१२ फाल्गुन २०८० शनिबार
विचार

दलितभित्रका दलितलाई के भन्ने?

दलितभित्र पनि दलित हुन्छन् र? भन्ने प्रश्न उठ्न सक्छ। दलितमाथि भेदभाव भयो, मानव अधिकार हनन भयो भन्दै चिच्याउने मानव अधिकारवादीहरूमाथि पनि प्रश्न उठ्न सक्छ, के उहाँहरूले दलितभित्रका दलित देख्नुभएको छ कि छैन? दलितमाथि भेदभाव भयो, छुवाछुतको व्यवहार हटाउनुपर्‍यो भन्दै कानुनमै व्यवस्था गरियो, दलितमाथि भेदभाव गर्न नपाइने छुवाछुतको उच्चारणै गर्न नपाउने कानुन बन्यो। दलितलाई आरक्षण दिइनुपर्छ भनी अनेकौं सुविधा दिइयो।

शिक्षामा पाठ्यपुस्तक निःशुल्क दिइनु, मासिक भत्ता दिइनुका साथै सरकारी नोकरीका लागि लोकसेवामा समेत कोटाको निर्धारण गरिएको छ भने परीक्षा दिँदा पनि विशेष सुविधा दिइनु आदि अनेकौं अवसर दिइँदै आइरहेका दलितभित्रका दलितहरूप्रति किन यी मानव अधिकारवादी र सरोकारवाल सरकारी निकायले नदेखेको?

हालसालैको घटना हो। काठमाडौंको एउटा घरको कोठा भाडामा लिन गएको एक जना दलितले घरकी बुढी आमैले जात सोधेर कोठा दिन्न भन्दा दलित भनेर भेदभाव गरिन् भन्दै अदालतमा मुद्दा हाले। अदालतका न्यायमूर्तिले पनि यसरी भेदभाव गर्न पाइँदैन, यो कानुनविपरीत भयो भन्दै ती बुढी आइमाईलाई केही दिन थुनामा राखी फैसला गर्दा डेढ लाख जरिवाना गराएरै छाड्यो।

अब प्रश्न उठ्छ–एउटा दलितले मेरो छोरासँग विवाह गर्नका लागि हजुरकी छोरी माग्न आएको हुँ भन्दै फैसला गर्ने न्यायमूर्तिका घरमा गई अनुरोध गरेमा ती ब्राह्मण न्यायमूर्तिले आफ्नी छोरी त्यो दलितको छोरासँग विवाह गरिदिन मञ्जुर होलान्? तँ दलितले मेरी छोरी माग्न आउने? भन्दै हप्काएर पठाएमा जातीय भेदभाव हुन्छ कि हुँदैन? अनि त्यही दलितले मलाई दलित भएकै कारणले मलाई भेदभाव गर्‍यो भनी अदालतमा उजुरी दियो भने त्यसको सुनुवाई हुन्छ कि हुँदैन? यसमा सम्बन्धित निकाय र सरोकारवाला मानव अधिकारवादीहरूले आवाज उठाउने कि नउठाउने? यो यक्ष प्रश्न रहेको छ सबैका सामु।

दलित र गैरदलित बीचमा रही आएको यो छुवाछुतको भावना र व्यवहार कतिसम्म रही रहने हो ? कानुन मात्र बनाएर पुग्दैन। त्यसलाई व्यवहारमा कति खरो रूपमा लिन सकेको छ भन्ने हेर्नुपर्छ। काठमाडौंमा घटेको घरधनी त्यो बुढी आमैको कोठा भाडामा दलितलाई नदिँदा डेढ लाख जरिवाना गर्न जति सजिलो देखिएको छ त्यति नै गाह्रो व्यवहारमा उतार्न हुनेछ भन्ने कुरा किन नबुझेको? यदि न्यायमूर्तिकै घरमा वा क्षेत्री–बाहुनका घरमा कोठा खाज्दै एउटा दलितलाई कोठा नदिए त्यहाँ भेदभाव हुन्छ कि हुँदैन? यस्ता भेदभावमा ती मानव अधिकारवादीले बाल्ने कि नबोल्ने? ती मानव अधिकारवादीमध्ये कति जनाले दलितलाई आफ्नो घरको कोठा भाडामा दिएका छन्? घरको भान्छामा लगेर खाना खुवाउने कुरा त परै राखूँ ? त्यसमा पनि बिहेवर्तुनको कुरा त गर्दै नगरौं?

दलितलाई समाजमा बाँच्न गाह्रो भयो, सबैले थिचोमिचो गरे, हेलाँको पात्र बने, यी दलितलाई उद्धार गर्नुपर्‍यो भन्ने सोचले राजा महेन्द्रले एउटा क्रान्तिकारी निर्णय गरेका थिए। दलितको चित्कार, आवाज र मागलाई ध्यानमा राख्दै राजा महेन्द्रले यी दलितलाई पनि समानता दिलाउनुपर्‍यो भन्ने विचारले एउटा ठोस निर्णय लिएर दलितका प्रतिनिधिलाई बोलाएर थर दमाई, कामी, सार्की लगायत सबै दलितको थर ब्राह्मण राखिदिने। तिनै दलित जो आफूमाथि भेदभाव भयो भन्नेहरूले नै ब्राह्मणको थर राख्न मानेनन् किनभने त्यति बेला नै दलितलाई विभिन्न किसिमका सुविधा दिने विषयमा छलफल पनि हुँदै थियो। तीमध्ये केही दलितले ब्राह्मण थर राख्न माने र राखे पनि। तिनै थर परिवर्तन गरेका दलितहरूले ब्राह्मणकै विधिविधानअनुसार आफ्नो कर्मकाण्ड गर्दै आइरहेका छन्।

अब हेरौं दलितभित्रका दलित को को हुन्? कामीले दमाईंले छोएको नखाने, दमाईंले सार्कीले छोएको नखाने अनि सार्कीले गाइनेले छोएको नखाने। त्यसरी नै गाइनेले वादीले छोएको नखाने अनि वादीले डुमले छोएको नखाने।

यसरी विस्तारित छ दलितभित्र दलित व्यवस्था। यी दलितहरू आफ्नै विभिन्न जातिबीच छुवाछुत र जातीय भेदभाव भइरहेको देखिन्छ। हालसम्म यस्तो भेदभाव दलितहरूले नै आफ्नो समाजमा हटाउन सकेका छैनन् तर गैरदलित जातिहरूसँग भेदभावको वाहनामा मुद्दा गर्न लाज मान्नुपर्ने हो कि होइन? त्यस्ता दलितहरूलाई यथोचित व्यवस्थित रूपमा समाजमा कसरी सम्बोधन गर्न सकिन्छ भन्ने कुरामा सम्बन्धित निकाय र मानव अधिकारकर्मीहरूले एउटा सही कदम चाल्नुपर्ने टड्कारो आवश्यकता भइसकेको छ।

सर्वप्रथम त दलित दलितबीचमै जातीय भेदभाव हटाउने दायित्व राज्यको हो भने सोहीबमोजिमको कानुनी व्यवस्था पनि हुनुपर्‍यो। साथै दलितहरूले पनि आफू आफूबीचमै छुवाछुतको भावना त्यागेर समान रूपमा आफ्नो समाजमा स्थापित हुनुपर्‍यो भने आपसी झैझगडाको साटो मेलमिलापमा लाग्नु नै श्रेष्ठकर हुने छ।

यहाँ मैले एउटा घटना सम्झें। एक पटक नुवाकोटमा एउटा सहभोजको आयोजना गरिएको थियो। जातीय विभेद हटाउनुपर्‍यो, यस्तो कुरीति हामीबाटै सुरुवात गर्नुपर्‍यो भन्दै क्षेत्रीबाहुन र उँचनीच जातिका सबैलाई त्यस सहभोजमा बोलाइयो। त्यहाँ सबै जातिका क्षेत्रीबाहुनलगायत दलितहरू पनि सहभागी थिए। माथि डाँडाबाट एउटा कामी त्यतैतिर आउँदै गरेको सबैले देखे।

अनि त्यो कामीलाई आमन्त्रण गरियो। ए! तिमी पनि आऊ यो सहभोजमा भन्दा त्यो कामीले के भन्यो–त्यो दमाईंको घरमा को आउँछ? त्यसले छोएको त हामी खाँदैनौं। यस्तो भावना हुन्जेल यहाँ भेदभाव हट्दैन। यसलाई जसरी हुन्छ व्यवस्थित गर्न कानुनी दायरामा सबैलाई ल्याउनुपर्ने हुन्छ। अनि मात्र छुवाछुत र जातीय भेदभाव बिस्तारै हट्दै जाने छ। यस्तै विभेदले गर्दा नै दलितहरूले धर्म परिवर्तन गर्न थालेका हुन्। भेदभावको अन्त्य गर्ने हो भने धर्मान्तरण पनि धेरै हदसम्म रोकिन्छ। 

प्रकाशित: ४ चैत्र २०७९ ०२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App