१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

विश्व कप सिन्ड्रोम

राज प्रसाद 

संसारकै सबभन्दा लोकप्रिय खेल फुटबल (जसलाई अमेरिकीहरू ‘सकर’ भन्छन्) प्रायः राष्ट्रिय पहिचानको खाँबो र सामूहिक गौरवको मुहान बन्ने गरेको छ। त्यही भएर खेलकुदका अन्य कुनै पनि महोत्सवले भन्दा फिफा विश्व कपले संसारभरका मानिसमा सघन भावनात्मक उभार ल्याउने गरेको छ। यो वर्ष कतारमा आयोजित विश्व कप यसमा अपवाद रहेन।

सन् १९९८ मा फ्रान्समा भएको विश्व कपले यो कुरालाई धेरै हिसाबले पुष्टि गर्छ। सन् २०१२ मा गरिएको एक अध्ययन अनुसार एक महिना चलेको त्यो विश्व कपको समयमा फ्रान्समा आत्महत्याको दर उल्लेख्य संख्यामा घटेको थियो। फ्रान्सेली टोलीले खेलेको खेलपछि त्यहाँ आत्महत्या दर नाटकीयरूपमा १९.९ प्रतिशतले कम भएको थियो। उतिबेला फ्रान्सले विश्व कप जितेको थियो। तर मानिसमा भावनात्मक उछाल ल्याउन कुनै देशको टोलीले विश्व कप जित्नैपर्ने अनिवार्यता भने छैन।

 सन् २०१५ मा भएको अर्को एक अध्ययनमा दक्षिण अफ्रिकामा सन् २०१० को विश्व कपपश्चात छोराछोरीको जन्मको अनुपातमा दिगो बदलाव देखिएको थियो। विश्व कपको समयमा यौनजन्य गतिविधि बढ्नुका कारण त्यस्तो बदलाव आएको अनुसन्धानकर्ताहरूको बुझाइ थियो। ब्राजिलमा सन् १९९८, २००२, २००६ र २०१० को विश्व कपमा हृदयघात ह्वात्तै बढेको थियो। विशेषतः ब्राजिलको टोलीले खेल खेलेको दिन त्यहाँ हृदयघात बढेको अनुसन्धानले देखाएको छ।

त्यस्तैगरी विभिन्न अध्ययन अनुसन्धानले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूले बजारमा ठूलो प्रभाव पारेको देखाएका छन्। सन् २०१६ मा गरिएको अध्ययनले इटालीको राष्ट्रिय टोलीको खेलले त्यहाँको घरेलु सेयर बजार सुधारमा भूमिका खेलेको देखाएको छ। राष्ट्रिय स्तरको खेलमा हुने विजयले लगानीकर्तामा उत्साह सञ्चार गर्ने धेरै अनुसन्धानकर्ताहरूको निचोड छ।

अर्कोतिर त्यस्ता खेल प्रतियोगितामा हुने पराजयले विशेषतः असंस्थागत खुद्रा लगानीकर्ताहरूलाई निराश बनाउने सम्भावना बढ्छ। अर्को एउटा अध्ययनले स्पेन र बेलायत जस्ता तुलनात्मक रूपमा धेरै सफलता पाएका राष्ट्रिय टोली पराजित हुँदा ती देशका सेयर बजारमा ठूलो ऋणात्मक असर गर्ने गरेको देखाएको छ। चिली र टर्की जस्ता मध्यम ढंगले सफल टोली भएका देशले हासिल गर्ने जीतपश्चात जोखिम मोल्ने व्यापारीको साहस बढ्ने गर्दछ।

यस्तो असरको खास कारण मानिसले खेलको नतिजालाई लिएर गर्ने अपेक्षासँग सम्बन्धित हुने गर्छ। स्पेन र बेलायतका टोलीले भोग्ने पराजयको प्रभाव बढी हुनुको कारण त्यहाँका फुटबलप्रेमीहरू आफ्नो राष्ट्रिय टोलीको विजयमा अभ्यस्त हुनु हो। समयान्तरमा भएका अध्ययनहरूले पनि यही निष्कर्ष निकालेका छन्।

अर्को शब्दमा, आफ्नो टोली पराजित हुने सम्भावना जति बढी देख्छ, कदाचित टोलीले जीत हात पारे हुने खुसी त्यति नै अनुपातमा बढ्ने गर्छ। यो वाक्यलाई उल्टाएर बुझ्दा पनि त्यो सत्य नै हुन्छ। अर्जेन्टिनामाथि आफ्नो देशका खेलाडीले निकालेको चकित पार्ने जीतपछि साउदीका फुटबलप्रेमीको खतरनाक खुसियालीले यही कुरा स्थापित गर्छ।

फुटबलले आर्थिक ग्राह्यतामा पनि सकारात्मक प्रभाव पारेको हुन्छ। सन् २००६ मा जर्मनीमा विश्व कप फुटबल भएको थियो। त्यतिबेला जर्मन राष्ट्रिय टोलीले खेलेको हरेक खेलको भोलिपल्ट टेलिफोनमार्फत एउटा सर्वेक्षण गरिएको थियो। सो अध्ययनले टोलीको अपेक्षाभन्दा अब्बल खेलले जर्मन जनताको आत्मविश्वास बढाएको देखाएको थियो। अध्येताहरूका अनुसार मनोवैज्ञानिक पक्षले आर्थिक गतिविधि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने तर्कलाई बल पुर्‍याएको छ।

यो तर्कका प्रमुख प्रबद्र्धक बेलायती अर्थशास्त्री जोन मिलार्ड किन्स थिए। उनले भिडको व्यवहार (मोब बिहेवियर) ले बजारमा प्रभाव पार्ने भनी राखेको तर्क सर्वजनित छ। उनले भनेका थिए–घटनाको खास सिलसिला भन्दा भीडको मनोविज्ञान बुझेर तर्कहीनताको पछि लाग्दा बुद्धिमानलाई लाभ पुग्न जान्छ।

किन्सको बुझाइमा सिपालु वित्तीय खेलाडीले भीडको मनोविज्ञानले डोर्‍याएको तर्कहीन बजारबाट नाफा कमाउन सक्छ। सन् २०१० मा भएको एउटा अध्ययनले उनको यो भनाइलाई टेवा पुर्‍याएको छ। सो अध्ययनले अमेरिकाको सेयर बजारमा विश्व कपको प्रभावबारे अनुसन्धान गरेको थियो। हरेक फुटबल म्याचको परिणाम कसैले पनि अनुमान गर्न सक्दैनथ्यो। तथापि, सिपालु लगानीकर्ताहरूले लाभ उठाउन सक्ने लगातारको सिलसिला अध्येताहरूले पहिचान गरेका थिए। किनभने कुनै पनि देशका ठूलो संख्याका लगानीकर्ताले अमेरिकी सेयर किनेको हुन्थ्यो। त्यसकारण अमेरिकी बजारमा पर्ने नकारात्मक प्रभाव मुखर हुन्थ्यो। अध्येताहरूले विश्व कपको समयमा अमेरिकाको बजारबाट कमाइने औसत नाफा अन्य अवधिमा बढेको औसत १.२ प्रतिशतको तुलनामा २.६ प्रतिशतले घटेको फेला पारे। फुटबलमा पराजित हुने देशको संख्या बढेसँगै अमेरिकी सेयर बजारमा औसत प्रभाव बढ्यो। परिणामतः बजारमा सुस्तता देखियो।

यो कुरा बुझेका चलाख लगानीकर्ताहरू फिफा विश्व कपको समयमा अमेरिकी सेयरमा आफ्नो लगानी घटाउन खोज्छन्। तर यदि धेरै लगानीकर्ताले यही चलाखी अपनाएर बजारमा मन्दी छाउनु स्वाभाविक पूर्वानुमान हो। अर्को सम्भावना भनेको खेल सुरु हुनुअघि छोटो अवधिका लागि लगानी बढाउनु। तर त्यसले पनि सेयरको मूल्य घटाउनेछ। अझ सोचेभन्दा चाँडो सेयर मूल्य घटाउन सक्छ।

विश्व कपको कारण हुने बजारको बहुलठ्ठीपना तत्काल बिलाइहाल्ने देखिँदैन। यसको कारण फुटबलप्रेमीहरू आफूले जुनसुकै टोलीलाई समर्थन गरे पनि र टोलीहरू जतिसुकै सफल भए पनि दीर्घकालमा उनीहरू सबै अवश्यमेव पराजित हुनेछन् भन्ने निर्विवाद तथ्य मान्न कहिल्यै तयार हुँदैनन्।

तर जब तपाईँको टोलीले असम्भव ठानिएको जीत निकाल्छ, जस्तै-जापानले जर्मनीलाई पराजित गर्दा र यो वर्षको विश्व कपमा साउदी अरबले अर्जेन्टिनालाई हार चखाउँदा त्यसले निम्त्याउने उत्साहले बितेका दशकौंँको पराजयभावलाई ओझेलमा पारेको हुन्छ। लामो समयको तिक्तताबीच हुने यस्ता जादूको आशाले नै खेलप्रेमी, लगानीकर्ता, अभिमतदातालाई हौस्याउँछ अनि छोराछोरी जन्माउने वा विवाह गर्ने योजना बनाउनेतिर पुर्‍याउँछ। यी कुनै पनि कुरा तर्कसंगत होइनन्। तथापि यस्तै यस्तै कुराले ‘सुन्दर खेल’ ले जस्तै जीवनलाई पनि सुन्दर बनाउने गर्छ।

(राज मनोविश्लेषक र ‘द मेन्टल भ्याक्सिन अफ कोभिड–१९’ पुस्तक (सन् २०२१) का लेखक हुन्। प्रोजेक्ट सिन्डिकेटबाट।)  

प्रकाशित: १६ मंसिर २०७९ ००:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App