१६ मंसिर २०७९ शुक्रबार
विचार

चुनावी मौसममा ओझेल परेका मुद्दा

चुनावको तिथिमिति नजिकिँदै जाँदा उत्तेजना र अति उत्तेजना बढ्दै छन्। घृणालाई मलजल नगरी उत्तेजना पैदा हुँदैन। प्रतिक्रिया उत्पादन गर्ने घृणा शक्ति हो। यस्ता बेला ‘कार्यकर्ताले’ विपक्षका तथ्ययुक्त र तार्किक विचारको उछितो खन्नुपर्छ। कुनै दिन विचार, विवेक र सपना आन्दोलन बन्ने गथ्र्याे तर अहिले विवेकी कार्यकर्ता बन्नै सक्दैनन्। नेता अधिनायकमा फेरिएपछि पार्टी गुट र गिरोह बन्छ। संलग्न भएन र भिन्न मत जाहेर गर्‍यो भने अराजक भनिँदै अनुशासनको डन्डा चलाएर राजनीतिक भविष्य चौपट हुन्छ। हनुमान दासमा फेरिएपछि मात्र बढुवा नम्बर थपिन्छन्।

कुनै पनि मानकमा दुवै गठबन्धनले औचित्य सावित गर्न सकेनन्। भ्रष्टतन्त्रले (आर्थिक, राजनीतिक, सांस्कृतिक) नेतृत्व गरिसक्दा पनि कुनै पार्टीको घोषणा-पत्रमा भने संकल्पित विरोधले स्थान पाएन। प्रतिबद्घता भएन। एक अर्काप्रति घृणा र प्रतिक्रिया नै ऊर्जा बने। राजनीतिक व्यवसायीको मैमत्त भावले निराशा बढ्यो। पार्टीचरित्र नभएपछि-‘म भइनँ भने समकक्षी पनि हुन दिन्नँ’ भन्ने सोच मौलायो। चुनौती दिन सक्ने कार्यकर्तालाई नेतृत्व विकास हुन दिइँदैन, स्थानीयमै सीमित गरिन्छ। आफ्नालाई विश्वास नगर्नु, आफ्नो सिद्धान्त, आचरण, आदर्शमा भर नपर्नु र पराइको भर परेर सत्तायात्रा गर्ने चाहना नै गठबन्धनका आधार बने। आगो अन्यत्र खोज्नै परेन घर जलाउन। आफ्नै अगेनाको फिलिङ्गो पर्याप्त भयो।

नेतृत्वमा सत्ताभोक अचम्मै देखिन्छ। आयु रित्तिँदै जान्छ, नौनाडी गल्दै जान्छन्, शरीरले जवाफ दिन्छ, मस्तिष्कले काम गर्न छाड्दै जान्छ, नयाँ योजना दिमागमा फुर्दैनन् तब पनि शक्तिभोक भने रित्तिँदैन। सत्ता राजनीतिको मात्रै हुँदैन, अहङ्कारको सत्ता अझ खतरनाक हुन्छ। टुट्न सक्छ, झुक्न र त्याग्न भने सक्दैन।

घृणाले बदला लिन चाहन्छ तर स्वयम् शक्तिक्षण भएको थाहै नपाएपछि बहादुर डरपोकमा, नायक खलनायकमा, शासक बबुरोमा फेरिन्छन्। सत्तामा पुगेको, रहेको शासक बनिसकेकाहरू अत्यन्तै डरपोक र लोभी हुन्छन्। सत्ताबाट बाहिरिनेबित्तिकै सत्ताकालका अपराधहरू सर्वाङ्ग हुने र कानुनका घेरामा पर्न सक्ने, देशैलाई बिर्ता ठानेर उपभोग गर्ने राजसी भोकले उसलाई सिद्धान्तहीन गठबन्धन र षड्यन्त्रका खेलमा हौस्याउँछ।

सिद्धान्तहीन राजनीतिमा सुविधाअनुसारका व्याख्या भएर आचरण निर्धारण गर्छ। विचार, आदर्शको अर्थ नरहेपछि राजनीतिको चित्र र चरित्र धमिलिन्छ। नेतृत्वलाई म मात्रै सही छु, अरू सबै गलत भन्ने सर्वज्ञ मनोभाव पैदा हुन्छ। त्यसमा नेतृत्व मात्रै नभै समर्थक र सल्लाहकार विज्ञ वा कार्यकर्ता हुनुभन्दा आसे र चाकर हुनु हो। जयगानले मैमत्त नेतृत्व गलत कहाँ भयो? भनेर आत्मसमीक्षा गर्न चाहँदैन।

गुरुले चेलाले जितोस् भन्ने चाहन्छ तर नेता बरु अरूले जितून् हाकाहाकी चुनौती दिने कार्यकर्तालाई भने नष्ट र ध्वस्त गरिदिएर भविष्यको प्रतिस्पर्धी ध्वस्त गरिदिन्छन्। चुनाव अभ्याससँगै धरतीमा पुरिएका धेरै कुरा सतहमा देखा पर्दैछन्। आग्रहअनुसार इतिहासका विभत्सतालाई वाणी दिइँदै छ।

शक्ति र अहंकार जुम्ल्याहा सन्तान हुन्। शक्ति, रूप र धन अत्यन्तै चञ्चल हुन्छ। कब्जा गरिरहन मान्छे जे पनि गरिरहन चाहन्छ, स्वयम्को चिहान खनेको पत्तै पाउँदैन।

मंसिर ४ पछि धेरैको राजनीतिक जीवन धरापमा पर्ने छ। चुनावी कचराहरू यत्रतत्र छरिन्छन्। कयौंको अवस्था त्यस साँढेको जस्तो हुने छ, जसको शरीरमा शक्ति त छ, तर सिङ भाँचिएर रक्तमुच्छेल भएपछि बहरसँग पनि जुध्ने आँटै हुँदैन।

शासन व्यवस्था आफै नराम्रो हुँदैन, तर प्रयोग कुन नियतकाले, कसले र कुन हैसियतकाले गर्छन् भन्नेमा भर पर्छ। त्यसैअनुसार पार्टीको परिचय र संस्कार बन्छ। जुन उद्देश्यका लागि जे बनेको हुन्छ, त्यही उद्देश्यमा प्रयोग गरिएन भने दोष व्यवस्थालाई नभै प्रयोगकर्तालाई जान्छ। नियत परिणामले देखाउँछ। पार्टी, संघ, संस्थाका सिद्धान्त अनुसार अगुवा र कार्यकर्ताहरू नचले ती ट्रेडमार्कमा मात्रै खुम्चिन्छन्।

निरपेक्ष स्वतन्त्र कोही हुँदैन। तर, विवेकले धारणा बनाएर पार्टीविहीन स्वतन्त्र नागरिक हुनु औधी कठिन हुन्छ। पहिलाको पार्टीले आफ्नो नभन्ने र अन्यले पहिलेकै परिचय अनुसार व्यवहार गर्ने। नागरिक बन्नु अझ औधी गाह्रो। वैचारिक र सांस्कृतिक सामन्त भएर जिम्दारजस्ता नेतृत्व भएपछि कार्यकर्ता हुकुममा चल्नुपर्ने र मतदाता रैती समान हुने।

चुनावमा हरेक व्यक्ति, समूह, पार्टी, समाजको संस्कृति र सोच छर्लङ्ग हुन्छ। सिद्धान्तमा नरहेपछि उपयोग, बहिष्कार वा तटस्थ बस्ने धेरैका चिन्तन, सांस्कृतिक स्तर, क्रोध,ईर्ष्या, प्रतिशोध, प्रतिक्रिया र दुर्भावना बनेर छताछुल्ल हुन्छन्। चाकरी असफल भएपछि प्रतिक्रिया र प्रतिशोध देखिन्छ। बहिष्कारवादी जमानत बचाउने कुनै क्षेत्र नभएर पनि आदर्शवादी बन्न पुग्छन्। चिन्तनको धरातल गुमेपछि राजनीतिक धरहरा क्रमशः ढल्दै गएको स्वयम्लाई पत्तै हुँदैन।

भिडन्त स्वभाव बनिसकेका लडाकाहरूलाई भने झगडा झन् आवश्यकता हुन्छ। दुस्मन नपाए आफन्तलाई नै शत्रु मानेर हक्काँ गरिरहन्छन्।

समय र सम्भावना गुमिसकेको अवस्थामा भावनाले लिने निर्णय परिणामसँगै पछुताउनुपर्छ। आक्रोशका बेला दिल र दिमागले नभै उत्तेजना र भावनाले निर्णयलाई प्रभाव पार्छ। सार्वभौम विषयमा निजी सम्बन्ध र झगडाको कुनै अर्थ र महत्त्व भने हुँदैन।

संविधानको भावना जोखिममा

संविधानको मूल भावनामा सत्ता केन्द्रमा पुग्न नसकेका तर पुर्‍याउन आवश्यकता सोचिएका तप्कालाई समानुपातिक प्रतिनिधित्वको परिकल्पना गरियो। तर, अभ्यास गरिँदा भने समानुपातिक प्रणाली नै भक्त उत्पादन केन्द्रमा फेरियो। संघात्मक व्यवस्था शक्तिको विकेन्द्रीकरण भनिए पनि राजकीय शक्ति केन्द्रीकरण नै छ। धर्मनिरपेक्षता र गणतन्त्रमाथि नै आक्रमण बढ्दो छ।  

राष्ट्रियसभा भनेको निर्वाचनमा प्रतिस्पर्धा गर्न नसक्ने तर राज्यलाई आवश्यक प्राज्ञ, विज्ञ, चिन्तकको थलोको परिकल्पना हो तर अभ्यासमा यस्तो देखिएन।

२०६२/६३ को परिवर्तनको राप र ताप सेलाउँदै जाँदा, परिवर्तनलाई सामाजिकीकरण गर्न नसक्दा, परिवर्तनकारी शक्तिले परिवर्तनको संस्कृतिलाई निरन्तरता दिन नसक्दा, देशको भूराजनीतिको मर्म आत्मसात गर्न नसक्दा संविधानको स्प्रिट जोखिममा पर्दै गयो।

नायक खलनायकमा र कार्यकर्ता चाकरमा एकैदिन फेरिँदैनन्। विवेकलाई साङ्ला लगाउने धेरै तŒव हुन्छन्। सबैभन्दा ठूला औजार भनेको भय र आशक्ति हो। सत्ता राजनीति, अर्थ, समाज, संस्कृति, धर्म, प्रेम र भावना प्रयोग गरेर क्रमभंग नभै यथास्थिति चाहन्छ। विवेकीजन त्यसलाई तोड्छ। तब विवेक र यथास्थितिबीच भयानक टकराहट हुन्छ। टकराहट बढ्दै जाँदा दोबाटोमा पुगेपछि या आत्मसमर्पण या सम्बन्धबिच्छेदको अवस्था आउँछ। मध्यमार्ग कतै हुँदैन, किनारा त लाग्नै पर्छ।

कुरा मिडियाका

के हाम्रा सोचका मालिक हामी नै हौं त? सहजै पहुँचका सामाजिक सञ्जालले अब सहर बजारमा मात्रै हैन, दूरदराज गाउँबस्तीमा समेत धारणा बनाउन, थोपर्न थाल्यो। धेरै सूचनाले मथिंगल खराब पारिदिने। कलामय तरिकाले प्रस्तुत सूचना, कुसूचना, भ्रमित सूचना र प्रायोजित सूचना छुट्याउनै गाह्रो। मूलधारका प्रमुख मिडियाका पनि चुनावी मौसममा राजनीतिक व्यवसाय खुब फस्टाए।

 तटस्थता र पक्षधरता प्रत्यक्ष देखिए। पेड न्युज, फेक न्युज, मिडिया ट्रिटी, पोस्ट टुथ, साईको वारजस्ता शब्दहरू त्यसै बहसमा आएका हैनन्। प्रविधि, सूचना र व्यवसायको घोलमेल भएपछि सामान्यतः मिडिया खेल देख्न सकिँदैन। सहज बुद्धि खुट्याउनै सकिँदैन। अझ मिडिया साक्षरता कम भएका हाम्रैजस्ता मुलुकमा कसरी कलामय खेल खेलिन्छन्? पत्तै हुँदैन। अधिकांश अनलाइनको विश्वसनीयता हिजै थिएन, अहिले कतिपयको धरापमा परेको छ। मिडियाको सबभन्दा ठूलो सम्पत्ति भनेकै आफ्ना पाठक, श्रोता र द्रष्टाको विस्वास हो।

अन्तमा

चुनावसँगै राजनीतिक कर्मी सामाजिक अभियन्ता, मिडिया, मिडिया पर्सन, राज्य, कर्मचारीतन्त्र, न्यायिक र अर्धन्यायिक संस्थाको जन्मपत्री छयाङछ्याङ्ती भए। हरेक विषयमा अहिले बजार हावी भयो। सबै कुरा किन्न र बेच्न सकिन्छ भन्ने मान्यता विकसित भए। संवेदना, प्रेम, यौन, शक्ति (राजनीति) बजारमा लिलाम चढे। एकातर्फ कुण्ठा अर्कातर्फ घृणा छरपस्ट भए। जब ज्ञान, सोच, सिद्धान्त र संवेदना खुम्चिन्छन् तब मान्छे प्रतिक्रियामा मात्र हाँकिन्छ।

बजारसँग सबैलाई किन्ने र बेचिदिने अद्भूत शक्ति हुन्छ। कुन पात्रलाई कसरी गलाउन र ग्राहक बनाउन सकिन्छ भन्ने सबैका कमजोरी छिद्र थाहा हुन्छ। बजारसँग बासना जागृत गरिदिने, लालसा बढाइदिने, स्वत्वको भोक बढाउने, अहङ्कारलाई मलजल गर्ने अचम्मको शक्ति हुन्छ। प्रस्ताव उपयुक्त समयमा, सम्मानसहित, तर्कपूर्ण तरिकाले राखिनुपर्छ जस्तै स्वाभिमानी पनि गल्छ।

अझ ती बिकाउ बौद्धिक, लेखक, बुद्धिजीवी र राजनीतिकर्मी त घाँस मात्रै हैन, जे पनि खान हुन्छ भने तर्क कोरल्छन्। अरूले के भन्ला भनेर बचाएको स्वाभिमान समयसँगै जसले जे भनून् भनेर कर्कलाको डाँठझैं बन्छन्। पुरस्कार पाउने प्राज्ञिक चाकरी र चुनावको बेलाका राजनीतिकर्मीमा त्यो प्रस्ट देखिन्छ। के प्रलयको दिन आएकै हो त? आशाको विश्वास जगाउने शक्ति मौलाउँदैन त? 

प्रकाशित: ३ मंसिर २०७९ ०७:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App