coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

चार्वाक दर्शनको भाष्यमा सत्ता

सर्वदलीय बैठक

प्रधानमन्त्री: छ कि छैन प्रतिपक्ष ?

ने.का: हामी यहाँ छौँ।

प्रधानमन्त्री: राष्ट्रपति सभामुख पनि सहमति गर्छौँ।

एमाले: पुस १० गतेको तमसुक तोड्न पाइँदैन,

दमननाथ ढुंगाना

‘प्रथमतः उपप्रधानमन्त्रीको लस्करमा सामेल नभएको भए हुन्थ्यो। द्वितीयतः कम्तीमा आफ्नो तर्फबाट राज्यमन्त्री नबनाएको भए हुन्थ्यो। तृतीयतः अरू भन्दा फरक देखिएको भए हुन्थ्यो। चतुर्थतः कागकै हुलमा रमाउने भए आफूलाई गौँथली नभनेको भए हुन्थ्यो।’

केशव दाहाल (लेखक)

माथि उल्लिखित पंक्ति बिहीबार ५ माघ २०७९ र बुधबार ४ माघ २०७९ मा सामाजिक सञ्जालमा प्रकाशित भएको थियो। ढुङ्गाना तथा दाहालको त्यो अभिव्यक्तिले मनमै छोयो। सामाजिक सञ्जालमा असम्बद्ध छु। फेसबुकसँग सम्बन्ध नै छैन मेरो। समय पाउँदा एवम् छापामा प्रकाशित भएका र टि.भी. बाट प्रशारण भएका समाचार मात्र मैले थाहा पाउने सूचनाको स्रोत र आधार हुन्। यसै मेसोमा ढुङ्गाना र दाहालका अभिव्यक्ति पढ्ने मौका पर्‍यो। दुवैको अभिव्यक्ति व्यङ्गात्मक, समसामयिक मात्र नभएर साभारयुक्त लाग्यो।  

‘ओ ओ माधवी’ का लेखकसमेत दाहाल भएकाले निश्चय पनि पूर्वीय दर्शन तथा वैदिक वाङ्गमयको जानकारी छ भन्ने अनुमान गरेँ। त्यसैले पूर्वीय दार्शनिक सूत्रमा अहिलेको राजनीतिक अवस्थाको भाष्यलाई बुझ्नु अझ सान्दर्भिक र उपर्युक्त हुन्छ कि भन्ने लाग्यो। वेदलाई मान्ने र नमान्ने क्रमशः आस्तिक र नास्तिक दुई किसिमका पूर्वीय दर्शन छन्। आस्तिक दर्शनमा साख्यं, योग, न्याय, वैशेषिक, मिमांशा र वेदान्त पर्दछन्। जसलाई षट्दर्शन पनि भनिन्छ। नास्तिकमा बौद्ध, जैन र चार्वाक मानिन्छ। यसमा चार्वाक दर्शन अत्यन्त जड, भौतिक, सुख तथा प्रत्यक्षवादी दर्शन मानिन्छ।  

चार्वाक दर्शनका प्रणेता को हुन् ? भन्ने मतैक्यता पाइँदैन। कसैको भनाइमा देवताका गुरु वृहस्पति यस दर्शनका प्रवर्तक हुन् भन्ने छ। त्यसैले यसलाई ‘‘बृहस्पतय दर्शन’’ समेत भन्ने गरेको पाइन्छ। केहीको धारणामा बृहस्पतिका शिष्य महर्षि चार्वाक यस दर्शनका प्रवर्तक हुन् भन्ने छ। यस दर्शनको मूल ग्रन्थ छैन भनिन्छ। त्यसैले यस दर्शनको स्रोतमा ‘बृहस्पतयसूत्र’ उत्तरवैदिक साहित्य, रामायण महाभारत जस्ता काव्यलाई लिने गरेको पाइन्छ। माघवाचार्यको ‘‘सर्वदर्शन संग्रह’’ कृष्णपति मिश्रको ‘‘प्रमोद चन्द्रोदय’’ जयराशी भट्टको ‘‘तत्व पल्लव’’ र दक्षिणानन्दन शास्त्रीको ‘‘चार्वाक षष्टी’’ आदि ग्रन्थको पनि चर्चा गर्ने गरेको पाइन्छ।  

यस दर्शनले ईश्वर, आत्मा, परामात्मा जस्ता कुरामा विश्वास गर्दैन। जड, भौतिक र सुखवादी दर्शन भएकाले यसलाई ‘लोकायत दर्शन’ पनि भन्ने गरिन्छ। यस दर्शनको भनाइ नै छ ‘‘ऋणंम कृत्वा धृतम् पिवेत यावतजिवेत् सुखम् जीवेत, भस्मभुतस्य देहस्य पुनरागमन कुतः जे÷जसरी हुन्छ सुख पाउनुपर्छ। बाँच्नुपर्छ। ऋण गरेर भए पनि घिउ खानुपर्छ। भष्म हुने शरीर फेरि जन्मन्छ भन्ने हुँदैन। विधानसंगत वा असंगत, आफ्नो राजनीतिक दर्शन र धारणासँग मिल्दो वा अमिल्दो केही हेरिँदैन, मात्र एक मात्र सत्ता चाँसो भएको छ अहिले। त्यसैले चार्वाकको कथनको सूत्र पैँचो लिएर भन्ने हो भने ‘जसरी भए पनि सत्ता प्राप्त गर्ने हो’ यही मान्यता अहिले हावी भएको छ।

चार्वाक दर्शनकै अर्को उत्ति पनि छ। ‘वरमद्य कपोत नंरखो मयूर’ अर्थात भोलि मयूर पाउने आसमा अहिले हातमा परेको परेवालाई छाड्नु हुँदैन। भोलि चुनाव जितेर आउन सकिन्छ वा सकिँदैंन। त्यसैले हातमा पर्ने सत्तालाई किन छाड्ने भन्ने ? सत्ता राजनीतिक मानसिकता हावी छ। त्यसमा पनि निर्वाचन अत्यन्त महङ्गो भयो भन्ने भनाइसम्बद्ध पक्षबाट पटक–पटक आइराखेको छ।  

‘‘पीत्वा, पीत्वा, पुनपित्वा, याव त्यति भुतल’’ पिउ पिउ त्यसबेलासम्म पिउ घिउ जबसम्म पृथ्वीमा झर्दैन। चार्वाक दर्शनको अर्को मान्यता हो। यो सुक्त पनि राजनीतिक अभ्यासमा भइराखेको छ। सत्ता त्यसबेलासम्म कायम रहन्छ जहिलेसम्म आफ्नै संसद् र गठबन्धनका मित्रशक्तिले साथ दिन्छन्। आफ्नै संसद् पनि अरूतिर जाने र मित्र मानेका घटकले पनि साथ छाडेपछि आउने त पृथ्वीमा नै पटक–पटक अभ्यास भइराखेको छ। कसको कतिखेर रूप र आकार बदलिन्छ थाहा पाइँदैन।  

षट आस्तिक दर्शनले मानिसको चार पुरुषार्थको कुरा गरेको छ, धर्म, अर्थ, काम र मोक्ष, त्यसैले वेदको तेस्रो आँखा भनिने ज्योतिषशास्त्रमा जातकको कुण्डलीको १२ भावमा धर्म, अर्थ, काम र मोक्षको म त्रिकोण भाव छुट्याइएको हुन्छ। चार्वाक दर्शनले भने मात्र अर्थ र काम दुई पुरुषार्थलाई मान्छ। सत्ताका राजनीतिक अभ्यासमा अहिले एकमात्र पुरुषार्थ सत्ता भएको छ। आस्तिक दर्शनले अग्नि, पृथ्वी, वायु, जल र आकाश तत्वको कुरा गर्छ भने चार्वाकले अग्नि, पृथ्वी, वायु र जल चार तत्वलाई मान्छ। आकाश तत्वलाई मानिँदैन। प्रत्यक्ष प्रमाण पक्षधर भएकाले अनुमान, शब्द प्रमाणलाई यसले मान्दैन। त्यसैले आकाश प्रत्यक्षरूपमा प्रमाणित छैन भनेर आकाश तत्वलाई मान्दैन। भौतिक प्रत्यक्ष तथा सुखवादी दर्शन भएकाले यसले परिमाणात्मक सुखलाई मान्छ। प्रत्यक्ष तथा सुखवादी दर्शन भएकाले यसले परिमाणात्क सुखलाई मान्छ। वर्तमानमा प्राप्त हुने सुख नै यस दर्शनका लागि अर्थपूर्ण छ। भविष्यको चिन्ता गरिराख्नु हुँदैन भन्ने विश्वास गर्छ।  

धुर्तहरूको रचना र तर्कहीन तथा असत्यताबारे परिपूर्ण वेदमाथि आधारित धर्मलाई मान्नु मुर्खता हो भन्दै यस दर्शनले तर्क गरेको छ– ‘यज्ञमा बलि दिएको पशुले स्वर्ग प्राप्त गर्छ भने ब्राह्मण आफ्नै मातापितालाई बलि दिएर किन स्वर्ग पठाउँदैन ?’ त्यस्तै श्राद्धमा दिएको खाना स्वर्ग वा नर्कमा रहेको मृतात्माले पाउँछ भने परदेश जाने परदेशीलाई बाटोको खानाको व्यवस्था किन गरिराख्नु पर्‍यो ? परदेशीको नाम उच्चारण गरेर कागलाई खान दिएर उसलाई तृप्त बनाए भैहाल्यो नी’ यस्तै विभिन्न तर्क दिएर चार्वाकले आफ्नो दर्शन स्थापित गरेको छ। त्यसैले चार्वाक दर्शनको भनाइ छ– ‘काम एवैक: पुरुषार्थ’ हो राजनीतिक पनि ‘काम एवैक सत्ता, सत्ता, सत्ता।’

मेरो त्यो पुस्ता हो जसले पञ्चायतकालका पाठ्यक्रम पढ्यो। निर्दलीय पञ्चायत वर्गसमन्वय, गाउँफर्क राष्ट्रिय अभियान, विकेन्द्रीकरण मात्र त्यसबेलाको पाठ्यक्रम थिएन, ‘संसदीय व्यवस्था अफाप सिद्ध हुनुको कारण’ पनि पाठ्यक्रममा थियो। बुझेर वा नबुझेर पढ्यौँ। तहगत परीक्षा उत्तीर्ण भयौँ। पाठ्यक्रममा क्रान्तिपछिका १० वर्ष भन्ने विषय पनि थियो। त्यो पढ्न पटयार र झर्को लाग्थ्यो। त्यसमा सरकार गठन र विघटनको कुरा मात्र थियो। सम्झन गाह्रो हुन्थ्यो। राजनीति विकृत र विरूप हुँदा त्यसबेला पढेको ‘अफाप सिद्ध हुनुको कारण’ सम्झनामा आउने गर्छ।  

‘पक्षलाई सरकार विपक्षलाई सदन’ भन्ने माान्यता राख्नुहुने पूर्वसभामुख दमननाथ ढुङ्गानाको अभिव्यक्ति ‘‘प्रतिपक्षविहीन सदनप्रति लक्षित छ भने दाहालको धारणा सैद्धान्तिक विचलनप्रतिको कटाक्ष हो भन्ने लाग्छ। राजनीतिक तर्कले जे-जसरी औचित्यताको पुष्टि गर्ने गरिएको भए पनि कानुनी प्रावधानअनुसार प्रतिपक्षको भूमिका निर्वाह कसले गर्ने भन्ने प्रश्न स्वाभाविकरूपमा उठेको छ। बहस प्रारम्भ भएको छ। राजनीतिक विषयवस्तुमा चियोचर्चा, टीकाटिप्पणी गर्ने पंक्तिकारलाई रुचि लाग्दैन। कहिलेकाहीँ ढुङ्गाना, दाहाल आदि प्रबुद्ध वर्गको संप्रेषित विचारले उत्प्रेरणा दिन्छ। केही लेख्न घच्घचाउँछ। सबै राजनीतिक शक्ति र दलहरूले आ–आफ्नो राजनीतिक दर्शन र निष्ठा गुमाएको अवस्था मात्र होइन। परस्परमा अन्तरघुलन भइसकेको अवस्था छ। आफ्नो चुनाव चिह्नमा होइन, अरू दलको चुनाव चिह्नमा मतदान गर्न कार्यकर्तालाई निर्देशन र मतदातालाई अंशबन्डा लगाउने प्रचलन सुरु भएको छ। यी सबै अवस्थालाई सम्बोधन गर्ने उपर्युक्त दर्शन चार्वाक लाग्यो। त्यसैले चार्वाकको दार्शनिक भाष्यमा अहिले सत्ता मानसिकता छ, अरू सबै तपसिलका विषय हुन्।

प्रकाशित: २० माघ २०७९ ००:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App