१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

कमजोर छैनौँ हामी

हामी राजधानीबाट नजिकै भएर पनि दुर्गमको पगरी गुथाइएको रसुवास्थित कालिका गाउँपालिकाका बासिन्दा हौँ। धेरथोर जमिन छ। भएका जमिनमध्ये धेरैजसो बिर्ता छ। बिर्ता जमिन कानुनी रूपमा २०१६ सालमै उन्मूलन भएको हो अर्थात त्यसयता मुलुकमा यस्तो जमिन रहनु काननुतः अवैधानिक हो। तर विडम्बना, हामी अहिले पनि यही अवैधानिक अवशेषको मारबाट गुज्रिरहेका छौँ।

जग्गा पुर्खौँदेखि हामी कमाइरहेका छौँ। तर न उक्त जग्गा बेखबिखन गर्न पाउँछौँ न त वित्तीय संस्थामा धरौटी राखेर केही गर्जो टार्नै। भनाइको मतलव आफैँले वर्षौँदेखि नङ्ग्रा खियाइरहेको जमिनमा पनि हाम्रो स्वामित्व छैन। जोसँग यो जमिनको धनी पुर्जा छ, उसले जमिन नै चिनेको छैन। जसले खनिखोस्री जमिनलाई ऊर्वर बनाएको छ, त्यसबाट उत्पादन लिएको छ, अनि उक्त उत्पादनबाट परिवार पालेर बाँकी रहेको अन्यलाई पनि खुवाएको छ, उसको भने स्वामित्व छैन।

तर पनि हामीले हिम्मत हारेका छैनौँ। राज्यले उन्मूलन गरिसकेको यो प्रथा वास्तवमै मृत तुल्याउन विगत १७ वर्षदेखि निरन्तर क्रियाशील छौँ। फलस्वरूप हामीले नपाए पनि करिब ५ सय परिवारले विर्ता जमिनको पुर्जा पाएका छन्। हामी अझै करिब १ हजार परिवार जस्तै आफूले पनि न्याय पाउनका लागि निरन्तर लडिरहेका छौँ तर पनि खुसी छौँ। खुसी यसकारण कि हाम्रै अगुवाइमा भएको आन्दोलनकै कारण धेरै पीडित परिवारले वर्षौँदेखि कमाइरहेको जमिनमा स्वामित्व पाएका छन्। जसले उनीहरूको मुहारमा खुसी ल्याएको छ भने परिवारको भविष्य उज्ज्वल बनेको छ। सानोतिनो गर्जो टार्ने वातावरण बनेको छ। एकप्रकारले उनीहरू यतिखेर पृथक जीवन बाँचिरहेका छन्।

रसुवा करिब करिब पूरै भिरालो भूगोलयुक्त जमिन हो। यहाँका खोलानाला विभिन्न हाइड्रोपावरका नाममा कब्जा भइसकेका छन्। हामी भने ललिपप (केही कित्ता सेयर) मा मख्ख हुन बाध्य छौँ। नुवाकोटको सिमाना कटेपछि कालिकास्थानसम्म गैरजनजाति र त्यहाँबाट जति माथि गयो उति उति जनजातिको बसोबास रहेको यो जिल्ला वास्तवमै रमणीय छ। तर यो रमणीयतालाई बाहिरबाट आएर खोला कब्जा गर्ने तथा जमिनमा समेत प्रभुत्व जमाउँदै आएकाले दूषित बनाउँदै आएका छन्। यहाँका किसान आफूले यही भिरालो जमिनमा गरेको उत्पादन पनि परिवारले मात्र उपभोग गर्न पाउँदैनन्। स्वयम्भुलगायत विभिन्न देवताका नाम लिएर जानेले कुतका रूपमा उठाएर ल्याउँछन्। अझ केही अघिसम्म त गतिलो भालो र खसीसमेत देख्नै हुन्नथ्यो। गुठीको जग्गा भन्छन्। उठ्न धम्क्याउँछन्। बसिरहेको जमिन उनीहरूलाई थाहै नदिइ बेचिदिन्छन्।

सम्झँदा कहाली लागेर आउँछ। तर पनि हामी महिला भनेर चूप लाग्ने अवस्था थिएन। त्यसैले रात/बिहान भनेनौँ। बालबच्चालाई डोकोले छोपेर, गाई/बाच्छा छिमेकको जिम्मा लगाएर हामी कहाँ पुगेनौँ? काठमाडौँको टु“डिखेलमा धर्ना बसेनौँ कि? वनकालीबाट जुलुस निकालेनौँ कि? धुन्चेका भूमि र प्रशासन अड्डा घेरेनौँ कि? के गरेनौँ हामीले? कोसँग भिडेनौँ हामी? मन्त्रालयका कोठा/चोटा कहाँ चाहारेनौँ हामीले? जे होस्, अहिले यसै आन्दोलनको प्रतिफलस्वरूप केहीले भए पनि पुर्जा पाएका छन्। जसले हामीलाई निकै गौरवान्वित तुल्याएको छ।

हाम्रो आफ्नै सङ्गठन छ–भूमि अधिकार मञ्च। अनि महिला अधिकार मञ्च पनि खोलेका छौँ हामीले। भूमि घर नाम राखेका छौँ आफैँ मिलेर बनाएको घरमा। जहाँ हामी पीडितहरू बस्छौँ, समस्या पहिचान गर्छौँ। कसरी अघि बढ्ने भन्नेबारे विचारविमर्श गर्छौँ। अघि बढ्ने योजना बनाउँछौँ। समस्या कसरी समाधान गर्ने भन्ने निचोड ननिस्किउन्जेल त्यहीँ बस्छौँ। लुगाफाटो जोगाड गरेका छौँ। त्यहीँ सुत्छौँ। घर–घरबाट ल्याएको पिठो र गुन्द्रुक त्यहीँ उमाल्छौँ। अर्थात समाधान नफुरुन्जेल हामी डेग चल्दैनौँ। हाम्रो सफलताको मुख्य सूत्र पनि यही हो।

हामीलाई आफ्ना अधिकारबारे राम्रो ज्ञान छ। अधिकार मात्र हैन, कर्तव्य पनि रामै्र ख्याल छ। त्यसैले त हामी दिनभर माटोसँग खेल्छौँ। पशुभाउसँग रमाउँछौँ। डाँडाकाँडा घन्किने गरी गीत गाउँछौँ र निन्द्रामा परेकालाई ब्युँझाउने प्रयास गर्छौँ। हामीलाई थाहा छ, आफ्नो भिरालो भूभाग सम्म तुल्याउन गाह«ो छ। त्यसैले त हामी यसमा चिन्ता गर्नु भन्दा यस्तो जमिनमा के बढी फलाउन सकिन्छ भन्नेमा चिन्तन गर्छौँ। हामीलाई थाहा छ, पुरुषका तुलनामा महिलालाई अघि बढ्न गाह्रो छ। त्यसैले त हामी पुरुषसँग पनि काँधमा काँध मिलाएर कामको व्यवस्थापन मिलाउँछौँ। हामीलाई थाहा छ, महिलालाई केही जानकारी हुन्न भनेर ‘हाकिमसाब’ हरूले अवमूल्यन गर्छन्। त्यसैले त हामी वार्तामा बस्दा होस् वा कुनै कार्यक्रममा सहभागी हुँदा, पढेर बुझेर मात्र जान्छौँ।

हामी गाई भैँसी पाल्छौँ। दूध बेच्छौँ। घिउ बिक्री गर्छौँ। फर्सीका मुन्टाबाटै पचासौँ हजार हात पार्छौँ। काउली, फर्सी, खुर्सानी हाम्रा लागि सामान्य तरकारी हुन। एकातिर यस्ता तरकारीले हाम्रो परिवारको स्वास्थ्य स्वस्थ तुल्याउन सघाएको छ अर्कोतिर आर्थिक उपार्जनका कारण पढाइलेखाइ मात्र हैन, सिङ्गो जीविकोपार्जन सहज बनेको छ। आर्थिक रूपमा दरिलो भएपछि आन्दोलन गर्न होस् या कुनै पनि कुरामा अघि बढ्न, सहज हुने अनुभव हामीले धेरैपटक सङ्गालेका छौँ। सोझो अर्थमा भन्दा हामीले कुनै पनि कुरालाई आर्थिक पक्षसँग नजोडेसम्म सफल नहोइने अमूल्य पाठ सिकेका छौँ।

हामी तीनैजना लेखपढ गर्न जान्दैनौँ। सहीसम्म धस्क्याउने मात्र हो। अझ हामी दुई (खड्गमाया र चित्रकुमारी) त विधवा पनि हौँ। यस अर्थमा हामीले छोरा/छोरी तथा घरपरिवारमा बाबुको समेत जिम्मेवारी निर्वाह गर्दै आएका छौँ। तर पनि हामी गाउँका कुनै पनि सामाजिक कार्यक्रम छुटाउँदैनौँ। यस्ता कार्यक्रम भएका दिन बिहानै घाँसको जोहो गर्छौँ। सासूससुरा र बालबच्चाका लागि खाना/चियाको व्यवस्था अग्रिम मिलाउँछौँ। कतिपय अवस्थामा घरमा सघाउनसमेत अर्मपर्मको चाँजोपाँजो मिलाइरहेका हुन्छौँ। भन्न खोजिएको कुरा के हो भने व्यवस्थापन गर्न जानियो भने कुनै काम, कुराबाट अलग हुनुपर्दैन। यसर्थ हामीले गर्दै सिक्ने प्रक्रियाअनुसार व्यवस्थापनको महत्व पनि राम्रैसँग सिकेका छौँ। जसले हाम्रो जीवनमा प्रतिकूलताभित्र पनि अनुकूलता सिर्जना गर्ने सिप भित्र्याइदिएको छ। लाग्छ, अरू दिदीबहिनीले पनि यो सिप सिकेमा जीवन सुन्दर हुनेछ।

कहिलेकाहीँ छोराछोरी रुन्छन्। सासूससुरा ठुस्किन्छन्। श्रीमान् अ“ध्यारो मुख लगाउँछन्। गाउँलेहरू ‘नेतिनी’ को उपमासहित कुरा काट्छन्, पसल/चोकमा बसेर। हामी यस्ता सबै कुराबाट सूचित छौँ तर हामीलाई कुनै फरक पर्दैन किनकि हामीलाई हाम्रो परिवार कसरी खुसी राख्नुपर्छ र हाम्रो जिम्मेवारी के हो भन्ने कुरा राम्रोसँग थाहा छ। जहाँसम्म पराईको कुरा छ, हाम्रा लागि त्यो पनि समस्याको विषय हैन किनकि नेपाली गाउँले समाजको सोच र बुझाइको स्तरबाट पनि हामी परिचित छौँ। त्यसैले राम्रो कामका लागि अघि बढ्दा बुझेका र सज्जन तथा ज्ञानी मानिसले उपलब्ध गराउने स्यावास, धन्यवाद, साहसी आदि शब्द नै हाम्रा लागि महत्वपूर्ण ऊर्जा हुन्। विरोधीले यी वास्तविकता पछि बुझ्छन् भन्ने पनि हामीलाई थाहा छ।

परिवर्तन सहज छैन। सुन्दर गुलाव हात पार्न का“डाघारीको यात्रा तय गर्नैपर्ने वास्तविकतासँग पनि हामी अनविज्ञ छैनौँ। त्यसैले काँडासँग जुधेर प्राप्त गरेको गुलाव जस्तै सुन्दर छन् हामीले प्राप्त गरेका उपलब्धि। हामीले खाएका डन्डा, हाम्रा जिउमा बर्सिएका फोहोरा तथा कुटाइका प्रतिफल त हुन अहिले हात परेका जग्गा धनी पुर्जा। जसले हामीलाई जमिनको स्वामित्व मात्र दिलाएको छैन। सामाजिक न्यायको लडाइँमा अभूतपूर्व सफलतासमेत हासिल भएको छ। हामीलाई राम्रोसँग थाहा छ, लडाइँ अझै जारी छ र त्यो झन् कठिन पनि छ। हामीलाई अझ यो भन्दा पनि महत्वपूर्ण अर्को कुरा पनि थाहा छ–यस्तो लडाइँ हामी पक्कै जित्नेछौँ किनकि यो सत्यको पक्षमा छ।

नारी दिवसले सबै महिलामा निराशा हैन, हाम्रो जस्तै आ“ट र ऊर्जा भरोस्। अनि मात्र महिला हुनुको गर्ब प्रदर्शन गर्न सकिन्छ।

(रघुनाथ लामिछानेसँगको कुराकानीमा आधारित)  

प्रकाशित: २४ फाल्गुन २०७९ ०१:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App