१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

गान्धीवादका रेफ्री देउवा!

महात्मा गान्धीको जन्मदिन अक्टोबर २ लाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय अहिंसा दिवसका रूपमा मनाउँदै आएको छ। राष्ट्र संघले यो दिवस गान्धी हत्याको ५० वर्षपछि सन् २००८ मा मनाउन सुरु गरेको हो। यसको अर्थ पश्चिमले अहिंसावादी गान्धीको महानतालाई धेरैपछि मात्र मान्यता दिएको हो। गान्धी जयन्तीका अवसरमा राजधानीमा तक्षशीला एकेडेमीद्वारा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गान्धीवादको रेफ्रीका रूपमा देखिए। पहिले गिरिजाप्रसाद, अहिले शेरबहादुर। बाघ मृगको रक्षक बन्न खोजेजस्तै यो अन्तरविरोधी दृश्यले अनेक संकेत गर्छ।

निष्ठाका पर्याय

मोहनदास करमचन्द गान्धीको जन्म भारतको काठियावाडस्थित पोरबन्दरमा सन् १८६९ को अक्टोबर २ मा भएको थियो। पछि कवि रविन्द्रनाथ टैगोरले उनलाई दिएको नाम महात्मा गान्धी संसार प्रसिद्ध भयो। राजकोटमा वकालत गर्दागर्दै उनी १८८३ मा दक्षिण अफ्रिका पुगे। त्यहाँ उनले कालामाथि ठूलो पक्षपात भएको देखे। उनकै प्रयासमा त्यहाँ काला–गोराबीच सम्झौता भयो। १९१४ मा फर्कँदा भारतको राजनीतिक हालत अत्यन्त भयावह थियो। उनी भारत स्वतन्त्रताको लडाइँमा होमिए। कांग्रेस पार्टीका सर्वेसर्वा भएर उनले अथक अहिंसात्मक आन्दोलनमार्फत् भारतलाई स्वतन्त्रता दिलाए।

हाम्रो राजनीतिमा त्याग, इमान र निष्ठाको खडेरी छ। यही खडेरीका सूत्रधार शेरबहादुर देउवाहरू गान्धीवादका रेफ्री बन्छन्। योभन्दा ठूलो अन्तरविरोध केही होला!

गान्धी सत्य र अहिंसाका विचारक मात्र होइनन्, वैचारिक निष्ठा र इमानका पर्याय पनि हुन्। उनी भारतका त्यस्ता महान् मानवतावादी नेता हुन् जसलाई बुद्ध, क्राइस्ट, हजरत मोहम्मद र सुकरातकै सूचीमा राख्ने गरिन्छ। सत्य र अहिंसाका माध्यमबाट उनले संसारकै सबैभन्दा ठूलो सम्राज्य बेलायतलाई भारत छाड्न बाध्य पार्दा संसारै अचम्भित भयो। अहिंसाको माध्यमबाट शत्रुलाई सत्यबोध गराउने उनको शैली अनुपम थियो। क्रान्तिका क्रममा हिंसामा उत्रेका सुरक्षाकर्मीविरुद्ध प्रतिहिंसा गरिरहेका आफ्नै सहकर्मीविरुद्ध पनि उनले सत्याग्रह गर्नुपरेको थियो। सादा जीवन, उच्च विचारका पक्षपाती उनी शाकाहारी भोजन गर्थे। चर्खा चलाउँथे र उच्चस्तरीय बेलायती कपडा बहिस्कार गरी खादीका धोती लगाउँथे। गान्धीको महानता के थियो भने उनी आफ्ना विचार व्यवहारमा उतार्न आत्मैदेखि प्रेरित हुन्थे।

गान्धी प्रेम र अहिंसालाई एकै कुरा मान्थे। उनको मान्यतामा अहिंसाको मूल उद्देश्य व्यक्तिका साथै सम्पूर्ण विश्वलाई लाभ पुर्‍याउनु थियो। कुनै  प्राणीलाई चोट नदिनु, खराब विचारलाई प्रश्रय नदिनु, झुट नबोल्नु, घृणा नगर्नु नै गान्धीको विचारमा अहिंसा थियो। अहिंसाबिना सत्य जीवित रहँदैन। यी दुईलाई अलग गर्नु असम्भव छ। अहिंसा साधन हो भने सत्य साध्य। साधनबिना साध्य प्राप्त हुँदैन। उनी भन्थे, 'अहिंसालाई सिद्धान्त मान्ने हो भने त्यो हाम्रो जीवनशैलीमा व्याप्त हुनुपर्छ।' गान्धीको विचारमा अहिंसा र कायरता एकै कुरा होइनन्। अतः कायरता र हिंसाबीच छनोट गर्नुपर्दा उनी हिंसालाई नै प्राथमिकता दिन्थे। भारतको राष्ट्रिय आन्दोलनको हवाला दिँदै उनले भनेका थिए्, 'भारतले आफ्नो प्रतिष्ठा रक्षाका लागि बरु अस्त्रको सहारा लेओस् तर कायर बनेर आफ्नै अपमानको साक्षी नबनोस्। परन्तु, मेरो विश्वास छ, हिंसाभन्दा अहिंसा कैयन् गुणा बढी श्रेष्ठ छ। क्षमामा सजायको तुलनामा धेरै सम्मान छ। क्षमा वीरहरूको शृंगार हो। सजाय दिने क्षमता भएर पनि सजाय नदिनु सच्चा क्षमा हो। कोही कायर प्राणीले क्षमा दिएको घमण्ड गर्नु निरर्थक छ। अहिंसा र कायरताबीच कुनै संगति छैन। म पूरै शस्त्रयुक्त मान्छे कायर भएको कल्पना गर्न सक्छु। परन्तु, सच्चा अहिंसा निर्भयताको अभावमा सम्भव छैन।'

मार्क्सवाद र गान्धीवाद

कार्ल मार्क्स र गान्धी दुवै आफ्नो युगका महान् क्रान्तिकारी विचारक र निष्ठाका पर्याय थिए। दुवै जना उच्च मानवीय भावनाले प्रेरित थिए। दुवैले यस्तो समाजको परिकल्पना गरेका थिए जसमा गरिबी र असमानताबाट मानवतालाई मुक्ति दिलाउने उपाय थियो। गान्धीले आफ्नो विचार राष्ट्रिय आन्दोलनको माध्यमबाट व्यक्त गरे। मार्क्सले भने आफ्नो सिद्धान्तको थालनी राष्ट्रियता भावनाको विरोधसहित गरे। उनको सिद्धान्तमा संसारका मजदुरलाई एक हुने आह्वान, तिनको दुःख हटाउने उपाय आदि कुरा आफ्नै निजी जीवनको अनुभवबाट प्रेरित थिए। उनले एक मजदुरकै रूपमा जीवन संघर्ष सुरु गरेका थिए। गान्धीमाथि भारतीय धर्मशास्त्र, गीता, जैन वैष्णव धर्मको प्रभाव थियो । उनको दर्शनले आध्यात्मिक जीवनको चक्कर लगाउँछ। उनी आदर्शवादमा विश्वास गर्थे। तथापि उनी कट्टर हिन्दुवादविरुद्ध दलित (हरिजन) को मुक्ति चाहन्थे। मुसलमानहरूलाई पनि उत्तिकै प्रेम गर्थे। उनका लागि सत्य नै ईश्वर थियो, ईश्वर नै सत्य। मार्क्स वैज्ञानिक समाजवाद र द्वन्द्वात्मक भौतिकवादका सूत्रधार थिए। उनमा हिगेल, रिकार्डो र फायरबाखको प्रभाव थियो। मार्क्सले आर्थिक पक्षलाई विशेष जोड दिए भने गान्धीले आध्यात्मिकतालाई। तथापि दुवै निष्ठा र इमानका प्रतिमूर्ति थिए।

निष्ठाको अनिकाल

मजबुरीका नाम महात्मा गान्धी भन्ने त भारतवर्षमा सबैभन्दा बढी चलेको टुक्का नै हो। गान्धी आफ्नै सहकर्मी पण्डित जवाहरलाल नेहरु, बल्लभभाइ पटेल, मोहमद अलि जिन्नाहरुको सत्तास्वार्थका सिकार भए। तिनकै कारण देश टुक्रियो। हिन्दु–मुसलमानबीच भयंकर गृहयुद्ध चल्यो। यसविरुद्ध उनले फेरि सत्याग्रह गरे। हिन्दु वा मुसलमान कुनै पनि समुदायमाथि अत्याचार र अन्याय नहोस् भन्ने प्रयास गर्दा सन् १९४८ जनवरी ३० मा हिन्दु अतिवादीले गोली हानेर उनको हत्या गरिदियो। भारत स्वतन्त्रता आन्दोलनका अति सम्मानित नेता यसरी स्वतन्त्रताको पाँच महिना पनि उपभोग गर्न नपाउँदै अतिवादीको तीन गोली छातीमा थापेर संसारबाट बिदा भए। गान्धीको भौतिक हत्या नत्थुराम गोड्सेले गरेका थिए। तर, उनको आदर्शको हत्या नजिकका साथीहरुबाटै भएको थियो। त्यसको चरम रूप केही वर्षअघि गान्धीकै पार्टी कांग्रेस (आई) का नेता तथा तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले नेपालका शेरबहादुर देउवासमेत लजाउनेगरी सांसद–किनबेच गरेर देखाए।

तक्षशीला एकेडेमीमा आयोजित कार्यक्रममा दउवाले आफ्नो गच्छेअनुसार गान्धीवादमाथि बोले। गान्धीको अक्षय पुँजी भनेकै इमानदारी हो। उनी आफूलाई ठीक लागेको कुरा आत्मैदेखि दीक्षित भएर व्यवहारमा उतार्थे। त्यसैले त खाँ अब्दुल गफ्फार खाँ, नेल्सन मन्डेला, मार्टिन लुथर किङ, आन सान सुकी, स्टीभ बिको, बेनिग्नो अक्विनोजस्ता संसारकै महान् व्यक्तित्वले उनलाई आदर्श मानेका छन्। नेपाली राजनीतिको सबैभन्दा ठूलो समस्या इमानको अनिकाल हो। चुनावका बेला दलहरु उच्च आदर्शयुक्त घोषणापत्र जारी गर्छन्। नेताहरु मनमोहक भाषण गर्छन्। काम ठीक उल्टो गर्छन्। देशका सबैभन्दा वरिष्ठ नेता भएकाले होला, बेइमानीको नेतृत्व पनि वरिष्ठ नेताहरूले नै गरेका छन्। शान्ति र सहमतिको सबैभन्दा बढी भाषण गर्ने र तिनका जरा काट्ने काम पनि तिनैले गर्न भ्याएका छन्। राजनीतिलाई सुँगुरको खोर बनाएर इमानदारलाई पाखा लगाउने र दलित, जनजाति अनि मधेसीलाई उत्तेजित पार्ने काम पनि तिनैले गरेका छन्।

देउवा गान्धीवादी पार्टीका यस्ता नेता हुन् जसले माओवादीलाई जंगल धपाउने र नेपालको इतिहासमै बदनाम संकटकाल लगाउने काम गरेका थिए। उनकै कार्यकालमा लेखक कृष्ण सेन इच्छुक मारिए। संसदीय प्रजातन्त्रलाई जनसामान्यको नजरमा बदनाम गराउने काम उनैले गरे। सत्ता टिकाउन सांसद किनबेच, पजेरो संस्कृति, सांसदलाई आजीवन भत्ता, सुत्केरी भत्ता र ४८ जनासम्मको मन्त्रिमण्डल गठन गरेर उनले पुनर्स्थापित प्रजातन्त्रको हुर्मत लिए। २०६१ जेठमा राजाले उनलाई पुनर्स्थापना गर्दा आन्दोलनको माग लत्याएर सत्ताका लागि जे पनि गर्छन् भन्ने फेरि एकपल्ट प्रमाणित गरे। यी सबै कृत्यप्रति उनमा कतै प्रायश्चित भाव देखिन्न। तेस्रो दल माओवादीलाई शिरमा राखी सत्तामा गएर उनले राजनीतिक समझदारी देखाउन खोजेको संकेत पनि मिल्दैन।

हाम्रो राजनीतिमा त्याग, इमान र निष्ठाको खडेरी छ। यही खडेरीका सूत्रधार शेरबहादुर देउवाहरू गान्धीवादका रेफ्री बन्छन्। योभन्दा ठूलो अन्तरविरोध केही होला!

प्रकाशित: १ कार्तिक २०७३ ०४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App