२१ फाल्गुन २०८० सोमबार
विचार

सामाजिक सञ्जालमा आफूलाई कति देखाउने ?

चार वर्षअघि म लन्डनमा बस्दा उतैको स्थानीय लुगा लगाएको तस्बिर रहरले फेसबुकमा प्रोफाइल पिक्चर बनाएर राखेकी थिएँ। त्यस तस्बिरमा लाइक र कमेन्ट धेरै आए। आफन्त र साथीभाइहरूले कमेन्टमा तर्क वितर्क धेरै गरे। एक नजिकको आफन्तले कमेन्ट गर्दै लेखे– ‘लुकाउन अब के नै बाँकी रह्यो नानी ?’ आफ्नाहरू त्यो तस्बिर देखेर रिसाए। त्यसपछि सामाजिक सञ्जालमा म त्यति फोटो राख्न रुचाउँदिन र जरुरी पनि लाग्दैन। विदेश आफ्नो परिवार अनि देश छाडेर पढ्न र काम गर्न आएकी हुँ भन्ने महसुस भयो।  

‘मैले मेरो आफ्नो व्यक्तिगत छविलाई नग्न पारेर कमेन्ट र लाइक लिनु आफैलाई मूर्खता लाग्यो,’ आरती शर्मा भन्छिन्। त्यसपछि मैले नचाहिने तस्बिर कहिल्यै पनि पोस्ट गरिनँ।  

बाइकमा बसेर चुम्बन गरिरहेको एक दृश्यलाई क्यामरामा कैद गर्दै सामाजिक सञ्जालमा फोटो हालेर पोस्ट गरेपछि अस्ट्रेलियामा बस्ने एक बहिनीलाई पनि त्यस्तै अप्ठ्यारो परेको थियो। त्यो तस्बिर देख्नेबित्तिकै काठमाडौंमा भएका आफन्तहरूले निकै आलोचना गरेका थिएँ। ‘ठाउँअनुसारको काम भएछ राम्रो तर तिमी नेपालीकी छोरी हौ। विदेशमा तिमीहरू पढ्न र कमाउन गएकी हौ। यस्ता तस्बिर राखेर मन फुलाउन भने पक्कै पनि गएकी होइनौ होला। काम गरेर देखाऊ। परिवारलाई लज्जाबोध गराएर होइन। यस्ता आफ्नाले भनेका कमेन्टहरूले असजिलो बनाएको थियो रोशनीलाई।  

आज जोकोही पनि स्विमङ कस्टममा होस्, नयाँ राम्रा कपडा गहना लगाएको दृश्यलगायत कार्य भोजभतेरका दृश्यहरू तस्बिरमा उतारेर सामाजिक सञ्जालमा हाल्ने चलन नौलो होइन। यति मात्र नभई तुरुन्तै मरेको लासलाई खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेहरू पनि धेरै छन्।  

गएको दसैंमा टीका लगाउने तयारीमा सबै जुटिरहेका थिए। एक्कासी बच्चा पाएको तस्बिर हस्पिटलबाट पोस्ट गरिदिए। सुत्केरो परे छ ला भन्दै सबै लराकलुरुक भए।  

एक घण्टापछि हालेको भए भइहाल्थ्यो नि। कति हतार गरेको भन्दै सबै मुखामुख गरे। महिनौं दिनदेखिको तयारी बर्बाद भए। कति कुराहरू यस्ता हुन्छन्, जो अरूका लागि पनि सोच्नुपर्छ। यो होइन कि स्मार्ट मोबाइल हातमा छ भन्दैमा अरूको पर्वलाई नै धमिल्याइदिने।  

हरेक क्रियाकलापका तस्बिरहरू खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नु आज कुनै नौलो कुरा होइन। खुसी अभिव्यक्त गर्ने थलोे साथै दुःख बिसाउने आधार पनि बनेको छ यो प्रवृत्ति।  

भर्खरका भुरा हुन् या वृद्ध, जोकोही पनि यसमा रमाउने गरेका छन्। यसले देशविदेशमा बसेका छोराछोरी, आमाबाबा, आफन्त मित्रहरूका सबै गतिविधिहरू तुरुन्तै देख्न पाइन्छ। नजिक पनि बनाएको छ यसले। ठाढा भएका आफ्नासँग सम्बन्ध गाँस्ने आधार पनि बनेको छ। जहाँ जसरी पनि कुरा गर्न सकिने यो विद्युतीय प्रविधिले सबैलाई सहज बनाएको छ।  

यही सामाजिक सञ्जालमाफर्त कतिले वाहवाही पाइरहेका छन्, कतिको जीवन उचालिएको छ भने कति रोएर बस्नुपरेको अवस्था पनि छ।

सामाजिक सञ्जालमार्फत आफू कति आउने। आफू कति प्रदर्शित हुने भन्नेमा धेरै मानिसहरू दोधारमा छन् अहिले। के हाल्ने, कस्तो पोस्ट गर्ने, यो विषयलाई लिएर धेरै दोधारमा छन्।  

हुन त यी मान्छेका आफ्नो व्यक्तिगत कुरा हुन्। व्यक्तिगत कुरा नै भए पनि आफूले आफैलाई हाँसोको पात्र बनाउनु चाहिँ अलि खल्लो लाग्छ हेर्ने र पढ्नेलाई। प्रगतिशील कार्य गरेर समाजमा ऊर्जा थप्ने कामका तस्बिरहरू पोस्ट गरेर उत्साह जगाउनु, समाजलाई सकारात्मक सन्देश फैलाउनु। यसमा सामाजिक सञ्जालको ठुलो भूमिका रहेको छ। तर, समाजलाई नै हानी गर्ने दृश्यले समाज धमिल्याइरहेको छ।

हातहातमा भएको मोबाइलमा रमाउने, मग्न भएर मोबाइलमा मात्र आर्कषित हुने, यही मोबाइलले आफ्नासँग टाढा पनि बनाइदिएको छ।  

सारा संसारको कुरा देखाउने इन्टरनेटको सुुविधा जो आकर्षणको केन्द्रबिन्दु बने पनि यो सुविधा आफैमा चुनौतीपूर्ण भइरहेको छ यतिखेर।  

हिँड्दाहिँड्दै फोन आउँछ। मोबाइलमा चाहिने नचाहिने कुराहरू सो अप गर्दै हिँड्छौं। आफ्ना व्यक्तिगत कुरा सबै साझा ठाउँमा बोल्दै सुनाउँदै हिँड्छाैं।  

यो प्रविधि विकाससँगै मान्छेले के देखाउने, के छुपाउने सबै बिर्सेका छन् जस्तो लाग्छ।  

विवाहमा बेहुली रुँदा बेहुलाले बोकेर गाडीमा राखेर मजाक बनाउनेहरू हाँसोका पात्र लाग्न थालिसक्यो। एक्काईस वर्षकी केटीले सत्तरी वर्षको बृद्धसँग विवाह गरेको खबर मिडियामार्फत उचालियो। सामाजिक सञ्जालका विशेषता धेरै छन्। यही सामाजिक सञ्जालले लोभलाग्दो र रहस्यमय जिन्दगी बनाइदिएको छ। अर्काेतर्फ यही प्रविधिले मानिसलाई मर्न बाध्य र लाचार जिन्दगीमा परिणत गरिदिएको छ।

अरूले के गरिरहेको छ, कस्तो काम गरिरहेको छ, को कता गइरहेको छ, कसले कस्तो बोल्यो, कसले कोसगँ मायाप्रीति साट्यो, यस्ता कुरा आजभोलि ऐनासरि छलङ्ग देख्न पाइन्छ।

पहिले पहिले यसप्रकारका कुराहरू जमघट हुँदा, पानी पँधेरो, चिया पसल, चौतारामा मात्र सीमित रहन्थे। अहिले प्रविधिको पहुँच र प्रयोगकर्ताले सोसल मिडियाबाट यस्ता दृश्यहरू नहेरेसम्म मानिसको दैनिकी सुरु र अन्न नहुने भइसक्यो।  

समाजलाई नै उत्तेचित गराउने र समाजलाई दुर्गन्धित गराउनेजस्ता क्रियाकलापहरू राखेर प्राविधिक पहुँचलाई विकृति फैलाउनुभन्दा प्राविधिक पहुचलाई सकारात्मक प्रयोगका लागि काम गरियो भने यसले समाजलाई पे्ररणा दिने छ।  

एक भलादमी महाशयले भन्नुभयो– कस्तो विकृति आएको हेर। पहिला पहिला कसैको सम्बन्धबिच्छेद हुँदा अब यसले कसरी बस्छे, के गर्छे, कहाँ जान्छे, आफन्तहरूको महिनौ दिनसम्म चियोचर्चो हुने गरिन्थ्यो। सुनेको भन्दै विचार अभिव्यक्त गर्थे। छोराछोरी जन्मँदा, केटाकेटी हेर्न जाँदा, खासखुस मात्र कुरा गर्थे। हेर, विवाह गरेको दुई महिनामा नै पेट बोकेकी भन्दै कानेखुसी गर्थे। आइमाईहरू पेट लुकाउँथे। लाज मान्थे। अहिले पेट नै उचालेर सामाजिक सञ्जालमा फोटो राख्ने ‘बेबी सावर’ भन्दै पेट देखाउने चलन सामान्य भइसकेको छ। आज कसको कहिले के कसरी विवाह भोज मिल्यो, यहाँसम्म कि मरेको मान्छेको फोटोसम्म हालेर लाइक, कमेन्ट भरिभराउ गरेका हुन्छन्। यसो हेर्दा लाग्छ, मान्छेको जिन्दगी बाँचेदेखि मरेसम्म नै सार्वजनिक हुन थालिसकेको छ।  

एउटै बिछ्यौनामा हुँदा पनि श्रीमान्–श्रीमतीले सन्चो बिसन्चो सोध्न बिर्सिसकेका छन्। बाबा कार्यालयबाट आउँदा खुसी हुने बच्चा अहिले मोबाइल प्रविधिमै व्यस्त भएर हालखबर सोध्न पनि भ्याउँदैनन्। घरमा आफन्त आउँदा, चाडबाड मनाउँदा पनि पर्वको उत्साहभन्दा पनि मोबाइल नै आकर्षण बनेको देखिन्छ।  

घरको पूजा होस् या कुनै भव्य समारोह, जुन सुकै कार्य होस् काम, पूजापाठमा रुचीभन्दा पनि राम्रो भएर फोटो राख्नु विशेष उद्देश्य देखिन्छ आज। पुजारीले हात जोड्नु भन्दा क्यामरातिर नै बढी फोकस भएको देखिन्छ। यतिसम्मका दृश्य देखिन्छ कि श्रीमान् श्रीमतीले अँगालो मारेको, म्वाइँ खाएकोजस्ता कुरा देखाउन जरुरी छ र ?  

केही समयअघि टिकटकमा अंग प्रदर्शन गरिएको तस्बिर देखेर घरका मुलीले ‘नानी यस्ता तस्बिर राख्नु राम्रो होइन। यस्ता कार्यहरू नगर’ भन्दा घर परिवारमा नै झडप भएको थियो। सोसल मिडियाले हामीलाई लुकाउनेभन्दा पनि देखाउने बनाइरहेको छ। यतिसम्म हुन थाल्यो कि मजाकमा गरिएका कुराकानी पनि नपत्याउने गरी मोबाइलमा रेकर्ड गर्ने, फोटो खिच्ने, भिडियो बनाउने, पोस्ट गर्ने अनि परिवार परिवारबीच द्वन्द्व फैलाउनेजस्ता घृणित कार्य दिनदिनै भइराखेका पाइन्छन्। श्राद्ध, क्रिया गर्दाका तस्बिर, सुहागरातमा लगाएका कपडा पनि सामाजिक सञ्जालमा हालेर रमाउन थाले। अहिले धेरै लाइक र कमेन्टमा धेरैले संसार जितेको महसुस गर्न थालेका छन्।

आफ्नो व्यक्तिगत जीवनलाई लथालिङ्ग पार्दै आफूलाई नै छरपस्ट पारेर लाइक र कमेन्टमा मात्र रमाउनु सही हो र ? 

प्रकाशित: १७ मंसिर २०७९ ०१:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App