१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

महिला भर्सेस महिला

सातआठ महिनाकी गर्भवती महिला सकिनसकी भिडमा बस चढिन्। देब्रे हातले आफ्नो पेट समात्दै भिड बसमा उक्लिइन् तर सिटमा बस्ने महिलाहरूले त्यो दृश्य देखे पनि कसैले आफू उठेर उसलाई बस्न आग्रह गर्न सकेनन्, बरु बल्ल बल्ल पाएको सिट छोड्नुपर्छ भनेर आँखा चिलेर एयरफोन लगाएर बसे। कोही झ्यालतिर हेरेर बसे। एक पुरुषले भने दिदी अर्को बस कुरेर सजिलोसँग गएको भए हुन्थो भन्यो। उनले भनिन्, ‘समयमा नै कार्यालय पुग्नुपर्छ। के गर्नु भाइ जानै पर्‍यो। ती महिलालाई उठेर बस भन्दै कुनै महिलाले पनि सम्मान गर्न सकेनन्।  

केही दिन अगाडि बसमा एकजना भर्खरकी केटी सिटबाट उठ्दा कपडाभरि रगत लाग्यो र सिटमा रगत देखेपछि हत्तपत्त सिटमा बस्न खोजेकी महिला कराइन्, ‘के गरेर हिँडेको बेइज्जती आइमाई। लाज पनि छैन।’ ती केटीलाई सबैले हेरे। उनी भुइँमा हेर्दै हिँडिन्।  

कुनै पनि महिलाले महिनावारी हुँदा लापरबाही गरेर हिँड्दैनन्। सन्जोगले त्यस्तो अवस्था आउँछ। एउटी महिलाले अर्की महिलाको त्यो अवस्था बुझ्न नसक्र्दा दुःख लाग्यो। साच्चै नै महिलालाई धेरै गाह्रो छ तर महिलालाई गाह्रो महिलाबाट नै भएको महसुस गरें धैरै ठाउँमा।

हामी महिला अधिकारको कुरा गर्छौं। महिला आवाज उठाउँछाैं। मान्छे भेट भएपछि ठुला ठुला कुरा गर्छौं। सभा सम्मेलनमा भाषण गर्छौं। महिला अधिकारको माग राख्छौं तर दुःखको कुरा एउटी महिलाई पर्दा अर्की महिलाले साथ दिन भने सक्दैनौं। एउटी गर्भवती महिलालाई जुरुक्क उठेर सिट छाड्न सक्दैनाैं। हातमा नानी बोकेर बस्दा पनि आँखा चिम्लेर बस्छाैं। हामीले अरूलाई सम्मान दिन जानेकै छैनाैं। यस अवस्थामा अरूले कसरी दिन्छन् सम्मान ?  

सिनामंगल स्थित अस्पतालमा डेलिभरी गराउन आएकी एक महिलालाई दुख्यो भन्दा एउटी नर्सले बेसरी हप्काइन्, ‘दुख्छ भन्ने थाहा पाउँदापाउँदै किन दोहोर्‍याएर पेट बोकिस् ? चुप लागेर बस्।’ गाह्रो हुँदा गाह्रो हुन्छ भन्न सबैले पाइन्छ। यो अधिकारको कुरा हो। एउटी महिला अझै हरेक नागरिकले विश्वास गर्ने नर्सको त्यो व्यवहारले सबै वाक्क भए। हरेक महिलाले ओहोदामा बसेर काम गरिसकेका छन्। हरेक महिलाले अहिले चाहेका सपना पूरा गरेका छन् तर पनि विचार परिवर्तन हुन सकेको छैन।  

यो एउटा नमुना मात्र हो। एकजना सासूले भनिन्, ‘धन्न मेरा दुई बुहारी मिल्दैनन् र बोल्दैनन्। यी दुई मिले भने मलाई त गाह्रो पथ्र्यो। कहिले यता कहिले उता बस्छु। आनन्द छ। मिलाउनभन्दा पनि उनीहरू छुट्टिएर नै बसेको राम्रो लाग्छ उनलाई।  

दुर्भाग्य हामी पुरुषलाई मात्र दोष दिन्छौं तर महिला महिलाबीचको भित्री द्वन्द्व हामीले अझै सुधार्न सकेका छैनौं। ‘विवाह गरेको तीन वर्ष पनि पुुग्न नपाउँदै कलिलै उमेरमा मेरो साथीको श्रीमान् बित्नुभयो। अमेरिकामा उनी २६ वर्षकी थिइन्। उनीप्रति भएको जातीय प्रथा झन् गाह्रो थियो। पुुस महिनाको त्यो चिसो समयमा तीन महिने गर्भवती महिलालाई काठमाडौं आएपछि १३ दिनसम्म अलिनो खाएर क्रिया बस्नुपर्‍यो। घटना ताजैजस्तो लाग्छ, छोरा मरेर मैले यो पीडा सहेको छु भने १३ दिन गुुफामा बस्दा यो हालत ?’ शिक्षित सासूले भनेकी थिइन्।  

समाज परिवर्तनशील छ तर यस्ता प्रथाको आडमा आइमाई अझै पिल्सिँदै छन्।

सती प्रथाको अन्त्य भएको सयौं वर्ष भइसक्यो तर पनि हामी महिला अझै उठ्न सकेका छैनौं। मानिसको आडम्बरी सोचले महिलालाई दिनहुँ अन्याय र अत्याचार सहनुपरेको छ।  

केही दिनअघि डाक्टरजस्तो मान्छेले दाइजो कम ल्याएका कारण श्रीमतीलाई यातना दिएको घटना बाहिरियो। शिक्षितको घरमा पनि यस्तो अवस्था छ अझै भेटिन्छ।  

महिला हकहितको कुरा गरिरहेका बेला आफ्नै छोरीले आमालाई घरबाट निकालेको खबर सुनिन्छ, सासूले बुहारीलाई यातना दिएको खबर सुनिन्छ। त्यसैगरी सासुलाई लाञ्छना लगाउने बुहारीहरू पनि प्रशस्त भेटिन्छन्। देउरानी जेठानीबीच लडाइँ सुनिन्छ। रमिता बनेर हेर्ने छिमेकी मुसुक्क हाँस्छन्। घरमा एउटी महिला छ भन्ने थाहा पाउँदा पाउँदै सौता बन्न तयार हुन्छन् महिला। यस्ता घटना समाजमा धेरै छन्।

आइमाईले पूजामा कालो रङको कपडा लगाएको बहानामा आइमाईको बुुद्धि नभएको भन्दै आइमाईबाट नै अपहेलित हुनुपर्छ। काममा जान हतार भइरहेको हुुन्छ। हेर हातमा चुुरा पनि छैन। कति फुस्रो भएर हिँडेको राम राम भन्दै कस्ती आइमाई भन्छन् आइमाईले नै।

कार्यालयमा आफ्नो मेहनतले प्रमोसन हन्छिन् एउटी महिला तर महिला नै खुसी हुनुभन्दा पनि चियोचर्चो गर्दै बाधा हाल्न खोज्छन्। एक महिलाले अर्की महिलालाई धारे हात लगाउनभन्दा पनि सम्मान गर्न सिकौं।  

महिलाले यो कुरा बिर्सेका छन् कि आज चोर औंला अरूलाई उठाउँदा बाँकी चार औंला कुनै दिन आफैमाथि आइपर्न सक्छ। समाज यही नै हो भन्ने कसैले नभुलौं। माटाको डल्लाले माटाको डल्लालाई हिर्कायो भने माटै भुट्छ।  

हामीले घर बनाउन जानेका छैनौं तर समाज बनाउने सपना बुन्छौं। काम गरिरहेको कार्यालयमा एक्कासी महिनावारी भयो। साथीसँग प्याड मागें तर कसैले पनि छ भनेन। मलाई प्याड किनेर ल्याइदेऊ न भन्दा पनि कसैले मानेनन्। म बिस्तारै आफै गएर प्याड ल्याएँ। मलाई गाह्रो प¥यो र पठाओ बोलाएर घर गएँ। यस्ता गुनासो सुनाउने साथीहरू पनि धेरै छन्।

घर घरमा महिला महिलाबीच कलह हुन्छ। कार्यालयमा एउटी महिलाको कुरा अर्की महिलाले काट्छन्। कतै एउटा जमघट हुँदा महिला महिलाबीच भेट भयो भने अर्की महिलाको कुरा काट्न भ्याइहाल्छन्।  

एक महिलाको प्रगतिमा अर्की महिला अझै रमाउन सकेका छैनन्। अझै फलानीले राम्रो गरी भनेर प्रशंसा गर्नुभन्दा पनि आलोचना गर्छौं हामी।

समय परिवर्तन भए पनि हाम्रो पुरानो मानसिकता परिवर्तन हुन सकेको छैन। एउटी महिलाको पीडामा किन मलम लगाउन सक्दैनौं हामी ? 

प्रकाशित: ३० पुस २०७९ ०२:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App