१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सञ्चार सेवा अवरुद्ध, टावरको सामान बाटोमै अलपत्र

डोल्पा- तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिका दुई सातादेखि सञ्चारविहीन भएको छ। दुर्गमको पीडा भुलाउने एकमात्र माध्यम फोन सेवा नै अवरुद्ध भएपछि नागरिक उकुसमुकुस भएका छन्। फोनमा कुरा गर्न अग्ला डाँडापाखा रुखमा चढेर सूचना आदानप्रदान गर्नुपर्ने बाध्यता छ। त्यहाँका नागरिक घण्टौं उकालो बीच जङ्गलबाट छिकेकी स्थानीय तह जगदुल्लाको टावर मोबाइलमा सिग्नल खोज्ने गर्छन्।

मोबाइल घुमाउँदै जाँदा जहाँनेर नेटवर्क टिप्छ त्यहाँबाट बल्लबल्ल सूचना आदानप्रदान गर्ने गर्छन् मुड्केचुलाका स्थानीय। चिनियाँ कम्पनी डिस्याटले सम्झौता अवधि सकिएको भन्दै स्याटलाइट बन्द गरिदिएपछि मुड्केचुला गाउँपालिका दुई सातादेखि सञ्चारविहीन भएको हो।

टावरको सामान बाटोमै अलपत्र
गाउँपालिकामा टावर निर्माण गर्ने भनेर ल्याएको सामानबीच बाटोमै अलपत्र परेको छ। मोबाइल टावरका विभिन्न सामग्री रुकुम–डोल्पा सिमानामा पर्ने त्रिवेणी बजारमा अलपत्र फालिएको छ। सामान खिया लाग्न थाले पनि त्यहाँबाट उठाउन कसैको ध्यान गएको छैन।

टावरको सामग्री ढुवानीको जिम्मा भारतीय आयस्था कम्पनीले जिम्मा पाए पनि समयमै सामान ढुवानी नगर्दा बाटोमै अलपत्र परेको मुड्केचुला गाउँपालिकाले जनाएको छ। दुई वर्षदेखि बीचबाटोमै सामान अलपत्र पर्दा गाउँपालिका सञ्चारविहीन भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र ठकुल्लाले जानकारी दिए।

उनका अनुसार आयस्था कम्पनीले स्थानीय सरकारसँग सहकार्य नगरेको र बारम्बार ताकेता गर्दा पनी बेवास्ता गरेकाले अब उक्त कम्पनीसँग स्थानीय सरकारले ठेक्का तोड्ने बताए।

मुड्केचुलावासीले टेलिफोन टावर नहुँदा भोग्नुपरेको समस्या चाँडै हल हुने गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले बताए। मुड्केचुलावासीले सञ्चार सास्ती खेप्नुपरेको बताउँदै छिट्टै ठेकेदारको खोजी गरेर टावर निर्माणमा लागिपर्ने प्रदेशसभा सांसद वीरबहादुर शाहीले प्रतिबद्धता जनाए।

'मोबाइल टावर नभएकै कारण एक ठाउँबाट अर्को ठाउँमा सूचना आदानप्रदान गर्न मान्छे कुदाउनुपर्ने अवस्था छ, जति अग्ला डाँडाकाँडा र रुख चढे पनि राम्रोसँग फोनले काम गर्दैन्', पूर्णबहादुर शाहीले गुनासो गरे।

सिङ्गो गाउँपालिका नै सञ्चारविहीन हुँदासमेत स्थानीय सरकारका रुपमा रहेको गाउँपालिकाले केही गर्न नसकेको भन्दै उनले दुःख व्यक्त गरे। गाउँपालिकाले अन्य विकासभन्दा सञ्चार सेवाको विकासमा जोड दिन स्थानीयले आग्रह गरेका छन्। फोन सम्पर्क नभएरै बिरामी कुनै अप्रिय घटना घटिहालेमा मृत्यु कुर्नबाहेकको अरु कुनै विकल्प नभएको स्थानीय बमबहादुर बुढाले दुखेसो पोखे। रासस

प्रकाशित: १५ कार्तिक २०७६ ०६:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App