१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

क्रान्ति, शान्ति र राष्ट्रगानको महिना

इतिहासलाई फर्केर हेर्दा देशमा धेरैचोटि हरेक वर्ष क्रान्ति भए। कुनै क्रान्ति सफल भए, कुनै गर्भमै तुहिए। भन्ने गरिन्छ कि नेपालमा जब जाडोयाम सुरु हुन्छ, राजनीतिक सरगर्मी पनि बढ्छ। चुनाव भर्खरै सम्पन्न भएको छ। छिटपुट घटनाबाहेक शान्तिपूर्वक सम्पन्न भयो। बाजुरामा आपसी झगडाका कारण चुनाव बिथोलियो। अनाहक २ युवकको ज्यान गयो। सबैका लागि दुःखद भयो उक्त घटना।  

नेपालको राजनीतिक इतिहासमा मंसिर महिना अथवा जाडो याममा केही उथलपुथल भएर शान्तिपूर्ण समाज निर्माण पनि सम्पन्न भए। अर्काेतिर राजनीतिक सरगर्मी सय डिग्रीको उकालो चढ्दैछ। हालको चुनावको परिणामले कुनै पनि दलले सामान्य बहुमतसम्म पुर्‍याउन सकेनन्। लोकतन्त्रप्रति अविश्वास नभएर हालका सबै पार्टीका शीर्षस्थ नेताको अलोकप्रियताको परिणाम हो भनेर राजनीतिक विश्लेषक प्रा. कृष्ण खनाल, पुरुषोत्तम दाहाल र राजेन्द्र दाहालको कथन छ। खिचडी सरकार बने पनि राष्ट्रको दिगो विकास हुने लक्षण देखा पर्दैन। २०५१ सालपछिको पुनरावृत्ति देखापर्दैछ। नेपाली कांग्रेस जस्तो इतिहास बोकेको पार्टीले वामपन्थीसँग गठबन्धन गरेर प्रत्यक्षतर्फ ५७ सिट संघमा खुम्चिनु पर्‍यो। कांग्रेसका हजारौँ त्यागी नेता कार्यकर्तालाई पन्छाएर हँसिया हथौडा र कलम चिह्नमा छाप लगाइ निन्याउरो हुँदै घर फर्कनु पर्‍यो। परिणाम सत्ता समीकरणका लागि र नेतृत्व लिन भनी अरूसँग भीख माग्नु पर्‍यो। यो विडम्बना हो।  

राजनीतिकर्मीहरू केवल अगाडिको मार्ग हेर्छन्। सर्जकहरू इतिहासका घटनाक्रमहरूको मूल्यांकन गर्दै भोलिको भविष्य निर्धारण गर्ने गर्छन्। राजनेताहरूमा बिपी, गणेशमान, कृष्णप्रसाद भट्टराई, सुशील कोइराला, पुष्पलाल र मनमोहन अधिकारीले भूत र वर्तमान मूल्यांकन गरी भविष्यको योजना कोरेका पाइन्छ। बिपीको मेलमिलाप नीति (२०३३), गणेशमानको वामपन्थीहरूसँगको सहकार्य नीति २०४६, मनमोहन अधिकारीको कांग्रेस वर्गीय शत्रु होइन, गरिबी र रोग हाम्रा वर्गीय शत्रु हुन् (२०४६) आदि यसका विगतका उदाहरण हुन्।

२०३४ मंसिर १५ गते तत्कालीन विद्यार्थी नेता सुरेश मल्ल र बलबहादु केसीको निर्देशनमा किताब कापी बोक्ने झोलामा पञ्चायती व्यवस्थाविरुद्ध पम्प्लेट बोकेर सडकमा छर्ने क्रममा यो लेखकलाई सादा पोशाकका प्रहरीले काठमाडौँको डिल्लीबजारबाट पक्रेर भक्कुमार पिट्यो। वडा प्रहरी कार्यालय कमलपोखरीको चिसो सिमन्टी कोठामा थुनेको मैले बिर्सेको छैन। त्यसबेला राजधानीमा जापान सरकारले अनुदानमा दिएका निलो रङ्गका ठूला गाडीहरू सीमित मात्रामा साझा यातायातले सञ्चालनमा ल्याएको थियो। गाडीभित्रबाट ती पञ्चायती व्यवस्था विरोधी पर्चा बाहिर सडकमा छर्दा आफूलाई निकै बहादुर विद्यार्थी सम्झेँ। तर प्रहरीको फन्दामा पर्दा पो चेत खुल्यो। मंसिरलाई राजनीतिक पृष्ठभूमिको संकेतका रूपमा लिएको छु। त्यसपछिका विद्यार्थी राजनीतिको चर्चा गरिसाध्य छैन। नेविसंघ र अखिलका साथीहरूको कीर्तिपुरस्थित छात्राबासको झगडा, बिर्सिनसक्नुको थियो। दुवै पक्षबीच छुरी हानाहान हुँदा ३३ जना विद्यार्थी साथी सशक्त घाइते भएका थिए, मंसिर १४, २०४१ मा यो घटना भएको थियो।  

२०६१ माघ १९ गते तत्कालीन राजाले प्रतिगामी कदमको वकालत गर्दै नेपाल टेलिभिजनबाट २५ मिनेट लामो भाषण सुनाएर जनतालाई चकित तुल्याए। जनता विरोध गर्दै सडकमा उभिए। २०६२ मंसिर १७ गते भोटाहिटीअगाडि नागरिक अगुवा श्याम श्रेष्ठ, कृष्ण पहाडी, अर्जुन पराजुली, युवा नेताहरू गुरुराज घिमिरे, प्रा. रामेश्वर उपाध्याय, ठाकुर गैरे, रवीन्द्र अधिकारी, रामकुमारी झाक्री, लक्ष्मी खतिवडा, यो पंक्तिकारलगायतलाई पानीको फोहोराले निथ्रुक्कै पारेको रामकहानी ताजा छ। सबैलाई गिरफ्तार गर्‍यो। श्याम श्रेष्ठ र मलाई कमलपोखरी प्रहरीमा १० घन्टा थुनेर मध्यराति छाड्यो। त्यहाँ थुनिँदा अनौठो अनुभूति गरेका छौँ हामी दुई दाजुभाइले। मंसिर २४ गते २०६२ मा सिन्धुलीको खम्बेचौरमा नेपाली सेना र नेपाल प्रहरीको घेराभित्र नागरिक भेला गरी राजाको कदमको चर्काे विरोध गर्दै लोकतन्त्र पुनर्बहालीको माग गरेका थियौँ। प्रहरीको दमन व्यापक रह्यो। साथै खम्बेचौरदेखि बर्दिबास हुँदै हेटौँडासम्म सेनाले हामीलाई निगरानीमा राख्यो। कृष्ण पहाडी र डा. देवेन्द्रराज पाण्डेको कूटनीतिक चलाखीका कारण हामी बाँच्न सफल भयौँ। त्यसो नभएको भए शायद सेनाले हामीलाई पक्रीसकेको हुन्थ्यो।  

दलहरू सुषुप्त रहेका बेला नागरिक सभाहरूले जनतालाई जुरुक्कै उचालेर सडकमा उतारे। मंसिर २८ गते वसन्तपुरको विशाल नागरिक भेला यसको पछिल्लो उदाहरण हो। ऐतिहासिक हनुमानढोका र प्रहरी कार्यालयको अगाडि हामीलाई विरोध कार्यक्रम गर्न हम्मेहम्मे पर्‍यो। हजारौँ लोकतन्त्रप्रेमीहरूको समर्थनमा प्रहरी प्रशासन निस्तेज बन्न पुग्यो। मंसिरमा धेरै कार्यक्रम सम्पन्न भए। हनुमानढोका, वसन्तपुर दरबारको सो विरोध कार्यक्रम पनि अरू कार्यक्रम जस्तै ऐतिहासिक बन्न पुग्यो।  

२०५२ फागुन १ बाट तत्कालीन माओवादी विद्रोही समूहले सुरु गरेको सशस्त्र द्वन्द्वका कारण राष्ट्रले ठूलो क्षति बेहोर्नु पर्‍यो। १७ हजार नागरिकको ज्यान गयो, राष्ट्र द्वन्द्वमा फस्यो। हजारौँ मानिस घरबारबिहीन भए। अङ्गभंग भए। भौतिक संरचना ध्वस्त भए। नागरिकलाई आफ्नै मुलुक विरानो भयो। १० वर्ष चलेको सशस्त्र संघर्ष अन्त्य गरी देशमा शान्ति कायम गर्नु अपरिहार्य थियो। यसका लागि सरकार र विद्रोही माओवादी केन्द्रसँग पटक–पटक धेरै ठाउँमा शान्तिसम्बन्धी वार्ता भए। परिणाम २०६३ मंसिर ७ गते राति ८ः२९ बजे काठमाडौँको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (हालको संसद् भवन) मा सरकारका तर्फबाट तत्कालीन प्र.म. गिरिजाप्रसाद कोइराला र ने.क.पा. माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे शान्ति सम्झौतामा सामूहिक हस्ताक्षर गरे। निकै चासोका साथ हेरिएको शान्ति सम्झौतामा हस्ताक्षर गरिँदा देशका प्रमुख राजनीतिक दलका प्रमुख, नागरिक अगुवा, बुद्धिजीवी, पत्रकारलगायत विदेशी कूटनीतिज्ञहरूको बाक्लो उपस्थिति थियो। सो शान्ति सम्झौतामा हस्ताक्षर गर्न माओवादी अध्यक्ष प्रचण्ड आफ्ना ११ जना सुरक्षाकर्मीको कडा निगरानीमा हलभित्र प्रवेश गर्दाको दृश्य रोचक थियो। यस भन्दा अघि दुवै पक्षबीच वार्ता गर्न वर्तमान प्र.म. शेरबहादुर देउवा, हालका एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता कृष्ण सिटौला, पूर्वमन्त्री प्रदीप ज्ञवाली, नेका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरी, माओवादी नेता देव गुरुङ, सिपी गजुरेल, पत्रकार कनकमणि दीक्षित, नागरिक अगुवा श्याम श्रेष्ठ, कृष्ण पहाडी, डा. देवेन्द्रराज पाण्डे, सुन्दरमणि दीक्षित, पूर्वसभामुख दमननाथ ढुंगाना आदिको महत्वपूर्ण भूमिका थियो।  

तत्कालीन राजाको प्रतिगामी कदमलाई नेपाली जनताले पूर्णतः निस्तेज पारे। २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनसमेत भयो। १९ जना सहिद भए। धेरै नागरिक बेपत्ता भए। संसद् पुनस्र्थापना भयो। राजाका स्थानमा राष्ट्रपतिको आगमन भयो। पुरानो राष्ट्रगानका ठाउँमा नयाँ राष्ट्रगान रचिनुपर्ने तत्कालीन प्र.म. गिरिजाप्रसाद कोइरालाको सरकारले निर्णय गर्‍यो। संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृतिविद् सत्यमोहन जोशीको संयोजकत्वमा १४ सदस्यीय विज्ञ टोली गठन गर्‍यो। जसमा सदस्य मोदनाथ प्रश्रित, वैरागी काइला, अम्बर गुरुङ, डा. बेन्जु शर्मा, अमर गिरी, नन्दकृष्ण जोशी, बुँद राना, श्रवण मुकारुङ, आहुति, गोपाल ठाकुर, दुर्गालाल श्रेष्ठ, रामेश र सदस्यसचिवमा मन्त्रालयका सहसचिव जल श्रेष्ठ रहनुभएको थियो। साउनमा गठन गरिएको सो समितिले देशभरबाट उत्कृष्ट रचना माग गर्‍यो। राष्ट्रगानमा हुनुपर्ने निश्चित मापदण्ड तय ग¥यो। देशको गरिमा बढाउने, इतिहासलाई नभुल्ने, नेपाली कला संगीत र जनआन्दोलनको भावना मुखरित गरिनुपर्ने किसिमका विशेषता बोकेका गीत समावेश हुनुपर्ने भन्दै सीमा पनि निर्धारण गर्‍यो। विज्ञ सदस्यहरूले तत्कालीन ५ वटै क्षेत्रीय सदरमुकाम पुगी अन्तरक्रिया, गोष्ठी, छलफल र अन्तरसंवाद पनि सम्पन्न गरे।  

देशभरिबाट १२७२ वटा रचना प्राप्त भए। सबै रचनामाथि घनिभूत अध्ययन गर्दा र निक्र्यौलमा पुग्दा ३ महिना समय लाग्यो। सबै विज्ञ सदस्यको निष्पक्ष जाँचकीका कारण हालको राष्ट्रगान “सयौँ थुंगा फूलका हामी ...” स्वीकार्य भयो। जसको रचनाकार ओखलढुंगा निवासी प्रदीप राई अर्थात व्याकुल माइला हुन्। माथि उल्लिखित बोलको राष्ट्रगानको सार्वजनिकीकरण पनि मंसिर ७ गते भएको हो। नेपाल संगीत आकाशका नक्षत्र स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको दुःखद निधन पनि २०४७ मंसिर १९ गते राजधानीमा हुन गयो। १९९६ असोज १८ गते जन्मेका नारायणगोपालले ५१ वर्षको उमेरमा नेपाली माटोका सयौँ गीत गाएर प्रख्याति कमाए। नेपाली मनलाई रुवाएर गए।  

मंसिर क्रान्ति र शान्तिको महिना पनि भएकाले विशेष महत्व बोकेको छ। राष्ट्रिय राजनीतिका लागि पनि यो महिना महत्वपूर्ण मानिएको छ। गत मंसिर ४ गते सम्पन्न चुनावको परिणाम आइसकेको छ। गठबन्धन सरकारको एक घटक कांग्रेस ठूलो दल बनेको छ। आफ्ना सहयात्री दलसहित साना राजनीतिक दलको सहयोगमा कांग्रेसले शायद सरकारको नेतृत्व गर्दैछ। ४ महिनाको मेहनतका कारण नेपाल स्वतन्त्र पार्टीले संसद्मा आफ्नो उपस्थिति दरिलो तरिकाले जनाउँदैछ। प्रत्यक्ष ७ (सात) सिट जित्न सफल उसले समानुपातिकतर्फ पनि १३ सिटको हाराहारीमा उपस्थिति जनाउने छ। ठूला दलहरूको हालसम्मको आकर्मण्यका कारण जनताले वैकल्पिक संगठनलाई महत्व दिएका देखिन्छ। यसपटकको चुनाव कसैका लागि मालामाल, बाँकीका लागि पुर्पुरोमा हात बनेको छ। लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने भएकाले जनताको बलिदानीबाट स्थापित लोकतन्त्रको रक्षा गर्नु हामी सबैको परम कर्तव्य हुन आउँछ।

प्रकाशित: २२ मंसिर २०७९ ००:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App