१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

भाग्यमानी मृत्यु

हेर्दाहेदै छिमेकी आमा थला परिन्। उनका तीन छोरा थिए, सबै विदेशमा। आमा बिरामी भएको थाहा हुँदाहुँदै पनि मोटो रकम तिरेर आउन मिलेन छोराहरूलाई। थला परेको केही दिनमै छिमेकी आमाको निधन भयो। बुढा भएका उनका श्रीमान्ले सबै दाहसंस्कार गरे। बाहुन राखेर क्रिया गरे।

चाहे बिरामी अवस्थामा होस् या मृत अवस्थामा, छिमेकी आमाका तिनै छोराहरू देखिएनन्। अवस्था पीडादायी देखिन्थ्यो। वृद्ध बाले भने–मेरो पनि अवस्था यही नै हो।

‘म एक्लो छु। छोराछोरी विदेश छन्। काकी तिमी भाग्यमानी रहिछ्यौ। तिम्रो मृत्यु राम्रो भयो। श्रीमान्को काखमा जिन्दगी बिसायौ। सुखसँग गयौ। मेरो के हुन्छ थाँहा छैन। सबैको भाग्यमानी मृत्यु कहाँ हुन्छ र?’ एक छिमेकी भन्दै थिए। कोरिया गएको छोरो आफ्नो लास जलाउन आइपुग्छ कि भन्ने थियो बुढी आमालाई तर उल्टो भयो। उसको लास नै बाकसमा आयो। सपना देखाएर हिँडेको छोरो सपना मारेर आयो, आधा बाटोमै जिन्दगी बिसाएर आयो।

प्रेमले भरिएका आँखा, श्रद्धाले झुकेको शिर, कर्मपथमा हिँडेका छोराछोरीको मृत्यु घातक लाग्छ। छोराछोरीको उज्यालो भविष्यको पर्खाइमा बसेका आमा बाबाको बेवारिसे लास देख्दा मन आतिन्छ आजभोलि सबैको।

केही दिनअघि एक आफन्तले भने, ‘आफू उता दुबईमा एक्लै बस्न गाह्रो भयो अनि श्रीमती र बच्चालाई उतै लैजान आएको म। बल्लबल्ल भिसा दियो।’ मैले सोधें, ‘बा त एक्लै हुनुहुन्छ। बा पनि लैजाँदै हुनुहुन्छ कि?’ उनले भने, ‘होइन, बा लान मिल्दैन। उता गएर बाले के नै गर्नुहुन्छ र? बरु यतै बस्नुहुन्छ। सत्सङ्गतिर हिँड्नुहुन्छ। घरको भाडाले बालाई खान पुगिहाल्छ। म फोन गरिहाल्छु।’

आज यो घर घरकै कथा हो। सुन्दा विषाद लाग्न सक्छ तर सत्य कुरा यही छ। हाम्रो समाज आज कता जाँदै छ, वृद्ध भएका बाआमालाई एक्लै छाडेर आफ्नो परिवार बोकेर हिँड्ने यो बाध्यता हो वा रहर हो?

देशको अवस्था गम्भीर छ। दलहरूको लडार्इं र राज्यको ढुकुटी सिध्याएर बसेकाहरूले आम ‘सामान्य नागरिकहरू दोधारे जीवन बिताउन बाध्य भएका छन्। यो दुःखको कुरा हो। देशले जनताप्रति सकारात्मक ऊर्जा दिन नसक्दा आम जनताले दुःख पाइरहेका छन्। यो सबै नेपाली जनताको कथा हो।

प्रायः अभिभावक रिटायरपछि आफ्ना छोराछोरी परिवारसँगै बसौं, मिठो खाऊँ भन्ने सोच राख्छन् तर त्यो आज आकाशको फलजस्तै भएको छ। छोराले डलर पठाउँछ, छोरीले कपडा तर माया कहाँ छ?  

एकजना वृद्ध आमा भन्नुहुुन्छ, ‘म बाथको रोगी छु। छोरो जापानमा छ। छोरो भन्छ–आमा यहाँ आएर के गर्नुहुन्छ ? बल्ल बल्ल कमाउन थालेको छु। बिचराले नकमाए गाह्रो छ। घरको खर्च मिलाउनै पर्‍यो। ऋण तिर्न कमाउनै पर्‍यो। म बुढो भइसकें। म छोरासँग जान सक्दिनँ। छोरीको आफ्नै घर व्यवहार छ। एक्लै बस्छु। सके खान्छु नसके यसै बस्छु। सत्सङ्गमा लागेको छु। छोराले राम्रो प्रगति गरोस्। फोन गरोस्, मिठो कुरा गरिदियोस्, यत्ति भए पुग्छ मलाई। शान्तिले मेरो सास जाओस्, सन्तानलाई पीडा नहोस्।’

आथिक कुरासँग जिन्दगीका अनेक समस्याका पलहरू जोडिएका हुन्छन्। कतिलाई करले विदेश जान बाध्यता छ भने कति रहरले हरेक कुराले सम्पन्न हुनेहरू पनि वृद्ध भएका बाआमालाई छोडेका छन्। आफू रमाएर बस्ने अनि बाआमालाई पर लगेर फाल्नेहरू धेरै छन्।

अन्तिम सास यसरी जान्छ कि कसैलाई पत्तो नै हुँदैन। अस्ट्रेलियामा भएका एक दाजुका आमा छोरा छोरा भनिराख्दा पनि आएन। उनको अन्तिम सास यसरी गयो कि त्यो दृश्य देख्नेहरू भक्कानिए।  

जति नै डलर कमाए पनि आमा भेट्न आउँदा खर्च सकिन्छ भन्ने छोराछोरीले त्यो धन थुपारेर के गर्छन्? यो एउटा प्रश्न चिह्न बनेको छ आज। हामीले अरूलाई फाल्न राखेको डालो कतै पछि आफैलाई प्रयोगमा आउँछ कि भन्ने कुरा बिर्सेका छौं।

भोगसँग लड्न जे पनि गर्नुपर्छ, जहाँ पनि जानुपर्छ। सम्पन्नता मानिसको जीवनमा जहिले पनि पहिलो प्राथमिकतामा परेको हुन्छ। मानिसको जीवनमा धेरै कुराले फरक पारे पनि आथिक सम्पन्नता आधारभूत पर्छ। जबसम्म बिहान–बेलुकाको छाक टार्ने समस्या हुन्छ, उसले खाना जुटाउनेबाहेक अरू केही सोच्न सक्दैन।

हामीले जतिसुकै आदर्शका कुरा गरे पनि आथिक उन्नतिले मानिसको जीवनमा ठुलो माने राख्छ नै तर यसबीचमा परिवार र आफ्नाहरू हराउँदै गएका छन्।

आज पारिवारिक उत्तरदायित्व पनि समाजमा बोझ बन्दै गएको छ।

मानिसको जीवनमा आफ्नो मान्छे हुनु र नुहुनुको ठुलो अर्थ लाग्छ। आथिक सम्पन्नता कमाउने होडमा हामी दौडन्छौं तर यो दौडमा आफ्नालाई लिएर दौडिन जरुरी भएको छ आज।

‘हामी टाढा भयौं आफ्नासँग। जिन्दगीभर छोराछोरीका निम्ति दुःख गरियो, उनीहरू एक्कासि टाढा जान्छन्। पानी खान दिने मान्छेसम्म वरपर हुँदैनन्। कतै फलानाका जस्तो मेरो पनि मृत्यु हुने त होइन भन्ने डर लाग्छ,’ अंकल बताउनुहुन्छ, ‘अब मर्ने बेला भयो। ओछ्यानमै थला परिन्छ कि के हुन्छ थाहा छैन। मर्ने बेला तुलसीपानी खुवाउन छोरो आए मृत्यु राम्रो हुन्थ्यो कि। सबै मृत्यु भाग्यमानी कहाँ हुन्छ र।’

आनन्दको खोजीमा मान्छे देशविदेश पुग्छन्। आन्नदले बाँच्नका लागि कति दुःख गर्ने? आनन्दको सोच बनाउँदा बनाउदै काल नजिक आइपुग्छ। हामी कमाउन प्रदेसिन्छौं। रहर वा करले बिदेसिँदा रमाइलो नै लाग्छ तर बाकसमा मरेर आएको लास देख्दा मन कुटुक्क खान्छ।

आफ्ना सन्तान विदेश छन् भन्ने गर्व गर्दागर्दा आफ्नासँँग टाढिन पर्ने अवस्था निकै गाह्रो छ। सन्तानका लागि बनाएको घरसम्पत्ति रेखदेख गर्ने मान्छे नभेटिएपछि आफ्नो सम्पत्ति बेवारिसे छोड्नु परेको छ।

बेबारिसे घरहरूले आफ्ना मान्छे खोजिरहेका छन्। हामी जीवन बाँच्ने होडमा आफैले आफैलाई दाउ लगाइरहेका छौं। आज आफ्नासँग बाँच्न छाडेर भोलिको तस्बिर हेर्दै आँसु बगाउने गरेका छौं आज। 

प्रकाशित: २५ चैत्र २०७९ ०१:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App