'काटोँ का ताज' पहिरिएर गोमन सर्पलाई द्वारपाल राख्दै गणतन्त्र नेपालका ३९ औँ प्रधान मन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) दोस्रोपटक सिंहदरवार प्रवेश गर्दैछन्। समय छोटो छ। चुनौतीको सगरमाथा खडा छन्। समग्र समाजकै महत्वाकांक्षा बढाउने विद्रोही नेतासँग आशा र अपेक्षा पनि त्यत्तिकै चुलिएका छन्। पहिलो पटक जस्तो अहिले जनयुद्धको राप, ताप र चाप छैन। विरोधी संगठित छन्। दुश्मनले दाह्रा तिखारेकै छन्। भूकम्प र नाकाबन्दीले थिलथिलो भएको जनमत निरास छ,। मनोयुद्धको चक्रब्यूह अझ कसिँदो छ। तर महान् सम्भावना भनेको महान् चुनौतीसँंगै हुन्छ। अरुले के भन्छ भन्दा पनि आफूले के गर्नुपर्छ भन्ने उनका सदा मान्यता रहे त्यो अब परीक्षामा छ।
महान् वैज्ञानिक आइन्सटाइन्ाको प्रख्यात भनाइ छ– 'एउटै काम बारम्बार उही प्रक्रियाले गर्ने तर फरक परिणाम खोज्नु पागलपन हो।' माओवादी अध्यक्षले पनि अहिलेको सरकार गठनलाई फरक तरिकाले अभ्यास गरेर आफ्ना लक्ष्ययात्रा थाले। उनी विद्रोहका कमान्डर भएकाले विषयलाई सनातनी सोचबाट मात्रै हेर्दैनन् क्रमभंगता उनको प्रिय शब्द हो। हो,... राजनीति विचार मात्रै हैन, कला पनि हो र समयको गतिको नाडी छाम्नु पनि पर्छ। प्रतिकूलतालाई अनुकूलतामा कसरी फेर्ने भन्ने सोचलाई केन्द्रमा राख्दै फरक तरिकाले नचले कोही पनि धरापबाट उम्कनै सक्दैन्।
जब पुरानै तरिकाले लक्ष्यमा पुगिँदैन् तब समयले फरक अभ्यास र शैली माग गर्छ। चुनौतीलाई हाकाहाकी स्वीकार्नु र एकाएक पुराना कार्यनीतिका ठाउँमा नयाँ अभ्यास थालनी गर्नु भनेको सनातनी जीवनबाट क्रमभंगता गर्नु हो। त्यस क्रमभंगताले पुरानै शैली, स्वभाव, योजना, मित्र र विमित्रभन्दा नौला नौला अभ्यास माग गर्छ। सरकार र सत्तालाई एउटै सोच्ने पक्षले नौला कुरा एकाएक आउँदा सनातनमा अभ्यस्तताका सोचले सहज तरिकाले स्वीकार्नै सक्दैन्। दोहोर्याई रहनुपरेन कि अझ हाम्रा विचारनिर्माताहरुको ठूलो समूह क्रिएटिभभन्दा पूर्वाग्रही छ। कुलीन संस्कृति र सुखासीन समाज सोचको सिमेन्टेडपनामै रमाएर फेरिएको सन्दर्भ बुझ्ने प्रयत्नै गर्दैन्।
कहिल्यै नसुनिएका, प्रयोग नभएका धेरै शब्द जनयुद्धकालमा चले, सुनिए र अभ्यास भए। हरेक कालखण्डमा प्रत्येक शब्द र नामका अर्थ, महत्व, सन्देश र सामर्थ्य हुन्छन्। जनयुद्धकाल होस् या शान्तियुद्धकाल, शब्द, शब्दमात्रै रहेनन्, राजनीतिक अर्थ, महत्व सन्देश पनि रहे। तब आश्चर्यलाग्दा शब्द पनि चलाउन सनातनी मिडिया विवश भए। समय फेरिँदै गयो। भेरी–कर्णालीमा धेरै पानी बग्दै गए। शब्दका जन्मदाताहरु कतिपय सत्ताका शिकार बने भने कतिपय स्वयम् सत्ताधारी भए। परिस्थतिसँगै कतिपय शब्द हराए, कतिपय धुकधुकीमा मात्र छन्, कतिपयले भने अझै शब्द सामर्थ्य राख्छन्। त्यसमा सबभन्दा अग्रपंक्तिमा प्रधान मन्त्री प्रचण्ड पर्छन्।
अहिले पुष्पकमलसँगको चुनौती, आशा र अपेक्षा भनेको के हो भने उनले आफ्नो जीवनमा धारण गरेका पाँचैवटा नामको व्यावहारिक फ्युजन गरेर नयाँ सन्देश दिन सक्छन् कि सक्दैनन् भन्ने हो।
कार्यकर्तालाई आदेश र समाज परिवर्तनका ज्यावल बनेका जनयुद्धकालीन ती केही शब्द र वाक्यमा फ्युजन, क्रमभंगता, छलाङ, हस्तक्षेप, गोलचक्कर, रूपान्तरण, कारबाही, सेबोटेज, कमरेड, लालसलाम, रेकी, आर्क, एसाल्ट, सेल्टर, आइएन्टी, एसियम, डिसियम, इन्चार्ज, जनअदालत, जनसरकार, आफ्नै टाउकोमा राँको लगाउनु, हेल्मेट खोलिदिएर साथीलाई टाउकोमा राँको लगाउन सहयोग गर्नु, रुँदारुँदै हाँस्नु र हाँस्दाहाँस्दै रुनु, सांस्कृतिक कारबाही, भगौडा, कब्जा आदि पर्थे। स्थानीय परिस्थतिअनुसार पनि शब्द, वाक्य र लोककथालाई युद्धकथामा फेरिन्थे। लोकसंस्कृति नयाँ सोचसँगै गाँसेर युद्धका मानसिक हतियार पनि हुन्थे। त्यसमा सबभन्दा अर्थपूर्ण नेता र कार्यकर्ताले राख्ने आफ्ना भूमिगत नाम हुन्थे। नामका अर्थ, महत्व र सन्देश हुने नै भइगयो। कतिपय नाम योद्धा आफैँ रोज्थे भने कतिपय सहयोद्धा वा नेताहरुले राखिदिन्थे। आफँै राख्ने नाममा संकेत मात्रै हुँदैनथ्यो, त्यसमा राजनीतिक प्रतिबद्धता र सांस्कृतिक आचरण, युद्धका मार्गचित्र र लक्ष्य पनि किटान हुन्थे।
अहिले म सोच्छु– आफँै राखिएका नामप्रति कति नेता र कार्यकर्ताले अहिले न्याय गरेका छन् त? कतिलाई बोझ र व्यंग्य बनेको पनि होला, कतिपयले तत्कालीन समयको अभिव्यक्ति हो भनेर उम्कने बहाना पनि खोजिरहेका होलान्। ती शब्दमात्रै हुँदैनथे, बोल्नसक्ने 'औजार भुइँ मान्छले' स्थानीय सत्ता हल्लाएको थियो, केन्द्रीय सत्तालाई मक्काइदिएको थियो।
मानिससँग सबभन्दा नजिक छायाँ हुन्छ तर छायाँ बन्न वस्तुसँंगै प्रकाशको अनिवार्यता हुन्छ तर जीवन अभ्यासक्रममा बिताएको समय र अभ्यास गरिएका शब्द, त्यसले पैदा गर्ने स्वभाव र संस्कृतिले भने जहिले पनि भूमिकालाई प्रभावित पारिरहेको हुन्छ। क्रमभंगता जस्तै कालान्तरमा फ्युजन शब्दको मर्म पनि प्रधान मन्त्री दाहालको भूमिका दिशानिर्देश गर्ने प्रिय शब्द बन्यो। आफ्नै जीवनमा दाहालले ५ वटा नाम धारण गरे। वंशले दिएको छविलाल, आफैँले नामाकरण गरेको कानुनी नाम पुष्पकमल, नेपाली कम्युनिस्ट आन्दोलनको चौथो महाधिवेशन कालदेखि नेकपा मशालको महामन्त्री बन्ने बेलासम्म विश्वास र पार्टी एकता अभियान चलाउँदा अर्थात एकता केन्द्र बन्दा निर्माण र जनयुद्धकालभर प्रचण्ड उनका नाम रहेे। अहिले उनलाई देश र विदेशमा पुष्पकमल दाहाल 'प्रचण्ड' भनेर चिनिन्छ।
जनयुद्धमा उनले अभ्यास गरेको रणनीतिक विचारमा सबभन्दा ज्यादा क्रमभंगता र फ्युजन शब्दका मर्म, अर्थ र अभ्यास कार्यनीतिक सिद्धान्तको उत्प्रेरक बन्न पुग्यो। अर्थात पुराना अभ्यास छाडेर नयाँ अभ्यास सुरु गर्ने क्रमभंगता र दुई चरित्रको रणनीतिलाई एउटामा मिश्रण गरेर तेस्रो प्रकृतिको अभ्यास गर्नु थियो। अहिले पुष्पकमलसँगको चुनौती, आशा र अपेक्षा भनेको के हो भने उनले आफ्नो जीवनमा धारण गरेका पाँचैवटा नामको व्यावहारिक फ्युजन गरेर नयाँ सन्देश दिन सक्छन् कि सक्दैनन् भन्ने हो।
उनले धारण गरेकै नामको फ्युजनमा केन्द्रित हौँ। संक्रमणकालमा शान्तियुद्धको घनघोर शीतयुद्ध चल्योे। त्यसक्रमका प्रचण्डविरुद्ध छविध्वस्त अभियान नै चल्यो। त्यो मनोयुद्धको योजनाबद्ध अभियान थियो। त्यसको कतिपय शीर्षक उनै, उनकै परिवार र नातागोताले उपलब्ध गराए। कठोर हुन सकेनन्। त्यसले विश्वास गुम्न पुग्यो। पराइले अविश्वास गर्नु स्वाभाविक हुन्थ्यो। आफन्त र कार्यकर्तामा समेत विश्वास ह्रास हुँदा पार्टी फुट्यो। सामाजिक अपिल गर्ने नैतिक पँुजीमा घाटा लाग्यो। ध्वस्त र निर्माण त जनयुद्धको चालक शक्ति थिए नै अर्थात विधिमा टेक्दै (विद्रोह र क्रान्तिको आदर्शमा टेक्दै) विधि ध्वस्त गर्दै (पुरानो सत्तामा चौतर्फी आक्रमण) नयाँ विधि निर्माण गर्ने प्रचण्ड राप र तापसहित होमिनु थियो। अब भने राजनीतिक अभ्यास थलो फेरिएका छन्। आउने समयमा उनले छविध्वस्त अभियानलाई (इमेज ड्यामेज मिसन) प्रतिकार गरेर कसरी मनोयुद्ध झेल्नेछन्? विश्वास कसरी पुनर्प्राप्त गर्नेछन्? समय छोटो छ। प्रचण्डवेगमा आफ्ना गतिविधि कसरी आँधीमय अभियान चलाउनेछन्? त्यसका लागि केलाई जोड दिने? केमा ध्यान पुर्याउने? के के अवसर हुन? र, के के बाधा हुन्? आवेगमय जनतालाई कुन कुन विषयलाई विश्वस्त लिने त छँदैँछ, संगठित विरोधी शक्तिले उसलाई उराल्नेछ भनेर ध्यान दिनुपर्ने हुन्छ। उनले धारणा गरेका नामले समयको गतिमात्रै पछ्याएको थिएन् दायित्व किटान र उनका भूमिकाको मार्गचित्र पनि कोरेको थियो। के अब प्रधान मन्त्री दाहालले ती पाँचै नाम फ्युजन गरेर इतिहासले फेरि दिएको मौका, सुम्पिएको अभिभारा दागरहित पूरा गर्न सक्लान्?
इतिहासले खोज्ने उत्तर भनेको उनी छोटो समयका लागिमात्र प्रधान मन्त्री भएका हुन्। आन्तरिक र बाह्य चुनौतीको चक्रब्यूह तोड्ने इच्छाशक्तिले नै शान्ति सम्झौताको व्यावहारिक कार्यान्वयन, सत्ताचरित्रमा फेरबदल, आन्तरिक र बाह्य राष्ट्रवादको नयाँ अभ्यासमात्र गर्न सक्नेछ। त्यसका लागि उनले नयाँ परीक्षासमेत दिनुपर्ने हुनेछ। त्यो उनले धारण गरेको नामले दिने संवेदनाको फ्युजनको व्यावहारिक अभ्यासबाट मात्र हुन सक्नेछ। त्यसमा आफैँप्रति निर्मम हुनु, समयसंँगै लचिलो हुनु, लक्ष्यप्रति दृढ र दैनिक व्यवहारमा लचिलो हुनु, जनताको सोचको स्तरभन्दा न धेरै अगाडि न सँगसँगै बढ्नुपर्ने हुन्छ। नौरंगी सहयात्रीलाई विश्वासमा लिएर बढ्नु त छँदैछ, गोर्खे राष्ट्रवादको आवेगले सदा सताउनेछ। त्यसैले आवेगलाई विवेकसम्मत कसरी बढाउने भन्ने मुख्य चुनौती बन्नेछ उनलाई।
प्रकाशित: २१ श्रावण २०७३ ०६:०० शुक्रबार