१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

विवादमा जनजाति संग्रहालय

रुपन्देही – आदिवासी जनजातिको पहिचान र संस्कृतिको संरक्षणका निम्ति बुटवलमा निर्माणाधीन रहेको जनजाति संग्रहालय विवादमा परेको छ। आदिवासी जनजातिसम्बन्धी दुई समूहबीच मतभेद भएपछि निर्माणाधीन रहेको जनजाति संग्रहालयको काम रोकिएको छ।

करिव एक दशकअघिदेखि बुटवलको पर्यटकीय क्षेत्र हिलपार्कमा निर्माणाधीन रहेको जनजाति संग्रहालय आर्थिक वर्ष २०६२/६३ पछि बनेको तत्कालीन जिल्ला विकास समिति र बुटवल नगरपालिकाको बजेटअन्तर्गत निर्माण भइरहेको थियो।

तत्कालीन रुपन्देहीका आदिवासी र जनजातिको समूह एकजुट भएर संग्रहालयका निर्माण अघि बढाएका थिए। हिलपार्क परिषद्मा निर्माणाधीन संग्रहालयको स्वामित्वलाई लिएर नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीले असहमति जनाएपछि निर्माणसम्बन्धी काम रोकिएको थियो।

नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष होमबहादुर गलामीको संयोजकत्वमा सहयोग संकलन तथा निर्माण उपभोक्ता समिति गठन गरिएको थियो। सो समितिले स्वदेश र विदेशबाट रकम संकलन गरेर नमूना संग्रहालय निर्माणको अभियानमा जुटेको थियो। बुटवल हिलपार्क सहयोग समितिको नामबाट संकलित ४७ लाख रुपैयाँमध्ये ३० लाख रकम विसं. २०७५ सालमा हिलपार्क परिषदका अध्यक्ष भिम तुलाचनलाई दिएपछि विवाद सुरु भएको थियो।

हिलपार्क परिषद्को स्वामित्वमा रहने गरी जनजाति संग्रहालय निर्माण कार्यअघि बढेपछि त्यसमा महासंघको असहमति रहेको जानकारी नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष शंकर गाहाले दिए। ‘संग्रहालय निर्माणको विरोधी हामी होइनौ। आदिवासी जनजातिको नाममा सञ्चालन हुने संग्रहालयको आम्दानी जनजातिले पाउनुपर्छ,’ उनले भने, ‘जनजाति महासंघको नाममा सहयोग संकलन गरिएकाले संग्रहालयको स्वामित्व महासंघसँग हुनुपर्ने माग गरेको हौं।’ महासंघले आदिवासी शब्द समेत हटाएर जनजाति संग्रहालय नामाकरण गरेकोमा आपत्ति जनाएको थियो।

रुपन्देही वरपर बसोबास गर्ने आदिवासी जनजातिको पहिचान,संस्कृति र कलालाई एकै थलोमा राखेर प्रवद्र्धन गर्ने जनजाति संग्रहालय निर्माण थालिएको हिलपार्क परिषदका अध्यक्ष भिम तुलाचनले बताए। ‘यो संग्रहालय जनजातिको साझा स्थल भएकाले यसमा असहमति राख्नुपर्ने कारण छैन्। महासंघमा नेतृत्व तहमा रहेका केही जातिले असहमति राखेको भएपनि अधिकांशले भने निर्माणमा सहयोग गर्ने प्रतिवद्धता दिएका छन्।’

करिव दुई करोड रुपैयाँमा संग्रहालय निर्माण गरिने अनुमान गरिएको छ। महासंघको असहमति र विरोधका बाबजुद निर्माणको कामअघि बढेको छ। हिलपार्क परिषदले बुटवल उपमहानगरपालिका र हङकङमा नेपालउठाएर पठाएको रकमबाट निर्माणको काम भने जारी राखेको छ। सुरुवातमा १० लाख बजेटले फाउन्डेसन निर्माण गरिएको थियो। गत वर्ष बुटवल उपमहानगर र हिलपार्क परिषदको समेत गरी १४ लाख रुपैयाँ बराबरको निर्माण भएको अध्यक्ष तुलाचनले बताए। एक तले ढलान गर्ने काम सम्पन्न भएको छ। बाँकी निर्माणको काम बजेट भएपछि गरिने उनले बताए। असन्तुष्टहरुको मागलाई सम्बोधन गर्दै हिलपार्क परिषदले नमूना जनजाति संग्रहालय बनाउने बताए। हिलपार्क परिषदले पर्यटकीय क्षेत्र समेत भएकाले जनजाति संग्रहालयले पर्यटकलाई लोभ्याउने अपेक्षा राखेको छ।

प्रकाशित: १५ कार्तिक २०७६ ०२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App