२५ माघ २०७९ बुधबार
विचार

महिला गरिमा अहिंसात्मक समाजको परिचय

अतुलं तत्र तत्तेजः सर्वदेवशरीरजम।

एकस्थं तदभून्नारी व्याप्तलोकत्रयं त्विषा।।

तीन लोकमा सबै देवताबाट निस्केर व्याप्त भएको अतुल्य तेज एकत्रित भएपछि नारीको उत्पत्ति भयो। शास्त्रमा त सधैँ महिलालाई उच्च तहमा अर्थात सृष्टिको मूल स्रोतमा राखेको छ। तर समाज र घरमा आफ्नै आमा, छोरी, श्रीमती, भाउजू अर्थात आफ्नै चेलीलाई स्थान दिनुपर्दा आइमाईलाई टाउकोमा टेकाउनु हुन्न भन्ने सानो मानसिक सोचको कारण समाज हिंसात्मक बन्छ। सानो उमेरकै हुँदादेखि छोरीले ठूलो स्वरमा बोल्नु हुन्न र छोराले आँसु खसालेर रुनु हुन्न भन्ने शिक्षाकै कारण आज पनि छोरी आफूलाई परेको हिंसाबारे खुलेर बोल्न सक्दिनन् र छोरा परिवारमा आँसु खसाल्न नसकेर समाजमा अरूकी छोरीलाई हिंसा पुर्‍याएर आफ्नो भावनाको रेचन गर्दछ। सत्य र यथार्थ तीतो हुन्छ तर आज समाजमा हिंसात्मक प्रवृत्ति बढ्नु र त्यसको सजाय या दोषी आफ्नै छोराछोरी हुनुमा हाम्रो सिकाइ र संस्कारले प्रत्यक्ष-अप्रत्यक्ष असर गरेको छ।  

एक दिन प्रसंगवश, अस्ट्रेलियामा रहेकी मेरी छोरीले भनिन्– आमा हजुरले म जापानको कक्षा १ मा हुँदा एकजना केटा साथीले मलाई तिम्रो घरको गाडी हाम्रो घरको गाडी भन्दा सानो रहेछ भनेको कारण मलाई ३–४ दिनसम्म मानसपटलमा नकारात्मक असर गरेको थियो। मलाई साहै« नै गाह्रो भएपछि मैले हजुरलाई भनेँ अनि हजुरले किन उसलाई तिमीले हप्काएनौ अर्थात प्रतिकार गरेनौ त ? भन्ने कुरा र एकदिन स्कुलमै उसलाई भेटेर प्रेमपूर्ण तिमीले यो कुरा कहाँबाट सिक्यौ ? एकपटक सोच, घरमा पनि कुरा गर अनि पर्सि म तिमीलाई भेटेर फेरि कुरा गर्छु हस् भन्दा मेरो त्यो जापानिज साथी म जत्रै ६ वर्षको बच्चालाई के थाहा छ र किन भनेको होला भनेर चिन्तित भएको थिएँ। तीन दिनपछि ती बच्चाको आमाले नै हजुरलाई भेटिन र मिठाइको प्याकेट दिँदै भनिन् कि सरी मेरो छोराले यस्तो भनेछ (जापानिज संस्कार नयाँ मान्छे भेट्दा उपहार दिने), हजुरले उसलाई एउटा प्रश्न दिएर पठाउनुभएको रहेछ। हामी श्रीमान् श्रीमती बसेर सोच्यौँ यो प्रश्न मेरो बच्चाका लागि थिएन। हामी बा-आमाले पनि जान्नुपर्ने कुरा थियो।  

आखिर बच्चाबाट नै यस्तो अरूलाई होच्याउने, तुलना गर्ने र प्रतिस्पर्धाको भावना बच्चाले कहाँबाट सिक्छन् त ? परिवारकै कुराकानी र व्यवहारबाट पो हो कि ? हामी सजग भएका छौँ, हजुरले मेरो छोरालाई भेटेर ठीक गर्नुभयो। घरमा, स्कुलमा, साथीभाइबीच अथवा समाजमा कस्तो व्यवहारले बच्चामा यस्तो धारणा विकसित हुँदो रहेछ हामी आजबाट नै निगरानी गर्नेछौँ। आमा आज मैले थाहा पाएँ चित्त नबुझेको र थाहा नभएको अनि प्रसंग नपरेको कुरामा तत्कालै प्रतिक्रिया गर्नुपर्दो रहेछ। असल व्यवहार गर्ने आफू ज्ञानी हुने तर कसैले चित्त नबुझ्ने व्यवहार देखाएमा, खराब शब्द बोलेमा या शारीरिक, मानसिक, चारीत्रिक कुनै पनि कुराले आघात पुर्‍याउने कोसिस गरेमा त्यसको प्रतिकार गर्नैपर्छ, बोल्नैपर्छ।  

इज्जत र प्रतिष्ठाको खोल  

आज समाजमा जति पनि हिंसात्मक घटना बढ्ने गरेका छन्, त्यसको कारण उच्च घरानाका महिला, पुरुष या छोरीहरूलाई नकारात्मक घटना बोलेर बाहिर ल्याइनु हुन्न, त्यसले घर परिवारको इज्जत जान्छ भन्ने मानसिकताले पीडितहरू बोल्न नसक्ने र पीडकहरूले उत्साहित हुने अवसर पाइरहेको तथ्य जगजाहेर छ। विगत हेर्‍याैं  भने पनि ठूला घरानाका परिवारद्वारा निम्न स्तरका व्यक्ति, महिला, छोरीमाथि हुने गरेका घटना भित्रभित्रै गुपचूप पारिने, आर्थिक प्रलोभनमा पारेर भित्रभित्रै मिलाइने या त डर, त्रास र धम्की देखाएर मौन हुन बाध्य पारिने समाचार नआएका होइनन्। त्यसैले त समाचार र तथ्यांक फरक देखिन्छन्। घटनाका उजुरी कम मात्र पर्छन्। त्यसको आधारमा तथ्यांक बताइन्छ। उजुरी भएका घटनामध्ये पनि १० प्रतिशत मात्र न्यायका लागि अग्रसर हुन्छन् बाँकी भित्रभित्रै मिलापत्र हुने गर्दछ। दुव्र्यवहार, यौन उत्पीडन, अनुपयुक्त व्यवहार, बलात्कार, घरेलु हिंसा, शारीरिक, मानसिक, आर्थिक, मनोभावनात्मक जुनसुकै प्रकारका हिंसामा पर्ने छोरीका बा÷आमालाई समाजमा मुख देखाउन लाज हुने डरले, छोरीको बिहे नहुने डरले घटना घटे पनि नबोल्ने, बाहिर नल्याउने र चूप रहन बाध्य गराइन्छ।  

ठूला घरानाको चेपुवामा परेका अभिभावक र जीवन जिउन सबै सहनुपर्ने महिला र छोरीको बाध्यताले गर्दा हानिकारक हिंसात्मक घटनाबारे कमै बोलिन्छन्। यस्तो अवस्थामा बर्सेनि गरिने महिला हिंसाविरुद्धको १६ दिने अभियान एउटा पर्व जस्तो मात्र हुन जान्छ। कतिपय महिला र छोरी चेली दलितको, गरिबको नाममा हिंसामा पर्ने गर्छन्, शरीर चल्ने जात नचल्ने परम्परा ज्युका त्युँ छ। यी सबै परिस्थिति र यथार्थताबाट मुक्त नभई समाज हिंसामुक्त हुन असम्भव छ। भाषण गर्छौँ, नीति नियम बनाउँछौँ, समृद्ध नेपालका लागि तर हिंसा गरेको व्यक्तिलाई छुटाउन नेतृत्व तह आफैँ लागिपर्छ। जहाँ पनि राजनीति भनेझैँ अन्यायमा पनि राजनीति समावेश हुनाले त यसपटकको स्थानीय तह र प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा नागरिक तह राजनीतिक दलको र आस्था अनि विचारधाराको होइन, पुराना नेतृत्वको विरोधमा उत्रन बाध्य भए। महिला हिंसाको अभियानमा स्टेजमा उभिएर बोलिरहँदा निर्मला पन्तलगायतका छोरीहरूको आत्माले के भन्दो हो ? त्यसैले अब लाज हिंसामा परेर न्याय माग्ने चेलीहरू र अभिभावकले होइन, राज्यको नेतृत्व गर्ने र आफ्ना चेलीबेटी सुरक्षित राख्न नसक्ने नेतृत्वले मान्नुपर्छ।

महिला अधिकारकर्मीको दायित्व  

सामान्यतया हामी महिला अधिकारकर्र्मी भन्नाले अभियानमा लागेका महिला भनेर बुझ्ने गर्दछौँ। महिला अधिकारकर्मीअन्तर्गत महिला आयोग, महिला मन्त्रालय, मानव अधिकार आयोग, स्थानीय निकाय, सामाजिक संघ-संस्था, सञ्चार माध्यम जोकोही जसले महिलामाथि हुने हिंसाजन्य कार्यलाई निरुत्साहित पार्न भूमिका निर्वाह गरोस् र आफ्नो दायित्व महसुस गरोस्। बढ्दो नाराबाजी र सडक आन्दोलन भन्दा एउटा प्लेटफर्म सिर्जना गरेर निर्धक्क महिलाले आफ्ना भावना व्यक्त गर्ने ठाउँ र अवसर दिनु जरुरी छ। महिला कसरी सुरक्षित रहने भन्ने कतिपय सरकारी तालिम, प्रशिक्षण र सेमिनार हुन्छन्, आयोजना गरिन्छन्, योजना र बजेट छुट्टयाइन्छन्, महिला सशक्तीकरणका लागि तर त्यहाँ वास्तविक पीडित र पछि परेका महिला तथा चेलीले अवसर पाउनु त कता हो कता, हाम्रा लागि पनि कार्यक्रम छ भन्ने पनि थाहासम्म पाएका हुँदैनन्।  

टाठाबाठा र आफ्नै कार्यकर्ताले त्यो योजना बुझ्छन्, भत्ता लिन्छन् र वार्षिक कार्यक्रम सकिन्छन्। अनुगमन र मूल्यांकन गर्ने कसले ? दिने आफ्नै, पाउने आफ्नै कुनै समस्या परेर न्याय खोज्न गएका महिलालाई प्रहरी प्रशासनदेखि लिएर स्थानीय निकाय र सरोकारवालाले सही सूचना र सहज तरिका बताउन नसकेर, यताबाट उता उताबाट यता देखाउने र अन्यायमै पिल्सिन बाध्य महिलाको संख्या यही समाजमा छ। विभिन्न संघ÷संस्थाले महिलामाथि काम गरेका धेरै प्रतिवेदन पेस गरेका हुन्छन् तर ती प्रतिवेदनमा पिछडिएका र दूरदराजका महिला परेका हुँदैनन्। यी सबै परिस्थितिमा सुधार आउन सकेको क्षण गर्व गर्न सकिन्छ महिलाका लागि सहज वातावरण र न्यायको माहोल।  

व्यक्तिमा प्रेम, करुणा, आत्मीयता र अपनत्व भएन भने क्रोध, द्वेष र इष्र्या जाग्छ। जसले आफ्नोपन, प्रेम गर्ने व्यक्ति, आफ्ना भावना पोख्ने व्यक्ति, अपनत्व र सुखदुःखमा साथ दिन तयार व्यक्ति, मित्र या परिवारका सदस्य भेट्दैन तब उसको मनोभावना कसैप्रति हिंसात्मक भएर उत्रन्छ। धेरैजसो हिंसाका घटना बेहोसी र क्षणिक आवेशमा आएर भएको पाइन्छ। त्यसैले सरल, प्रेमल र शान्त वातावरणमा पारवारिक माहोल हुनु, असल मित्र हुनु, असल संगत र दुव्र्यवहार र दुष्कर्म रोक्ने आफ्ना मान्छे हुनु सबै भन्दा महत्वपूर्ण हुन्छ। यी कुरालाई घर, परिवार, समाज र राष्ट्रले समेत अवलम्बन गर्न सकेमा मात्र बृहत् शान्ति र उमंगमय मानवीय समाजको कल्पना गर्न सकिन्छ। यी सबै कुराको अभाव नै हिंसात्मक समाजको परिणाम हो।

प्रकाशित: २३ मंसिर २०७९ ०६:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App