१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

सम्झना : चिरमाया नानासँगको लेक यात्रा

नुवाकोटको बेतिनी गाउँ । बरु टोल । टोलको बीचको दुई तले घर । त्यस टोलमा यो एउटै घर थियो जसको छाना जस्ताको थियो । घरको मोहडा पूर्व फर्किएको । चेप्टो ढुङ्गाले छापेको आँगन । पिंढीमा ढुकुटी खाट । त्यसको दाहिनेतिर घरको मूल ढोका । मूल ढोकाबाट छिरेपछि सालाखालाको फराकिलो भान्सा । त्यस भान्साको एक कुनामा डोरी टाँगिएको थियो । त्यो कपडा झुण्ड्याउन प्रयोग गरिन्थ्यो ।

माम (हजुरआमा) ले त्यहाँबाट एउटा फरिया झिक्नुभयो । पुरानो । ध्वाँसो लागेको । मैले मामको कुप्रो काया नियालेँ । लामो कपाल । सेतै फुलेको । अनुहारमा बाक्ला बाक्ला धर्साहरु । अनुभवका । चिम्सा आँखा । कानमा बडेमाको यार्लिङ । नाकमा पाते बुलाकी । मामले फरिया च्यात्नुभयो । ध्यार्र । ध्यार्र । स–साना चारवटा टुक्रा पार्नुभयो । ती चार टुक्रामा चारथरी कुरा पोको पार्नुभयो । चार माना कोदोको पिठो । चार माना चामल । अलिकति सुकुटी । सिमीका गेडा । ती सबै छुट्टा छुट्टै पोको पारिसकेपछि मामले भन्नु भयो— म्हेन्दो मलाई भात एकदम मन पर्छ । त्यल्लाई भातै पकाएर दे ल । नकुट्नु । दूध दुनु । खान्छु भने जति दूध दिनु । बाँकी रहेको जमाउनु । मोही पार्नु । घ्यू खार्नु ।  पूर्णेको भोलिपल्ट आपा आईपुग्छ । अनि झर्नु गोठेबाट ।

चिरमाया नानाले मुन्टो हल्लाई । हुन्छ भन्ने भावमा । ऊ मभन्दा चार वर्षले जेठी थिई । म त्यसबेला आठ वर्षकी थिएँ । नानाले पोलिस्टरको फरिया बेरेकी थिई । टाउकोमा सुतीको रातो कपडाको टुक्रो बेरेकी थिई । उसले ती सबै पोकापोकी बटुली । एउटै धोक्रामा हाली । थपक्कै नाम्लोले बोकी । त्यसपछि हिँडी । मैले उसलाई पछ्याएँ । हाम्रो गोठ सिम्बली लेकमा थियो । त्यहाँ  पुग्न काट्नुपथ्र्यो, घरमास्तिरको गुम्बा डाँडा । नाघ्न पथ्र्यो चिहान डाँडा । छिचोल्न पथ्र्यो  घना जंगल । लेक नपुगुञ्जेल हाम्रो शरीर फुल्थ्यो । डरले । भुंग्रामा गहुँको रोटी फुले जस्तै । भुरुरुरु । हामीलाई डर लाग्थ्यो, भूतप्रेतको । जुकाको । मुटु हल्लाउने चिसो सिरेटोको । लेकको त्यो गोठ हिउँदमा भने रित्तै हुन्थ्यो । सबै वस्तुभाउ बेसींमा झारिन्थ्यो । बारीका पाटा पाटा अस्थायी गोठ बनाइन्थ्यो । मान्द्रोको । गोबर मल तयार पारिन्थ्यो । त्यसो गर्दा बारीमा मल ओसार्नुपर्ने झन्झट रहन्नथ्यो । वर्षामा भने वस्तुभाउ लेकमा राखिन्थ्यो । त्यसको दुईवटा कारण थियो । पहिलो लेकको बारीमा मल आपूर्ति गर्न । दोस्रो वर्षामा गाईवस्तु चराउने ठाउँ हुँदैनथ्यो । प्रायःजसोको लेकमा गोठबारी हुन्थ्यो । हाम्रो पनि बारी थियो । गोठ थियो । गोठमा  एक हल गोरु र  एउटा भैंसी थियो ।

हामी घरदेखि उकालो लाग्यौं । चिसो बतास बिहानदेखि नै बत्तिरहेको थियो । हुईँहुईँ । गुम्बा डाँडामा पुग्दा आङ सिरिङ्ग भयो । शरीरभरि केही उम्रियो । काँडा जस्तै । भुरुरुरु । बतासको बहाव अन्यत्र भन्दा गुम्बा डाँडामा तिव्र थियो । वरिपरि टाँगिएको थियो , लुङ्दर । बतासमा शान्त लुङ्दर चञ्चल देखियो । त्यसले गर्दा बतासमा अर्को ध्वनि मिसियो । लुङ्दरको । फर्फर् । फर्फर् । त्यो हृदयको संङ्गीतजस्तो सुनियो । मिठो ।

मैले नानाको अनुहारमा हेरेँ । चिम्सा आँखा । फराकिलो निधार । अलिअलि घुँघुरिएकोे कपाल । कानमा बाटुलो रिङ । नाना मुसुक्क हाँसी । उ हाँस्दा गालाको हड्डी पनि हाँस्यो । म पनि हाँसें । म हाँस्दा गालाका खोपिल्टा हाँसे । नानाले गुम्बालाई दाहिने पारेर फन्को मारी । एक, दुई, तीन । मैले पनि फन्को मारेँ । त्यसपछि गुम्बाको ठिक सामुन्ने उभियौं । दुवै हात जोड्यौं । जोडेको हात पहिले शिरमा राख्यौं । अनि निधारमा । छातीमा । त्यसपछि दुवै हात भुइँमा टेक्यौं । दुवै घुँडा टेक्यौं । बिस्तारै जमिनमा टाउको जोत्यौं । यो क्रम तीनपटक दोहोरायौं । मैले नानाको अनुहारमा हेरें । नानाले मेरो अनुहारमा हेरी । परस्परमा मुस्कुरायौं । हामीलाई लाग्यो बुद्धको आशीर्वाद छ । हाम्रो शिरमा । सुनेका थियौं, भगवान्सँग भूतप्रेत सब भाग्छ । त्यसपछि मनबाट डर भाग्यो । हामी पुनः मुस्कुरायौं । नानाले भारी बोकी । मैले सन्तोक बोकेँ । त्यसपछि हामी उक्लियौं । अझ मास्तिर । मास्तिर ।

अलिकति मास्तिर पुगेपछि डाँडामा चिहान भेटियो । गाउँमा मरेकाहरुको अन्त्यष्टि गर्ने ठाउँ । वरिपरि लाश जलाएर बाँकी रहेका दाउराका ठुटाहरु छरपष्ट भेटिन्थ्यो । तर लाश जलाएको खरानी भेटिन्नथ्यो । लाश जलाएपछि नजिकै खाल्डा खनिन्थ्यो । आफन्तहरुले खरानी सोहरेर खाल्डामा हाल्थे । खाल्डा पुर्थे । ढुंगाको चाक्लो चिटिक्कको म्हाने तयार पार्थे । मृतआत्माको नाउँमा । म्हानेको मुनिपट्टिको भाग फराकिलो हुन्थ्यो । मास्तिर चुच्चो परेर गएको हुन्थ्यो । पिरामिड शैलीमा । लगभग दस रोपनी जति भूभाग चिहानले ओगटेको थियो । त्यहाँ त्यस्ता चिटिक्कको म्हानेहरु थुप्रै थिए । केही सग्लै । केही आधा भत्किएका । केही पूरै भत्किएका । हामीलाई सिम्बली लेक जाँदा धेरै सकस कहीँ हुन्थ्यो भने त्यो त्यही चिहान डाँडामा हुन्थ्यो । लाग्थ्यो, मरेका मान्छेहरु अहिल्यै उठ्छन् कि ? मैले नानाको हात अठ्याएँ । बेस्सरी । उसको हात चिसो थियो । श्वास बढेको थियो । श्वास त मेरो पनि बढ्यो । श्वाससँगै बढ्यो हाम्रो मुटुको चाल । बढ्यो हाम्रो पैतालाको चाल । त्यसपछि हामीले एकअर्कालाई हेरेनौं । वरिपरि पनि हेरेनौं । कतै हेरेनौं । बस हामीले हेर्‍यौंं तनक्क तन्किएको नागबेली गोरेटो । हामी हिँडिरह्यौं ।  फटाफट । फटाफट ।

पाँच मिनेट जतिमा त्यो चिहान डाँडा कट्यौं । हामीलाई लाग्यो । यो पटकको तनाव कट्यो । दशा कट्यो । ग्रह कट्यो । अनि मैले नानाको हात सर्लक्कै छोडिदिएँ । एक्लै कुदेँ । बेपत्ता । बेपरवाह ।

बाटोमा मयलका बोटहरु भेटिए । ती हाम्रा नरम छाला छेडुलाझैँ उभिएका थिए । जिङ्रिङग । लस्करै । हाँगामा मयलका दानाहरु लोभ लाग्दो देखिए । मन थाम्न सकिनँ । स–साना मयलका दानाहरु । स–साना मेरा हातहरु । मलाई मयलका तिखा काँडा छल्नु थियो । टिप्नु थियो लोभ लाग्दा दाना । तर मयलका काँडा जिन्दगी जस्तै रहेछ । तिखा । मैले केही टिप्न सकिनँ । मैले एक मुठ्ठी माटो उठाएँ । माटोमा पत्थरको स–साना पत्र थियो । ती सीसाका टुक्रा जस्ता देखिए । घाममा माटो टलक्क टल्कियो ।
—ओई माटो खेल्छस् । पख् तोलाई ।
नाना परबाटै चिच्याई ।
मैले माटो फ्याकेँ । अनि कुदेँ । बाटोमा भेटियो चाक्ला ढुङ्गा । श्वास बढेपछि म त्यही चाक्ला ढुङ्गामा बसेँ । थचक्क । नामा बल्ल आईपुगिन् । म फेरि कुदेँ ।  कुद्नमा मलाई खै के मज्जा थियो ? म कुदिरहेँ । सँगसँगै कुदे जस्तो लाग्यो बाटोका ढुंगाहरु । मयलका बोटहरु । काफलका रुखहरु । सबैभन्दा वेगले कुदेको त जिन्दगी थियो ।

—आच्या ! त्यसरी नकुद होई म्हेन्दो । अहिले लड्ला । नाना फेरि चिच्याई । म टक्क अडिएँ । फरक्क फर्किएँ । नानालाई हेरेँ । उसको अनुहार गलेर रातो देखियो । गलेको त म पनि थिएँ । उसले मेरो गाला कस्तो देखिन् होली ? म दङ्ग परेँ । नानालाई जितेकोमा । जित्नुपर्ने त जिन्दगी पो थियो । एकपटक मज्जाले हाँसे । त्यतिखेर मलाई अलिकति पनि बोध भएन ।  बिचरा ! नानाको ढाडमा भारी थियो । थाप्लोमा नाम्लोको डोब थियो । नाना विचारले भरिएकी थिई । म त जताततैबाट रित्तै थिएँ ।  

हामीले त्यो बाटो आधा घण्टामा छिचोल्यौं । त्यसपछि घना जङ्गलभित्र पुग्यौं । भदौको तातो घाम थपक्क बस्यो । अग्ला अग्ला रुखहरुमा । नाना र म जिस्किँदै हिँड्यौं । मौसम पनि जिस्की बस्यो हामीसँग । जंगल आधाउधि छिचोल्दा सिमसिम पानी पर्न थाल्यो । पानी मात्रै झरे हुन्थ्यो नि ! तर यो कस्तो अचम्म ! पानीसँगै झर्न सुरु गर्‍यो जुकाहरु । हरिया रूखबाट । ती पहेँला रङ्गका थिए । हाम्रा टाउका ताकेर हुर्रिन थाले । ती जुका देखेर म आज पनि हैरान हुन्छु । मान्छेको गन्ध ती तीन हात परैबाट कसरी थाहा पाउँछन् ? कति धेरै झर्थे ? फुत्त । फुत्त । चकित हुन्छु तिनीहरुको घ्राण शक्ति देखेर ।

म कहालिएँ । लगभग असन्तुलित भएँ । त्यो उमेर सम्म मेरो दुईवटा दुश्मनहरु जन्मिसकेका थिए । एउटा पल्लाघरको आइते । अर्को पहेँला जुकाहरु । तर म ढुक्क थिएँ । आइतेलाई ठीक पार्ने उसैको दाइ भीमबहादुर छ । जुकालाई ठीक पार्ने मेरी नाना छे ।

मैले नानाको फरियाको फेर समातेँ । नानाले पहिले त दुई हात मच्चाई । खुच्चिङ गरी । सँगसँगै जिब्रो सक्दो लामो पारेर देखाई । त्यसपछि मेरो टाउकाको जुका भटाभट टिपी । काफलका दाना टिपे जसरी । आफ्नो टाउकोको जुकाको पनि वास्तै नगरी । संसारमा सबैभन्दा बढी माया गर्ने कोही छ । त्यो मेरी नाना हो । मलाई यस्तै लाग्यो । त्यसपछि हामीले हाम्रा स–साना पाइला चाल्यौं । छिटो छिटो । धड्कन भन्दा पनि छिटो ।

०००००

दक्षिण फर्किएको थियो लेकको गोठ । बुइँगलको पूर्वपट्टिको सानो झ्याल । त्यहाँबाट ६० डिग्रीको कोण बनाएर घाम मेरो आँखामा ठोक्कियो । सँगसँगै खस्यो न्यानो । त्यो बिस्तारै मेरो आङ हुँदै खस्यो ओछ्यानमा । तातियो ओछ्यान । उठेँ म । नानालाई देखिनँ । मगमग दूधको बासना चल्यो । बास्नाले तान्यो मलाई । म लिस्नुमा उल्टो फर्किएर ओर्लिएँ । गोठको भुईँ तलामा । भुईँतलाको देब्रेतिर बस्तुभाउ बाँधिएको थियो । मेरा आँखा दाहिने सोझिए । दाहिनेतिर कुनामा अँगेनु थियो । कराईमा दूध उम्लिरहेको थियो । भुलुक्क । भुलुक्क । त्यसरी नै उम्लियो, मन । भुलुक्क । भुलुक्क ।  म चुल्होको नजिक पुगेँ । गोठको त्यो भित्तामा दाउराको चाङ थियो । चाङ माथि थियो, केही सिलाबरका कचौरा । दुईवटा सिलाबरकै थाल । एउटा किटको कराई । एउटा ढलोटको डाडु । एउटा बाँसको दाबिलो थियो । मैले खप्टिएको कचौराबाट एउटा कचौरा निकालेँ । कचौरा उत्तानो पारेर चुल्होको नजिक राखेँ । नाना मुसुक्क मुस्कुराई । उनको गालाका हड्डी पनि मुस्कुरायो ।
—तातो छ । मनतातो भएपछि मात्र खा ।
नानाले चेतावनी दिई । अनि दुई डाडु दूध कचौरामा हालिदिई । मैले चोरी औंला चोबेँ ।
—आत्थु !
म चिच्याएँछु ।
—भन्या हैन हतार नगर भनेर ।
नानाले हप्काई  ।
—माया गरेकी कि गाली ? मैले आँखा तरेँ ।
दूध सेलाउनै लाग्दा पनि कचौरा सेलाएन । तातो कचौराबाट सेलाएको दूध पिएँ । सुरुप्प । सुरुप्प  ।
—जाने ? नानाले सोधी ।
—कता ? यति भनुञ्जेल सम्ममा नानाले एक हल गोरु र भैंसी फुकाइसकेकी थिई ।

म नानाभन्दा अगाडि निस्किएँ । बारीमा बाले मूला छर्नु भएको थियो । भर्खरै दुईतीन पात उम्रिएको थियो । त्यहाँ बार थिएन । मूलाको ड्याङ सत्यानाश पार्ला भन्ने डर थियो । मैले दुवै हात फैलाएँ । मूलाबारीलाई पछाडि पारें । एक किसिमले अस्थायी बार बनेँ । बस्तुहरु आईँ आईँ गर्दै गए । सुलुत्तको गोरेटो हुँदै । नाना पनि गई । गाईबस्तु पर पुगेपछि भने मैले दुवै हात सर्लक्क तल झारेँ ।  अनि नाना हिँडेकै बाटो हिँडेँ ।

(नाना आज भात पकाउ ल । )
सिन्काले भुईँमा खोपिल्टा पार्दै म लाडे पल्टिएँ । नानाले आफ्ना आँखा फुकालेर मलाई हेरी । म खिसिक्क हाँसे । नाना मुसुक्क । यो खिसिक्क हाँस्नु र मुसुक्क हाँस्नुमा कति अन्तर थियो ? त्यसपछि स साना ढुङ्गा टिपेँ । ती ढुंगा गन्दै खोपिल्टामा हालेँ । झिकेँ । हालेँ । झिँकेँ । म खेलिरहेँ । वस्तुभाउको चरिरह्यो । दुई घण्टा पछि हामी गोठमा फर्कियौँ । बस्तुभाउ लिएर । बस्तुभाउ अघाएका थिए । हामी भोकै थियौँ ।

नानाले बस्तुभाउ बाँधी । हतार हतार आगो फुकी । पहिले भात पकाई । गोरुको सुकुटी भुटी । मलाई पस्केर दिई । फेरि कराइमा पानी खन्याइ ।
— भात नखाने ? मैले सोधेँ । अनि सुकुटीको टुक्रो क्वाप्प मुखमा हालेँ ।
—नखाने । ढिँडो मिठो लाग्छ ।
—अनि सुकुटी ? भाँडाको सुकुटीतिर नजर पुर्‍याउँदै सोधेँ ।
—दाँत दुखेको छ । नानाले झुट बोली । मैले भात निलेँ । उसले ढिँडो निली ।

पूर्णेको भोलिपल्ट आपा आइपुग्नु भयो । बाको झोलामा तोर्मो थियो । मैले हातभरि थापेँ । नानाले आफ्नो भागको आधा भाग पनि मलाई नै थोपरी । आपा त्यसदिन गोठमा बस्नुभयो । हामी गाउँ झर्‍यौँ । म सँग तोर्मोको पोका थियो । नानासँग घ्यूको हर्पे थियो । सुकुटीको पोको थियो । यो पटक पनि उसले सुकुटी नखाएर घर फर्काएकी थिई । मामुका लागि । उसको आँखाको चमक हिजो अस्तिको भन्दा दोब्बर थियो ।

 

प्रकाशित: १५ कार्तिक २०७६ ०६:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App