२७ असार २०७७ शनिबार
विचार

कर्तव्य नभुलौं

हामी संसारमा जुन परिवर्तन ल्याउन चाहन्छौं पहिला आफूमै त्यो परिवर्तन ल्याऊ“ भन्ने महात्मा गान्धीको भनाइलाई हामीमध्ये कतिले आफ्नो जीवनमा उतार्ने साहस देखाउन सक्छौं होला? तर साँच्चै यसो गर्न सकेमा हाम्रो जीवन, समाज अनि राष्ट्रमा सकारात्मक परिवर्तन हुन कत्ति पनि समय लाग्दैन। एउटा भनाई नै छ कि यात्राका लागि सही दिशातर्फ फर्किनु नै आधा यात्रा तय गर्नु हो। यदि नेपाल र नेपालीले अहिले निर्माण गरेको संविधानलाई लक्ष्यतर्फ फर्किएको मान्ने हो भने हामीले आधा बाटो तय गरिसकेका छौं र अब केवल यो बाटोमा अविरल अगाडि बढ्नु जरुरी छ सकारात्मक सोचका साथ ।

त्यो लक्ष्यमा पुग्नका लागि सबैले आआफ्नो कर्तव्य इमान्दारीसाथ पूरा गर्ने बेला आएको छ । देशका राष्ट्रपतिदेखि झुपडीमा बस्ने सामान्य नागरिकसम्मले अनि हरेक पेशा÷व्यवसायका पेशाकर्मीले आफूले गर्नुपर्ने दायित्व इमान्दारीसाथ पूरा गर्नु जरुरी छ । तर अहिलेसम्मको हाम्रो कमजोरी यही छ कि हामी आफ्नो कामबाहेक अरु सबै काम जान्दछौं । आफ्नो गन्तव्यको चिन्ता नगरेर अरुको यात्राको बारेमा टीकाटिप्पणी गरेर समय व्यतीत गरिदिन्छौं । आफ्नो कामकोे सफल सम्पादनलाई नै सबैथोक सम्झेर त्यसमा लाग्ने हो भने हाम्रो आफ्नो अनि राष्ट्रको जीवन व्यवस्थित बन्न धेरै समय लाग्दैन। ‘अल्छीका जति कुरा जैसीले जान्दैन’ भन्ने उखानझैं हामी नेपाली सबै कुरामा नेता र व्यवस्थालाई दोष दिएर आफ्नो जिम्मेवारीबाट पन्छिने गर्छौं । जनता नेतालाई दोष लगाउने अनि नेता सधैँ संक्रमणकाललाई देखाएर उम्कने प्रयास गर्ने। तर हामी सबै एउटै डुंगामा सवार भएकाले भागेर जानु कहा“ ?

सही काम गर्नेलाई अनेक बहाना बनाएर निस्तेज पार्नुलाई नै सफलता मान्ने संस्कारबाट पनि हामी ग्रस्त छौं । यसको पछिल्लो घीनलाग्दो उदाहरणका रूपमा नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङविरुद्ध प्राधिकरणका कर्मचारीले गरेको असहयोगको व्यवहार लिन सकिन्छ । काठमाडौँलाई लोडसेडिङमुक्त पारेकामा स्यावासी पाउनुपर्छ उनले । र, उनका हरप्रयासमा सबैले होस्टेमा हैंसे मिलाउनुपर्छ। आफू पनि नगर्ने, अरुको सकारात्मक कामलाई पनि असहयोग गर्ने रवैया अझै हट्न सकेको छैन । जनताका काम गर्नुपर्ने कर्मचारीलाई राजनीति गर्न सिकाउने यिनै नेताहरुका लागि अहिले कर्मचारी घा“डो बनेका छन् । जनताका नजरमा त कर्मचारी भनेका यो देशको राजस्व चुस्ने पानीजुका जस्ता हुन् जसलाई विकासका आयोजना अगाडि बढाउनका लागि हजार नीतिनियमका अड्चन टड्कारोरूपमा देखिन्छन् तर नेतालाई हचुवामा पैसा बाँड्न मिल्दैन भनेर सुझाव दिने र त्यसलाई चुनौती दिने नैतिकता भने कुनै कर्मचारी ऐन नियम तथा कानुनमा देखापर्दैनन् ।

नेता र कर्मचारीमात्र होइन, हामी आफैं पनि के कम छौं र ? खोलानाला, बाटोघाटो सबैतिर फोहोर गरेर प्रदूषण गर्नलाई हामी लाज शरम मान्दैनौँ तर आफूले गरेको फोहोरबाट पूरा शहर नै कुरूप र दुर्गन्धित भएको दोष सरकारले सफाइ नगरेको भन्दै लगाउ“छौं । फोहोर नगर्ने हो भने सफाइको आवश्यकता नै किन पथ्र्यो र ? बाटोमा जथाभावी फोहोर फ्या“क्दै हिँड्नेले त्यो फोहोर सफा गर्नचाहिँ राज्य आइदेओस् भन्ने इच्छा राख्नु कत्तिको जायज होला ? फोहोर गर्ने हरेक व्यक्ति नै त्यो फोहोर तह लगाउनका लागि जिम्मेवार हुन्छ र त्यसो नगरेमा दण्डको भागिदार बनाइनुपर्छ । यसलाई सबैले हेक्का राख्ने हो भने हाम्रा घर, आँगन, बाटोघाटो कुरूप बन्दैनथे होला । त्यस्तै नागरिकले सरकारी काम गराउन नियमसंगत प्रक्रियामात्रै प्रयोग गर्ने र अन्य तरिका नअपनाउने अनि प्रत्येक कर्मचारीले तलवबाहेकको अन्य रकम कुनै पनि हालतमा नागरिकबाट नलिने हो भने यो देशमा भ्रष्टाचाररूपी गन्धगी फोहोर सफा भएर स्वच्छता आउन धेरै समय लाग्दैनथ्यो होला।

प्रकाशित: ७ मंसिर २०७३ ०८:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App