coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

मोदीको उचाइ र नेपाल–भारत सम्बन्धको गहिराइ

जर्मनीको बवेरियन राज्यको आल्प्स श्लास एल्मौमा गत जुन २६–२८, २०२२ मा सम्पन्न जि–७ शिखर सम्मेलनमा भएको एक घटनाको भारतीय मिडियामा निकै चर्चा भयो। शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग कुरा गर्दैथिए त्यतिबेलै अमेरिकी राष्ट्रपति जो बाइडेन आए र उनले भारतीय प्रधानमन्त्रीको काँधमा हात राखे। प्रधानमन्त्री मोदीले पछाडि फर्केर हेर्दा बाइडेन देखेपछि हतार हतारमा उनीसँग न्यानोपना देखाएर भलाकुसारी गरे। अमेरिकी समाचार संस्था रोयटर्सले प्रसारित गरेको यो समाचारको भिडियो अंश केही घण्टामै भाइरल भयो। भारतीय मिडियाले यसलाई बाइडेन आफैँ मोदीसँग भेट्न आए भन्ने शीर्षकका साथ प्रसारित गरे।

जि–७ विश्वका सात ठूला औद्योगिक राष्ट्रहरूको समूह हो। यसको सदस्य राष्ट्र क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, ब्रिटेन र अमेरिका हुन्। सन १९९८ मा रुस सामेल भएपछि यस समूहलाई जि–८ भनिन्थ्यो। रुसले २०१४ मा क्रिमियालाई आफ्नो मुलुकमा गाभेपछि रुसलाई यस समूहबाट अलग्याइयो। पछि रूसले आफू स्थायीरूपले यस समूहबाट अलग भएको घोषणा ग¥यो। यस्तोमा रूसको ठाउँ भारतले लिनेकुरा पनि गर्न थालिएको छ। चीन, विश्वको दोस्रो ठूलो आर्थिक शक्ति भए तापनि यस समूहको सदस्य छैन। यसको कारणमा चीन विश्वको सर्वाधिक जनसंख्या भएको मुलुक भएको तर जनसंख्याको तुलनामा प्रतिव्यक्ति आय सम्पत्ति जि–७ देशहरूको तुलनामा अत्यन्त कम भएको हुनाले चीनलाई विकसित वा उन्नत अर्थव्यवस्था भएको मुलुक यस समूहले मान्दैन। त्यसकारण चीनलाई यस समूहमा अटाइएको छैन।

जर्मनीमा भएको यस शिखर सम्मेलनमा जि–७ का अध्यक्ष जर्मन चान्सलर ओलाफ स्कोल्जले भारत, इन्डोनेसिया, अर्जेन्टिना, सेनेगल र दक्षिण अफ्रिकालाई भागिदार देशका रूपमा आमन्त्रित गरेका थिए।

जर्मनीमा भएको जि–७ को शिखर सम्मेलनको तीन महिनापछि पूर्व सोभियत संघमा रहेको उज्बेकिस्तानको समरकन्दमा सेप्टेम्बर १५–१६ मा संघाइ सहयोग संगठन (एससिओ) को शिखर सम्मेलन भयो।  

एससिओको स्थापना १५ जुन २००१ मा चीनको संघाइ सहरमा भएको हो। यसको सचिवालय चीनको राजधानी बेइजिङमा छ। चीनको सक्रियतामा गठन भएको एससिओ युरेसियाइ राजनीतिक, आर्थिक र सुरक्षा संगठन हो। भौगोलिक क्षेत्र र जनसंख्याको हिसाबले यो विश्वको सबभन्दा ठूलो क्षेत्रीय संगठन हो। यसले युरेशियाको लगभग ६०% क्षेत्र, विश्व जनसंख्याको ४०% र वैश्विक जिडिपीको ३०% भन्दा बढी समेटेको छ। वर्तमानमा यसको सदस्य मलुकमा चीन, कजाकिस्तान, किर्गिस्तान, रूस, तजाकिस्तान, उज्बेकिस्तान, भारत र पाकिस्तान छन् भने पर्यवेक्षक मुलुकका रूपमा अफगानिस्तान, बेलारुस, इरान र मंगोलिया छन्। यस्तै डाइलग पार्टनरका रूपमा नेपाल, अर्मेनिया, अजÞरबैजान, कम्बोडिया, श्रीलंका र टर्की छन्। रोलक्रमानुसार २०२२–२३ का लागि यसको अध्यक्ष भारत हो। २०२३ को अन्त्यमा एससिओको शिखर सम्मेलन भारतको राजधानी नयाँ दिल्लीमा हुनेछ। भारत–पाकिस्तानको तनावपूर्ण सम्बन्धका कारण सदस्य मुलुक पाकिस्तानले यस सम्मेलनमा भाग लिन्छ वा लिँदैन भन्न सक्ने अवस्था छैन।  

समरकन्दमा भएको यस शिखर सम्मेलनमा पनि प्रधानमन्त्री मोदीले निकै चर्चा बटुले। शिखर सम्मेलनको साइड लाइन मिटिङमा युक्रेनको सन्दर्भमा युक्रेनको नाम नलिइकन रुसका राष्ट्रपति व्लादिमिर पुटिनलाई क्यामराअगाडि भने– आजको समय डेमोक्रेसी, डिप्लोमेसी र डायलगको हो, युद्धको होइन।  

प्रधानमन्त्री मोदीको यस भनाइलाई सम्पूर्ण पश्चिमा मुलुकहरूले धक फुकाएर स्वागत गरे। संयुक्त राष्ट्र सुरक्षा परिषद्को सदस्य मुलुक फ्रान्सका राष्ट्रपति इम्मानुयल मेक्रोनले संयुक्त राष्ट्रसंघको ७७औँ महाधिवेशनमा मोदीको प्रशंसा गर्दै भने– ‘नरेन्द्र मोदीले रूसी राष्ट्रपतिलाई एकदमै साँचो कुरा भनेका थिए। यो बेला पश्चिमका विरुद्ध प्रतिशोध र त्यसको विरोध गर्ने बेला होइन। यो समय हामी सबै मिलेर वैश्विक चुनौती सामना गर्नु हो।’ यसै महाधिवेशनमा अमेरिकाका राष्ट्रपति बाइडेन र रुसका विदेशमन्त्री सेर्गेइ लावरोभले भारतको संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्को स्थायी सदस्य हुने चाहनाको समर्थन गरे। आउँदो डिसेम्बरमा भारत, एक महिनाका लागि सुरक्षा परिषद्को अध्यक्ष हुनेछ।

२० मुलुक समूह अर्थात जि–२० विश्वका प्रमुख विकसित र विकासशील अर्थव्यवस्थाको अन्तर–सरकारी मञ्चको अध्यक्षता पनि भारतले यही डिसेम्बरदेखि प्राप्त गर्दैछ। र, यसको १८औँ शिखर सम्मेलन ९–१० सेप्टेम्बर २०२३ मा नयाँ दिल्लीमा भारतले आयोजना गर्दैछ। जि–२० शिखर सम्मेलनमा भारतीय विदेश मन्त्रालयका अनुसार भारतले पाहुना मुलुकका रूपमा ठूलो संख्यामा मित्र देशहरू बंगलादेश, मिश्र, मरिसस, नेदरल्यान्ड, नाइजेरिया, ओमान, सिंगापुर, स्पेन, संयुक्त अरब इमिरेट्स र विभिन्न अन्तर्राष्ट्रिय संघ/संगठनलाई आमन्त्रित गर्दैछ।  

२०२२ को १७औँ जि–२० शिखर सम्मेलन नोभेम्बर १५–१६ मा इन्डोनेसियाको बाली द्वीपमा सम्पन्न भयो। बाइडेन, मोदीलगायत विश्वनेताहरूले बाली शिखर सम्मेलनमा विश्व समस्याबारे छलफल गरेका छन्। चीन–अमेरिका सम्बन्ध अत्यन्त चिसो रहेको बेला यस सम्मेलनको साइडलाइनमा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सोमबार (१४नोभेम्बर) विश्वले उत्सुकताका साथ नियालिरहेको वार्ता भयो।  

बाइडेनले राष्ट्रपतिको पद सम्हालेको दुई वर्षपछि र सी तेस्रो पटक राष्ट्रपति बनेर झन शक्तिशाली बनेपछि विश्वका शक्तिशाली दुई विश्व नेताबीच पहिलो पटक यो प्रत्यक्ष भेटवार्ता भएको हो। सी तीनवर्षपछि पहिलो पटक आफ्नो मुलुकबाट बाहिर निस्केका हुन्। वार्ताअघि बाइडेनले सीप्रति लक्षित गर्दै आइतबार बालीमा भने– ‘मैले उनी (सी) सँग कुनै पनि विश्वनेताहरू भन्दा बढी समय बिताएको छु। उनलाई म राम्रोसँग चिन्छु। उनले मलाई चिन्छन्।’ यसै सम्मेलनमा इन्डोनेसियाका राष्ट्रपति जोको विदोदोबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २०२२–२३ को लागि जि–२० को अध्यक्षता ग्रहण गरे। यस्तै बाइडेन, सी, ऋषि सुनक, म्याक्रोलगायत विभिन्न विश्वनेतासँग मोदीले भेटवार्ता गरे।

यस जि–२० समूहमा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, कोरिया गणराज्य, म्याक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, बेलायत, अमेरिका जस्ता १९ देश र युरोपीय संघ सामेल छन्। यो समूह विश्वका बीस सबभन्दा ठूला अर्थव्यवस्थाको समूह हो जसका नेताहरूले प्रत्येक वर्ष जि–२० शिखर सम्मेलन गरेर विश्व अर्थव्यवस्थालाई कसरी अघि बढाउने भन्नेबारे छलफल र यसको योजनासमेत बनाउने गर्दछन्। विश्वको ८५% आर्थिक उत्पादन र ७५% कारोबार जि–२० समूहका मुलुकहरूमा हुन्छ। यसको साथै विश्वको दुईतिहाइ जनसंख्या पनि यसै समूहले समेट्छ।

विश्वको सबभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा, २०१४ मा भारतको प्रधानमन्त्रीमा मोदीको उदय भएपछि भारत, बेलायतलाई पछि पार्दै विश्वको पाँचौँ ठूलो अर्थव्यवस्था बन्यो। पश्चिमा जगत्को कडा विरोधका बाबजुद भारतले रुससँग निर्वाध तेल खरिद गरिरहेको छ। यसका साथै जमिनबाट आकाशमा मार हान्ने अत्याधुनिक मिसाइल प्रणाली पनि रुससँग किनेको छ। यसले दर्शाउँछ– प्रधानमन्त्री मोदी आफ्नो राष्ट्रहितमा निर्णय लिन सक्षम छन्।

यहाँनेर ध्यान दिनयोग्य कुरा के छ भने २०१६ को अक्टोबरमा भारतको गोवामा सम्पन्न बिमस्टेक–ब्रिक्स आउटरिच शिखर सम्मेलनमा नेपाललाई अतिथि मुलुकका रूपमा भारतले निम्त्याएको थियो। त्यसबेलाका नेपालका प्रधानमन्त्री प्रचण्डले सो शिखर सम्मेलनमा भाग लिएका थिए। त्यसबेला भएको प्रचण्ड–मोदी–सी वार्ता नेपाली मिडियामा निकै चर्चित भएको थियो। तर भारतीय विदेश मन्त्रालयद्वारा यस भेटको पुष्टि भएन।

समान धर्म/संस्कृति भएको दुवै देशका नेताहरूद्वारा सबभन्दा नजिकको छिमेकी, रोटी–बेटीको सम्बन्ध भएको भनेर भनिने नेपाललाई भारतमा २०२३ को अन्त्यतिर हुने जि–२० शिखर सम्मेलनको अतिथि मुलुकको सूचीमा पारिएको छैन। जबकि बंगलादेश यस सूचीमा छ। यसले निश्चय पनि नेपाल–भारत सम्बन्धको न्यानोपन दर्शाउँदैन। छिमेकी भारतले विश्व राजनीतिक रंगमञ्चमा आफ्नो पहुँच र प्रतिष्ठा निरन्तर बढाइरहँदा हामी भने अन्तर्राष्ट्रिय राजनीतिक रंगमञ्चमा विगतमा पाएको प्रतिष्ठा पनि गुमाउँदै गएका छौँ। के नेपालका राजनीतिक नेतृत्वलाई यसको हेक्का छ ?

प्रकाशित: ६ मंसिर २०७९ ०१:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App