८ वैशाख २०८१ शनिबार
विचार

‘बार्गेनिङ’ का बादशाह प्रचण्ड

निर्वाचनको अन्तिम परिणाम आइसकेको छ। निर्वाचन आयोगले परिणामको अन्तिम घोषणा प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरिसकेको छ। राष्ट्रपतिले राजनीतिक दलहरुलाई ३५ दिन भित्र नयाँ सरकार गठनका लागि आव्हान गर्ने छिन्। प्रतिनिधिसभामा बहुमत प्राप्त दल वा बहुमत जुटाउँने गठबन्धनले सरकार गठनका लागि आफ्नो दाबी प्रस्तुत गर्नेछ।  

निर्वाचन जितेर आएका स्वतन्त्रसहित १३ दलमध्ये ७ वटा मात्र राष्ट्रिय दल भएका छन्। यीमध्ये सबै दल वा पार्टी सरकारमा सामेल नहुन पनि सक्छन्। सबैभन्दा धेरै सिट जित्ने सत्तागठबन्धनका प्रमुख दल नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत–समाजवादी) लगायतका दलहरु सरकारमा जाने कसरतमा छन्। कुनै एक दलले बहुमत ल्याउन नसकेका कारण दलहरूबिचको गठबन्धन हुने वा सत्ता समीकरण हुनु स्वभाविक पनि हो।  

नयाँ गठबन्धन बनाएर सरकारमा जाने की पुरानै गठबन्धनमा सहभागी हुने? वा सरकारमा कसरी, कुन/कुन दलहरु मिलेर बहुमत पुर्‍याउने भन्ने बिषयमा दलहरु भित्र र अन्य दलहरूबिच छलफल, भेटघाट र गोप्य वार्ताहरु भइरहेका छन्। कुनै वार्ता सार्थक निकासका लागि भइरहेका छन्। यसको मतलब सरकार बनाउनकै लागि गम्भीर रुपमा भइरहेका छन्। पछिल्ला केही भेटघाट, छलफल र वार्ताहरु भने पद र शक्ति विस्तार गर्ने उद्देश्यले भइरहेका छन्। जति सक्यो धेरै पद र शक्ति हत्याउने ‘बार्गेनिङ’मा परिणत भइरहेका छन्।  

निर्वाचन परिणामले कुनैपनि दललाई बहुमत दिएन। पहिलो र दोस्रो ठुला दल नेपाली काँग्रेस र नेकपा एमाले दुवै अल्पमतमा छन्। तेस्रो ठुलो दल नेकपा (माओवादी–केन्द्र) जोसँग ३२ सिट मात्र छ तरपनि उसले बार्गेनिङको कार्ड चौतर्फी रुपमा फ्याँक्न थालिसकेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यसै पनि ‘बार्गेनिङ’का माहिर खेलाडीका रुपमा चिनिन्छन्। ‘प्रचण्ड’को एउटा परिचय सत्ता बार्गेनिङमा स्थापित राजनीतिक खेलाडीका रुपमा पनि छ।  

त्यसैले होला, निर्वाचन अघि कतिपय नेता तथा विश्लेषकले भनेका थिए, ‘यो निर्वाचनबाट सबै किसिमको परिणाम आओस तर नेकपा माओवादी–केन्द्र तेस्रो दल नबनोस बरु पहिलो र दोस्रो नै बनोस।’ सबैको कामना यही थियो। माओवादी तेस्रो दल बन्ने बित्तिकै अस्वाभाविक ‘बार्गेनिङ’ तीव्र हुन्छ। यसले सरकारलाई अस्थिर बनाउँछ। सरकार फेरी पनि दुर्घटनामा पर्न सक्छ भन्ने आकलन सबैले गरेका थिए ।

तर जनताले अहिले पनि माओवादी केन्द्रलाई तेस्रो दल नै बनाएर पठाए। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई त्यही भूमिकामा राखिदिए। माओवादी–केन्द्रको सहयोग बिना बहुमत पुर्‍याउन सबै ठुला दललाई हम्मे हम्मे पर्ने भएपछि प्रचण्डको भाउ बढ्नु स्वभाविक पनि भयो। यसैमा पाँचौ ठुलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारमा नजाने मनस्थिति बनाएका छ यसले माओवादी केन्द्रको भाउ झनै बढाएको छ। माओवादी केन्द्र कुनैपनि प्रमुख दलसँगको सहयोगमा सरकारमा गए पनि अध्यक्ष प्रचण्डको अस्वाभाविक ‘बार्गेनिङ’ थेग्न ती दललाई हम्मे हम्मे पर्ने र सरकार अस्थिर हुने सम्भावना त्यत्तिकै रहन्छ। विगतका राजनीतिक घटनाक्रमबाट यसको पुष्टि हुन्छ।

निर्वाचन पछिको सरकार गठनमा बहुमतको अंकगणितमा सहभागी भएर ‘बार्गेनिङ’ गर्नु स्वभाविक हो। तर, त्यो ‘बार्गेनिङ’ वैज्ञानिक हुन्छ की हुँदैन वा सहकर्मी दलले त्यसलाई दिगो राख्न सक्छ की सक्दैन भन्ने कुराको हेक्का हुनुपर्छ। जस्तो की माओवादी केन्द्रले प्रत्यक्ष र समानुपातिक गरेर जम्मा ३२ सिट मात्र जितेको छ। नेपाली काँग्रेसले ८९ र नेकपा एमालेको ७८ सिट जितेका छन्। प्रतिनिधि सभाको कुल सिट संख्या २७५ मध्ये बहुमतका लागि १३८ सिट पुर्‍याउनुपर्छ। तर माओवादीलाई मात्रैसँगै लगेर संसदीय बहुमत पुग्दैन। अरु दलहरुलाई पनि साथमा लैजानुपर्ने हुन्छ। उनीहरुलाई पनि पद बाँडफाँड गर्नुपर्ने हुन्छ।  

तर माओवादी–केन्द्रले ‘मौकामा चौका’ हान्ने रणनीति अंगिकार गरेर नेपाली काँग्रेस र एमालेको भन्दा पनि ठुलो दलको हैसियतमा ‘बार्गेनिङ’ गर्न थालेको छ। नयाँ सरकारमा माओवादीको सहभागितालाई लिएर सत्ता गठबन्धन भित्र नै हलचल मच्चिएको छ।

अहिलेको प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले ‘रेड सिंग्नल’ देखाउन थालेपछि प्रचण्डले नेकपा एमालेसँग ‘बार्गेनिङ’ गर्न थालेका छन्। रैथाने सत्ता गठबन्धनमा उनले आफ्ना लागि पहिलो कार्यकालको प्रधानमन्त्री पद मागिसकेका छन् भने उपराष्ट्रपति, उपसभामुख जस्ता पदहरुमा पनि बार्गेनिङ गरिरहेका छन्। संघियदेखि प्रदेशसम्मका पदहरु यसै गरी बाँडफाँड गर्ने कुरा उनले उठाइरहेको गठबन्धन दलका प्रतिनिधिहरू बताउँछन्।  

प्रचण्ड आफैले पनि मंगलबार ‘तपाईहरुको आर्शिवाद लाग्यो भने संभावत म सत्ताको नेतृत्वमा पुग्छु’ होला भनेर सार्वजनिक कार्यक्रममा भाषण समेत गरिसकेका छन्।  

प्रचण्ड अहिले दुईवटा दलमा मजाले खेल्न थालेका छन्। यो स्पेस उनलाई निर्वाचन परिणामले नै दिएको हो । आफ्ना दुतहरु मार्फत ‘नेपाली काँग्रेसले मलाई यो/यो पद दिदैछ, त्यो भन्दा धेरै तपाईहरुले के/के दिनु हुन्छ?’ भन्न लगाइरहेका छन्। प्रचण्ड अफु ‘सिन’ मा नदेखिए पनि संगठनका पदाधिकारीलाई नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेटन पठाएका छन्।  

निर्वाचन परिणाम नआउँदै ‘शेरबहादुर र प्रचण्ड मिलेपछि जे पनि गर्न सकिन्छ’ भन्दै सार्वजनिक भाषण गर्ने प्रचण्डले आफ्ना दूतहरुलाई किन एमाले अध्यक्षसँग भेट गर्न पठाइरहेका छन्? काँग्रेससँगको ‘बार्गेनिङ’मा कुरा नमिले पछि उनले सँगसँगै एमालेलाई पनि सत्ताको कार्ड फ्यालिरहेका छन्।  

मंगलबार मात्र माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्। ओलीले सरकार गठनका लागि सबै दलसँग खुला रुपमा संवाद गर्न एमाले तयार रहेको भनाई सार्वजनिक गरिसकेका छन्।  

प्रचण्डको ‘बार्गेनिङ’ छवी यसपटक पनि प्रकट हुदैछ। उनको यो प्रवृत्तिलाई अझ प्रस्फुटन हुन दिनुपर्छ भन्ने कुरामा नेपाली काँग्रेस र नेकपा एमाले स्पष्ट छन्। र, अहिलेको सत्ता समीकरणमा प्रचण्डको दललाई निर्वाचनमा प्राप्त सिट संख्याको हैसियतमा राख्न नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष ओली कतिसम्म सफल हुनेछन? त्यो त आगामी केही दिनमै प्रष्ट हुनेछ।  

तरपनि उनको दललाई यसपटक पनि जनताले तेस्रो ठुलो दल बन्ने गरी मतदान गरे । प्रचण्ड सत्ता ‘बार्गेनिङ’मा बादशाह भए। तर उनी ‘बार्गेनिङ’का साँच्चै बादशाह हुन की गोटी मात्र हुन त्यो भने आगामी घटनाक्रमले पुष्टि गर्ला।  

प्रकाशित: २९ मंसिर २०७९ १२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App