२३ माघ २०७९ सोमबार
विचार

मेस्सी र मेस्सीहरूको अवकाश

विश्व कपको आशावादी दाबेदार अर्जेन्टिना समूह आठमा पुग्नुअघि अर्जेन्टिनी टिमलाई माया गर्ने संसारभरका फुटबलप्रेमी निराश थिए। तर समूह आठका लागि शनिबार राति भएको खेलपश्चात भने अर्जेन्टिनी समूहले आश जगाएको छ।

लामो समयदेखि खेलजगत्मा जादूगरको छाप बनाउन सफल लोकप्रिय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले यसपटक चलिरहेको विश्व कपमा आशातित भूमिका निर्वाह गर्न सक्दैनन् कि भनेर उनको नेतृत्वको टिमलाई माया गर्ने संसारभरका खेलप्रेमीहरू निराश थिए। अचुक गोल हान्न खप्पिस उनले हानेका गोलहरूसमेत धेरैपटक पोष्टभित्र छिर्न नसक्दा उनका फ्यानहरू निराश हुनु अस्वाभाविक थिएन।

विश्व कप खेलबाट विस्तारै आराम गर्न लागेका मेस्सीसँग धेरै अपेक्षा राख्नु उचित नभए तापनि खेलाडीहरू मैदानमा उत्रिएपछि दर्शकहरूमा समेत आफूले माया गरेको खेलाडीको पक्ष लिनुपर्ने स्वाभाविक बाध्यता हुन्छ।

मेस्सी मैदानमा नआएका भए पनि खेलप्रेमीहरूमा एकखालको शून्यता अवश्य हुने थियो। उनी मैदानमै नआएका भए न त मेस्सी पनि कुनै दिन गोल हान्नमा चुक्न सक्छन् भन्ने तथ्य स्थापित हुन्थ्यो न मेस्सीको गोल पोस्टबाहिर गएको नै दर्शकले देख्नुपथ्र्यो। यस अर्थमा खेलाडी र दर्शकबीच बेजोडको भावनात्मक सम्बन्ध हुन्छ। नभेटिने, कुरा गर्न नपाउने अन्य लेनदेनसमेत नभए तापनि खेलप्रेमी दर्शकहरू आफूले मन पराएको टिमलाई माया गर्ने रहस्यमय सम्बन्धले बाँधिएका हुन्छन्।  

तर मेस्सी यसपटकको खेलमा गोल गर्न पटक–पटक चुकेनन् मात्रै पटक–पटक उनलाई अरूले उछिन्दा उनमा रहेको खुवीसमेत कम सावित हुन पुगेको छ। नयाँ खेलाडी एलेक्सिस म्याक एलिस्टर र जे अल्भारेजको गोलबाट उनले नेतृत्व गरेको अर्जेन्टिनी टिम बल्ल समूह १६ हु“दै आठमा उक्लिएको छ। द स्पोर्टिङ न्युजका पत्रकार किले ब्राउनको हालै प्रकाशित एउटा लेखअनुसार त मेस्सी अवकाश हुनुअघि नै आफ्नो जादूगरी खेल यसै विश्व कपबाट टुंग्याउन चाहन्छन्।

म्याकएलिस्टरको गोलबाट मेस्सीको टिम समूह १६ सम्म पुग्यो भने मेस्सी र अल्भारेजको गोलबाट आठौँमा उक्लिएको छ तर त्यहाँ भन्दा अघि बढ्न सक्छ कि सक्दैन यसै भन्न सकिने अवस्था छैन। मेस्सीले पहिला पहिलाझैँ लोभलाग्दो खेल प्रस्तुत गर्न सकिरहेका छैन। उनको सफलतालाई कहानी बनाएर एउटा जादूयी खेलाडीका रूपमा पुज्ने उनका फ्यानहरू उनको अन्तिम खेलमा निराश हुन चाहँदैनन्।

फ्यानहरूलाई लाग्न सक्छ– मेस्सी असफल भएर अवकाश नपाऊन्, उनी एउटा उम्दा खेलाडीकै रूपमा र पेले वा म्याराडोनाकै हाराहारीमा खेल इतिहासमा चम्किलो ताराका रूपमा स्थापित भइरहून्। यो मेस्सीको हकमा मात्रै होइन, हरेक खेलप्रेमीले आफूले मन पराएको खेलाडीका लागि त्यही पुकारा गरिरहेको हुन्छ।

संयोग मानौँ। यसपालिको विश्व कपको उद्घाटन र हाम्रो राष्ट्रिय निर्वाचनको मिति एकै दिन पर्न गयो। जसरी अझै विश्व कप कसले हात पार्ला भन्ने एकिन हुन सकिरहेको छैन, त्यसैगरी सरकार पनि कुन दलले बनाउला, कसरी बनाउला भन्ने विषय कौतुहल अवस्थामै छ। यसै पनि फुटबलमा झैँ एउटै टिमले सरकार बनाउन नसक्ने अवस्था भएकाले कुन कुन समूह मिलेर सरकार बनाउलान् यसै भनिहाल्न सकिने अवस्था छैन।  

विश्व कप सुरु भएकै दिन सम्पन्न भएको हाम्रो संघीय संसद् र प्रदेश सभाको निर्वाचनमा पनि विश्व कपकै जस्तो अवस्था सिर्जना हुन गएको छ। केही राजनीतिक दलका आशालाग्दा खेलाडीहरू मैदानबाट छुट्न गएका छन् भने केही नया“ अनुहार भित्रिएका छन्। केही लोभलाग्दो क्षमता भएका राजनीतिक खेलाडीहरू पछि पर्न गएका छन् भने केहीकेहीले जेलबाटै पनि आफ्नो उपस्थिति देखाएका छन्। केहीकेही भिन्न क्षमताका र विवादास्पद छवि भएका व्यक्तिहरूसमेत राजनीतिक मैदानबाट अगाडि बढिरहेका छन्। केहीकेही हतियारको राजनीतिबाट संसद्को राजनीतिमा पुगेका छन्। निर्वाचन हेर्दा लाग्छ, कहिलेकाहीँ यो पनि खेलझैँ टाइबे्रकरमा पुगेर टुंगिने हो कि वा गोलकिपर अल्मलिएको अवस्थामा सजिलै गोलपोस्टमा छिरेको गोल जस्तो पो हो कि भनेजस्तो भएको छ।  

यदाकदा राजनीति पनि प्राविधिक खेलको भूमरीमा जकडिएको हो कि भन्ने भ्रम उत्पन्न हुने गर्छ भने कहिलेकाहीँ विवादास्पद छवि भएका व्यक्तिहरूसमेत छानिने गर्दा राजनीति विश्लेषण गर्न नसकिने वा जनमत कताबाट कता गइरहेको छ भन्ने कुरा छुट्याउन नसकिने खेलझैँ बन्न पुगेको छ। भित्रभित्रै जनतामा कति निराशा छ, कस्तो परिवर्तन जनताले चाहेका छन् भन्ने कुरा थाहा नपाउने अवस्थाले कुन खेलाडीले कहिले पोस्टभित्र गोल छिराउला भन्न नसकिएझैँ निर्वाचन परिणामको आंकलन पनि सधैँ एकैनासले संभव नहुँदो रहेछ।  

खेलझैँ राजनीति पनि रोमाञ्चक छ। जसरी खेलमा यही हुन्छ भनेर पूर्वअनुमान गर्न सकिँदैन, त्यसैगरी हरेक पटकको निर्वाचनमा समेत पूर्वघोषित परिणाम आउन गाह्रो हुन्छ। जति रोमाञ्चक भए पनि राजनीतिक क्याप्टेनहरू भने विजयी भइरहने र वर्षौँवर्ष एउटैले राज गर्ने र खेलाडीको टिममा झैँ विस्तारै सदस्यहरू भने परिवर्तन हु“दै जाने क्रिया रमाइलो विषय बनेको छ। आफ्नो टिमबाट खेल्दा सजिलै जित्न सक्ने भए पनि अर्कातिरको सदस्यलाई जसरी खेल मैदानमा उतारिँदैन, त्यो भन्दा पनि गम्भीर चाल राजनीतिमा चल्ने गर्छ– कप्तानसँग कुरा नमिल्दा जित्ने खेलाडी पनि राजनीतिक मैदानमा उतारिँंदैन।  

विश्व कप कसले हात पार्ला भनेझैँ चुनावपछि सरकार कुन राजनीतिक क्याप्टेनले कसको सहायताबाट बनाउला र गोल रक्षाका लागि डिफेन्डरको भूमिका निभाउने प्रतिपक्षीको सिटमा को पुग्ला भन्ने कौतुहल यथावतै छ। राजनीतिक खेल पनि यति रोमाञ्चक बनेको छ कि केही केही क्याप्टेनका खास सदस्यहरू छुट्दा अब त्यो खाली ठाउ“ कसले पूरा गर्ने हो भन्ने अन्योल छ। राजनीतिलाई त्यसै खेल भनिएको होइन, क्याप्टेनको सहयोगीको ठाउँ खाली भएको अवस्थामा त्यसको पूर्ति उचिततवरले नहुने हो भने गोल हान्नमा मुस्किल पर्ने मात्रै होइन, अर्काे पटक फेरि मैदानमा उत्रँदा दर्शकरूपी मतदाताहरूले मन नपराउने बलियो संभावना रहन्छ।

आफ्नै कार्यकर्ताहरूबाट राजनीतिक पेलेको दर्जा पाएका एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि नयाँ खुलेका स्वतन्त्र दलका अध्यक्षहरूले समेत जीतको शुभकामना ग्रहण गर्दा जनतामाझ स्थापित केही राजनीतिक खेलाडी भने छुट्न गएका छन्। केही बहालवाला मन्त्रीहरू नै नया“ खेलाडीहरूसँग पराजित भएका, केही नया“ अनुहारले स्थापितहरू खेलाडीलाई हराएका जस्ता घटनाले कहिलेकाहीँ मेस्सीले पनि गोल गर्न सक्दैनन् भन्ने कुरामा समानता देखिन्छ।  

राजनीतिक मेस्सीहरूसँग भिड्न आएका युवाहरू त्यसमाथि पनि कुनै बलियो टिमबिनै आएका नया“ खेलाडीले यसपटकको राजनीतिक मैदानमा भरपूर आनन्द प्रदान गरेका छन्। केही जीतको मुखमा पुगेर पनि हारेका होलान् तर तिनीप्रति पनि जनताको अपार माया देखिएको छ र टाइब्रेकरमा जीत वा हारको फैसला भएझैँ राजनीतिमा समेत थ्रिलर स्टोरी जस्तो राजनीतिक फैसलाहरू रोमाञ्चक मोडमा पुगेका छन्।  

राजनीतिलाई खेलसँग दाज्ने पहिल्यैदेखिको परम्परा हो। बाह्रौँ खेलाडी, चेस र क्यारेमबोर्डका गोटीहरू जस्ता विम्बको प्रयोगबाट व्यंग्य मात्रै गरिएको होइन, दलकै नेताहरूले समेत आफूहरूलाई पेले, रोनाल्डो, मेस्सीहरूसँग दाँज्ने काम समय–समयमा भइरहेको छ। कतिपय नेताले आफूलाई पेले, मेस्सी र रानाल्डोको उपनामबाट गर्व गरेको पाइन्छ भने कतिपयले आफ्ना नेताहरूलाई नै पेले वा मेस्सीको दर्जासमेत दिलाएका छन्।  

तत्कालिन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पेलेसँग दा“ज्दै पेलेले कहिल्यै हार्न नजानेको सार्वजनिक टिप्पणी ओलीका हकमा भने दुरुस्तै मिल्छ। ओली पेले हुन वा मेस्सी, वा देउवा पेले हुन वा मेस्सी तर उनीहरू पनि कुनै खेलाडी भन्दा कम छैनन्। ओली सत्तामा हुँदा होस् वा प्रतिपक्षमा दशक भन्दा अघिदेखि चर्चाको केन्द्रभागमा छन् त्यसैले उनलाई पेले वा रोनाल्डो वा मेस्सी जे भने पनि फरक पर्दैन।  

उता प्रधानमन्त्री शेरबहादुर देउवा त झन सातौँपटक लगातार निर्वाचनमा विजयी भएर लगभग गिनिज बुक अफ द वल्र्ड रेकर्डसमै नाम दर्ज गर्ने अवस्थामा पुगेकाले उनी पनि कम सशक्त खेलाडी होइनन्। ओलीले पहिल्यै पेलेको दर्जा पाइसकेकाले देउवालाई रोनाल्डो भन्दा पनि फरक नपर्ला। तत्कालीन शिक्षामन्त्री श्रेष्ठले सर्वाेच्च अदालतको आदेशले संसद् विघटन बदर भएपछि पनि आफ्नै दलको सरकार बन्ने र ओलीले खेलमा हार्न नजानेको दाबी गरेका थिए। अब सरकार गठनबाट पनि उनीहरूमा रहेको खेलाडीको दम कति छ भन्ने पुष्टि हुने नै छ।

‘ओली त पेले हुन पेले, पेलेले कहिल्यै हार्न जानेको छैन’ भन्दै ओलीका दाहिने हात मानिएका श्रेष्ठले ओलीलाई नेपालको राजनीतिको पेलेको दर्जा दिएका हुन्। लगातार संसद विघटन एमालेलाई पहिलोबाट बलियो दोस्रो दल बनाएका छन्। सर्वाेच्च अदालतले किटानीपूर्वक देउवालाई निश्चित समयभित्र प्रधानमन्त्रीमा नियुक्ति गर्नू भन्ने परमादेश जारी भएपछिको डेढ वर्ष अवधि बितिसक्दा ओलीमा रहेको पेलेपन कति पानीमा छ भन्ने कुराको पुष्टि भने अब बन्ने सरकार वा प्रतिपक्षीको भूमिकामै निर्भर होला।  

खेल र राजनीतिका केही समानता भए तापनि यी दुई विधाबीचको प्रमुख अन्तर विछट्टकै छ। खेलमा निश्चित उमेरपछि खेलाडीले आफैँ संन्यास घोषणा गर्छ वा उसलाई खेलाउने क्लबले बिस्तारै प्रतिस्पर्धामा उतार्न छाड्छन्। राजनीतिक खेलाडीहरूले भने जहिल्यै पनि आफूलाई युवा ठानिरहने र सधैँ जीतको सपना देख्ने गर्छन्। पेलेले संन्यास लिएको दशकौँ बितिसक्दा पनि उनका समकालीनझैँ लाग्ने राजनीतिक खेलाडीहरू अहिले पनि राजनीतिक मैदानमा जादू देखाइरहेका छन्।  

मेस्सीले समेत यो विश्व कपपछि विश्राम लिने चर्चा भइरहेको सन्दर्भमा अझै उनका हजुरबा उमेरका राजनीतिक खेलाडीहरू भने थाकेकै छैनन्। आफूलाई पेले वा रोनाल्डो ठान्ने राजनीतिक खेलाडीले समयमै मैदान खाली गरेर मेस्सीलाई समेत प्रतिस्थापन गर्न आइसकेका नयाँ खेलाडीलाई मैदानमा उतार्न ढिलाइ भइसकेको छ।  

खेलाडीका लागि त मैदान सधैँ खाली हु“दैन भने राजनीतिज्ञहरूले सधैँ आफूलाई केन्द्रभागमै राख्न खोज्दा मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदको झैँ जमानत जफतसम्म पुग्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन। खेलमा झैँ आफूले मन पराएको राजनीतिज्ञको नाम इतिहासमा स्वर्ण अक्षरले पढ्ने जनभावनाको कदर गर्नतिर हाम्रा राजनीतिका पेले, रोनाल्डो र मेस्सीहरूले कहिले सोच्ने ?

प्रकाशित: २० मंसिर २०७९ ०६:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App