९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

अन्तर्राष्ट्रिय जलवायु पुरस्कार पाउँदा

सुशील ढकाल

जिल्ला प्रशासन कार्यालय महोत्तरीमा २०६३ मा दर्ता भएर मधेस प्रदेशका विकास साझेदार संस्था एवं स्थानीय सरकारसँग समन्वय र सहकार्यमा स्थानीय स्तरमा हाम्रो संस्थाले गरेको जलवायु कार्यहरूको अन्तर्राष्ट्रिय स्तरको प्रशसा भएको छ।

हाम्रो संस्था सामुदायिक विकास तथा पैरवी मञ्च नेपालले ग्लोबल सेन्टर अन एड्याप्टेसनद्वारा प्रदान गरिने स्थानीय अनुकूलन च्याम्पियन (लोकल एड्याप्टेसन च्याम्पियन) अवार्ड जितेको छ। हजारौँ प्रतिस्पर्धीलाई उछिनेर राष्ट्र संघीय जलवायु सम्मेलन (कोप–२७) को अवसरमा इजिप्टको सर्म एल शेखमा आयोजित एक विशेष समारोहमा उक्त पुरस्कार लिन हामी सफल भएका छौँ। यो हाम्रा लागि मात्र नभई देशका लागि नै गर्वको विषय हो।  

चुरे संरक्षण तथा सम्बद्र्धन, जलाधार व्यवस्थापन, नदी प्रणाली व्यवस्थापन, वन तथा वन्यजन्तु संरक्षण, बगरमा फलफूल खेती गरी बगरलाई बगैँचा र त्यसमा तरकारी खेती प्रवद्र्धन गरेका कारण हामीले यो पुरस्कार पाएका हांैँ। उक्त अन्तर्राष्ट्रिय संस्थाले दिने लोकल इनोभोसेन क्याटागोरीको पुरस्कारका लागि हामीले दाबी गरेका थियौंँ। यो पुररस्कारका लागि समावेशी नेतृत्व, वित्तीय सुशासन, ज्ञान तथा क्षमता र स्थानीय अनुकूलन च्याम्पियन गरी चारवटा फरक विधा थिए। हजारौँ प्रस्तावनामध्ये हरेक विधामा ५ गरी जम्मा २० वटा प्रस्ताव अन्तिम प्रतिस्पर्धामा थिए।  

स्थानीय अनुकूलन च्याम्पियन विधाका अन्य ४ प्रतिस्पर्धीलाई पछि पार्दै हामी पुरस्कार पाउन सफल भयौँ। अन्तर्र्राष्ट्रिय स्तरमा जलवायु र यसका प्रभावहरूसँग अनुकूलित हुन स्थानीय स्तरमा अवलम्बन गरिएका प्रकृतिमा आधारित समाधान (नेचरबेस्ड सोलुसन)का उपायहरूका कारण हामी यो छनोटमा परेका हौँ।

हुन पनि यो संस्थाले विगत दुई दशकदेखि यो क्षेत्रमा लगातार काम गर्दैै आएको छ। यो संस्थाका अध्यक्ष नागदेव यादवलगायत कार्यसमितिका अन्य सदस्यसहित सम्पूर्ण कर्मचारी १५ हजार युरोको यो पुरस्कार पाउँदा अत्यन्त खुसी भई गर्व महसुस गरेका मैले पाएको छु। व्यक्तिगतरूपमा यो संस्थामा विगत ३ वर्षदेखि कार्यकारी निर्देशकको जिम्मेवारी मैले सम्हाल्दै आएको छु। यो एकल प्रयासले जितिने पुरस्कार पनि होइन। सम्पूर्ण कर्मचारी र कार्यसमिति सदस्यहरूको संयुक्त प्रयासले यो संभव भएको हो। यो पुरस्कारमार्फत हामीले गरेका विगत लामो समयदेखिका असल अभ्यासहरूले अन्तर्र्राष्ट्रिय मान्यता पाएका छन् र अन्तर्र्राष्ट्रिय समुदायले यसलाई स्वीकार गरेको छ। सबै भन्दा ठूलो कुरा हामीले हाम्रा कामलाई अन्तर्राष्ट्रिय जगत्मा प्रस्तुत गर्ने स्वर्णिम अवसर पाएका छौँ।  

हामीले मुख्यरूपमा स्थानीय समुदायहरूको सशक्तीकरण र सहभागितामा विभिन्न परियोजना सञ्चालन गरिरहेका छौँ र ती प्रयास जलवायु अनुकूलित र वातावरणमैत्री छन्। यही विषयलाई पुष्टि गर्न प्रमाणमा आधारित सूचना र विभिन्न चरणमा माग भएका सामग्रीहरू प्रस्तुत गर्न हामी सफल भएकाले पुरस्कार प्राप्त भएको हो।  

यो पृुरस्कार वितरण समारोहमा बंगलादेश तथा केन्याका मन्त्रीहरू सहभागी थिए भने कोप–२७ मा सहभागी नेपाली प्रतिनिधिहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय« गैरसरकारी संस्थाका प्रतिनिधिहरू, सञ्चार प्रतिनिधिहरूलगायत आयोजक संस्थाका प्रतिनिधि तथा सरोकारवालाको ठूलो उपस्थिति थियो। कार्यक्रमको सुरुमा ग्लोबल सेन्टर अन एड्याप्टेसनको सञ्चालक समितिका अध्यक्ष तथा संयुक्त राष्ट्र संघका पूर्वमहासचिव बान की मुनले भर्चुअल सम्बोधन गरेका थिए। उनले जलवायु अनुकूलनका स्थानीय प्रयासको अहं महत्व रहने धारणा व्यक्त गरेका थिए।  

बान की मुनले भनेझैँ हामीले चुरेबाट हुने क्षयीकरण कम गर्ने, भूक्षय तथा पहिरो नियन्त्रण गर्ने, जलाधार पोखरीहरू संरक्षण गर्ने, नदी प्रणाली व्यवस्थापन गर्ने, तराईका समथर नदीका बगर क्षेत्रहरूमा फलफूल, बगैँचा तथा तरकारी खेती गर्न सहयोग गर्ने जस्ता काम गर्दै आएका छौँ। हाम्रो प्रयासले विपन्न र भूमिहीन सर्वसाधारणलाई तत्कालीन तथा दीर्घकालीन आम्दानीका बाटा खुलेका छन्।

हाम्रो प्रयास सँगसँगै यो अभियानमा स्थानीय समुदायको विशेष भूमिका र नेतृत्व छ। यही तथ्यलाई आत्मसात गर्दै हाम्रो संस्थाले पुरस्कारमा प्राप्त धनराशिलाई समुदायमा नै लगानी गर्ने निर्णय गरेको छ। यो धनराशिलाई बीउ पुँजीका रूपमा प्रयोग गरेर विकासका अन्य साझेदार संस्थाहरूसँग सहकार्य गर्दै जलवायु अनुकूलनका थप स्थानीय प्रक्रिया तथा प्रविधि विस्तारमा खर्च गर्ने तयारी हाम्रो छ।  

हामीले पुरस्कारका लागि दाबी गर्दा ५ प्रमुख नवीनता (इनोभेसन) लाई महत्व दिएका थियौँ। ती नवीनता यसप्रकार छन्: १. चुरे क्षेत्रहरूमा जलाधार संरक्षण पोखरीहरू निर्माण भएकाले तल्लो तटीय क्षेत्रका भूसतहमा पानीको स्तर (ग्राउन्ड वाटर रिचार्ज) कायम गर्न सहयोग पुगेको छ र यसले वन तथा वन्यजन्तु संरक्षणमा पनि सहयोग भएको छ। पोखरीको पानीलाई आयआर्जन र जीविकोपार्जनमा समेत जोडिएको छ। २. वर्षभरि नै सिँचाइका लागि चुरेबाट बग्ने नदीहरूमा हुने चुहावट (सिपेज) हुने पानी संकलन गरेर सिँचाइ सुविधा पु¥याइ एक वर्षमा ३ वाली खेती सहजै हुने गरेको छ र यसले खाद्य सुरक्षामा समेत टेवा पुगेको छ। ३. खहरे÷खोल्साहरूमा ससाना चेक ड्यामहरू बनाइ पानीको बहाव कम गरी सिपेज हुने पानीलाई इन्टेकमा संकलन गरी फिल्टर प्रविधिबाट फेरि सिमेन्ट टेक्नोलोजीका रिजभ्र्वायर ट्यांकहरूमा संकलन गरेर स्वच्छ पिउने पानी उपलब्ध गराइएको छ। यसले खोल्सा र खहरेहरूमा हुने भूक्षय नियन्त्रणमा सहयोग पुगेको छ।

४. खहरे खोल्साबाट हुने क्षयीकरण कम गर्न न्यून लागतका बायो इन्जिनियरिङका संरचनाहरू बनाइएका छन् जसले मुख्य नदीमा हुने सेडिमेन्टेसनमा कमी आएको छ। यसले नदीको सतह बढ्ने जोखिम न्यून भएको छ। साथै भूक्षय नियन्त्रण भएको छ। यसैगरी हामीले गरेको डालेघाँसहरूको प्रवद्र्धन कार्यले पशुपालनमा विशेष सहयोग पुगेको छ। ५. तराईका खोला किनारका खेर गएका खाली तथा पर्ती जग्गामा फलफूल तथा बगर खेती तरकारी विस्तार भई तत्काल र दीर्घकालीन आम्दानीको स्रोत विकास सिर्जना भएर विपन्न तथा भूमिहीनको जीविकोपार्जनमा ठूलो टेवा पुगेको छ।

समग्रमा भन्नुपर्दा स्थानीय सरकारसँगको समन्वय, सहकार्य र समझदारीमा सञ्चालन भएका संरक्षणका यी अभ्यास दीर्घकालीन व्यवस्थापनका हिसाबले तय गरिएका छन्। यो प्रक्रियामा समूह गठनको विधि, त्यसको दर्ता प्रक्रिया र स्थानीय निकायसँगको सम्बन्धलाई प्रमुखरूपमा सुदृढ गरिएको छ। समुदायको आफ्नै नेतृत्वदायी भूमिकामा सञ्चालन हुने संरक्षणका यी विधि र प्रक्रियाको प्राविधिक सहजीकरण कार्यमा मात्र हाम्रो संस्थाले भूमिका निर्वाह गरेको छ। यस प्रक्रियामा हामीलाई साथ र सहयोग गर्ने समुदाय, स्थानीय सरकार, दातृनिकायहरू तथा सरोकारवालाहरूप्रति हामी कृतज्ञ छौँ। यसले आगामी दिनमा यस्ता कार्य गर्न हामीलाई अभिभारा थपिएको महसुस गरेका छौँ।  

(कार्यकारी निर्देशक, सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल) 

प्रकाशित: १३ मंसिर २०७९ ००:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App