११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

व्यक्तित्वमा सामाजिक मनोविज्ञानको प्रभाव

डा. दलिपकुमार मल्ल  

सामाजिक परिचय

व्यक्तिको नाम पहिलो परिचय हो। पछि त्यही नै सामाजिक परिचय हो। विभिन्न सामाजिक परिचयमा जातिवाचक, समूहवाचक, गुणवाचकजस्तै धेरै नामहरू हुन्छन्। यी नामहरू सामाजिक मनोविज्ञानको सिर्जना हो। हाम्रो सामाजिक परम्पराअनुसार मानिस जन्मन्छ। उसको धार्मिक सामाजिक परम्पराअनुसार उसको न्वारनमा नामकरण गरिन्छ। उसको नाम राख्दा ब्रह्माण्डका चल्ने ग्रह नक्षत्रका आधारमा ज्योतिष गणनानुसार मानिसको नामकरण गरिन्छ। त्यहीं जन्मेको समयका आधारमा नाम राखी चिना टिप्पणी बनाइन्छ। चिना टिप्पणीमा लेखिएको नामले बोलाउँदा उसको आयु घट्छ भन्ने सामाजिक मनोविज्ञानले उसको बोलाउने नाम अर्को राख्ने हाम्रो सामाजिक परम्परा छ।  

नेपाली समाज गाउँगाउँले भरिएको समाज हो। फलस्वरूप समाजमा आआफ्नैै परम्परा र संस्कार छन्। यी संस्कार, चालचलन भूगोलअनुसार फरक फरक छन्। समाजको सामाजिक मनोविज्ञान पनि फरक फरक छ। अझै पनि हामी देख्न सक्छौं, काठमाडौंका विभिन्न ग्रामीण समाजका चालचलन, परम्पराहरू फरक फरक छन्। त्यहाँको सामाजिक मनोविज्ञान पनि फरक फरक छ। जब मानिस जन्मन्छ, त्यो समाजमा मानिसको पहिलो परिचय नै उसको नाम हो। जब बच्चा हुर्कंदै जान्छ अनि उसको बोलाउने नामबाट नै उसको सामाजिक परिचय बन्छ।  

सामाजिक निर्माणवाद र सञ्चार सिद्धान्त

कुनै पनि भूगोलको सामाजिक मनोविज्ञान समाजको स्थापना हुनुभन्दा अगाडि नै बनेको हुन्छ। भूगोलको विविधताअनुसार सामाजिक मनोविज्ञान पनि फरक फरक हुन्छ। समाजको सामाजिक संरचनामा कुनै व्यक्तिको नाम, ठाउँको नाम, विभिन्न जातिवाचक, समूहवाचक नामहरू त्यो समाजको सामाजिक ज्ञान र अनुभवले नै सिर्जना गर्छ। यो हरेक समाजको आआफ्नै सामाजिक मनोवैज्ञानिक सोचबाट नै सिर्जना हुन्छ। डेरी (सन् १९९९) र एमसी मोहन (सन् १९९७) का अनुसार संस्कार र संस्कृतिका सन्दर्भहरू चाहिँ समाजको ज्ञान र बुझाइबाट नै सिर्जना हुन्छ। त्यही सिर्जनालाई नै सामाजिक निर्माणवाद (सोसियल कन्सक्ट्रेट थ्योरी) भनिन्छ। सामाजिक निर्माणवाद सिद्धान्त समाजशास्त्रभित्रको ज्ञान हो र कम्युनिकेसन थ्योरीले (सञ्चार सिद्धान्त) ले विश्वको ज्ञान र बुझाइमा एकल व्यक्तिको बुझाइलाई समूहको बुझाइले प्रभाव पार्छ। किमले (सन् २००१) मा सामाजिक निर्माणवाद सिद्धान्तका आधारभूत मान्यता, वास्तविकता, ज्ञान र सिकाइबाट सिर्जना हुन्छ। यसकारण पनि हामी के भन्न सक्छौं भने त्यो समाजमा ज्ञान कसरी प्राप्त गर्‍यो ? कसरी सिकाइ गरे ? यसले त्यो समाजमा प्रभाव पारेको हुन्छ। समाजमा भाषा, भेषभूषा र सामाजिक बोलीचालीकै आधारमा नै संस्कार र संस्कृति बन्ने रहेछ। त्यो चाहिँ त्यही समाजको ज्ञान र सिकाइका आधारमा नै बन्छ भन्ने धेरै विद्धान्हरू सहमत छन्। विज्ञान र प्रविधिसँगै आधुनिकताले ल्याएको विभिन्न दृश्य र परिदृश्यले पनि समाज र समाजमा भएका मानिसलाई प्रभाव पार्छ। त्यहीअनुरूप यस लेखकको नाम पनि यही हाम्रो ग्रामीण समाजको सामाजिक सोचबाट फरक फरक सोचको प्रारूप हुँदा फरक नामको सिर्जना भएको छ।  

फिल्मी संसार र सामाजिक प्रभाव

यस लेखकका बुबा भारतीय आर्मीमा कार्यरत हुनुहुन्थ्यो। उहाँको मेहनत र परिश्रमअनुसार उहाँले राम्रै पदबाट अवकाश भए पनि भारत र चाइनाको युद्धमा उहाँले गरेको मेहनतअनुसार उहाँले त्यो सम्मान पाउन सक्नुभएन। यो लेखकको जन्म पनि भारतको तिपुरा राज्यको लिचि बगानको आर्मीको अस्पतलामा भएको हो। मानिसको आयु र उसको शारीरिक संरचना ऊ गर्भधारण भएपछि उसको आमाको खानपिनबाट नै त्यो बच्चाको तौल र उसको शारीरिक संरचना बन्छ भन्ने कुरा हाम्रा आँखा अगाडि नै देखिएको छ। फलस्वरूप त्यो बच्चाको जन्म पनि साधारण तौलभन्दा बढी नै भएको रहेछ भन्ने कुरा त्यो बेलाको विज्ञान र प्रविधिले थाहा लागेको थियो। बच्चाको तौल धेरै नै भएको हुँदा त्यो समयमा उनको आमाको पेट अप्रेसन गरेर उनी जन्मिएका थिए। उनको तौल ५ केजीभन्दा माथि थियो।  

विज्ञान र प्रविधिको विकाससँगै त्यो समयमा भारतीय समाजमा फिल्मी दुनियाँले राम्रैसँग समाजका मानिसहरूको मनमस्तिष्कलाई गाँजेको थियो। अरू क्षेत्रका विज्ञ तथा व्यक्तिहरूलाई पनि भारतीय फिल्मी क्षेत्रले प्रभाव पारेको थियो। झन् त्यसभित्र खेलिएका पात्रका चरित्रले गर्दा मानिसहरू उनीहरूप्रति प्रशंसाको गुनगान चलेको थियो भने नेपाली समाज पनि यसबाट अछुतो रहन सकेको थिएन। मानिसलाई मनोरञ्जनसँगै मानिसको जिउने आधार पनि फिल्मी दुनियाँ र फिल्मी संसारका कलाकार एवम् कलाकारिताबाट प्रभावित भएको थियो। फलस्वरूप सन् १९७० देखि १९८० को हिरो दिलीपकुमारबाट प्रभावित भएका डाक्टरले यस धर्तीमा टेकाउन सफल गराई दिलीपकुमार भनी नामकरण पनि गरिदिएका थिए।  

कला र कलाकारिताको सम्मान भएको भारतीय समाजबाट तत्कालीन समाजको प्रख्यात हिरो नामबाट नै नामकरण हुँदा त्यो परिवारमा पनि खुसीको उमंग थियो।  

समाजको मनोवैज्ञानिक सोच  

उनको बाबाको भारतीय आर्मीबाट अवकाश हुने समय हुँदै जाँदा, आफ्नो परिवारलाई आफ्नो जन्मभूमि म्याग्दी जिल्लाको एक ग्रामीण समाजमा छोडी फेरि भारतीय आर्मीको केही वर्षको लागि उनको कर्मभूमिमा गएका थिए। तत्कालीन समयमा हाम्रो नेपाली समाजमा हरेक व्यक्तिको नाम राम, हरि, श्याम, कृष्ण र लक्ष्मण राखेको पाइन्छ। यस्ता मात्र नाम सुनिएको समाजमा यो दिलीपकुमार नौलो थियो। जसकारण यो नाम अचम्म बनेको थियो। समाजको ज्ञान र सिर्जनाबाट त्यो नाम कसैले दिलीपकुमार/दलिपकुमार भन्दै गइयो। यही क्रममा उमेर बढदै गयो, अध्ययन अध्यापन पनि बढ्दै गयो। तत्कालीन समयमा कक्षा ८ को परीक्षा जिल्ला स्तरीय तरिकाबाट हुन्थ्यो। त्यो समयमा उनी १२ वर्षका थिए। जिल्ला स्तरीय परीक्षामा अब उनको नाम लेख्नुपर्ने भयो। उनका शिक्षकले दलिपकुमार हो भनी लेखिदिए। फलस्वरूप आधिकारिक रूपमा दलिपकुमार भयो।  

समाजको सामाजिक सोच र विचार अवलम्बन गर्ने तौर तरिका पनि आआफ्नै हुँदो रहेछ। कसैले दिलीप भन्ने कसैले दलिप भन्ने। एसएलसी उत्तीर्ण पछिको उच्च शिक्षा लिनका लागि काठमाडौं आएर आइकम, बिए, बिकम, एमबिए, एमए समाजशास्त्र, राजनीतिक शास्त्र र हाल आएर समाजशास्त्रमा विद्यावारिधि गरिसकेका छन्। उच्चशिक्षादेखि विभिन्न गोष्ठी, सेमिनार, विभिन्न सूचना र सञ्चारका माध्यममा तथा विभिन्न प्रत्यक्ष प्रसारण हुने साक्षात्कार कार्यक्रममा दलिपकुमार नभएर दिलीपकुमार नै लेखिने र भनिने गरिन्छ।  

समाजमा पारेको फिल्मी संसारले र सामाजिक मनावैज्ञानिक सोचले उनको नाम हरेक क्षण दलिपकुमार नभएर दिलीपकुमार नै भनिएको छ। हरेक क्षणमा नाम सच्याउनुपर्ने बाध्यता भोगेका छन्। यही प्रभावले होला कति ठाउँमा त यो लेखकलाई गाली पनि गरिएको छ। तिमी आफ्नो नाम पनि सही नलेख्ने, तिमीले आफ्नो नाम गलत लेखेका छौ। मैले सच्चाएर पठाएको छु, दिलीपकुमार बनाइदिएको छु।  

निष्कर्ष  

साच्चिकै हाम्रो समाजमा गडेको सामाजिक सोचभन्दा माथि कोही पनि हुन सक्दो रहेनछ। त्यही सोचले नै समाजको मार्गर्दशन निधार्रण गर्दो रहेछ। सन् १९७० देखि १९८० का प्रख्यात हिरो दिलीपकुमारको नामबाट प्रभावित डाक्टरले गरेको नामकरण दिलीपकुमार फरक समाजको ज्ञानले दलिपकुमार भनेर नामकरण गरियो। सबै सर्टिफिकेटमा दलिपकुमार नै नाम रहेको छ। यो नाम अद्वितीय बनेको छ। त्यही नाम अर्को समाजमा दिलीपकुमार बनेको छ।

प्रकाशित: ९ पुस २०७९ ०१:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App