२१ कार्तिक २०८१ बुधबार
image/svg+xml
विचार

हिन्दु धर्ममा दसैँको महत्व

प्रत्येक वर्ष हिन्दु धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म लगातार दश दिनसम्म मनाइने परम्परागत पर्वलाई दशैं भनिन्छ। दश दिनसम्म लगातार शक्तिकी अधिष्ठात्रि देवी दुर्गाको उपासना र पूजा गरी मनाइने हुनाले दशैं नामाकरण गरिएको एकातिर पाइन्छ भने अर्काेतिर लगातार नवरात्रिभर अर्थात् प्रतिपदादेखि नवमीसम्म क्रमशः कतै शैलपुत्री, ब्रह्मचारिणि, चन्द्रघण्टा, कुस्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिरात्रि गरी नौ देवीको नाममा शक्तिको पूजा गरिन्छ भने कतै नीलकण्डी, क्षेमङकरी, हरिसिद्धि, रुद्रांसदुर्गा, वाणादुर्गा, अग्निदुर्गा, जयदुर्गा, विन्ध्यवासिनी दुर्गा र रियुमारी दुर्गा गरी नौ देवीको नाममा शक्तिको पूजा गरिन्छ। यीमध्ये जुन देवीको नाममा पूजा गरे पनि नौ देवीको पूजा गरिने हुनाले यस पर्वलाई नवरात्र भनेर पुकारिन्छ। शक्तिकी अधिष्ठात्रि देवी दुर्गा भन्नाले देवदेवीमध्ये सबैभन्दा बढी मान्यता प्राप्त इष्टदेवी, कुलदेवी अथवा प्रमुख संरक्षिका देवीलाई बुझाउँछ। फेरि यो दशैं पर्व हिन्दु धर्मावलम्बीहरूको सबैभन्दा ठूलो चाड भएकाले यस दश दिने दशैंलाई बडादशैं पनि भनिन्छ। कतै–कतै यस दशैंपर्वलाई प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन पनि मनाइन्छ।

नेपालको इतिहासमा लिच्छविकालदेखि नै वैष्णवधर्म, शैवधर्मसहित शात्तलधर्म अर्थात् दुर्गादेवीको पूजा उपासना गर्ने प्रचलन भएको मानिएको छ।

हिन्दु संस्कृतिमा नवरात्र अथवा दशैंको परम्परा र प्रचलन निकै पुरानो मानिएको छ। सत्ययुगदेखि नै नवरात्रभर दुर्गापूजा गर्ने गरिएको पाइन्छ। उदाहरणका लागि सत्ययुगमा देवताले दानवीय शक्तिमाथि विजय पाउनका लागि नवरात्रीय दुर्गा पूजा प्रारम्भ गरेका थिए भने त्रेतायुगमा भगवान् रामचन्द्रले रावणमाथि विजय पाउनका लागि तथा द्वापरयुगमा भगवान् श्रीकृष्णले मानवको दुःख संकट निवारण गर्ने कार्यका लागि नवरात्रमा दुर्गा पूजा गरेका थिए। यसैको फलस्वरूप आफ्नै मामा राक्षशवंशी कंशलाई मारेर मानव उद्धार गरेका थिए। नवरात्रमा माता दुर्गाको पूजा गर्दा वलि दिने प्रचलन रहिआएको छ। यस्तो वलि दिँदा कुभिण्डो, काँक्रो, उखु, पुलाकी (रुखविशेष), वेल, नरिवल र कुशर (दाल–चामल) वलि दिने प्रचलन छ। सप्तमीको दिनमा वचनकी अधिष्ठात्रि सरस्वतीको पुस्तक, कपी, कलम र मसिदानीसमेतलाई एकै ठाउँ राखेर पूजा गरिन्छ। यही सप्तमीको दिनमा फूलपाती भित्र्याउने चलन छ र यो फूलपातीमा नौजातका वनस्पतीहरू समावेश गरिन्छ। ती नौजातका वनस्पतीमा केरा, दारिम, धानको बोट, हलेदोको बोट, कुभिण्डो, कचु (लेदोको जस्तो पात हुने एकप्रकारको बोट), वेल, अशोक र जयन्तीलाई लिइएको छ।

अष्ठमीको दिन महागौरी नामक दुर्गाको पूजा गरिन्छ।यसै दिनको राति कालरात्रिको पूजा गरिन्छ। कालरात्रिमा भैरव, सिंह, र भगवतीको हातहतियार र गणहरूको साथमा अष्ठमातृका, नवदुर्गा र दशमहादेवी, कोटियोगिनी, दिशा र दिक्पालको पूजा गरिन्छ। नवमीको दिनमा त्रिशूल देवीको पूजा गरिन्छ। नवदुर्गामध्येकी अन्तिम दुर्गा सिद्धिदात्रि देवीको पनि यसै नवमीमा पूजा गरिन्छ। यसप्रकार नवरात्रभर नवदुर्गाको पूजा, आराधना गरेपछि दशमीको दिनमा प्रतिपदाको बेलुका शुद्ध माटो र बालुवामा मकै र जौ भिजाएर राखिएका पहेंला जमरा र राता अक्षताले ठूला–वडाले आफूभन्दा सानालाई शुभ आशीर्वाद दिई टीका लगाइदिनाले उत्तम हुन्छ भन्ने हिन्दु धर्मावलम्वीहरूमा विश्वास छ। मान्यजनबाट टीका र जमरा लगाइ आशीर्वाद दिँदा पढिने मन्त्र यसप्रकार छ :

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राधवे।

ऐश्वयं नहुषे गतिश्च पवने मानंच दुर्याेधने।।१।।

सौर्यं शान्तनवे वलं हलधरे सत्यंच कुन्तीसुते।

विज्ञानं विदेरे भवतु भवतां कीर्तिश्च नारायणे।।२।।

यसरी बडामान्यजनबाट दिइने आशीर्वादको श्लोकको अर्थ यस्तो छ– बडादशैंको टीका र जमरा लगाउनाले द्रोणाचार्यका छोरा अश्वस्थामा (अष्ठ चिरञ्जीवीमध्येका एक) को जस्तो दीर्घ आयु होस्, राजा दशरथको जस्तो सम्पत्तिले परिपूर्ण होस्, भगवान् रामचन्द्रको जस्तो शत्रु नाश गर्ने शक्ति होस्, नहुष राजाको जस्तो ऐश्वर्यले परिपूर्ण होस्, राजा शन्तनुका छोरा भीष्मको जस्तो पराक्रम होस्, भगवान् श्रीकृष्णका दाजु बलरामको जस्तो बलले पूर्ण होस्, राजा युधिष्ठिरको जस्तो सत्यवादिता होस्, विदुरको जस्तो ज्ञान र विज्ञानको ज्ञान होस् र भगवान् नारायणको जस्तो कहिल्यै नाश नहुने कीर्ति भएर रहिरहोस्।

यी माथिका आशीर्वादसहितको श्लोक पुरुषलाई टीका र जमरा लगाइदिँदा दिइने आशीर्वाद हो भने महिलालाई दिइने आशीर्वादको श्लोक यसप्रकार छ¬–

जयन्ती मङगलाकाली भद्रकाली कपालिनी।

दुर्गा, क्षमा, शिवा, धात्री, स्वहा, स्वधा नमस्तुते।।

यो महिलालाई टीका र जमरा लगाइदिँदा दिइने आशीर्वादको श्लोकको अर्थ यसप्रकार छ– दशदिनसम्म दुर्गामाताको पूजा र आराधना गरेर मनाइने दशैंमा जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धातृ, स्वधा र स्वहासमेत सबै देवीलाई मेरो नमस्कार छ। यिनै देवीबाट नै सबैको रक्षा भएको हुनाले यी देवीलाई नमस्कार गरिएको हो। छोटकरीमा भन्नुपर्दा नारी नै देवीका रूपमा पूजनीय भएकाले सम्पूर्ण नारीलाई देवीका रूपमा सम्मान गरिएको हो। अर्काे शब्दमा भन्नुपर्दा नारी नै देवी हुन् र देवी नै नारी हुन्। यसप्रकार नारीको पुजन सम्मान नै देवीको पुजन र सम्मान भएकाले समस्त पालनकर्ता भगवान् विष्णुकी बहिनी भनेर पनि पुकारिन्छ। वेदमा दुर्गामाता, कालीमाताजस्तो देवीको उल्लेख नभए पनि पौराणिक कालपछि देवीको उपासना गर्ने प्रचलन सुरु भएको मानिएको छ। नेपालको इतिहासमा लिच्छविकालदेखि नै वैष्णवधर्म, शैवधर्मसहित शात्तलधर्म अर्थात् दुर्गादेवीको पूजा उपासना गर्ने प्रचलन भएको मानिएको छ।

प्रकाशित: १७ आश्विन २०७३ ०४:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App