८ वैशाख २०८१ शनिबार
विचार

जिन टेलरिङका बहुआयामिक फाइदा

यस वर्ष मार्च ६ देखि ८ सम्म बेलायतको लन्डनमा तेस्रो अन्तर्राष्ट्रिय ह्युमन जिनोम इडिटिङ समिट संपन्न भयो। आणुवांशिक पदार्थ (डिएनए) मा खराबी आएका कारण उत्पत्ति हुने रोग निको पार्ने दिशामा संसारले हासिल गरेका सफलताको चर्चा गर्न संसारभरका वैज्ञानिकहरू जम्मा भएका थिए उक्त संमेलनमा। संयुक्त राज्य अमेरिकाकी भिक्टोरिया ग्रे उक्त मिटिङको आकर्षण थिइन। जन्मँदै सिकल सेल रोगबाट ग्रस्त भिक्टोरिया उक्त अन्तर्राष्ट्रिय सम्मेलनको केन्द्रमा रहनुको कारण जिन इडिटिङ (सम्पादन) मार्फत उनको जन्मजात कायम रहेको रोग हरण भएको थियो। आयुर्विज्ञानको नवीन उपचार विधि, जिन सम्पादन, मार्फत ४ वर्ष अघि मात्र उपचारको अवसर पाइ रोगलाई जित्ने पहिलो व्यक्ति भएका कारण उनको अनुभव सुन्न सबैले चाहना राखेका थिए।  

मानव शरीर अरबौँ कोस (सेल) मिलेर बन्छ। कोसमा रहने डिएनए शरीरको सबै भन्दा महत्वपूर्ण पदार्थ हो। झण्डै ३ अरब एकाइको नियोजित बनोटबाट डिएनए बन्छ। आणुवांशिक पदार्थका ससाना खण्डलाई जिन भनिन्छ। मानिसको शरीरमा करिब २० हजार जिन रहने अनुमान छ। प्रायः एउटा जिनले एक प्रोटिन बनाउँछ। धेरैवटा इँटा मिलेर घरको पर्खाल बनेभैmँ सयौँ एमिनो एसिड मिलेर एउटा प्रोटिन बन्छ। जिनमा खराबी आउँदा अशक्त प्रोटिनहरू बन्न पुग्छन्। विषाक्त प्रोटिनले विभिन्न रोग निम्त्याउँछ। च्यातिएको लुगालाई दर्जीले काँटछाँट गरी सकुशल बनाएझैँ आणुवांशिक पदार्थमा आएको खराबीलाई वैज्ञानिक विधिमामार्फत सुधार गर्ने तरिकालाई जिन टेलरिङ भनिन्छ।  

हाम्रो रगतमा पाइने रातो रंगका कोसलाई आरबिसी भनिन्छ। आरबिसीमा खनिज पदार्थ आइरन (फलाम) भएको प्रोटिन, हेमोग्लोबिन हुन्छ। हामीले सास फेर्दा हेमोग्लोबिनमा टाँसिएर अक्सिजन शरीरको विभिन्न भागमा पुग्छन्। श्वासप्रश्वासमा महत्वपूर्ण प्रोटिन हेमोग्लोबिनबिना मानव अस्तित्वको कल्पना गर्न सकिन्न।  

जिनमा खराबी आउँदा दुरुस्त हेमोग्लोबिनको उत्पादन हुन सक्दैन बरु खराब चरित्रको प्रोटिन बन्छ। विषाक्त हेमोग्लोबिनका कारण गोलाकार आरबिसीले आफ्नो आकृति परिवर्तन गरी हँसिया (सिकेल) आकारको बन्न पुग्छ। रक्त कोसको आकार हँसिया जस्तो बन्ने भएकाले यो आणुवांशिक रोगलाई सिकल सेल डिजिज भनिन्छ। रक्त नलीमा हसिया आकारको ब्लड सेलको बहाब गोलाकार कोस जस्तो सहज हँुदैन। हँसिया आकारका रक्त कणहरू धमनीमा टाँसिन्छन्। परिणामस्वरूप बिरामीका प्रत्येक अंगले पर्याप्त अक्सिजन पाउँदैनन्। रोगीले अत्यधिक पीडा महसुस गर्छ। अल्पायुमै बिरामीको मृत्यु हुन्छ। सिकल सेलका रोगीका लागि ४ दशक उमेर काट्न पनि मुस्किल पर्छ। आकडाले संसारमा दैनिक १ हजार बालक सिकल सेल डिजिज लिएरै जन्मन्छन् भन्छ। तसर्थ, यो रोगको इलाज खोज्न सके धेरैलाई दीर्घजीवी बनाउन सकिने देखियो।  

सन् २०१९ मा जिन टेलरिङमार्फत पहिलोपटक सिकल सेलको इलाजको अवसर पाएकी भिक्टोरिया ग्रेको उपचार कसरी गरिएको थियो त्यता हेरौँ। हड्डीको भित्री भागमा पाइने स्पन्ज जस्तो नरम वस्तुलाई बोन म्यारो (मासी) भनिन्छ। बोन म्यारोमा आरबिसीलगायत रगतमा पाइने विभिन्न किसिमका कोस बन्छन्। उपचारका क्रममा वैज्ञानिकहरूले भिक्टोरियाको बोनम्यारोको सूक्ष्म भाग निकाले। अनि प्रयोगशालमा उक्त विषाक्त कोसमा रहेको डिएनएको खराब भागलाई जिन टेलरिङको क्रिस्पर विधिमामार्फत हटाएर असल टुक्राले प्रतिस्थापन गरे। ल्याब प्रविधिमामार्फत जिनको खराबी ठीक भएको पुष्टि भएपछि प्रयोगशालमा बोनम्यारोका कोसका अरबौँ कपीहरू बनाइयो। अनि रक्त अल्पताका बिरामीलाई रगत चढाएझै‌ ल्याबमा उत्पादित कोसहरू इन्फ्युजनमामार्फत भिक्टोरियाको शरीरमा हालियो। इन्फ्युजन गरिएका कोसहरूले शरीरमा असल हेमोग्लोबिन बनाउन थाले। सुबानी हेमोग्लोबिन उत्पादन भएका कारण गोलाकार आरबिसी बने। सिकल सेलको बदला सामान्य कोसहरू बनेपछि भिक्टोरियाको शरीरका अंग-प्रत्यंगमा पर्याप्त अक्सिजन पुग्यो। सधैँ बिरामी रहने भिक्टोरिया सामान्य जीवन बिताउन थालिन। ४ वर्षअघिको इन्फ्यिुजनपछि सामान्य जीवन व्यतीत गरेकी भिक्टोरियाको अनुभवले जिन टेलरिङले धेरै किसिमका अणुवांशिक रोगीको इलाज संभव रहेको सन्देश नै लन्डन समिटको प्रमुख सन्देश थियो।  

एउटा व्यक्तिको बोन म्यारो अर्को रोगीमा ट्रान्सप्लान्ट गरी रोगको इलाज प्राविधिकरूपमा संभव देखिए पनि इम्युन सिस्टमले आफन्त र पराया कोसको पहिचान सजिलै गर्न सक्ने भएकाले उपचारपछि पनि उल्लेख्य संख्यामा रोगीहरू मृत्यु वरण गर्न पुगेको देखियो। रोगीकै कोसलाई क्रिस्परमार्फत पुनर्संरचना गरी बिरामीको शरीरमा हाल्दा रोग निको पार्न सकिने पुष्टि गर्यो भिक्टोरियाको उपचारले।

विश्व स्वास्थ संगठनको आकडाअनुसार जिनमा आउने खराबीका कारण मानिसमा झण्डै १० हजार किसिमका रोग लाग्छन्। किसिम किसिमका क्यान्सर, चिनी रोगलगायतका विविध किसिमका मुटुका रोगका कारकसमेत जिनमा आउने खराबी नै हो। तसर्थ, निकम्मा जिनलाई मरम्मत गर्न सके हजारौँ किसिमका रोग ठीक गर्न सकिने देखियो। जिनको इलाज गर्ने विज्ञान जिन थेरापी अनुसन्धानको तातो विषय बन्यो। डिएनएको खराब खण्डलाई राम्रो भागले प्रतिस्थापन गरेपछि जिनहरू पूर्वावस्थामा आफ्ना दायित्व पूरा गर्न थाल्छन्। जिनमा आएका खराबीका कारण देखिएका जेनेटिक रोगहरू अणुवांशिक पदार्थलाई सकुशल बनाउनेबित्तिकै निको हुन्छन्।  

अणुवांशिक पदार्थको सूक्ष्म विश्लेषण र रोग वितरणको अध्ययन गरी अमेरिकाको फेडरल अनुसन्धान निकाय न्यासनल ह्युमन जेनोम रिसर्च इन्स्टिच्युटले करिब करिब सबै रोगको कारक जिनमा आउने खराबी ठहर गर्यो। सूक्ष्म जीवाणुको संक्रमणका कारण लाग्ने रोगको संख्या आणुवांशिक पदार्थमा आउने खराबीका तुलनामा नगन्य भएको देखियो। झण्डै सबै रोगको कारण जिनमा आउने खराबी देखिएको परिवेशमा जिन थेरापीमामार्फत विश्वलाई स्वस्थ बनाउन सकिने भयो।  

आयुर्विज्ञानको क्षेत्रमा भएको अन्वेषण अनि क्लिनिकल ट्रायलमा रहेका ओखतीहरूको चरित्रलाई नियाल्दा अबको उपचार विधिमा जिन संपादनको आकार विशाल हुने देखियो। समष्टिगतरूपले हेर्दा जिन टेलरिङको मुनाफा भने केबल स्वास्थ्य क्षेत्र मात्र होइन बरु कृषि, पशुपालनलगायतका सबै पक्षले पाउने निश्चित देखियो।  

ग्लोबल बार्मिङका कारण अन्न बालीको उत्पादनमा प्रतिकूल प्रभाव पर्यो। अब्बल दर्जाका खेतबारीहरू मरुभूमि हुँदा संसारलाई खुवाउनु चुनौती बन्यो। अल्पवृष्टिका कारण धानको उत्पादन घट्यो। पानी नपरे पनि कसरी चामलको भात खुवाउने भन्ने प्रश्नको उत्तरसमेत जिन संपादनले देखायो। धेरै पानीको आवश्यकता पर्ने धानमा रहेको जिनलाई हटाएर मरुभूमिमा हुर्कने बालीको डिएनए हाल्न सके थोरै वर्षा हुने स्थानमा समेत धान फलाउन सकिन्छ भन्ने पुष्टि गरे वैज्ञानिकहरूले। धानलाई धेरै पानी चाहिन्छ भन्ने अवस्था रहेन।  

सबै फलफूल तथा तरकारीमा पोषण समीकरण फरक हुन्छ। कुनै तरकारीमा एउटा भिटामिन अधिक हुन्छ भने कुनै फलफूलमा अर्को पोषणको मात्रा बढी। क्रिस्पर विधिमार्पmत जिनहरूको हेरफेर गरी एउटै तरकारी, फलफूल तथा अन्न खाएरसमेत हामीलाई आवश्यक पर्ने सबै भिटामिनको सन्तुलन पुर्याउन सकिन्छ भन्ने देखायो विज्ञानले। जिन टेलरिङमार्फत गोलभेँडामा पोषण सबलीकरण गरी बजारमा भित्रिइसकेको यथार्थ बिर्सनु हुन्न। त्यस्तै जापानले डबल क्रिस्पर विधि प्रयोग गरी उत्पादन र पोषण दुवै हिसाबले परिस्कृत माछाका दुई प्रजाति बजारमा गएको पनि लामै समय भयो।  

विभिन्न प्रजातिका अनाजमा फल लाग्ने र रोगको प्रकोपको मात्रा फरक फरक हुन्छ। वैज्ञानिकहरूले धेरै फल्ने तर रोगले अधिक सताउने गहुँको धेरै जिनहरूमा हेरफेर गरी बाली भने मज्जाले लाग्ने तर कीरा फट्यांग्राले पनि छुन नसक्ने प्रजाति विकास गरे। यसरी हालै विकास भएको जिन टेलरिङले संसारको भोकमरीको समस्या समाधान गर्ने देखियो।  

मिर्गाैला, मुटुलगायतका महत्त्वपूर्ण अंगले काम नगर्दा रोगीलाई पुनर्जीवन दिन अंग प्रत्यारोपण अपरिहार्य बन्छ। तर प्रत्यारोपणका लागि आवश्यक अंगको दाँजोमा आपूर्ति निकै कम भएकाले धेरै बिमारीलाई आयुर्विज्ञानले जोगाउन सकेको छैन। आपूर्ति चुनौतीका अतिरिक्त प्रारम्भिक परीक्षणमा योग्य देखिए पनि प्रत्यारोपणपछि प्राप्तकर्ताको प्रतिरक्षा प्रणालीले अस्वीकार गरी रोगीको मृत्यु भएको घटना असामान्य होइन। त्यसको उत्तर पनि जिन संपादनसँग भएको देख्छिन् क्रिस्पर टेक्नोलोजी विकास गरेबापत सन् २०२० मा नोबल पुरस्कार पाएकी जेनिफर डोडना। जिनहरू हेरफेर गरी प्रत्यारोपणका लागि आवश्यक अंगहरू सहजै सँुगुरमा उत्पादन गर्न सक्ने ठान्छिन् प्राध्यापक डोडना। त्यसका लागि आवश्यक पूर्वाधार तयार भएको र छोटो समयमै प्रत्यारोपणका लागि चाहिने अंगको कमी नहुने देख्छिन् जेनिफर।  

उन्नाइसौँ शताब्दीको उत्तरार्धमा जेनेटिक्सका पिता ग्रेगरी मेन्डलले मटरको फूलको सूक्ष्म अध्ययनमार्फत पहिलो पटक जिनसंबन्धी अवधारणा दिएपछि आणुवांशिक अध्ययनमा विज्ञानले ठूलो फड्को मार्यो। आवश्यकताअनुसार जिनको हेरफेर, थपघट अनि काँटछाँट गरी आवश्यकताअनुरूपको नतिजा निकाल्न वैज्ञानिकहरू सफल भए। जीवजन्तु तथा अन्नबालीको अणुवांशिक परिमार्जन गरी खाद्यान्न समस्याको समाधान अनि पोषण पदार्थको आपूर्ति सहज भयो। जिन टेलरिङमार्पmत विभिन्न किसिमका क्यान्सरलगायत धेरै आणुवांशिक रोगबाट छूटकारा दिलाउन विज्ञानको गति बढ्यो। सिकल सेल ऐनिमिया बिसेक पार्न सफल प्रविधिले आउँदा दशकमा स्वास्थ्य क्षेत्रलाई नवीन दिशा दिने देखियो। जिन टेलरिङको बहुआयामिक तागत र भावी अनुसन्धानलाई मध्यनजर राख्दै नेपाली अन्वेषणकर्ताहरूले समेत जिनोम इडिटिङको रिसर्चमा आफूलाई केन्द्रित गर्दा फाइदा हुन्थ्यो कि ? आखिर अनुसन्धानको पदचापको अग्रिम पहिचानले मुनाफा हुन्छ नै।  

प्रकाशित: ७ चैत्र २०७९ ००:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App