टिकोण, नेपालको इतिहासलगायतका बारेमा अन्वेषण गर्नेछु। बेलायत–नेपालको साँचो मित्रतालाई सम्झनेछु, कसरी राज्याभिषेकले संसारलाई राजतन्त्रप्रतिको असिम विश्वास कायम गर्दै व्यावसायिक क्रियाकलापमा असर गर्नेछ भन्नेबारेसमेत विश्लेषण गर्नेछु।

राजा चार्ल्सको उदय

राजा चाल्र्स रानी एलिजावेथ द्वितीयका जेठा छोरा हुन्। बेलायती राजघरानाका एक नम्बरमा रहेका उत्तराधिकारी। उनकी आमा महारानी एलिजावेथको मृत्युपछि, सेप्टेम्बर ८, २०२२ मा राजा बने। उनी दशकौँदेखि रानी नजिक रहेर प्रिन्स अफ वेल्सका रूपमा आफ्नो भावी राजाको भूमिकाको लागि तयारी गर्दै थिए। संसारका सबैभन्दा प्रसिद्ध व्यक्तित्वहरूमध्ये एक भए तापनि राजा चाल्र्सलाई सधैँ एक रहस्यमयी पात्रका रूपमा हेरिएको छ। धेरै मानिस उनी कस्तो प्रकारको राजा हुनेछन् भनेर उत्सुकतापूर्वक हेरिरहेका छन्।

पारिवारिक विग्रह

शाही परिवार हालका वर्षहरूमा धेरै समस्याले घेरिएको छ जसमा प्रिन्स ह्यारी र उनकी पत्नी मेघन मार्कलबीचको वहुप्रचारित पारिवारिक मतभेद बेलायती पत्रिकाका ठूला समाचार शीर्षक भइरहे सधैँ। त्यस्तै दोषी यौन अपराधी जेफ्री एपस्टेनसँग प्रिन्स एन्ड्रयुको सम्बन्धका कारण बेलायती राजतन्त्रले बदनामी सहनुपर्‍यो।

नेपालका भूतपूर्व प्रधानमन्त्री केपी ओलीले माथिको अभिव्यक्ति दिइरहँदा बेलायतीहरूले राजा चार्ल्सको राज्याभिषेक अत्यन्त भव्यताका साथ मनाइरहेका छन्।

उक्त घटनालाई छोप्न दिनुपरेको ठुलो हर्जना रकमले बेलायती राजतन्त्र धेरै आलोचित रह्यो। डायना जनताकी राजकुमारी भएकाले मृत्युको तीसौँ वर्षसम्म पनि त्यो घटना बेलायतीहरूको मनबाट गएको छैन। बेलायती राजतन्त्रमा त्यो कालो छायाँ शायदै बिर्सिएला। यस्ता पारिवारिक कलह बेमेल र असंगत क्रियाकलापले राजतन्त्रको बदनाम गर्ने काम भैरहेको छ।

राजतन्त्रको भविष्य

माथि उल्लिखित चुनौतीका बाबजुद, राजतन्त्र बेलायतमा एक प्रिय संस्था बनेको छ जसको निरन्तरतालाई विशाल बहुमतसहित बेलायतीहरूले समर्थन गर्दछन्। हालैको सर्वेक्षणअनुसार ६८% बेलायतीहरूले राजतन्त्र जारी रहनुपर्छ भन्ने विश्वास व्यक्त गरे। जबकि केवल १३% राजतन्त्र उन्मूलनको पक्षमा थिए। यो बलियो समर्थन सम्भवतः राजतन्त्रले प्रदान गर्ने स्थिरता र निरन्तरताको भावना र साथै यसले ल्याउने आर्थिक लाभहरूको कारण हो।

नेपाल–बेलायत साँचो मित्रता

सन् १९३४ मेमा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भए पनि नेपाल र बेलायतले सन् १८१६ को मार्चमा अनुमोदन भएको सुगौली सन्धिलाई सन् १९३४ मा मान्यता दिएका थिए। कूटनीतिक सम्बन्धको सुरुवात नेपाली नागरिकको भर्नामा यो सन्धिपछि ब्रिटिस सेना आधिकारिकरूपमा सुरु भयो। नेपाल र बेलायतबीच दुई सय सात वर्ष पुरानो लामो र फलदायी मित्रता रहेको छ। महारानी एलिजाबेथ द्वितीय र प्रिन्स फिलिप, ड्युक अफ एडिनबर्गले सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण गरेका थिए।

वेल्सको राजकुमारी डायना र प्रिन्स चार्ल्सले सन् १९९३ र १९९८ मा नेपाल भ्रमण गरेका थिए। उनी नेपालको भ्रमण गर्ने पहिलो महारानी थिइन्। रानीको भ्रमणका क्रममा नेपाली जनताले न्यानो स्वागत गरेका थिए र यो भ्रमणलाई नेपाल–बेलायत सम्बन्धमा कोसेढुङ्गाका रूपमा हेरिएको थियो। शाही दम्पतीलाई ठूलो उत्साहका साथ स्वागत गरिएको थियो र यो भ्रमणले नेपाल र बेलायतबीचको मित्रताको बन्धनलाई मजबुत बनाउन मद्दत गरेको थियो। प्रिन्स ह्यारीले मार्च २०१६ मा द्विशतवार्षिकी समारोहको सिलसिलामा नेपाल भ्रमण गरेका थिए जुन क्रममा राष्ट्रिय बालिका सम्मेलनमा भाग लिएका थिए। त्यस्तै भूकम्प प्रभावित क्षेत्रमा स्वयम्सेवा गरेका थिए।

केपी ओलीको आरोप

यति हुँदाहुँदै पनि नेपाल र बेलायतबीचको सम्बन्धमा केही चुनौती छन्। भर्खरै नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राजतन्त्रवादीहरूलाई असभ्य र अशिक्षित भएको आरोप लगाए। यो भनाइको नेपाल र विदेशमा व्यापक निन्दा भएको थियो र धेरैले यसलाई राजतन्त्र र यसले प्रतिनिधित्व गर्ने मूल्य/मान्यतालाई कमजोर पार्ने प्रयासका रूपमा हेरेका थिए। सबैलाई सम्मान गर्नुपर्ने बताइरहने केपी ओलीका राजाप्रति लक्षित भाषा र शैली अत्यन्त निकृष्ट मानिन्छ। अरूलाई गरे आफूले पनि सम्मान पाइन्छ। राजाले त्यस्तो शैली कहिल्यै प्रयोग गरेनन्। हाँसीहाँसी दुई सय चालीस वर्ष पुरानो संस्थालाई जनताको नासो सम्झेर बुझाएका थिए।

यति हुँदाहुँदै पनि नेपाल र बेलायतबीचको सम्बन्धमा केही चुनौती छन्। भर्खरै नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राजतन्त्रवादीहरूलाई असभ्य र अशिक्षित भएको आरोप लगाए।

आज लोकतन्त्र र गणतन्त्रको आवरणमा मौलाएको बेथिति भ्रष्टाचार नाङ्गो अकर्मण्यताको जिम्मेवारी कसले लिने ? कोही तयार छ कुनै पनि कालखण्डको भ्रष्टाचारको निस्पक्ष छानबिन गर्न? ३४ वर्षमा नेपालमा २९ वटा सरकार फेरिए तर फेरिएन जनताका दुःखदर्दका क्षणहरू। एउटा खानेपानी परियोजना मेलम्चीको काकाकुल पर्खाइ अझै अधुरो छ। बेथितिको यो भन्दा भद्दा मजाक अरू के हुन्छ ?

राजतन्त्र शताब्दियौंदेखि नेपाली इतिहास र संस्कृतिको अभिन्न अंग रहँदै आएको उल्लेख गर्न जरुरी छ। राजतन्त्रको भूमिका समयसँगै विकसित भएतापनि यो धेरै नेपाली जनताका लागि महत्वपूर्ण संस्था बनेको छ। नेपालको भविष्यमा राजतन्त्रको भूमिकाबारे सम्मानजनक र रचनात्मक छलफल हुनु जरुरी छ। विश्वभर समृद्ध राजतन्त्रका धेरै उदाहरण पनि छन्। जस्तै– संयुक्त अधिराज्य, जापान र नर्वे जस्ता देशमा।

अझै कति देशमा राजतन्त्र छ?

आज, बेलायत, स्पेन, जापान र स्विडेनसहित २९ देशमा राजतन्त्र छ। यी देश जापान र स्विडेन जस्ता अति समृद्ध राष्ट्रदेखि भुटान र लेसोथो जस्ता विकासोन्मुख देशसम्म छन्। यद्यपि यी देशमा राजतन्त्र धेरै तरिकामा भिन्न हुन्छन्, तिनीहरू सबैले आआफ्नो समाजमा महत्वपूर्ण भूमिका खेल्छन् र प्रायः स्थिरता र परम्पराको प्रतीकका रूपमा हेरिन्छन्।

राज्याभिषेकमा राष्ट्रमण्डल र बेलायतसँग घनिष्ठ सम्बन्ध भएका अन्य देशका प्रतिनिधिहरूसहित ठूलो संख्यामा प्रतिनिधिहरू उपस्थित हुने अपेक्षा गरिएको छ। एकिन संख्या भने सार्वजनिक भइसकेको छैन तर हजारौँमा हुनसक्ने अनुमान गरिएको छ। यो बेलायतका लागि आफ्नो संस्कृति र इतिहास विश्वलाई देखाउन र अन्य देशसँगको सम्बन्धलाई सुदृढ गर्ने महत्वपूर्ण अवसर हुनेछ।

आज, बेलायत, स्पेन, जापान र स्विडेनसहित २९ देशमा राजतन्त्र छ। यी देश जापान र स्विडेन जस्ता अति समृद्ध राष्ट्रदेखि भुटान र लेसोथो जस्ता विकासोन्मुख देशसम्म छन्।

राज्याभिषेकले बेलायतको अर्थतन्त्रलाई विशेषगरी पर्यटन र आतिथ्य क्षेत्रहरूमा उल्लेखनीय वृद्धि प्रदान गर्ने छ। यस ऐतिहासिक क्षणको साक्षी हुन उत्सुक हुने कार्यक्रममा विश्वभरबाट ठूलो संख्यामा आगन्तुकहरू आकर्षित हुने अपेक्षा गरिएको छ। यसले विशेषगरी लन्डन र वरपरका क्षेत्रहरूमा स्थानीय व्यवसायहरूका लागि अतिरिक्त सरकारी बिदा र व्यापार अवसरहरू सिर्जना गर्नेछ। होटल, रेस्टुरेन्ट र पसलहरूले बढेको बिदाबाट फाइदा लिन सक्नेछन्। राज्याभिषेकले बेलायतको अर्थतन्त्रको लागि ८ बिलियन पाउन्डको व्यापार बढाउने छ। हरेक ब्रिटिशले यो राज्याभिषेकको कार्यक्रममा कम्तीमा प्रतिव्यक्ति ८७ पाउन्ड खर्च गर्ने बताइएको छ। यो समयावधिमा ३५.५ मिलियन पिन्ट्स बियर र ५.३ मिलियन बोतल वाइनको व्यापार हुनेछ। सोभिनियर, होटेल, उपहारको व्यापार आकासिने जनाइएको छ। यसरी ठूलो राजस्व संकलन हुनेछ।

अन्तमा,

राजा चार्ल्सको मे ६ मा हुने राज्याभिषेक ब्रिटिस राजतन्त्रको इतिहासमा एक ऐतिहासिक क्षण हो र यो बेलायत र विश्वभरि दुवैमा महत्वपूर्ण घटना हुनेछ। यो ऐतिहासिक समारोहका धेरै कुरा सुरक्षाका कारणले गोप्य राखिएका छन्। महारानी एलिजाबेथ द्वितीयको राज्यारोहणमा सन् १९५३ मा तिनताका १.५७ मिलियन पाउन्ड यतिखेरको मूल्य ४६ मिलियन पाउन्ड खर्च भएको बताइन्छ। राजा चाल्र्स यस्ता धेरै अनुत्पादक खर्च कटौतीमा लागेका देखिन्छन्।

लिभिङ्ग क्राइसिस भोगिरहेको बेलायत आफ्नो राजाको राज्यारोहणमा धेरै फाल्तु खर्चहरू घटाउन लागेको देखिन्छ। राजा चार्ल्सले आफ्ना बाजे जिजु बाजेहरूले लगाएकै कोरोनेसन सामग्रीहरूलाई रिसाइकल गरेर प्रयोग गर्ने, तिनलाई बचाउने र दिगोपनालाई केन्द्रमा राखेर धर्तीमा पर्ने कर्बोन उत्सर्जन, फजुल खर्चलाई घटाउने बताएका छन्। तिनताका आठ हजार आगतुकहरू आमन्त्रित गरिएको थियो। अहिले त्यो दुई हजारमा झारिएको छ। वेस्टमिनिस्टर आबेमा अतिरिक्त सिटको व्यवस्था गर्न नपर्ने गरी चाँजो मिलाइएको छ। त्यस्तै तिनताका एक लाख बीस हजारलाई बाँडिएको मेडलमा समेत भारी कटौती गरिने भएको छ।

राजा चार्ल्सको मे ६ मा हुने राज्याभिषेक ब्रिटिस राजतन्त्रको इतिहासमा एक ऐतिहासिक क्षण हो र यो बेलायत र विश्वभरि दुवैमा महत्वपूर्ण घटना हुनेछ।

हालका वर्षहरूमा केही चुनौती आए पनि राजतन्त्र एउटा प्रिय र महत्वपूर्ण संस्थाका रूपमा रहेको छ र राज्याभिषेक यसलाई भव्य रूपमा मनाउने ऐतिहासिक अवसर हो। कार्यक्रमको सही विवरणहरू अझै टुङ्गो लाग्न बाँकी छ तर यो भव्य यादगारपूर्ण समारोह हुनेछ, ठूलो संख्यामा उपस्थित महानुभावहरूको साथ। कार्यक्रमले बेलायतको अर्थतन्त्रमा विशेषगरी पर्यटन र आतिथ्य क्षेत्रहरूमा उल्लेखनीय वृद्धि प्रदान गर्नेछ।

खस्किँदै गएका केही यस्ता लाजमर्दा व्यवहारहरू बेलायती राजतन्त्रका लागि ठूलो चुनौती बनेका छन्। हामी कामना गरौँ, बेलायतका राजा चाल्र्स तृतीय अझै सुस्वास्थ्य, दीर्घजीवी र अकण्टक रहून्, समुन्नत बेलायतको सम्मान र संवैधानिक राजतन्त्र, प्रजातन्त्र र लैङ्गिक विभेद अन्त्यको कोसे ढुंगाका रूपमा दुनियाँमा उदाहरणीय बनिरहून्, हाम्रो हार्दिक शुभकामना ! ह्याप्पी कोरोनेसन हिज मेजेस्टी किङ्ग चार्ल्स तृतीय!  

प्रकाशित: २४ वैशाख २०८० ००:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App