coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

देउवाको जितभन्दा गगन हारको चर्चा

इतना भी गुमान न कर अपनी जित पर ऐ बेखबर !

शहर में तेरे जित से ज्यादा चर्चे तो मेरी हार के हैं !!

विश्वकप फाइनलमा ह्याट्रिक गरेर पनि पराजित फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पेलाई लक्षित गर्दै सामाजिक सञ्जालमा निर्माण गरिएको यो ‘टिकटक’ सायरी क्षणभरमै भाइरल बन्यो। यस पटकको विश्वकपमा सर्वाधिक ८ गोल गरेर गोल्डेनबुट जितेका एम्बाप्पेको आकर्षक खेलका कारण उनको चर्चा विश्वकप र गोल्डेन बल जितेका अर्जेन्टिनाका महसु र खेलाडी मेसीको भन्दा बढी देखिन्छ।  

यस पटकको विश्वकप सकिएको छ। तर यो सायरीको मूलमर्म नेपाली राजनीतिको परिपे्रक्ष्यमा अझै सकिएको छैन। विश्वकप सम्बन्धित यो सायरी नेपाली राजनीतिसँग अझ भनौँ, नेपाली कांग्रेसको राजनीतिसँग जोडेर हेर्दा झनै सार्थक देखिन्छ। संघीय निर्वाचनमा डडेलधुरामा शेरबहादुर देउवासँग पराजिता युवा उम्मेदवार सागर ढकालको पराजयको चर्चा पनि देउवाको जित भन्दा बढी देखिएको थियो। दूरदराजमा पुगेर राजनीतिका खतर्नाक खेलाडीलाई टक्कर दिने सागर साहसले पराजितका बाबजुद भरमार चर्चा बटुलेको थियो।  

बुधबारमात्रै नेपाली कांग्रेस संसदीय दलको चुनावमा पार्टी सभापति देउवासँग पराजित नेपाली कांग्रेसका युवा उम्मेदवार गगन थापाको अवस्था पनि यही सायरीसँग मिल्दो देखिन्छ। कांग्रेसभित्र मात्रै हैन, आमनेपालीको तर्फबाट आशा गरिएका थापाको पराजयको चर्चा आधादर्जन पटक प्रधानमन्त्री बन्न लागेका देउवाको विजयभन्दा बढी देखिन्छ। परिवर्तनको संघारमा पुगेको कांग्रेसमा देउवा कसरी विजयी भएभन्दापनि युवा जमातका आशाका केन्द्र गगन कसरी पराजित भए भन्नेमा बढी चर्चा चलेको छ।  

पार्टी सभापतिविरुद्ध थापाले उम्मेदवारी दिँदा उनको प्रस्तावकमा डा. शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ रहेका थिए। त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेलले पनि थापाको समर्थकका रूपमा रहेका कारण थुप्रैले गगन विजयको आशा पनि गरेका थिए। तर बुधबार बिहान भएको मतदानमा ६४ जना सांसदको समर्थन पाएर देउवा विजयी हुँदा थापाले जम्मा २५ मत पाए।

विश्वकप फुटबल र आमचुनाव एकैपटक भएको यो समयमा कतिपयले संघीय चुनावमा लगातार तीन पटक जितेर ह्याट्रिक गरेका गगनको तुलना एम्बाप्पेसँग गरेका थिए। विश्वकप चलिरहँदा मंसिर दोस्रो साता ललितपुर साना गाउँकी सिर्जना श्रेष्ठले गगन थापा फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पेजस्तो लाग्ने बताएकी थिइन्। ‘एम्बाप्पे फुटबलका नयाँ सम्भावना हुन्’, उनले भनेकी थिइन्– ‘त्यस्तै गगन थापा राजनीतिका नयाँ आशा हुन्। जसरी एम्बाप्पे खेलको क्षेत्रमा नयाँ पिँढीका आदर्श हुन्, त्यसैगरी गगन नेपाली राजनीतिमा नयाँ पिँढीका भरोसाका केन्द्र हुन्।’

विश्वकपमा पराजित भएर पनि एम्बाप्पेले खेलप्रेमीको भरोसा टुट्न दिएनन्। ‘अबका खेल हामी जित्नेछौँ’ भन्ने छोटो सन्देश दिएर करोडौँ प्रशसंकमा उत्साह भरिदिए। युवा उमेरका उनीबाट थुप्रै खेल हेर्न बाँकी रहेकाले उनलाई मन पराउनेहरू त्यही आशामा खुसी हुने आशमा छन्। पछि जितन्छ भन्ने आत्मविश्वासले पराजय ओझेलमा पर्छ।

संसदीय दलको नेताबाट पराजित भएका गगनबाट पनि केहीले यही आशा गरेका छन्। अहिलेको चुनावमा पराजित भए पनि उनको पक्षमा परेका २५ ‘सार्थक’ मतलाई परिवर्तनको बिउ ठानेका छन्। तर उनको पक्षबाट मात्र हैन, विपक्षबाट विभिन्न कटु टिप्पणी आउन थालेका छन्। थापा पक्षका विश्वप्रकाश शर्माले ‘जिते मेस्सी हारे एम्बाप्पे’ भावको टिप्पणी गरे पनि विपक्ष यो मान्न तयार छैनन्। संस्थापनपक्षीय कांग्रेसका नेता मोहनबहादुर बस्नेत देउवालाई ‘मेस्सी’ माने पनि गगनलाई एम्बाप्पे मान्न तयार छैनन्। ‘गगन फेसबुके नेता भए,’ उनले टेलिभिजन अन्तर्वार्तामा भनेका छन्, ‘देउवा मेस्सी हुन्।’ थापालाई उनको टिमले नपत्याएको आरोपसमेत कतिपयले लगाएका छन्।  

यी सब आरोप र गुनासो चिर्दै गगनले आफूलाई ‘एम्बाप्पे’ अर्थात भोलिको आशाको केन्द्र बनाउनुपर्नेछ। यसका लागि उनी संयमित भएर अगाडि बढ्नुपर्छ। यसो त उनले अनपेक्षित भए पनि पराजयलाई स्वाभाविकरूपमा लिएको बताएका छन्। संसदीय दलको नेतामा चुनाव लड्ने भन्ने आफूले मतदातासमक्ष गरेको वाचा पूरा गरेको बताए। चुनावताका उनको क्षेत्रका जनताले उनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा हेरेका थिए। चुनाव जितेपछि मतदातालाई धन्यवाद दिन जाँदा पनि मतदाताले प्रधानमन्त्री नै देख्न चाहेको दोहोर्‍याएका थिए। कतिपय गगनलाई चुनाव जित्न मात्र प्रधानमन्त्री बन्ने कार्ड फालेको आरोप पनि लगाउँछन्।  

गगन संसदीय दलको नेतामा पराजित हुँदा उनी मात्र हैन, परिवर्तनको आशा गर्ने हजारौँ पराजित भएका छन्। त्यसैले उनले ती हजारौँ पराजितलाई आशा जगाउने काम आजै गर्नुपर्छ। हार्नेहरू सधैँ बाजिगर बन्दैनन्। जो हारेर पनि जित्छन् तिनै बाजिगर बन्छन्। संसदीय दलको नेतामा पराजित भए पनि गगन जनताको नजरमा पराजित हुनुहुँदैन।  

संघीय चुनाव र समानुपातिकमा आफ्ना पक्ष उठाउन हावी भएका देउवा संसदीय दलको नेतामा हार्छन् भन्ने धेरै भ्रम पाल्नु जरुरी थिएन। संसदीय दलको नेतामा आफू कसरी हारे भन्ने अंकगणित केलाउनु अहिले जरुरी छैन। बरु आफू हारे पनि अब मुलुकलाई कसरी जिताउन सकिन्छ त्यो अंकगणितमा ध्यान दिए राम्रै हुन्छ। यसका लागि गठबन्धन टुटोस् तर जनताको भरोसा टुट्न दिनुहुँदैन।

प्रकाशित: ८ पुस २०७९ ००:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App