coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

‘खेलाडी’ जस्तै नेता

काठमाडौं चुच्चेपाटीका रामशरण खरेल फुटबल र राजनीति दुवैमा निकै चासो राख्छन्। संयोगले यसपटक संघीय निर्वाचनको नतिजा आउँदै गर्दा कतारमा विश्वकप पनि चलिरहेको छ। घरी चुनावको नतिजा त घरी खेलको तालिका हेर्दाहेर्दे राजनीति र फुटबलको रमाइलो फ्युजन हुन थालेको उनी सुनाउँछन्।  

‘अब त मलाई नेकपा एमालेका अध्यक्ष केपी ओली ब्राजिलका नेइमारजस्तो लाग्न थालेका छन्,’ उनले हाँस्दै भने, ‘सानो ‘फल’ भए पनि चिच्याएर कराउने दुवैको स्वभाव निकै रमाइलो छ।’ नेइमार पनि विश्वकप जित्न सक्ने टिमका खेलाडी भएजस्तै ओली पनि सरकार बनाउन सक्ने पार्टीका अध्यक्ष भएकाले पनि उनलाई नेइमारसँग दाजेको उनले सुनाए।  

ओलीलाई नेइमारसँग दाजेका खरेलले प्रचण्डलाई भने स्पेनका रामोससँग दाज्न पुगे। ‘रामोस पहिला रोनाल्डोसँग मिलेर मेसीलाई खुबै फल हान्थे,’ उनले भने, ‘त्यही रामोस अहिले पिएसजी क्लबमा बसेर मेसीसँगै मिलेर फुटबल खेल्छन्।’ पहिला ओलीसँग मिलेर देउवालाई माथ गरेका प्रचण्ड अहिले देउवासँगै मिलेर सरकार चलाउने तयारी गर्दा स्पेनका रामोसको झल्को आएको उनी बताउँछन्। उनीजस्तै काठमाडांै हाँडीगाउँका सुविन गमाल पनि राजनीतिज्ञ र खेलाडी दाजेर रमाइलो गर्छन्। सन् २०१० देखि अर्जेन्टिनाका प्रशंसक रहेका गमालले अहिले मेसी मन पराए पनि त्योभन्दा अगाडि फ्रान्सका जिदानको समर्थक रहेको सुनाए।  

‘मेरो नजरमा अहिले काठमाडौंका मेयर बालेन अर्जेन्टिनाका खेलाडी मेसीजस्तै लाग्छन्,’ उनी भन्छन्, ‘सबैतिरबाट घेराबन्दी हुँदा पनि गोल गर्न अगाडि बढ्ने मेसी र विरोधका बाबजुद अगाडि बढ्ने बालेनशैली उस्तै लाग्छ।’  

मेसीले सबैचोटि सफलता नपाएजस्तो बालेनको हालत पनि त्यस्तै रहेको उनले सुनाए। तर दुवैबाट आशा भने तरंगित हुने उनी सुनाउँछन्। ‘मेसी मैदानमा हुँदा गोलको आशा हुन्छ,’ उनी भन्छन्, ‘त्यस्तै बालेन अगाडि बढेपछि केही नयाँ ‘गोल’को भान हुन्छ।’  

गमालले बालेनलाई मेसीसँग दाँज्दा खरेल भने उनलाई रोनाल्डोसँग दाज्छन्। ‘रोनाल्डो छिरे पनि त्यो क्लब होस् या टिम, उपाधि जितिहाल्छ,’ उनले भने, ‘बालेन पनि अगाडि बढेपछि जितेरै फर्कन्छन्।’ फुटबलमा जस्तै राजनीतिमा पनि ओभरस्मार्ट बन्यो भने चाहिँ खेल हारिने उनले सुझाए। ‘एक जना मात्र राम्रो भएर केही हँुदैन भन्ने कुरा मेसीप्रेरित अर्जेन्टिनाको टिमले देखाउँछ,’ उनले भने, ‘टिमवर्क मिलेन भने साउदी अरेबियासँग हार्नुपर्छ, मिल्यो भने मेक्सिकोलाई सजिलै जितिन्छ।’  

ललितपुर साना गाउँकी सिर्जना श्रेष्ठलाई भने गगन थापा फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पेजस्तो लाग्छ। ‘एम्बाप्पे फुटबलका नयाँ सम्भावना हुन्,’ उनले भनिन्, ‘त्यस्तै गगन थापा राजनीतिका नयाँ आशा हुन्।’ जसरी एम्बाप्पे खेलको क्षेत्रमा नयाँ पिँढीका आदर्श हुन्, त्यसैगरी गगन नेपाली राजनीतिमा नयाँ पिँढीका भरोसाका केन्द्र हुन्।’

यता सविन भने राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई स्विडेनका खेलाडी जाल्टान इब्रामोमिजसँग दाज्छन्। राम्रो खेल्ने क्षमता भए पनि गफ बढी दिने स्विडेनी खेलाडीको विभिन्न किस्सासमेत उनले सुनाए। ‘रवि राम्रा हुन् तर उनको धेरै बोल्ने बानीले जाल्टानको झल्को आएको छ,’ उनले भने, ‘रविले जाल्टानीको जस्तो बढी बोल्न छाडेर उनले गरेजस्तै आकर्षक गोल गर्न सके राजनीतिले भरोसाको ‘विश्वकप’ जित्ने थियो।’ जसले जे भने पनि खेल र राजनीति निकै भिन्न चिज रहेको गोठाटारका महेश पुडासैनी बताउँछन्। ‘राजनीतिमा ‘खेल’ भयो त्यो नराम्रो हुन्छ,’ महेश भन्छन्, ‘त्यस्तै खेलमा ‘राजनीति’ मिसियो भने त्यो घातक हुन्छ ।

प्रकाशित: १७ मंसिर २०७९ ०२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App