२५ श्रावण २०७७ आइतबार
विचार

सुन तस्करीको जालो

‘सिरियल किलर’ को परिचय पाएका कुख्यात चाल्र्स शोभराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाव्यवस्थामाथि चुनौती दिँदै कुनै बेला ‘म यहाँबाट हात्ती छिराएर लैजान सक्छु’ भनेका थिए । दशकौँअघि विमानस्थल भन्सार कार्यालयको सुरक्षा व्यवस्था जति कमजोर थियो अहिले पनि त्यसमा कुनै सुधार नआएको पटकपटकका सुन प्रकरणले पुष्टि गरिरहेको छ ।

आधुनिक प्रविधियुक्त विमानस्थलको सुरक्षा अवस्था त यति कमजोर छ भने भारत तथा चीनसँग सीमा जोडिएका नाकामा रहेका भन्सार कार्यालयको चेकजाँच स्थिति कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । पछिल्ला तीन सातामा प्रहरीले त्रिभुवन विमानस्थल तथा अन्य भन्सार नाकाबाट भित्रिएको झन्डै ५६ किलोग्राम सुन बरामद गरेको छ । वरामद सुनको परिमाण त यति छ भने प्रहरीले सुइँको नपाउने गरी भन्सार छलेर ओसारपसार गरिएको यो बहुमूल्य धातुको परिमाण धेरै गुणा बढी रहेको जोकोहीले बुझ्न सक्छ । प्रहरीले गत पुस २१ गते त्रिभुवन विमानस्थलबाट भित्रिएको ३३ किलोभन्दा बढी सुन वरामद ग¥यो । उक्त घटनामा ओसारपसारमा संलग्न ३ जना, भण्डारणमा संलग्न एक जना र विमानस्थल कर्मचारी दुई जना पक्राउ परे । यस घटनाको दुई साता पनि बित्न नपाउँदै चीनसँग जोडिएको केरुङ(रसुवा जिल्ला) नाका हुँदै काठमाडौँ भित्राइएको १५ किलो सुन राजधानीको चमतीबाट प्रहरीले वरामद ग¥यो । सोही नाकाबाट काठमाडौँ भित्राउँदै गरिएको ७ किलो सुन पुस १३ गते थानकोटबाट प्रहरीले वरामद ग¥यो । केही प्रतिनिधि तथा ठूलो परिमाणका सुनसम्बद्ध यी धन्दाले नेपाल सुन तस्करीका निम्ति स्वर्ग बन्दै गएको पुष्टि गरेको छ ।

नेपाल प्रहरीको तथ्यांकअनुसार विगत करिब साढे ४ वर्षमा सवा ४ सय किलो सुन वरामद भएको देखिन्छ । आर्थिक वर्ष २०७३÷७४ को पहिलो ४ महिनामा मात्रै झन्डै ७१ किलो सुन प्रहरीले वरामद गरेको छ । सुन वरामदको परिमाण क्रमशः बढ्दो छ । तर, सुन तस्करी पनि जारी नै छ । यसले एकातिर बजारमा तस्करीको सुन बढी उपयोग भइरहेको देखाउँछ भने सुन तस्करको जालो निकै बलियो बन्दै गएको बुझाउँछ । त्यतिमात्र होइन, तस्करीको सुन नेपाल हुँदै भारत जाने क्रम पनि बढ्दो छ । सबैभन्दा आश्चर्यको कुरा त के छ भने, सुन ओसारपसारमा संलग्न मुख्य व्यक्ति प्रहरीले फेला पार्न सक्दैन, सुन बोक्ने भरिया वा ओसारपसारमा प्रयोग गरिएको गाडीका चालकमात्र फेला पार्छ ! सुन मालिक खोज्ने प्रहरीका सारा यत्न असफल बन्दै आएको छ । सुन बोक्ने गाडीको मालिक तथा भरियालाई काम लगाउने व्यक्तिसम्म प्रहरी पुग्न नसक्नुले एकैपटक धेरैखालका आशंका पैदा गरिदिएको छ । सुन तस्करीको विषयलाई अर्थमन्त्री कृष्णबहादुर महराले ‘राष्ट्रिय लज्जा’को विषय बताउँदै यस्तो गिरोहको सञ्जाल देशका थुप्रै ठाउँमा फैलिएको स्वीकारेका थिए । उनको स्वीकारोक्तिमा केवल निरीहता प्रकट हुन पुगेको छ, ‘धन्दावाल’ फेला पार्न यसले तदारुकता बढाउँदैन । उता, प्रहरीले पनि सुन तस्करीका मुख्य नाइकेसम्म चाँडै पुग्ने उद्घोष गर्दै आए पनि सफल हुन सकिरहेको छैन ।

सरकारले नेपाली बजारमा सुनको वास्तविक माग कति छ भन्नेसमेत यकिन गर्न सकिरहेको छैन । नेपाली संस्कृतिमा विभिन्न पर्वमा यसको प्रयोग झनै बढ्छ । व्यापारीका निम्ति सुन आयातमा निश्चित परिमाण तोकिए पनि त्योभन्दा निकै बढी खपत हुने गरेको तथ्यांक धेरैअघि सार्वजनिक भएको थियो । नियमसंगत ढंगले भित्रने परिमाणभन्दा बढी सुन कसरी र कसले नेपाल ल्याउँछ भन्ने तथ्य पत्ता लाग्न सकेको छैन । यसकारण पनि सुनको कालो धन्दा नेपालमा मौलाउँदै गएको स्पष्ट छ । अवैध सुनको धन्दामा लाग्ने व्यक्ति पत्ता लगाउन र त्यसलाई कानुनी दायरामा ल्याउन प्रहरीको सक्रियता मात्रै पर्याप्त छैन । अर्थ मन्त्रालय, विभिन्न भन्सार कार्यालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय तथा प्रधानमन्त्रीको कार्यालयसमेतको समन्वय आवश्यक देखिन्छ । राजनीतिक आवरणमा पनि सुनको अवैध धन्दा फस्टाउँदै गएको छ । नेपालमा सुन कुन देशबाट बढी भित्रन्छ भन्ने तथ्य सम्बद्ध सरकारी निकायलाई थाहा नहुने होइन । उक्त देशको सीमानाका तथा त्यससँग सम्बद्ध भन्सार कार्यालयमा उच्च निगरानी गर्न सक्दा पनि सुनको कालोबजार नियन्त्रणमा आउन सक्छ । त्रिभुवन विमानस्थल तथा अन्य भन्सार कार्यालयका कर्मचारीको मिलेमतोबिना सुनको ओसारपसार सम्भव छैन । यसकारण पनि कर्मचारीमाथि निगरानी उत्तिकै जरुरी छ ।  
    
 

प्रकाशित: ३ माघ २०७३ १०:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App