१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

नर्कजस्तो अन्तर्राष्ट्रिय विमानस्थल

माघ महिनामा दुई पटक मुलुकबाहिर जाने सुयोग जुर्‍यो, बाली र नयाँ दिल्ली। देशबाहिर जाँदा इमिग्रेसन र सिक्योरिटी सहजै थिए, तर अरु बाँकी भने लथालिंग। असनतिरकै जस्तो भीड थियो पर्खने कक्षमा, जहाँ बस्ने सिटसम्म पनि थिएन। सबै भरिभराउ र धेरै यात्रु खडेखडे। समयमा सूचना वा जानकारी दिन त त्यहाँ कोही छैन। कुन गेटमा पर्खने हो, त्यो अन्तिम समयमा मात्र चिच्याएर कुनै एयरलाइन्सका कर्मचारीले बताउँछन्। सोधपुछ गर्ने कुनै ठाउँ छैन। गन्जागोल सबैतिर! तर, यी सबै अनुभव पनि एकदमै राम्रो ठहराउन पर्दोरहेछ फर्कंदाको अनुभव हेर्दा त!

फर्कंदा त यात्रु कुनै विदेशी एयरपोर्ट, बैंकक या सिंगापुर होस् या नयाँ दिल्ली वा दोहाजस्ता स्थानबाट फर्किन्छन् र तिनमा आनन्दसित सहजै समय बिताएको अनुभव गरेका हुन्छन्। तर, केही घन्टामै आफ्नो मुलुकमा उत्रँदाखेरी नै पाइने दुःखको त वर्णन गर्न पनि लाज लाग्छ। कत्रो अन्तराल छ विदेशको र यहाँको हवाईअड्डाको स्थितिमा? मनन् गर्नैपर्ने हुन्छ कि भारत र नेपाल स्वतन्त्र भए चार वर्षको अन्तरमा, तर नेपालको हवाईसेवा र सिंगापुरको झण्डै एकै समयमा भएका हुन्। हाम्रो र भारतको तथा हाम्रो र सिंगापुर हवाईसेवाबीच कत्ति बेमेल! कुनै तुलनै हुन नसक्ने बेथिति भोगिरहेका छौँ हामी।

पहिलो कुरा त फर्कने प्लेनलाई हेटौँडामाथि निकै बेरसम्म होल्डमा राखिन्छ, किनकि यहाँ 'हेभी ट्राफिक' हुन्छ। भैगो यो अन्य मुलुकमा पनि अनुभव भएकै कुरा हो, यसलाई छाडिदिउँ्क। अब ल्यान्ड गरियो। यहाँबाट त नर्कको जस्तै यात्रा सुरु भो। भाग्य छ हामी नेपालीको कि बारम्बार यो नर्क भोगेकोले पछि जाने नर्कबाट छुट पाइएला जस्तो लाग्छ! प्लेन ल्यान्ड भो र अब त घर आइयो भनेर मोटरलाई पार्किङमा सूचित गरिन्छ, तर प्लेन त टक्क 'पार्किङ वे' भन्दा सयौँ मिटर यता पो राखिन्छ! अनि हाम्रो शीर झुकाउने गरी क्याप्टेनले 'एनाउन्स' गर्छन्– 'पार्किङ गर्ने ठाउँ अहिले भरिभराउ भएकाले कुनै ठाउँ खाली नहुन्जेल हामीलाई यहीँ अडिनुपरेको छ।' हामीलाई नेपाली भनेर अुनमान गर्ने विदेशीले पुलुक्क हामीतिर हेर्छन्, आफू भने प्लेनको ‰यालतिर फर्केर हिमाल हेरेजस्तो गर्नुपर्छ। के गर्नु, दुर्दशा गराउने अन्य, बेइज्जती खप्नुपर्ने हामीजस्ता साधारण नागरिकले!

भैगयो यो पनि सहियो, तर प्लेन अब ठीक ठाउँमा अर्को प्लेनले छोडेको पार्किङमा टक्क अड्यो। छिटोछिटो घर पुग्ने आशाले इमिग्रेसनबाट भित्र पसेर सामान लिन तल ओर्लिंदा त्यहाँ त के के हुन्छ त्यो सुन्न र सुनाउन अलि गाह्रो छ। त्यो दृश्य नै त्यस्तो भद्रगोल छ। मुलुकको असली रूप र दशा यहाँ देखिन्छ। हाम्रो स्वाभिमानबारे चिच्याउने नेताहरूले यो ठाउँको अनुभव गर्दैनन्, ती त सोझै 'भीआईपी' कक्षमा टेलिभिजनहरूका माझमा विदेशको अनुभव र आफूले त्यहाँ देखेको प्रगति र आफ्नो सफलताको कुरा सुनाएर झण्डा फहराएका मोटरमा कर्मचारी र पुलिसको चाकडी खाँदै सररर एयरपोर्टबाट बाहिरिन्छन्। विदेश भ्रमणमा देखेका प्रगतिबारे त उनीहरू आकाशै छुने गरी प्रशंसा गर्छन्, तर त्यो प्रगति हामीकहाँ किन भएन, त्यसबारे मौन छन्। किनभने, हामीकहाँ यस्तो हुनुमा उनीहरू नै कारक हुन्। कुनै बितेका र हालका सरकार यसबाट अछुतो छैनन्। कुनै नेता या सांसद पनि यसको जिम्मेवारी लिनबाट पन्छिन पाउँदैनन्।

ती 'भीआईपी' गुडेर जान्छन्, तर भित्र कुन नारकीय अवस्था भोगेको अनुभव भै रहेको छ, उनलाई मतलबै छैन। आफ्नो लगेज लिन झर्दा त कस्तो अनुभव हुन्छ भने, बरु मच्छिन्द्रनाथको रथ तान्दा त्यत्रो भीडको नियन्त्रण र यात्राको व्यवस्था केही भएको हुन्छ, तर यहाँ भने त त्यत्ति पनि छैन। तँछाडमछाड हुन्छ सामान बोक्ने ट्रलीको लागि, किनभने ट्रली नै कम छन्। अपर्याप्त ट्रलीको लागि कुटपिट होला जस्तै अवस्था छ। विदेशबाट आएका कामदारहरू भिन्नै तौरतरिकाले ट्रली लिन झुम्मिएका हुन्छन्, अन्य त्यसरी झेलिन नसक्ने यात्रु ट्वाल्ल परेर हेर्‍याहेर्‍यै बसेका देखिन्छन्। विदेशीहरूको त कुरै नगरौँ, यस्तो अनुभव गर्नुपर्दा तिनको कस्तो अनुहार देखिन्छ र कस्तो मनस्थिति भल्किन्छ? किन यो मुलुकमा आएँ होला र कस्तो पो रहेछ यहाँको स्वागत भन्ने कुरा राम्रै झल्किन्छ तिनका अनुहारमा! हामी उनीहरूतर्फ हेर्न पनि सक्दैनौँ। एकातिर लाजले टाउको झुकाएका हुन्छौँ भने अर्कोतिर त्यही टाउकोले कसैको सामान र ट्रलीको तँछाडमछाडले आफ्नो खुट्टा बचाउँदै हिँडनुपरेको हुन्छ। खर्बौं रुपियाँ खर्चेर प्लेन किन्नतर्फ लाग्न हामी एकदमै तत्पर देखिन्छौँ, तर जाबो केही लाख पर्ने अलि जातको मामुली ट्रली पनि यात्रुको चाप हेरेर एयरपोर्टमा राख्न सक्दैनौँ! यस्तो हुनुको कारण सबैलाई थाहै छ। ट्रली किन्दा कसैलाई कत्ति पो आउला र? कति यात्रु रोजै उत्रन्छन् विमानस्थलमा, त्यति पनि भन्न सक्ने र हिसाब गरेर ट्रली उपलब्ध गराउने क्षमता सम्बन्धित मन्त्रालय र एयरपोर्ट व्यवस्थापनका कर्मचारीमा नभएकै हो त? सधैँ गैरआवासीय नेपालीको मात्रै आशामा बस्ने, आफू सिन्को पनि नभाँच्ने? केही समयअघि गैरआवासीयले नै ट्रली उपलब्ध गराएका थिए।

कुन 'बेल्ट' मा आफ्नो सामान आउँछ भनेर बताउने क्षमता भएका एयरपोर्टका कुनै कर्मचारी छैनन्। कुनै हेल्प डेस्क छैन। कुनै एयरलाइन्सको स्टाफ छैन। घन्टौँपछि (र, यो साँचिकै आधै या पूर्ण घन्टौँपछि नै हो) न्यून संख्यामा रहेका टीभी स्त्रि्कनमा विस्तारै सूचित गरिन्छ आफ्नो सामान आउने 'बेल्ट' या कसैले चिच्याएर उद्घोष गरिदिन्छ त्यसबारे। अनि त्यतातिर भीड र तँछाडमछाडको स्थिति हुन्छ। यताउति फर्किने ठाउँ पनि पाइँदैन। यता जाउँ माल–मान्छे र ट्रली, उता जाउँ माल–मान्छे र तिनको ट्रली, आफ्नो भने खुट्टामात्र ठोकिन्छ, न त माल न त ट्रली! आफू तँछाडमछाड गरेर माल उठाउने या खिचातानी गरेर ट्रली भेट्टाउने अवस्थामा पनि छैन। यो अवस्था हेर्दा त आफूभित्र आक्रोश, दुःख, लाज, निरीहताको खिचडी पाक्छ– हे भगवान्! यो मुलुकको दशा कसले सपार्ने हो जस्तो लाग्छ र नैराश्य छाउँछ। जब मनले र बुद्धिले प्रश्न गर्छन्–'कोही छैन मुलुक सपार्ने?' लुट्ने सबै छन्, तर सपार्ने कोही छैनन् र निकट भविष्यमा सपार्न सक्ने कोही देखिँदा पनि कतै देखिँदैनन्। मुलुक भित्रँदै यस्तो मनस्थिति लिएर घरतिर जाँदा कुन नेपालीको मनमा स्वाभिमान भरिएको होला? कुन पर्यटकलाई बारबार यहाँ आउँजस्तो लाग्ला? के त पर्यटन उद्योग र व्यवसाय यस्तो स्थितिमा फस्टाउला? 

अब यहाँ धेरै ठूला प्रश्नहरू आउँछन्। मुलुकको डुब्दो अवस्था त देखिहालियो अन्तर्राष्ट्रिय विमानस्थलको स्तरबाटै पनि। तर, यो त हुनुनपर्ने हो। होला जलविद्युत्को योजना मुलुकमा पर्याप्त मात्रामा नआएको होला, होला कतै बिजुलीको रेल गुडाउन नसकिएको, तर यो विमानस्थलमा त यस्तो हुनुपर्ने कुनै कारण छैन। यो त बनिबनाउ घर र व्यवस्था भएको थलो हो। घर बन्छ एक सय जना बस्ने र त्यहाँ कोचाकोच गरिन्छ एक हजार जना, अनि के हुन्छ त त्यो घरको दशा? एयरपोर्टले धान्नै नसक्ने गरी किन झन्झन् कतिकति नयाँ एयरलाइन्सलाई स्वीकृति दिइन्छ? जब प्लेन राख्ने ठाउँ नै छैन, प्लेन उडाउने र उतारिने 'रनवे' नपुग्ने भैसक्यो त यी कुरा थाहा पाउँदापाउँदै किन यस्तो स्वीकृति दिइन्छ एयरपोर्ट नै डुबाउने गरी र मुलुककै बेइज्जत गर्नेगरी? के र कसका कारणले हो यो? भन्दा धेरै पर्यटक भित्राउन धेरैधेरै प्लेन आउन दिएको भनिने होला, तर एकपटक यस्तो अवस्था भोगेका पर्यटकले फर्केपछि अरुलाई यहाँ जाऊ भन्लान्? यहाँ पनि पैसाकै लेनदेन, विदेश भ्रमण र एयरलाइन्सले अनुमति पाउनका लागि गर्ने भव्य खातिरदारी र स्वागत तथा फर्स्टक्लासकै मोजमजस्तीमै सम्झौताहरू भएको पो हो कि जस्तै लाग्छ। नत्र एउटा स्कुले बच्चाले पनि बताउने कुरा हो कि क्षमता नै नभएको ठाउँमा अरु थप भार दिएमा त्यो संरचना नै ढल्छ। यति साधारण कुरा किन शक्तिमा बसेकाहरूले नबुझेजस्तै गरेर राष्ट्रकै बेइज्जत गरेको? अब त हाम्रो पर्यटन उद्योग नै धरापमा पर्ने देखिन्छ, यस्तै ताल बढ्दै गएमा। हुन त अहिलेकै अवस्थामा पनि फस्टाउने कुनै सम्भावना देखिएको छैन। विमानस्थलको यही हालत रहेमा या तत्काल कुनै विकल्प नखोजेमा पर्यटक नेपाल आउन कम हुने निश्चित छ। त्यसैले कुनै अचम्म मान्नुपर्दैन जब झुण्डका झुण्ड विदेशी भैरहवा हुँदै लुम्बिनी जान्छन् र केही घन्टा त्यहाँ घुमफिर गरी भारततिरै फर्कन्छन्। काठमाडौँ विमानस्थलमा त सायद उनीहरू पस्न पनि चाहँदैनन् यहाँको अवस्थाबारे यताउताबाट सुनेपछि। किन जाने? हो नेपाल सुन्दर छ, पर्यटकीय छ, यहाँका कला प्रकृति उत्तम छन्, हेर्न लायकका थुप्रै कुरा छन्। तर, हवाईयात्राबाट नेपाल पस्ने एउटै ढोका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेर्ने हो भने र यस्तै मनोमानीमा र प्रलोभनमा यो एयरपोर्टलाई नर्कजस्तो बनाउने हो भने त भो हाम्रो पर्यटनको विकास! हामीकहाँ साधारण पर्यटक त यस्तोमा कम हुने अवस्था छ भने साँचिकै पैसावाल पर्यटक यस्तो अवस्थामा किन र कसरी आउलान्? स्तरीय पर्यटक भित्राउन सकियो भने मात्रै राम्रो आम्दानी हुन्छ। भुटानले जसरी यस्ता टुरिस्ट भित्राउन सक्यो त्यो पाठ त सिके हुने नि! हामी त भुटानभन्दा पनि गएगुजि्रएका भयौँ।

डाक्टरी पेशामा एउटा सबैभन्दा महत्वपूर्ण नीति छ त्यो हो– 'कुनै रोगीलाई निको पार्न सक्दैनौ भने कमसेकम उसलाई हानी नपुर्‍याउ।' मलाई लाग्छ, सरकार चलाउने, राज्य हाँक्ने राजनीतिक व्यक्ति, सांसद र त्यहाँ बनेका थुप्रै कमिटी र तिनका निर्देशनमा चल्ने (या नचल्ने!) सबैले यही कुरामा ध्यान दिउन् कि मुलुक सपार्न सक्दैनौ भने (यो प्रस्टै देखिसकियो) कमसेकम बिगार्नतिर नलाग।  

प्रकाशित: २ फाल्गुन २०७३ ०५:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App