७ वैशाख २०८१ शुक्रबार
विचार

सम्माननीय प्रधानमन्त्रीलाई खुलापत्र

अत्यन्तै प्रतिकूल अवस्थालाई अनुकूलतामा बदलेर प्रधानमन्त्री चयन हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना। तपाईं प्रधानमन्त्री भइरहँदा देशमा एक प्रकारको सकारात्मक कम्पन पैदा भएको छ। अत्यन्तै कम व्यक्तिले जीवनमा मुस्किलले एकपटक पाउने अवसर तपाईंले तेस्रो पटक पाउनुभएको छ। यो अवसरलाई राजनेताका रूपमा स्थापित हुने गरी प्रयोग गर्न तपाईंलाई शक्ति र सामथ्र्य प्राप्त होस् र देश र जनताले तपाईंप्रति गौरव गर्न सक्ने काम गर्ने सफलता तपाईंलाई मिलोस्।

तपाईंले केही गर्न चाहना राख्नुभयो भने सारा देशले साथ दिनेछ। पार्टी घोषणापत्र र तपाईँले सचिवहरूलाई जारी गरेका निर्देशन हेर्दा र अनुगमनका नाममा तपाईंका मन्त्रिमण्डलका सदस्यहरूको चौकीदारको जस्तो हर्कत देख्दा यो कार्यकाल सामान्यभन्दा माथि हुन्छ भनेर अनुमान गर्न त मिल्दैन तर तपाईं स्वयं समाजको उत्पादन सम्बन्ध बदल्ने अठोटका साथ क्रान्तिमा होमिएर देशको नेतृत्वमा आउनुभएको र तपाईंको सहयात्री एमालेले पनि परिवर्तनको सन्देश दिन खोजेको देख्दा केही आश लागेको छ।

संविधानले समाजवाद उन्मुख व्यवस्थाको परिकल्पना गरेको भए पनि तपाईंको पार्टी, स्थानीय सरकार, प्रदेश सरकार, विश्वविद्यालय र नागरिक समाज समाजवाद भनेको के हो, यसको आर्थिक सामाजिक विकासको मोडेल के हो र कस्तो हुन्छ? समाजवादको आधार कसरी निर्धारण गर्ने? हाम्रा ऐन/नियम/कानुनहरूले समाजवादको प्रवर्द्धन गर्दै छन् कि घाँटी निमोठेका छन्? भन्ने जानकारी राख्ने जनसमुदाय न्यून छ भने मिडिया, राजनीतिक पार्टीहरू र बौद्धिक सभाहरूमा विगत दश पन्ध्रदेखि नै बहस भएका छैनन्।

तपाईंको सहयोगीका रूपमा रहेका अधिकांश सहयोगी जानेर वा नजानेर, नवउदारवादको वकालत गर्छन्। तपाईँको पार्टीले जितेका कुनै पनि स्थानीय तह समाजवादी बाटोमा हिँडेका छैनन्। न त तपाईंको पार्टीले नेतृत्व गरेका प्रदेश सरकारले कुनै पदचिह्न छाडेका छन्। तपाईंलाई नीति निर्माणमा दैनिक सहयोग गर्ने कर्मचारीतन्त्र समाजवादको बारेमा के/कस्तो जानकारी राख्छ? तपाईंको सचिवालय र विज्ञ समूहले समाजवाद बुझेका छन् कि शब्द उच्चारण मात्रै हो? विगतका अभ्यास हेर्दा आश गर्ने ठाउँ छैन।

सिद्धान्तविहीनको नेतृत्वले यो दुनियामा कहीँ कतै परिवर्तन गर्न सकेको छैन। तपाईंको सरकार पनि सिद्धान्तभन्दा स्वार्थको परिणाम हो भन्ने आमजनमानसको बुझाइ छ तर जित्न चाहने खेलाडीलाई मैदान भए हुन्छ बल जुनसुकै ब्रान्डको भए पनि हुन्छ। तपाईंले मैदान पाउनुभएको छ। त्यसकारण जसरी हुन्छ गोल गर्न नचुक्नुहोस्। खेलाडीका रूपमा अधिकार र दक्षता दुवै तपाईंसँग छ। तर पनि तपाईंले चाहनुभयो भने तपाईंको कार्यकालमा यो देशको मुहार फेरिने दह्रो आधार निर्माण गर्न सक्नुहुन्छ।

केही गर्ने कि नगर्ने तपाईंको शक्ति र सामर्थ्यमा होइन, चाहनामा भर पर्छ। प्रधानमन्त्रीको कुर्सीमा बसेर तपाईं के चाहनुहुन्छ त्यही तपाईंको व्यक्तित्वको पहिचान हुनेछ। तपाईं राज्यको ठेक्का लिएर समयमा परियोजना सम्पन्न गर्न नसक्ने भनेर चिनिएका शारदाप्रसाद अधिकारीलाई दण्डित गर्न चाहनुहुन्छ कि पुरस्कृत? यहीँबाट तपाईँको यो कार्यकालको यात्रा सुरु हुन्छ। उनी एक प्रतिनिधि पात्र हुन राम्रो काम गर्न नसक्ने। तपाईँका नजिकका लागि तपाईं कसरी प्रस्तुत हुनुहुन्छ भन्ने मान्यता यहाँबाट प्रस्तुत हुन्छ। यसमा किमार्थ संझौता नगर्नुहोस्।

वामपन्थीहरू (विशेषतः माओवादीहरू)का लागि यो अन्तिम अवसर वा लडाइँ हो। गरिब गाउँलेहरूको भाग्य र भविष्यको केन्द्रका रूपमा रहेको तर शदियौँदेखि राजनीति क्रिडास्थल बनाइएको त्रिभुवन विश्वविद्यालयको आमूल रूपान्तरण चाहनुहुन्छ कि यथास्थितिको निरन्तरता? खुला प्रतिस्पर्धाबाट विदेशी शैक्षिक व्यवस्थापन विज्ञलाई आगामी ५ वर्षका लागि उपकूलपति ल्याउने इच्छाशक्ति छ? व्यवस्थित शिक्षा ऐन ल्याएर सरकारी शिक्षालाई भरोसायोग्य र साम्राज्यवादीहरूलाई दनक दिनेगरी शिक्षालयहरूको पुनस्र्थापना गर्ने चाहना छ? के बर्सेनि लाखौँ विद्यार्थी नेपाली शिक्षालयहरूमा अध्ययन गर्न आउन् भन्ने चाहना छ?

गतवर्ष लकडाउनमा सामान्य अक्सिजन नपाएर गण्डकी अस्पताल, वीर अस्पताल, नारायणी अस्पताल जस्ता सरकारी अस्पतालमा धेरैको ज्यान गयो। के ती अस्पताललाई सुविधा सम्पन्न बनाउने र स्वास्थ्य र शिक्षा मुनाफाका लागि होइन भन्ने कुरा स्थापित गर्न चाहनुहुन्छ? अहिले पनि भान्सा छोइयो भनेर दलित समुदायमाथि विभत्स हत्याका घटना सुन्नुपर्छ, छाउ गोठमा अवोध चेलीहरूले प्राण गुमाएको कुरा सुन्नुपर्छ, देशको उत्पादनशील युवा जनशक्ति जीविकोपार्जनका लागि जोखिमपूर्ण काममा विदेशमा छन् र दैनिक चार, पाँच जना बाकसमा आउने तथ्य शायद तपाईँलाई पनि थाहा होला। के तपाईं यो रोकेर नयाँ अवस्था सिर्जना गर्न चाहनुहुन्छ?

अत्यन्तै उत्साह र जित भनिएको संघीय संरचना र त्यो सफलताका लागि तपाईंहरूले तयार गर्नुभएको स्थानीय सरकार सञ्चालन ऐन तथा निर्देशिका (प्रतिगामी ऐन) बदलेर सक्षम, स्वायत्त र अधिकार सम्पन्न स्थानीय तह बनाउन चाहनुहुन्छ? कमरेड यस्ता धेरै कुरा छन् जुन यो समाजले बदल्न चाहन्छ तर यस्तै अव्यवस्थावाट लाभ लिनेहरूले शक्ति र परिवर्तनका मुहान कब्जा गरेका छन्। तपाईंहरूलाई प्रभावमा पारेर निरन्तर आफनो स्वार्थ सिद्ध गरेका छन्। जानेर होस् वा नजानेर तपाईंहरू त्यो वर्गको भरिया बनेर निरन्तर काम गरिरहनुभएको छ। कम्युनिस्ट पार्टीहरू पनि आज तिनीहरूकै मतियार भएका छन्। यो आरोप होइन, यो यथार्थता हो। त्यसकारण यस पटक यी सबै बेथिति तोडेर नयाँ समाजको आधार निर्माण गर्न तपाईँ नेतृत्वको सरकारबाट अपेक्षा गरिएको छ।

तपाईंले चाहनुभयो भने यो परिवर्तनको सुरुवातको आभास नागरिकले १५ दिनबाट नै गर्न थाल्छन् र प्रत्येक दिन तपाईंप्रति अपार विश्वास र भरोसा बढ्दै जान्छ। स्मरण रहोस्, दुनियाँमा कहीँ पनि विकास सरकारले गर्दैन। विकास गर्ने नागरिकले हो र नागरिकलाई परिचालन गर्ने गरी प्रस्तुत हुने काम सरकारको हो। तपाईँले ३ करोड नेपालीलाई कुनै न कुनै रूपमा आबद्ध गराउने गरी काम गर्ने तरिका अपनाउनुभयो भने काखे बच्चादेखि वृद्ध बा आमा तपाईंको अभियानमा सहभागी हुनेछन्। धेरै पहिला एकजना जर्मनले किन कसैले भ्रष्टाचार सोच्न पनि सक्दैन भन्ने कथा सुनाउँदै भनेका थिए-कुनै श्रीमान्ले भ्रष्टचार गरेको शंका गरेमा श्रीमतीले पारपाचुके गर्छिन् र बाले भ्रष्टाचार गरेको थाहा पाए छोराछोरीले बहिष्कार गर्छन्, छिमेकी बोल्दैनन् र व्यापारीले समान बेच्दैन। यसरी बहिष्करणको चंगुलमा परेपछि त्यहाँ बाँच्न सकिँदैन। त्यसकारण जर्मनीमा कसैले भ्रष्टाचारको बारेमा सोच्न पनि सक्दैन।

अख्तियारले होइन भ्रष्टाचार नियन्त्रण गर्ने। त्यो गर्ने नेकपा माओवादी, एमाले, कांग्रेस, समाजवादी जस्ता स्थापित पार्टीहरूले हो। तपाईँका संगठित सदस्यहरूले अगुवाइ गर्ने हो र आमनागरिकले त्यसमा साथ दिने हो। तपाईं यो प्रचलनको सुरुवात गर्न चाहनुहुन्छ? तपाईंलाइ थाहा होला नयाँ संविधान आइसकेपछि देश आज पनि प्रतिगामी ऐन कानुनले चलिरहेको छ। नयाँ ऐन कानुन आवश्यक छन्। तपाईंले चाहेमा एक हप्ताभित्र सबै कानुन बदल्न सक्नुहुन्छ तर के तपाईं त्यो गर्न चाहनुहुन्छ?

तपाईं यो कार्यकाललाई अविस्मरणीय बनाउन चाहनुहुन्छ भने अरूमा होइन, आफूमा परिवर्तन गर्नुहोस्। यो देश विकास गर्न तपाईँले देश दौडाहा गर्नै पर्दैन। सिहदरवारमा बसेर दैनिक प्रयोगमा आउने सबै ऐन कानुन र नियमावलीहरूमा परिवर्तन गर्नुहोस्। समाजवादी नीति ऐन, कानुन बनाउनुहोस्। दण्डहीनता अक्षम्य छ भन्ने सन्देश दिनुहोस्। दैनिक रूपमा अनियमितता गर्नेहरू सरकारी कठघरामा उभिएका छन् भन्ने दृश्यहरूको प्रत्यक्ष प्रसारण गर्ने ब्यवस्था मिलाउनुहोस्। गति बदल्नुहोस्।

यो परिकल्पनाको गतिमा परिवर्तन ल्याउने युग हो। कानुनले रोकेको छ भने अध्यादेश ल्याउनुहोस्। सहकर्मी दलहरूसँग सहकार्य गरेर नयाँ कानुन बनाउनुहोस्। अनुत्पादक उद्घाटन, बधाई शुभकामना, बैठक, छलफल बन्द गर्नुहोस्। स्थानीय सरकार, प्रदेश सरकारका गाह्रा, अप्ठेराहरूलाई सहजीकरण गर्नुहोस्, स्थानीय पार्टी कमिटी, समुदायमा आधारित सामुदायिक संगठनहरू (आमा समूह, सामुदायिक वन उपभोक्ता समूह, टोल विकास समिति, विद्यालय व्यवस्थापन समिति) परिचालन गरी समाजवादका आधार निर्माण गर्न उत्प्रेरित गर्नुहोस्।

(प्रमुख कार्यकारी, इस्टर्न रिसर्च इन्स्टिच्युट अफ पोजिटिभ साइन्स)

प्रकाशित: २ माघ २०७९ ००:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App