coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

बालेनको ‘काव्यात्मक’ चेत

राजा फर्काउँछु भन्ने,

राजा चाहिन्न भन्ने,  

र ,

राजा मार्छु भन्ने तीनटै सरकारमा।

हामी प्रजा सधैं सास्तीमा।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पुसको चिसोमा गरेको काव्यात्मक भावको ‘स्वतन्त्र ट्वीट’ ले सामाजिक सञ्जाल निकै ततायो। देउवा गठबन्धन भत्किएपछि बनेको प्रचण्ड गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको एकतालाई लिएर शाहले लेखेका तीन लाइन कविताले तीसाैं लाखको ध्यान खिच्यो।  

राजावादीको पार्टी भनेर चिनिने राप्रपा, राजतन्त्रको अन्त्य र गणतन्त्रका लागि भन्दै युद्ध गरेका माओवादी र राजा चाहिन्न भनेर आन्दोलनमा ओर्लेको भन्ने एमाले पार्टीबीचको यो गठबन्धनले मेयर बालेनलाई जस्तै धेरैलाई आश्चर्यमा पारेको छ।  

राजवादी र राजाविरोधीबीचको यो गठबन्धनलाई लिएर कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले ‘यो शुद्ध सत्ता र पदका लागि जम्मा भएको गठबन्धन हो’ भन्दै यो आफ्नै बोझले थिचिएर अन्त्य हुने बताए।  

यस्तो गठबन्धन कसरी सम्भव भयो भनेर भारतीय पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानका आधारमा यस्तो एकता सम्भव भएको भन्दै यसले लोकतान्त्रिक आन्दोलनलाई झनै मजबुत बनाउने दाबी गरे।  

मेयर शाहले माथिको ‘त्रिवेणी ट्वीट’ गर्नुभन्दा अगाडि यस्तै भावको अर्को ट्वीट पनि गरेका थिए। ‘नयाँ सांसदहरू, नयाँ गफाडीहरू ! उही पुरानो देश। उही पुराना व्यापारीहरू।’ संघीय निर्वाचनमा छानिएका सांसदप्रति कटाक्ष गरेर उनले गरेको यो काव्यात्मक ट्वीट पनि निकै चर्चित रह्यो। कतिपयले मेयरले गरेको ट्वीट समय सान्दर्भिक भनेर टिप्पणी गरे भने कतिपयले आफ्नो काम छाडेर अरूको काममा बढी ध्यान नदिन आग्रह गरे।  

पत्रकारसँग प्रत्यक्ष संवाद नगर्ने शाह सामाजिक सञ्जालमा निकै सक्रिय छन्। सामाजिक सञ्जालमा उनले गरेका ट्वीट क्षणभरमै समाचार बनेर संसारभर पुग्छन्। शाहले अहिले मात्र होइन, विभिन्न समयमा विभिन्न खाले ट्वीट गरेर चर्चामा आउने गरेका छन्। यसमध्ये उनका काव्यात्मक ट्वीट त झनै सटिक हुन्छन्। यसमा राजनीतिदेखि मायापिरतीसम्म गासिएका हुन्छन्।  

‘एक अक्षरबाट शब्द, अनि मन्त्र भएँ म,

तिमीले,  

मायाले बाँध्यौ, अनि स्वतन्त्र भएँ म।’  

माया र स्वतन्त्रताको विषयमा गरेको उनको यो टिप्पणी पनि धेरैले मन पराएका छन्। उनको कामको तारिफ गर्ने मात्र होइन, कामको तारिफ नगर्नेले पनि कविता मन पराएको देखिन्छ। ‘काम खासै नगरे पनि मेयरमा काव्यात्मक चेतना भने निकै रहेछ,’ सामाजिक सञ्जालमा दीपक सन्जेल लेख्छन्, ‘कवितामा जस्तो काममा पनि छन्द मिले कति राम्रो हुन्थ्यो होला।’  

टुकुचा उत्खननका समयमा मेयरले पोस्ट गरेको कविता पनि निकै चर्चित छ।  

‘ऊ हराएको छैन,  

ऊ बगिरहन्छ

तिम्रो सास रहेसम्म  

तिम्रो आस रहेसम्म  

तिम्रो अर्थी सेलाइन्जेल

हाम्रो लास बहेसम्म  

निरन्तर, निर्विरोध, निदोष

यो धर्ती आकाश रहेसम्म’

जमिनमुनि हराउँदै गएको टुुकुचा खोलासँग सम्बन्धित यो कविताले त्यति बेला पनि निकै चर्चा पायो। ‘अहिले त टुकुचा होइन, मेयरज्यू नै हराएकोजस्तो लागेको छ,’ सामाजिक सञ्जालमा विवेक प्रजापति लेख्छन्, ‘कुनै पनि कुराको सुरुवात गर्ने अनि बीचैमा छाडेर अलपत्र पार्ने काम पक्कै पनि राम्रो हँुदैन।’  

अझ उनले केही समय अगाडि अल्फाबिटाको पार्किङको विषयलाई लिएर गरिएको काव्यात्मक टिप्पणी त झनै चर्चित रह्यो। ‘उहाँले आफ्नै नक्सा मसँग माग्नुभयो। मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ। मैले के बिराएँ।’ उनको यो ट्वीटको त निकै नक्कल पनि भयो। टुकुचा खोलामाथि बनेका भन्दै व्यक्तिका घर भत्काउन गएका मेयरलाई सरोकारवाले मेयरकै शैलीमा ‘नक्सा हे¥यौ, घर बनायौ, हामीले के बिरायौं’ भनेर काव्यात्मक जवाफसमेत फर्काए।  

त्यसो त बालेनले स्थानीय निकायको निर्वाचनअगाडि पनि एउटा काव्यात्मक रचना सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

‘मेरो प्रतिबद्धता हाम्रो नगरमा, पहिले हामी गरौं !  

अलि पछि गर्लान्। अहिले हामी गरौं !

आजसम्म दलले गरे  

अब बदल्ने गरौं।’  

सहर परिवर्तन गर्ने सोच बोकेर आएका बालेनको ९ महिने कार्यकाल निकै उतारचढाव रह्यो। कतिपयले उनले राम्रा काम गरेको टिप्पणी गरेका छन्। कतिपयले भने नगरका थुप्रै समस्या थाँती राखेर ठेलावाला र सुकुम्बासीको बास उठाउनमा तल्लीन भएको आरोप लगाएका छन्।  

सत्तामा को को जान हतारिए भन्नेतर्फ बहस गर्दै गरेका मेयरले केही समय अगाडि आफैले लेखेको कविता पढे हुन्छ। ‘जसलाई हतार थियो, त्यो गइसक्यो,’ भन्ने।  

सर्वसाधारण बालेनको कवितामा भन्दा पनि नगर विकासमा पनि उनको नयाँ चेत पलाओस् भन्ने अपेक्षा राख्छन्। नगर र नगरवासीको मुहार फेर्ने उनको सपना अझै मरेको छैन भन्ने उनीहरूको विश्वास जीवितै छ। ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने बलिदानको चर्चित गीत गाएर चुनावी यात्रा तय गरेका बालेनले सहरका गरिबको आवाज नसुनेको आरोप लाग्न थालेको छ। उनले आफूमाथि लागेका आरोपप्रति पनि गम्भीर हुनु जरुरी छ। सञ्जालमा कविता लेख्ने तर जनताको अवस्था फेर्न ध्यान पुगेन भने आभास उतिबेलै गाएको एउटा चर्चित गीत बालेनको जीवनसँग पनि मेल  

खान सक्छ।  

‘गोधुलीमा हिँड्ने, एउटा जिउँदो मान्छे

संसारलाई फेर्छु भन्थ्यो, आफै फेरिएछ ।’ 

प्रकाशित: १६ पुस २०७९ ०२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App