१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

तीन कविता

जीवन खत्री

सहारा

आफ्नै अनुहार हेर्न पनि

चाहिने रहेछ ऐना!

 

ओ साथी

एक्लैएक्लै दगुरिरहेछौ, कहाँसम्मका लागि?

दौडेर एक्लै पहिरिनु छ, कुन विजयको माला?

एक्लै चढेर, चुम्नु छ कत्रो उचाई?

वा देखाउनु छ कसलाई? साहसको हिमाल?

 

केही क्षण सौचौँ,

यी फूलमा रङहरू, क–कसको मेहनतले रंगियो?

काफल, ऐँसेलुका दानामा

क–कसले भरिदयो, यति मीठो स्वाद?

हिमाल हुनुमा, पहाडको थुप्रो

हिउँको तपस्या कति छ?

उभिनुमा यी रूख, जमिनमाथि

माटोको भूमिका हो के?

उज्यालो भएर हाँस्नुमा

दिन–घामले बोकेको कष्ट कस्तो हो?

 

कति सजिलै सोध्छन्, सोध्नेहरू

किन एक्लै कराइरहेछ मृग,

अनौठो आवाजले जंगलमा

जो, झुक्किएर छुटेको थियो बथानबाट?

स्कुस, चिचिन्डो, घिरौँलाको लहराले

किन खोजेका हुन् थाङ्क्राको आड?

हजुरआमाको मृत्युपश्चात्

हरपल किन साथै रहन्छ

हजुरबासँग तोक्मे लौरो?

घरको दलिनमै आएर गौँथली जोडीले

किन बनाउँछन् आफ्नो गुँड?

वा, के–के आशाले बनाउँछन् 

एउटा साथीले, अर्को साथी?

 

भो छोडौँ,

अनेक प्रश्न, एउटै उत्तरको यो खेल

पछि हिँड्ने हामीलाई कहिल्यै नभेटिने गरी

छोड्छु भन्ने, छोडिजाने

एक्लै जून टिप्छु भन्ने

प्रत्येकले उत्खनन् गरुन्

डाइनोसोरको समय।

 

एउटा खस्रो चित्र

कलालाई कलाको रूपमा नबु‰ने

एउटा साथी छ मेरो

उसलै पठाइदिएछ मेरो ठेगानामा

एउटा खस्रो चित्र

ठीक यतिबेला

म यही चित्रलाई नियालिरहेछु

 

हुन सक्छ,

यो चित्र दा भिन्चीले बनाएको हो,

जसले मोनालिसाको नरम तस्बिर छाम्दाछाम्दा

वाक्क भएर यो खस्रो चित्र बनाउन रहर गर्‍यो।

वा हुनसक्छ,

दुःखको अन्तिम इनारमा डुबेर कुनै कविले लेखेको

सबैभन्दा दुःखद कविताको दुःखी पात्रको तस्बिर हो यो

जे पनि हुन सक्छ।

 

एउटा मानव आकृतिजस्तो यो चित्र

खुब नियालिरहेछु,

पातहरूले छाडिगएका नांगो रूखजस्तो छ टाउको

जहाँ दुःखको सिंगै पहाड टोपी बनेर उभिएको छ।

दर्जनौँ सन्धिसम्झौताले सिमाना खुम्चिएको

कुनै विपन्न देशजस्तो छ निधार

जहाँ अभावका किरिङमिरिङ धर्साहरू टाँसिएका छन्,

पाखोबारीझैँ पाटैपाटा परेका छन् दुई गाला

जहाँ पीरका योद्धाहरूले परेड खेलिरहेछन्।

 

लाग्छ, उसका कानहरूलाई

भोकको सारंगीबाहेक अरु धुन थाहै छैन

उसको नाकले अभावबाहेक अरु सुगन्ध जान्दैन

आँखाले केवल भयका साँघुरा खोल्साखोल्सी देख्छन्

मुखले पनि निरीहताको भजनसिवाय केही बोल्दैन।

 

गहिरिएर हेर्छु, झन् डर लाग्छ!

कुन बैगुनी कलाकारले, कुन कुरुप भाँडोमा भेट्यो

यतिबिघ्न अभावका रङहरू?

यतिबिघ्न अध्याँरो मसी

यतिबिघ्न व्यथा, उल्झन सुहाउने क्यान्भास

यतिबिघ्न कहाली चोपिन सक्ने कुची!

 

आँखा भरिभरि हेर्छु

चित्रको पछिल्तिरको पुरानो घर

सायद यही मानव आकृतिको होला,

तर, घरको लालपुर्जा घरमै होला कि, कुनै महलमा?

 

चित्रको दाहिनेतिरको सानो केटो उसैको छोरो होला

तर, उ स्कुल नगएर, किन क्यान्भासमा?

हुन सक्छ परीक्षाशुल्क विलम्बका कारण

स्कुलले आजै फिर्ता गरिदिएको होस्।

 

उसकी श्रीमती छैन त चित्रमा!

कतै एक्लै छोडेर उसलाई, मुग्लान त झरिन?

कि कुनै महलको भित्री कोठामा कैद भई?

जे पनि हुन सक्छ।

 

अहो, खासमा कुन मुर्खले कोर्‍यो यो असुहाँउँदो चित्र

भेट्न पाए सोध्न हुन्थ्यो

के दुःखका अनगिन्ती सागर

एउटै खोलामा अटाउन सक्छ?

के अभावमा अनेकौँ घान

एउटै जाँतोले पिँधी भ्याउँछ?

कि एउटा भोकले मात्र निल्नुपर्छ

अभावका गाँसहरू?

कि एकजोडी हातहरूले मात्र

सम्याउन सक्छन्

तारे भीरैभीरको जिन्दगी?

कि एकजोडी पैताललाले मात्रै

हिह्डी भ्याउँछन्

तरबारको धार ओछ्याइएका बाटाहरू?

 

यिनै प्रश्नहरूका बीचमा अल्भि्करहेका बेला

छोराको एउटै कुराले झस्याङ्ङ बनायो 

भन्यो–

बाबा, ऐना हेरेर किन एक्लै बर्बराउनुभको?

 

एकान्तमा एक्लै

ध्यान गर्छु,

बुद्ध बन्छु भनेर हिँडेथेँ घरबाट

र, पुगेथेँ त्यस एकान्तमा एक्लै।

 

म चाहन्थेँ, ध्यानको मस्कौटाले

वर्षौँदेखि काइ जमेझैँ जमेर रहेको

डरको काती मस्काउँ, मुटुबाट 

लोभको मयल धोउँ, आँखाबाट

छटपटी निकालेर फालूँ टाउकाबाट

हृदयबाट हटाएर बेचैनी

झुलुक्क झुल्काउँ आनन्दको उज्यालो पानस

र बाडूँ, अनेकौँ भ्रुण बुद्धहरूलाई।

 

 

तर, एकान्तमा पनि धेरैथोक हुँदोरहेछ

जस्तो कि, प्रेमिकाले छोडी जाँदा

अन्तिम पटक उनले सल्काएको आगोको ताप

र, निक्कै पर पुगेर हराएको

उनको पैतालको मधुर ध्वनि।

 

जस्तो कि, बा–आमाको अनुहारमा पुगेर

डुब्दै गरेको पहेँलो घाम

अँगेनोमा ढुंगो पकाउन बसालेको

दन्त्यकथा सम्भि्कँदै गरेकी जहान,

छिमेकी साथीबाट चोरील्याएको गुच्चा हेरेर

मुस्काउँदै गरेको छोरो।

 

जस्तो कि, आफ्नै कुमारी अनुहारमा

सहरको पाउडर घस्दै गरेको गाउँ

र, गाउँको सुवास बेच्दै निखि्रँदै गरेका गाउँलेहरू।

 

जस्तो कि,

अन्याय सिध्याउन उचालेका तरबारहरूको लम्बाई

र, तिनैले छिनाल्न खोजेका

निमुखा गर्धनहरूको चौँडाई।

 

जस्तो कि,

बादलको बुइ चढेर हिँड्ने निर्दयी यादहरूको झरी,

खल्तीमा कोचेर आँखा

खुसीको घर ताक्दै दौडने आँधीको लय, 

पृथ्वी नै उडाउने बेगले उडेको निराशाको हुरी

र, खडेरीको धूलोझैँ

हावामा हल्लिरहेका आफ्ना आशाहरू

 

एकान्तमा पनि कस्तो बेचैन अशान्ति?

कस्तो भीड र कस्तो दिगमिग खलबल?

कस्तो हल्ला, कस्तो चर्को जुलुस आफैभित्र?

 

छेउमा सुकेको पात खस्छ,

मनमा कति भयंकर गर्जन्छ, बाघ 

अलिकता चल्छ सिरेटो

कस्तरी छेडिन खोज्छ, मुटु।

 

भोकको क्याप्सुल ननिल्दा ढल्छु कि अहिल्यै?

सम्झन्छु कसरी खप्नु, हिउँद्का अग्ला रातहरू?

कसरी थाप्नु शीरमा हज्जारौँ सूर्यको धूप?

कसरी बन्नु आफू आफ्नै शरीरको छाता?

र, बुद्धत्व नपाउञ्जेल लागिरहनु ध्यानमा!

 

सकिनँ–सक्दैसकिनँ

ध्यानमा डरको दाउरा जलाएर

निडरताको राप ताप्न

भैगो, मलाई बुद्ध बन्नु छैन,

केवल बन्नुछ मान्छेजस्तै मान्छे।

प्रकाशित: १८ मंसिर २०७३ ०४:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App