१२ फाल्गुन २०८० शनिबार
विचार

कस्तो हुनुपर्छ बालमैत्री विद्यालय?

विद्यालय बालबालिकाको सिक्ने ठाउँ हो। बालबालिकाको वैयक्तिक र अन्तरवैयक्तिक सिप विकास गर्नका लागि विद्यालयले निकै ठूलो सहयोग पुर्‍याउँछ। घर/परिवारबाट सुरु भएको सामाजिकीकरणको प्रक्रिया पनि विद्यालयमा बलियो बन्छ। घरको जस्तै विद्यालयको वातावरणले पनि बालबालिकाको भावी समग्र जीवनमा असर पार्छ। बालमैत्री वातावारणले बालबालिकाको वृद्धि र विकासमा सकारात्मक असर पार्छ भने हिंसात्मक वातावरणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्छ। यसैले आजकल संसारभर बालमैत्री वातावरण सिर्जना गर्ने विषयले चर्चा पाउने गरेको हो।

मुख्य रूपमा विद्यालयमा बालबालिका रमाउँदै समूहमा काम गर्न सिकून् भन्ने उद्देश्य राखिएको हुन्छ। यसका लागि विद्यालयको वातावरण भयरहित र बालमैत्री हुनुपर्छ। बालमैत्रीको अर्थ भने आआफ्नो बुझाइ र आवश्यकता अनुसार लगाएको देखिन्छ। बालमैत्रीको तात्पर्य फरकफरक किसिमले बुझ्ने बुझाउने गरेको देखिन्छ। बालबालिकालाई शारीरिक वा मानसिक दण्ड नदिनुलाई केहीले बालमैत्री भनेका छन् भने केहीले बालबालिकालाई खेल्न र पढ्नका लागि आवश्यक पर्ने सम्पूर्ण साधन उपलब्ध भएको विद्यालयलाई भन्ने गरेका छन्।

सुविधा कम हुनासाथ बालबालिकालाई प्राप्त हुनुपर्ने अवसर पनि सङ्कुचित हुन्छन्। उपयुक्त स्रोतसाधनलाई बालमैत्री वातावरणको पूर्वआवश्यक पक्ष माने पनि स्रोतसाधन भए बालमैत्री बनिहाल्ने भन्ने पनि हुँदैन। उपयुक्त स्रोत र साधनको अभावमा विद्यालयको वातावरण रुचिकर हुनसक्दैन। जुन बालमैत्री वातावरणको उद्देश्य प्राप्तिमा वाधक बन्न जान्छ। तर बालमैत्री विद्यालय भनेको भौतिक स्रोतसाधनले सम्पन्न विद्यालय मात्र भने होइन। यसका लागि बाल मनोभावनाको कदर हुने अवस्था अपरिहार्य हुन्छ। युनिसेफले बालमैत्री स्कुलका सिद्धान्तका रूपमा चारवटा पक्ष अगाडि सारेको छ।

 बालबालिकाको रुचिअनुसार विद्यालय सञ्चालन हुनुपर्ने विषयलाई युनिसेफले पहिलो महत्व दिएको छ रुचिबिना बलपूर्वक बालबालिकालाई विद्यालयमा राखिन्छ भने त्यहाँ बालबच्चाको बालसुलभ सिकाइ क्रियाकलाप हुनै सक्दैन। बच्चाको मानसिक विकासका लागि खुसी र स्वतन्त्र वातावरण अति आवश्यक हुन्छन्। जबर्जस्ती कक्षाकोठाको नियन्त्रित वातावरणमा बस्नुपर्‍यो भने न बच्चा खुसी हुन सक्छ न त उसको सिकाइ प्रभावकारी बन्छ। बरु तनाव र बेखुसीका कारण उसमा मनोसामाजिक विकार देखापर्न थाल्छन्। उपयुक्त संवेगात्मक विकासका अभावले बच्चा असामाजिक र एकलकाटे बन्ने सम्भावना रहन्छ।

विद्यालयको शैक्षिक वातावरण सुरक्षित, स्वस्थ र संवद्र्धनात्मक हुनुपर्छ। बालबालिकाको इच्छाअनुसार वा मनपर्ने किसिमको वातावरण हुँदाहुँदै पनि उनीहरूको उमेरअनुसार नयाँ विषय सिकाइको वातावरण छैन भने त्यस विद्यालयलाई बालमैत्री मान्न सकिँदैन। केही विद्यालयमा बालबालिकालाई पढाउने वा सिकाउने सन्दर्भमा उनीहरूको स्तरभन्दा निम्न स्तरका सिपहरू मात्र सिकाउने गरेको पनि पाइन्छ। अप्ठ्यारो मानेर विद्यालय आउन्नन् कि भनेर आवश्यक कुराहरू नसिकाउने विद्यालयले बालबालिकामाथि अन्याय गरेका हुन्छन्। उच्चस्तरका कुरा बुझ्न सहयोग नगराउने अथवा उमेरअनुकूलका सिकाइ क्रियाकलापमा संलग्न नगराउने विद्यालयहरूबालबालिकाको बौद्धिक विकासका लागि बाधक हुन्छन्। यसैले उमेरअनुकूलका उपयुक्त बौद्धिक खुराक दिनु पनि बालमैत्री विद्यालयको महत्वपूर्ण पक्ष हो।

कक्षामा तालिमप्राप्त शिक्षक र पर्याप्त शैक्षिक सामग्री हुनुपर्ने कुरालाई युनिसेफले बालमैत्री विद्यालयको आधारका रूपमा स्वीकार गरेको छ। कुनै समय कक्षाकोठामा जाँदा शिक्षकका हातमा लठ्ठी हुने गर्थ्याे। शिक्षकसँग विद्यार्थी डराएनन् भने अनुशासन कायम नभएको विश्वास गरिन्थ्यो। विद्यार्थीका अगाडि शिक्षक कडा दण्डदाता वा प्रशासकका रूपमा उपस्थित हुने गर्दथ्यो। यसले विद्यार्थीमा भयको वातावरण सिर्जना गरी उनीहरूलाई बलपूर्वक नियन्त्रणमा राख्ने काम गथ्र्यो अहिलेपनि केही विद्यालयमा अनुशासनका नाममा विद्यार्थीलाई डर र त्रासमा राख्ने गरेको पनि पाइन्छ। खासगरी ११–१२ कक्षामा पढ्ने विद्यार्थीलाई अनुशासन इन्चार्ज वा डिआइको नियन्त्रणमा राख्ने अभ्याससमेत छ। विद्यार्थीलाई शारीरिक र मानसिकरूपमा दण्ड दिने यस किसिमको व्यवस्था आधुनिक सभ्य समाजको कलङ्क हो। डरको वातावरणले विद्यार्थीमाथि नियन्त्रण गर्न सकिए पनि यसले उनीहरूको सिकाइमा नकारात्मक असर पार्छ।

वास्तवमा विद्यालयमा विद्यार्थीलाई नयाँ कुरा पढाउनेभन्दा नयाँ परिवेश र वातावरणमा उनीहरूसँगै भएको सिप र क्षमतालाई प्रभावकारी रूपमा प्रयोग गर्न सिकाउनुपर्छ यसैले आधुनिक शिक्षाको मान्यताले बालबालिकामा अन्तरनिहित प्रतिभालाई विकास गर्नका लागि प्रोत्साहित गर्ने कुरालाई जोड दिन्छ। बालअधिकारको प्रत्याभूति र बालबच्चाका मागको सुनुवाइ हुने वातावरण सिर्जना गर्नुपर्नेमा युनिसेफले जोड दिएको छ। त्यसो त नेपाल सरकारले पनि गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय प्रारूप २०६७ जारी गरी लागू गरेको छ।

यसमा पनि युनिसेफले अगाडि सारेका सिद्धान्तमा आधारित भई शिक्षण सिकाइ क्रियाकलापका लागि अपरिहार्य केही विषयवस्तुलाई प्रस्तुत गरिएको छ। विद्यालयको भौतिक अवस्था, लैङ्गिक पक्ष, बालबालिका, परिवार र समुदायको सहभागिता जस्ता विषयलाई बालमैत्री विद्यालयका आधार मानिएको छ। उपयुक्त किसिमको शिक्षण सिकाइ प्रक्रिया, बालबालिकाले मातृभाषामा शिक्षा पाउने अधिकार, समावेशीकरण, स्वास्थ्य, सुरक्षा र बचावटका कुरा बालमैत्री विद्यालयका महत्वपूर्ण पक्षका रूपमा रहने गर्छन्।

विद्यालयलाई पूर्ण रूपमा बालमैत्री बनाउनु आजको आवश्यकता हो। यसका लागि नेपाल सरकारले २०८७ सालसम्ममा सबै स्थानीय तहलाई बालमैत्री बनाउने लक्ष्य राखेको छ। केही पालिकाले आफूलाई बालमैत्री घोषणा पनि गरिसकेका छन्। विभिन्न ५१ वटा सूचक पूरा भएपछि पालिकाले आफूलाई बालमैत्री घोषणा गर्न पाउने व्यवस्था रहेको छ। बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ मा बालमैत्री विद्यालयका निर्देशक सिद्धान्तहरू राखिएको छ। भेदभाव गर्न नपाउने, बालबालिकाको सर्वोत्तम हितलाई जोड दिने र उनीहरूको सर्वाङ्गीण विकास हुने कार्यक्रम तय गर्ने विषयलाई निर्देशिकाले धेरै महत्व दिएको छ। बालबालिकाको सहभागिता र उनीहरूका विचारको सम्मान बालमैत्री वातावरणको परिचय नै हो। त्यसैले समावेशीकरण र समुदायमा आधारित विकासको सिद्धान्तलाई आत्मसात गरी विद्यालय र नगर क्षेत्रलाई बालमैत्री बनाउन सकिन्छ।

स्वास्थ्य, शिक्षा र सुरक्षा बालमैत्री वातावारण पूर्व आधारभूत सूचक हुन्। यिनको संरक्षण गर्दै उमेरअनुसारका सिप सिक्नका लागि पृष्ठभूमि निर्माण गर्नु बालमैत्री वातावरण सिर्जना गर्नु हो। विशेषतः विद्यालय बालबालिकाको मनोभावना, रुचि र चाहना अनुरूप लचक हुनुपर्छ। अहिले पनि केही विद्यालयमा शिक्षकले दण्ड दिँदा बालबालिका अङ्गभङ्ग भएका समाचार यदाकदा आउँन्। केही बालबालिका विद्यालयको भयपूर्ण वातावरण सामना गर्न नसकी विद्यालय छाड्ने अवस्थामा पनि पुगेका देखिन्छन्। आफ्ना भावनाको सम्बोधन हुन नसकेकाले मानसिकरूपमा विक्षिप्त बन्ने बालबालिकाको सङ्ख्या पनि ठूलै रहेको अनुमान गरिन्छ।

परम्परागत केही शिक्षकमा विद्यार्थी आफूसँग डराउनुपर्छ भन्ने सोचसमेत देखिन्छ। बदलिँदो वर्तमान परिस्थितिमा बालबालिकालाई उनीहरूकै रुचि अनुरूपका काम गर्न प्रोत्साहन गर्दा सिकाइ प्रभावकारी हुने गर्छ। शिक्षकसँग बालबालिका डराउने होइन, निर्धक्क भएर कुराकानी गर्न सक्ने वातावरण निर्माण गर्नुपर्छ। शारीरिक र मानसिक दण्डको प्रयोग कत्तिपनि हुनु हुँदैन। समुदाय र परिवारको सहभागितामा बालभावनाको सम्बोधन गर्दै सिकाइ प्रक्रियालाई रुचिपूर्ण बनाउनु अति आवश्यक हुन्छ। विद्यालय बालबालिकाका लागि आधारभूत सिप सिक्ने स्थल भएकाले जुनकुनै अवस्थामा पनि विद्यालय बालमैत्री हुनुपर्छ। विद्यालयमा विभिन्न पक्षको सहभागिता रहने भए पनि मूल उद्देश्य बालबालिकालाई राम्रो वातावरणमा आवश्यक कुरा सिक्न सघाउनु नै हो। त्यसैले विद्यालयमा बाल रुचिको सम्बोधन पहिलो र महत्वपूर्ण विषय बन्नुपर्छ। हाम्रा विद्यालयलाई बालबालिकाको स्वास्थ्य र सुरक्षालाई प्रवर्द्धन गरी बालमैत्री बनाउन सबैले सहयोग पुर्‍याउनुपर्छ। यसो गर्न सकियो भने मात्र स्तरीय शिक्षाको सपना पूरा हुनेछ।

प्रकाशित: ५ चैत्र २०७९ ००:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App