१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

अमेरिकी राष्ट्रपतिको कदम

जेम्स होह्म्यानले वासिंगटन पोस्टमा अमेरिकी राष्ट्रपतीय निर्वाचनका सन्दर्भमा लेखेका छन्– डोनाल्ड ट्रम्पको पक्षमा रहेको मौन–बहुमतलाई डेमोक्र्याटहरूले बु‰न सकेनन्। र, पत्रकारले कानले सुनेकामा बढी विश्वास गरे, आँखाले हेर्ने कोसिस गरेनन्। सञ्चारकर्मीहरूको सीमितता यस्तै हुने गर्छ। उनीहरू आवाज अर्थात् कर्म तत्काल सुन्छन् तर कर्ताको अभिप्रायको अध्ययन गर्ने समय उनीहरूसँग बहुतै सीमित हुने गर्छ। लक्ष्य त सत्यको उद्बोध नै हो तर सत्यसम्म आफैँ पुग्ने चरित्र आजको पत्रकारिताले गुमाउँदै गएको छ। एकै विषयमा यति धेरै चर्चा र प्रस्तुति भइरहेको हुन्छ कि उनीहरू त्यसैबाट तानतुन/जोडजाड गरेर समाचारलाई नयाँ कलेवरमा ढाल्न अभ्यस्त हुने गर्छन्। एउटी पाको उमेरकी आमा भन्दै थिइन्– के हुन लाग्यो अमेरिकामा? हरघरका महिला गर्भ पतनमा लिप्त छन्, एउटी सभ्य नारीका लागि भ्रुणको पतनभन्दा दुःखदायी कुरा अर्को के हुन सक्छ? श्रमिक जीवन बिताइरहेका आप्रवासी तर अमेरिकी नागरिकता प्राप्त मानिस पनि सोचिरहेका थिए, के मेरो पारिश्रमिक गैरकानुनी आप्रवासी मजदुरका कारण घटेको होइन? भान्साको भाँडाकुँडादेखि चम्चा काँटा छुरीसम्म, सौन्दर्य सामग्रीदेखि ग्याजेटसम्म चीनबाट र तरकारी फलफूलदेखि दूध–दहीसम्म मेक्सिको र भियतनामबाट मगाएर खानुपर्ने अमेरिकीहरू बलियो अमेरिकाको नारामा मज्जाले लठि्ठए।

अमेरिकाले अरूमाथि अन्याय गर्न चाह्यो भने त्यसबाट जोगाउने बलियो शक्ति अमेरिकामै छ। त्यो हो– चेतनशील, मर्यादित र अनुभवले खारिएको अरूप्रति संवेदनशील र सहयोगी अमेरिकी जनमत।

के अमेरिका आम्दानी–खर्चको हिसाब गर्न नजान्ने मुलुक हो र? विदेशमा गरिएको लगानी र त्यहाँबाट ओसारिने मुनाफाले धनी भएको छ अमेरिका। तुलनात्मक लाभका दृष्टिले अमेरिकामा उद्योग गर्नुभन्दा वैदेशिक लगानी कता हो कता लाभदायक छ। त्यहाँ न वातावरणीय सन्तुलन हेर्नुपर्छ न सामाजिक उत्तरदायित्व। मुनाफाको कारक तत्व हो– प्राविधिक श्रेष्ठता। त्यसैले साराका सारा प्रविधिको विकास अमेरिकामै गरिन्छ। प्रविधि अमूल्य छ। धातु र प्लास्टिकलाई काटकुट–जोडजाड गर्‍यो। प्रविधिको असीमित मूल्य जोड्यो र बेच्यो। गरिब देशका शासकले न बु‰छन् न सोधखोज गर्ने आँट गर्छन्। कतिको वस्तुमा कतिको प्राविधिक सिप जोडेर कसरी बेचियो भन्ने कुरामा कमजोर राष्ट्रको सरोकार रहन सक्ने कुरै भएन। यस्ता कुरालाई स्वतन्त्र बजारको सिद्धान्त भन्दै अन्तर्राष्ट्रिय मौ›िक र आर्थिक संस्थाले परिभाषित गरिदिने गर्छन्। विश्व अर्थतन्त्र हेर्ने हो भने दोस्रो विश्वयुद्धयता वैदेशिक लगानी गर्नेहरूले लगानीको १० हजार गुणा बढी मुनाफा ओसारिसके। गरिब मुलुकहरू यो वर्ष कति वैदेशिक लगानी थपियो भनेर दुन्दुभी पिट्छन् तर कति लगानी गर्नेले कति मुनाफा बाहिर लग्यो भनेर कहिले पनि बताउँदैनन्। आफ्नो यही वैदेशिक लगानीको सुरक्षाका लागि अमेरिकी सुरक्षा, वैदेशिक भूमिमा सेना, जासुसीको सञ्जाल आदिको व्यवस्थापन गर्नुपरेको छ अमेरिकाले। सामाजिक सुरक्षालाई बिमाको व्यापारसँग गाँसेर र सुरक्षाको कामलाई रक्षासम्बन्धी उपकरण इत्यादिको उद्यमसँग गाँसेर अमेरिकी अर्थतन्त्र बलियो भएको छ। यो बलियो किल्लामा दायाँबायाँ होला भनेर विभिन्न देशको राजनीति र आन्तरिक मामिलामा हस्तक्षेप पनि गर्नुपरेको छ।

तर जनता र पत्रकार आखिर एकै ड्याङका न परे। क्लिन्टनले पनि कुनै फरक विकल्प दिन सकेकी थिइनन्। आठ वर्षदेखिको अन्योल, आश्चर्य र पीडाको भरपर्दो विकल्प नपाएपछि मतदाताले सोचे होलान्– अमेरिका कमजोर भयो, यसलाई फेरि बलियो बनाउनुपर्छ। आप्रवासीले हामीलाई लुटे, लुट्न दिनुहुन्न। अमेरिकी संस्कारउपर पराई मान्यता हावी भयो, त्यसलाई प्रतिवाद गर्नुपर्छ। मानिसको जात आफूलाई हेर्छ। नागरिकता पाइसकेकाहरूले घटबढ भइरहने स्वतन्त्र बजारको थलो अमेरिकामा आप्रवासन रोकिए रोजगारी सुरक्षित र गहकिलो हुने सपना पनि देखे। अमेरिकी राजनीतिमा वैचारिक उदय गराउने प्रयास राष्ट्रपति पदका प्रत्यासी बर्नीले गर्न खोजेका थिए। उनले न्यूनतम सामाजिक सुरक्षाको प्रत्याभूतिमार्फत् आमनागरिकमा आत्मविश्वास जगाउन सकिन्छ र त्यही नै स्थिर र विकासवान अमेरिकी चरित्र हुनेछ भन्न खोजे। तर स्वतन्त्रतालाई सिद्धान्तभन्दा नसाका रूपमा ग्रहण गरिसकेको पुस्ताले त्यसलाई बाह्य हस्तक्षेपकारी नीतिका रूपमा बढी बु‰यो।

बिमा, बैंकिङ र कार यी तीन उद्यमका धनीहरू सङ्कट, लगानी र रवाफको मानसिकताका व्यापारी हुन्। तपाईंले दुई वर्षदेखि कार फेर्नुभएको छैन, मलाइ लाग्छ तपाईंको व्यक्तित्वअनुसारको गाडी फेर्ने बेला भयो र हामी तपाईंको व्यक्तित्व उजिल्याउने कुरामा सहयोगी बन्न चाहन्छौँ भनेर फोन गर्ने बैङ्कहरूसँग अमेरिका बस्ने सबैले सङ्गत गरेकै छन्। बिमा र चालक लाइसेन्स एक अर्कासँग अन्योन्याश्रित छन्। गाडी चलाउँदा गल्ती गर्नुभयो भने तपाईंको बिमाको शुल्क स्वतः बढ्नेवाला छ। पाइलैपिच्छेको अर्थतन्त्रसँग मुक्त व्यापार गाँसिएको छ र राज्यले त्यसलाई एकअर्कासँग गाँसिदिने काम गर्छ। सन् २०१० मा एकजना पाका अमेरिकीले राष्ट्रपति बाराक ओबामालाई हप्काएको सम्झना मसँग ताजै छ। उनले एउटा स्कुलको सार्वजनिक भेलामा भनेका थिए– 'ओ श्रीमान् राष्ट्रपति, मलाई कुन बिमार लाग्दा सित्तै उपचार गर्न कहाँ जानु भन्ने तिमी को? म भियतनाम जान्छु, क्युबा जान्छु उपचार गर्न। टन्न कमाउँछु, ए क्लास बिमा गर्छु, जहाँ मन लाग्छ त्यहीँ उपचार गर्छु। यो अमेरिका हो अमेरिका, यहाँ हरकोही आफ्नो सुख–दुःख चिन्छ र समाधान गर्न स्वतन्त्र छ।' बाराक ओबामाको स्वास्थ्य नीतिविरुद्ध यस्तै स्वतन्त्रता र मर्यादाको नाममा विरोध अभियान चलेको थियो जुन यद्यपि जारी छ।

अमेरिकामा एउटा नानीको जन्म हुँदा सिर्जनाको फूल फुल्यो भन्नुभयो भने गलत हुन्छ। नयाँ ग्राहकको आगमन भयो र उसका आवश्यकताको परिपूर्ति गर्ने बजारबीच प्रतिस्पर्धा बढ्यो भनेर बु‰नुभयो भने बढी सही हुनेछ। टुट्ते बिखरते फूल नामको भारतीय उपन्यासमा यसको राम्रो वर्णन गरिएको छ। अमेरिकाको विकास, सहायता र समृद्धिको साझेदारीको स्थापित मान्यता यही हो कि हरेक विकास अमेरिकी अर्थतन्त्रको उन्नतिमा सहायक हुनुपर्छ र अमेरिकी अर्थतन्त्र भन्नुको अर्थ स्वतन्त्र व्यक्तिको अर्थात् अमेरिकी नागरिकको स्वतन्त्र उपक्रम भनेर बु‰नुपर्छ। हामी जस्ता गरिब मुलुकले अमेरिकाको कानुनको शासन, लोकतन्त्रको आदर्श र विशिष्ट व्यावसायिक कौशलबाट सिक्नुपर्छ। सिङ्गो प्रशासन, अभिलेख र विश्लेषणका लागि विद्युतीय ज्ञानको सदुपयोग हामीले नसिकी नहुने क्षेत्र हो। देशमा सङ्कट पर्दा बाह्य सम्बन्धमा कठोरपूर्वक मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनको कसीमा औचित्य स्थापित गर्ने मामिलामा अमेरिकासँगको सम्बन्धलाई सदुपयोग गर्न सक्नुपर्छ। तर व्यापारिक संस्थाहरू पनि व्यक्तिसरह हुन् भन्दै उनीहरूले सोझै राजनीतिज्ञको पक्षमा लगानी गर्ने चलन बसाउने हो भने व्यापारिक घरानाले सजिलै राजनीतिमार्फत् राज्य कब्जा गर्न अप्ठ्यारो हुने छैन।

एउटा कुरा मान्नैपर्छ, अमेरिकी राष्ट्रपतिदेखि सामान्य मानिस सबै बिल्कुल सरल र अनौपचारिक छन्। साह्रै मिलनसार र सहयोगी पनि छन्। यो वर्ष कुन राज्यका मानिस बढी सहयोगी ठहरिए भनेर सर्वेक्षण हुन्छ र प्रतिवेदनलाई धूमधामसँग मनाइन्छ पनि। जुनसुकै काम गर्नुहोस् तपाईँंको मर्यादामा कुनै फरक पर्दैन। निजी काम हो, त्यसैले जुनबेला सस्तो श्रम पाइन्छ त्यही बेला गर्ने काम पनि पाइन्छ। कमाउन कतै रोकटोक छैन। विश्वविद्यालयहरू विल्कुल अनुसन्धानमूलक छन्। असल शोधकर्ता र विद्यार्थी व्यापारीको आँखामा परिहाल्छन्। अनुसन्धान र क्षमतालाई व्यावसायिक लाभका लागि प्रयोग गर्न अमेरिकी अर्थतन्त्रले जति अरूले जानेको छैन्। अमेरिकी सरकार र राज्यका तमाम अवयवको कर्तव्य स्वतन्त्र कारोबारको उन्नतिमा सघाउनु हो। देश बाहिर भए दबाब दिएर भए पनि सघाउने र देशभित्र भए कानुनसम्मत उच्च दायित्वबोधका साथ कारोबार गर्न सघाउने। बौद्धिक, व्यावसायिक र सामरिक स्वार्थको उपयोगमा निजी क्षेत्रको स्वतन्त्र व्यापारिक संलग्नता नभएको भए अमेरिका यति शक्तिशाली हुने थिएन। अमेरिकी कानुन, अदालती निर्णय र परम्परा सबैले यो आदर्श आत्मसात् गरेका छन्। सरकार, मन्त्री र राजनीतिज्ञको फेर समाएर मात्र कुनै काम गर्न सकिने अवस्थाका हामी नेपालीले सिक्नुपर्ने कुरामध्ये यो महत्वपूर्ण छ। अमेरिकामा कानुन प्रष्ट छ। नभए अदालतका निर्णय स्पष्ट छन्। त्यहाँका सांसद पार्टी, नेताभन्दा आफ्नो विवेकअनुसार चल्छन्। सांसदको इज्जत उनीहरूले कति प्राइभेट बिल प्रस्तुत गरेर कानुनमा समाहित गर्न सके भन्ने आधारमा गरिन्छ। उनीहरूले पेश गरेको कानुनलाई प्रस्तोताकै नाममा जानिन्छ।

ट्रम्पले प्रस्ताव गरेको 'बलियो अमेरिका' को योजनामा नयाँ कुरा केही छैन। देशभित्र कर घटाउलान् जसले ठूला करदातालाई फाइदा होला। ठूला संरचनाको पुनःनिर्माणको अभियान चलाउलान् जसले उच्च प्राविधिकलाई बढी फाइदा देला तर मजदुर त फेरि पनि आप्रवासी नै खोज्नुपर्ने हुनेछ। उनको परम लक्ष्य व्यापारको उन्नति हुनेछ। अमेरिकी आम्दानीको मुख्य स्रोत वैदेशिक लगानी हो। उनले भनेका छन्– अमेरिकासँग कसैले शंकित हुनुपर्ने छैन। तर तबसम्म जबसम्म अमेरिकी उद्देश्यसँग सामञ्जस्यता राखिनेछ। र, अमेरिकाको उद्देश्य भनेको मुनाफाको उच्चतम सङ्कलन हो। यदि अरू प्रतिस्पर्धी मुलुक चीन, रूस वा भारतको व्यापारिक फैलावटसँग अमेरिकी मुनाफा टकरायो भने साना र आर्थिकरूपले कमजोर राष्ट्रहरूलाई सङ्कट पर्न सक्छ। ट्रम्पको चरित्रमा एउटा पक्ष मननयोग्य छ, उनी चूपचाप हुने छैनन्। सायद बेलैमा आफ्नो मनसाय अभिव्यक्त गरिदिनेछन्। हिलारीले जे/जस्ता मुद्दा उठाइन्, त्यसको औचित्य नकार्न सकिने छैन। बर्नी र हिलारीले गर्दा अमेरिकी राजनीतिमा प्रगतिशील एजेन्डाले प्रवेश पाएका छन्। यो चुनावको सर्वाधिक उज्यालो पक्ष यही होे।

अमेरिकाले अरूमाथि अन्याय गर्न चाह्यो भने त्यसबाट जोगाउने बलियो शक्ति अमेरिकामै छ। त्यो हो– चेतनशील, मर्यादित र अनुभवले खारिएको अरूप्रति संवेदनशील र सहयोगी अमेरिकी जनमत। विजयी राष्ट्रपति ट्रम्पले सहयोगी अमेरिकी जनमतको सम्मान गर्न सक्नुहोस्, उहाँप्रति शुभकामना। दुवै हातका औँला खप्टेर पर्खिउँ।

प्रकाशित: २८ कार्तिक २०७३ ०५:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App