१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

बालीमा धर्म-संस्कृतिको पाठ

बालीबारे पहिलेदेखि सुनेको थिएँ कि एउटा मुसलमानको सबैभन्दा धेरै जनसंख्या भएको मुलुकमा हिन्दु संस्कृतिको सानो टापु छ भन्ने। पछि गएर बाली विदेशीहरुको निकै आकर्षण स्थल बनेको पनि सुनेँ। त्यहाँ छुट्टी मनाउन अस्ट्रेलियाली र सारा संसारबाट जाने गर्दारहेछन्। पछिल्लो चरणचाहिँ त्यहाँ एउटा आतंककारी घटना भयो। त्यो पनि नसुनेको भने होइन।

खासगरी त्यहाँ हिन्दु धर्म/संस्कृतिले कसरी जग गाडेको छ, कसरी त्यो संरक्षण भएको छ र कसरी अगाडि बढेको रहेछ भन्ने हेर्नु थियो। चार दिन रहँदा खाली संस्कृति, परम्परा र मन्दिरमात्र हेर्‍यौं। हिन्दुसँग अन्तरक्रिया गर्‍यौं। मनोरञ्जनको कुनै कार्यक्रम बनाइएन। हिन्दु संस्कृति त्यहाँ पुगेको केही हजार वर्षमात्र भयो शायद। दक्षिणपूर्वी एसियाका धेरै ठाउँमा त मन्दिर म्युजियमजस्ता मात्र भएका छन् तर बालीमा फरक रहेछ। त्यहाँ विचित्र के रहेछ भने हाम्रै त्रिदेव ब्रह्म, विष्णु र शिवलाई साह्रै मान्ने रहेछन्। ठूलाठूला चौराहामा उनीहरुका भव्य सालिक थिए– कृष्ण अनि रामका। गीतामा लेखिएजस्तै कृष्णको रथको पनि सालिक रहेछ। रामले समुद्र तर्दाका बाँदरका सालिक चोक चोकमा थिए।

हाम्रो यहाँ घरमा पूजाकोठा भएजस्तै तर अलि फरक, उनीहरुको त्यहाँ घरका कुनामा सानासाना मन्दिर नै बनाएका हुँदारहेछन्। त्यसमा फेरि ब्रह्मा, विष्णु, शिव र आफ्ना पितृलाई स्थापित गर्दा रहेछन्। अचम्म के छ भने मूर्ति पूजाचाहिँ देखिएन। प्रतीक छ, यो ब्रह्मा, यो विष्णु र यो शिव भन्ने। तर त्यहाँ कन्सेप्सनमात्र छ। प्रतीकमात्र छ। यो सम्पूर्ण प्रकारले वैदिक कालको जस्तो उनीहरुको धार्मिक विचार र अभ्यास देखियो। मन्दिर जाउ या नजाउ, मतलव छैन। मन्दिरमा पूजा हुन्छ या हुँदैन, त्यो पनि मतलव छैन। तथापि मन्दिर असाध्य भव्य भव्य बनाइएका रहेछन्। उनीहरु ब्रह्मा, विष्णु र शिव अर्थात सृष्टि, स्थिति र विनाश यही हो भनेर मान्दा रहेछन्। भगवानको रूप भने प्रतीकलाई मान्दा रहेछन्। कत्राकत्रा मन्दिरमा म गएँ, त्यहाँ पूजाआजा देखिनँ। के सुनियो भने एउटा पुजारी छन् रे। बिहान–बेलुका गएर यसो पूजा गर्दिन्छन् रे। तर त्यहाँ मान्छेको हुल गएर, पूजा गरेर मूर्ति छुने केही छैन। केराको पातमा झण्डै ३–४ इन्च जतिको वर्गाकार दुनामा धूप चार पाँच वटा हुन्छ, घरमा जे पाक्छ त्यही खानेकुरा राखेर मन्दिरमा लगेर बुझाइदिँदा रहेछन्। त्यसपछि नमस्कार गरेर फर्कन्छन्। त्यहाँ बत्तीको कुनै प्रयोग देखिएन, धूपको मात्र चलन रहेछ।

हरेक घरमा सानो मन्दिर छ र हरेक गाउँमा फेरि ठूलो एउटा सामूहिक मन्दिर हुने रहेछ। त्यहाँ पनि दैनिक मान्छे जाँदैनन्। कुनैकुनै पर्वमा वर्षको एक या दुई चोटि जाँदा रहेछन्। कुनै बिहेबारी या कुनै खास पर्वमा मात्र मानिस गाउँको ठूलो मन्दिर जाँदारहेछन्। नत्र मन्दिर छ, सानो मामुली पूजा हुन्छ तर दिनदिनै मान्छे जाने, धाउने, पानी छ्याप्ने, चन्दन चढाउने केही पनि छैन। मूर्ति त साँच्चै भन्दाखेरि छँदा पनि छैन। मूर्तिको प्रतीक छ। अर्काे कुरा, मन्दिरको ढोकाको विशेषता महत्वपूर्ण छ। हाम्रोचाहिँ मन्दिरको ढोकाको माथिको भाग गुम्बज हुन्छ, उनीहरुको धेरैजसो मन्दिरमा पिलर छ तर गुम्बज छैन। त्यसको मतलब के हो रे भन्दा, गुम्बज नभएको मन्दिरको ढोका जोडेपछि नमस्कारको आकार बन्दोरहेछ। त्यसरी मन्दिरको ढोका पनि नमस्कार गरेको प्रतीकका रूपमा बनाइएको हुँदारहेछन्। उनीहरुले भगवानको कन्सेप्टमात्र ल्याए। मूर्तिमा गएनन्। यो त मन्दिर र पूजाआजाको कुरा भयो।

अर्काे कुरा के भने आफ्नो धर्म/संस्कृतिमा अत्यन्त गौरव गर्दारहेछन्। हाम्रो रीतिरिवाज, संस्कृति, भगवानप्रति विदेशीले के भन्लान् भन्ने कुनै पनि सोचाइ छैन। कुनै लघुताभाष छैन, बरु अति गौरव छ। यसको एउटा उदाहरण– एउटा मन्दिरमा पुग्यौं जसलाई युनेस्कोले विश्व सम्पदामा सूचीकृत गरेको छ। त्यो त्यहाँको शाही मन्दिर रहेछ। पहिलाका राजाले पूजा गर्ने मन्दिर हो तमन आयुन। तमन आयुन भनेको 'राम्रो मन्दिर' हो। यहाँ पूजा गरेको देख्यौं हामीले तर बाहिर सुन्दर बगैंचा बनाइएको छ। त्यहाँनेर ठूलो साइनबोर्ड छ। सेतो साइनबोर्डमा नीलो अक्षरले लेखिएको छ– महिनावारी भएका महिलालाई भित्र प्रवेश मनाही छ। विचार गरौं त, हामी यहाँ छुवाछूत भयो, हामी पुरानिया भयौं, हामी बिलकुलै खत्तम भयौं, आधुनिक युगमा त जे पनि गरे हुन्छ भन्छौँ। उनीहरुको युनेस्कोले संरक्षण गरेको मन्दिरमा भने त्यस्तो लेखिएको छ। कुनै लाजशरम छैन। त्यसकारण मैले देखेँ कि उनीहरुकोमा हाम्रो विशुद्ध हिन्दु संस्कृति पुगेको छ।

कामसूत्र पनि छ नि हाम्रो संस्कृतिमा त। यौन विज्ञान अनि यौन दर्शन हो नि कामसूत्र । त्यो नै उनीहरुले लिएर गए। हाम्रो यहाँ आर्यवर्तमा चाहिँ के भयो भने पछि मुसलमान आए, क्रिश्चियन आए। उनीहरुले हाम्रो त्यो दर्शन र संस्कृतिलाई छिःछिः गरे। घीनलाग्दो कुरा भो। यौनसम्बन्धी कुरा गर्नै हुँदैन भनेर सिकाए। उनीहरुको विचारमा हामी ढल्दै ढल्दै गएर आफ्नो कुरा सबै बिर्स्यौैं। जबकि कामसूत्र यति महान दर्शन थियो कि सृष्टि त्यहीँबाट भएको छ भन्ने पनि बिर्स्याैं। यो कुनै घीनलाजको विषय थिएन। बालीका मान्छेले त्यो संस्कृतिलाई लाजशरमबिना मान्यताका रूपमा स्वीकार गरे। त्यसरी त्यत्रो ठूलो मन्दिरमा यतिसम्म लेख्नु भनेको सोचौं कि उनीहरुलाई आफ्नो धर्म संस्कृतिमाथि कति गौरव छ। विदेशी गएका छन् मन्दिरमा। पाइन्ट सर्ट लगाएका छन्। तर तिनीहरुले धोती नलगाइकन  मन्दिरको प्रांगणमा जान पाउँदैनन्। मन्दिरभित्र त कोही पनि जान पाउँदैन।

ताना लट भन्ने मन्दिर समुद्रमाथि छ। माथि कोही पनि जान पाउँदैैन। पुजारी एउटा बसेको हुन्छ। जे चढाउनुपर्ने हो, त्यही तल निश्चित ठाउँमा छाड्नुपर्छ। अर्काे उलुन दानु भन्ने मन्दिर छ तालको किनारमा। अर्काे वैसाखी भन्ने मन्दिर छ। यी सबै मन्दिर हेर्‍यौं। यी सबै त्यहाँको धर्म संंस्कृतिको प्रतिनिधित्व गर्नेखालका मन्दिर हुन्। विदेशी आउ, हाम्रो हेर, अनि लिएर जाऊ, हामी तिमीमा ढल्दैनौं, तिमी हामीमा ढल्क भन्ने भावना सबैमा छ। हाम्रो संस्कृति सर्वश्रेष्ठ छ भन्ने विचार बोकेर बसेका छन्। विचार गरौं, चारतिर मुसलमानबाट घेरिएका छन्। मुस्लिम मुलुक हो तर उनीहरुले मलाई हिन्दु राष्ट्र चाहियो, हिन्दु राष्ट्र बनाउ भनेर चिच्याएका छैनन्। तर उनीहरुले हिन्दुत्वबाट जे उन्नति गरे, त्यसमा गौरव छ। इन्डोनेसियाको अर्थतन्त्रमा ठूलो टेवा दिएको भएर मुसलमान सरकारले पनि त्यत्रो समर्थन दिएको छ। अर्थतन्त्रमा सहयोग पुर्‍याउने सबैभन्दा ठूलो माध्यम पर्यटन हो। कफी खेती, वनजन्य उत्पादन, चिया, धान खेती र माछा जस्ता खेतीबाट पनि अर्थतन्त्रलाई सहयोग गरेको देख्न सकिन्छ। एउटा धान खेती गर्ने खेतको क्षेत्र छ जसलाई युनेस्कोले सम्पदा सूचीमा राखेको छ। त्यहाँ पैसा तिरेर हेर्न जानुपर्छ पर्यटकले। एउटा धानको खेतलाई युनेस्कोले संरक्षण गर्नु भनेको चानचुने कुरा होइन। कसरी धान लगाउने, कसरी सिँचाइ गर्ने भन्ने अनौठो प्रणाली छ।

हामीलाई चाहिँ मिसनरी आए। तिमी गरिब भएको तिम्रो धर्मको कारण हो, संस्कृतिको कारण हो भनेर सिकाए। तिम्रो यो मूर्ति पूजा, यो पाखण्डी पूजा भयो भने। हेर हामी कति धनी छौं भनेर उक्साए। यसरी हाम्रा सारा गरिबको धर्म संस्कृति खत्तम पारे। बालीमा के देखेँ भने एउटा पुल बनेको छ समुद्रमाथि। यो पूल बनेको जम्मा तीन वर्षमात्र भयो। सोह्र किलोमिटरको पुल छ, तीन ठाउँतिर जान मिल्छ त्यो पुलबाट। जुन एक वर्षमा बनाइसकिएको थियो। हाम्रो यहाँ ३५ किलोमिटरको मुग्लिन सडक बन्न पनि जात्रा छ।

हामी उलुन दानु भन्ने मन्दिर पुग्दा त्यहाँ समुदायको पूजा भइरहेको थियो। त्यहाँ बलि दिन एउटा पाडो राखिएको थियो। तर बलि पनि त्यहाँ हामीले जस्तो काटेर दिँदा रहेनछन्। बाँसको खोर बनाएर त्यसलाई पानीमा डुबाइदिँदा रहेछन्। डुबाएपछि पाडो मर्छ। त्यसलाई दुःख दिने भन्दा रहेनछन्। मोक्ष दिएको भनेर बुझ्दा रहेछन्। पाडोको आत्माको शान्तिका लागि प्रार्थना र पूजा गरेरमात्र डुबाउँछन्। हामी आगो, पानी, माटो, हावाबाट बनेका छौं।  त्यसैले पानीबाट उत्पन्न भएको शरीर पानीमा नै समाप्त गर्ने भन्ने तर्क रहेछ। गाईलाई भने पवित्र मान्दारहेछन्। त्यसैले गाईलाई बलि दिनुपर्‍यो भने ज्वालामुखीभित्र खसाल्दा रहेछन्। केही गरी गाई या गोरुलाई बलि दिन परेमा आगोमा मात्र हाल्न सकिने मान्यता रहेछ।

उनीहरुका पुजारीको कुरा पनि बेग्लै। मूल पुजारीको श्रीपेच जस्तो मुकुट हुँदोरहेछ। मुकुटकै कारण चिनिँदोरहेछ पुजारी। उनीहरुले हिन्दुको मौलिकता बचाउँदै गए। मुसलमान मूर्ति मान्दैनन्। त्यही मुसलमानको बीचमा मिलेर बस्नुपर्‍यो। त्यसकारण उनीहरुले मन्दिर बनाए तर मूर्ति राखेनन्। मूर्ति पूजा गरेनन्, मानसिक पूजा गरे। भगवान मन्दिरको मूर्तिमा हैन मन र मस्तिष्कमा बोकेर हिँडे। उनीहरुको घरमा राखिएको मन्दिरमा पिता (ब्रह्मा), माता (शक्ति) र पवित्र आत्म (पितृ) छन्। उनीहरु घटोत्कचको पनि खुब तारिफ गर्दारहेछन्। भीमसेनलाई पनि निकै मान्दारहेछन्। अलिकति परिमार्जन गरेर आफ्नो हिसाबले चलाएका छन्।

अझ अचम्मको कुरा के छ भने मैले 'हामी त पशुपतिनाथको मुलुकबाट आएका' भन्दा 'के हो पशुपतिनाथ?' भनेर सोधे पो। उनीहरुलाई पशुपतिनाथबारे केही थाहै रहेनछ। नेपालको बारेमा पनि थाहा छैन। हाम्रो पर्यटन मन्त्रालय के गरेर बस्छ? बालीजस्तो हिन्दु भएको ठाउँमा नेपाल र पशुपतिनाथ भन्ने नै थाहा छैन। अनि कसरी पर्यटक आउँछन् यहाँ?

पर्यटनका लागि अर्काे महत्वपूर्ण परम्परा बसालेका छ उनीहरुले। होटलमा जाँदा सबैलाई एउटा स्वागतपत्र दिइन्छ। त्यसमा 'ओम स्वस्तयत्सु' र अन्तिममा 'ओम शान्ति शान्ति शान्ति' लेखिएको हुन्छ। हाम्रो यहाँ होटलमा ओम लेख्न हिच्किचाउँछन्। विदेशी आउँदा क्रस पो झुन्ड्याउने हो त भन्ने सोचाइ भेटिन्छ। अनि होटलमा बिहान टिभी खोलेँ। बाली टिभी खुलेको थियो। पूरा मन्दिरको दृश्य देखाइरहेको थियो। पण्डितले आफ्नै भाषामा केही भनिरहेको थियो। संस्कृतमा लेखिएका श्लोकहरु टिभीमा स्क्रोल गरिएको थियो। यसरी बाली टिभीको बिहानको कार्यक्रम हिन्दु मन्दिर र पूजाका दृश्यबाट सुरु गरिँदोरहेछ। यहाँ त मन्दिरको दृश्य देखायो भने ओहो हामी त सेक्युलर भयौं। हिन्दुको देखाएपछि बौद्धको देखाउनुपर्छ, मुसलमानलाई नि देखाउनुपर्छ भनिन्छ। उनीहरु मुसलमान मुलुकमा बसेका छन् तर देखाइरहेका छन्। कसैले छेकथुन गरेको छैन किनभने उनीहरुले अर्थतन्त्रमा सहयोग गरेका छन्।

अर्काे कुरा, पितृलाई जलाएर आएपछि नरिवलमा प्रतीक बनाएर आह्वान गरेर घरको एउटा कोठामा राख्दा रहेछन्। पितृको खरानी राख्दैनन्। उनीहरु पितृ असाध्यै मान्छन्। यसरी आफ्नो धर्म मानेर मुसलमानलाई समेत प्रोत्साहन गरिरहेका छन्। उनीहरु प्रगति पनि गरिरहेका छन्। त्यसैले धर्म संस्कृतिले हामीलाई गरिब बनाएको होइन रहेछ नि। यो लाज शरमको विषय पनि होइन रहेछ। विदेशीलाई देखाएर प्रगति गर्न सकिने रैछ त। हिन्दु राष्ट्र चाहिन्छ भनेर नारा लगाउन पनि नपर्ने रहेछ। हाम्रो हिन्दु राष्ट्र हुँदा के भएको थियो र खै? हिन्दुत्व, परम्परा, संस्कृति बचाए फस्टाउँदो रहेछ नि। योचाहिँ सबैले बुझून् कि हामीलाई गरिब बनाएको हाम्रो धर्म संस्कृतिले होइन। अहिले यही भ्रम फैलाएर हाम्रो हिन्दुत्व, बुद्धित्व, किरात, मगरातका धर्म नाश गर्ने काम भइरहेको छ।

आफ्नो माटाका धर्म संस्कृति जोगाउनै पर्छ। त्यो भनेको सधैँका लागि हो। हाम्रो जरा हो त्यो। सरकारले गर्नेवाला छैन। आफ्नो धर्म संस्कृतिलाई माया गर्ने, बचाउने, फैलाउने आफैंले हो। हिन्दु, बुद्धिस्ट, किरात, मगर, तामाङ, राउटे, चेपाङ आफैंले आफ्नो संस्कृति बचाउनुपर्छ। यो पुथ्वी नै बचाउने हामीसँग धर्म संस्कृति छ। हामीसँग माटो, रुखविरुवा, हावा, पानी, सूर्य, चन्द्र सबैलाई पूजा गर्ने संस्कृति छ। तिनको विनाश रोक्ने धर्म छ। त्यसकारण पहिलो कुरा ती हाम्रा परम्पराप्रति गर्व गरौं। दोस्रो, हाम्रो धर्म संस्कृति र परम्पराबारे हाम्रा बालबालिकालाई शिक्षा दिउँ। तेस्रो, यो पैसाका लागि धर्म परिवर्तन गर्ने अहिले जुन लहर चलिरहेको छ त्यसलाई रोक्नुपर्छ।

उनीहरुले आफ्नो संस्कृति बचाउन बच्चाहरुलाई सिकाउने सिस्टम पनि बनाएका छन्। उनीहरु औंशी र पूर्णिमालाई अति मान्दा रहेछन्। त्यसैले सबै विद्यार्थी औंशी र पूर्णिमाका दिन धार्मिक मान्यताअनुसारको फरक लुगा लगाएर विद्यालय जान्छन्। बालीमा वर्षमा ३० लाख पर्यटक पुग्छन्। हामी एक लाख पनि नघाउन सक्दैनौँ। उनीहरु फस्टाउनुको मुख्य कारण नै धर्मको सार मानेँ।

(शान्ति लामासँग भएको कुराकानीमा आधारित)

प्रकाशित: १३ माघ २०७३ ०६:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App